शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
परम्परा

जुम्ला लगायत साबिक कर्नालीमा किन घरैपिच्छे बालिन्छ राँको ?

देउडाको भाका, राँकोको उज्यालोमा कर्नालीको मौलिक संस्कृति र बलिराजासँग जोडिएको इतिहास
शुक्रबार, ०२ साउन २०८२, ०९ : १०
शुक्रबार, ०२ साउन २०८२

सारांश

  • साउने संक्रान्तिको अवसरमा जुम्ली एकता सेवा समाजले देउडा पार्कमा देउडा खेल्यो र राँको फालियो।
  • देउडा गीतले पुरानो परम्परा र मौलिक संस्कृतिप्रति गर्व गर्ने भाव व्यक्त गर्दछ, र यस पर्वमा खराब कामहरू हटाउने कामना गरिन्छ।
  • जुम्लामा साउने संक्रान्तिको दिन राँको बाल्ने चलन राजा बलिराजको युद्ध विजयसँग जोडिएको छ, र यसको धार्मिक र ऐतिहासिक महत्त्व छ।

सुर्खेत ।
हे दरिअ सकी गएई खराब काम दरिअ
हे दरिअ भागी जाएई लुतो कठै बरिअ ।

हे दरिअ सबैले सम्झनु पर्छ दरिअ
हे दरिअ पुरानो काम बुतो कठै बरिअ ।।

हे दरिअ चालचलन र संस्कृतिको दरिअ
हे दरिअ धनी हो कर्नाली कठै बरिअ ।

हे दरिअ सुधार गरौ सबै मिली दरिअ
हे दरिअ बिग्रेको प्रणाली कठै बरिअ ।।

माथि उल्लेखित हरफ देउडा गीतका हुन् । बिहीबार अर्थात् साउने संक्रान्ति (लुतो फाल्ने दिन) को अवसरमा जुम्ली एकता सेवा समाज सुर्खेतको आयोजनामा वीरेन्द्रनगरको देउडा पार्कमा देउडा खेलियो । त्यसअघि सल्लाको झोरोसहितको राँको फालिएको थियो ।

गीतका शब्दले पुरानो परम्परा तथा आफ्नो मौलिक संस्कृतिमा गर्व गर्ने भाव व्यक्त गर्दछन् । यी हरफमा लुतोसँगै सबै खराब काम जीवनबाट हराएर जाउन् भन्न खोजिएको छ ।

दोस्रो हरफमा पुराना, मौलिक चालचलन, संस्कार, संस्कृति हराउँदै गएको र त्यसलाई सबै मिलेर सुधार गर्नुपर्ने सन्देश बोकेको छ । देउडा र राँको बाल्ने संस्कृति पछिल्लो समय हराउँदै गए पनि यसको इतिहास विराट छ । विशेषगरी यो संस्कृति इतिहासमा शक्तिशाली जुम्ला राज्यसँग जोडिन्छ ।

साउने संक्रान्ति पर्वमा लुतो फाल्ने चलन छ । लुतो फाल्नका लागि विभिन्न औषधिमूलो, जडीबुटी, फलफूल आदि मिसाएर एउटा उल्का (राँको) बनाइन्छ र त्यसलाई बाटोमा फाल्ने चलन छ । तर जुम्ला लगायत साबिक कर्नालीमा चाहिँ त्यो बाहेक थप तीन वटा कुरा छन् ।

जुम्लामा साउन १ गते बेलुकाको समय उज्यालो हुन्छ । इतिहासकार रमानन्द आचार्यका अनुसार अन्त एउटा मात्रै राँको हुन्छ तर जुम्लाका हरेक घरमा १२–१५ वटा राँको बालिन्छ र सारा गाउँ उज्यालो हुन्छ ।

1-photo (1)

एउटा गाउँकाले अर्को गाउँकालाई गाली गर्छन्, तर कुनै व्यक्तिको नाम तोकेर होइन । यसलाई कर्नाली बाहिरका मान्छेहरू अनौठो प्रचलन मान्छन् ।

गाउँलेले अर्को गाउँलाई सम्बोधन गर्दै भन्छन्– ए फलाना गाउँका, लुतो लैजा, रोटी लैजा, हिलाउने, भिजाउने, खाइदे, खर्लप्पै सब लैजा, नातिदेखि धुनिया, भिनाजु यताउति सब लैजा भन्ने, पुकार्ने चलन छ ।

‘यो एउटा हाँसोठट्टाको कुरा पनि हो,’ आचार्यले रातोपाटीसँग भने ।

असार महिनाभर कामको चटारो, हिलोमाटोसँग खेल्नुपर्छ । अन्तिम रोपाइँ सकाएर हिलोमैलो पखाल्ने अनि घर परिवारका साथमा साउने संक्रान्ति मनाइन्छ । साथै टाढा रहेका छोरीबहिनीलाई माइत बोलाउने, मिठा परिकार (मासु बाहेक) बनाएर खुवाउने गर्छन् । अनि देउडा खेल्ने, सुख, दुःखका कुरा साँट्ने गरिन्छ ।

इतिहासका जानकार आचार्यका अनुसार यसमा एउटा ऐतिहासिक प्रसंग राजा बलिराजसँग जोडिन्छ । बलि राजाले वि.सं. १४५५ देखि वि.सं. १५०२ सम्म एकल र संयुक्त गरी जुम्लामा शासन गरेका थिए ।

2-photo (4)

खस राज्यको पतन भएपछि कल्यालवंशी शासनको सुरुवात गर्ने पहिलो व्यक्ति उनै हुन् । उनको शासनकालमा थुप्रै संस्कार र संस्कृतिको विकासक्रम सुरु भएको पाइन्छ । देउसी खेल्दा ‘हामी त्यसै आएका होइनौँ, बलि राजाले पठाएको’ भन्ने भनाइ पनि यिनकै शासनकालबाट सुरु भएको बताइन्छ ।

इतिहासका जानकार आचार्यका अनुसार जुम्लामा साउने संक्रान्तिको दिन राँको बाल्ने चलन उनै बलिराजाको एउटा युद्धसँग पनि जोडिन्छ ।

‘एक पटक बलि राजा दिल्ली गएका थिए, उनले त्यहाँ एक मुगल राजासँग युद्ध लडे, उक्त लडाइँ उनले जितेर आए,’ आचार्यले भने, ‘त्यही उपलक्ष्यमा जुम्लामा राँको बालेर उत्सवका रुपमा यो मनाइएको हो ।’

त्यतिवेला दिल्लीमा हिन्दुविरोधी अभियान चलेको थियो । त्यसमा बलिराजा हिन्दुको पक्षबाट लड्न गएका थिए । ‘लड्दाखेरि उनले दिल्लीमा एक ठुलै सेनानायक (कमान्डर) लाई मारेछन्,’ आचार्यले थप भने, ‘सेनानायकलाई मारेपछि अरू सैनिकहरू तितरबितर भएछन् ।’

त्यसपछि दिल्लीवासी हिन्दुले उनलाई स्याबासी दिए, अभिनन्दन–यात्रा गरे, बडो सम्मान गरे । त्यसपछि आफ्नो देश जुम्ला आएपछि उनले त्यही विजयको खुसीयालीमा राँको बाल्ने चलन चलाएको कथन रहेको आचार्य बताउँछन् ।

4-photo (2)

उनका अनुसार लुतो फाल्ने राँको त एउटैमात्र हुन्छ, एउटा राँको बालेर त्यसमा ‘लुतो लैजा’ भनेर मसालजस्तो बनाई दोबाटोमा फाल्ने हो । तर त्यही प्रसंगमा उज्यालो पनि गर्ने र विजयको खुसीयाली पनि मनाउने हिसाबले साबिक कर्नालीका घर–घरै ५, ७, ११ जस्ता बिजोर संख्यामा राँको बालिन्छ ।

यसको धार्मिक–शास्त्रीय महत्त्व पनि छ । आचार्यका अनुसार साउने संक्रान्ति भनेको कर्कट सङ्क्रान्ति हो । यस दिनदेखि सूर्य कर्कट रेखामा जान्छन् । यसको अर्थ सूर्यको रापताप कम हुन्छ, दिन छोटा र रात लामा हुँदै जान्छन् । यो समयमा नित्यकर्मबाहेक अन्य विवाह–व्रतबन्ध जस्ता कर्म गर्न मिल्दैन, ती निषिद्ध हुन्छन् । यसैले यो समयमा खेतीपातीको काम सकेर विश्राम गर्ने, रमाइलो गर्ने, छोरीबहिनी माइत आउने, देउडा खेल्ने चलन रह्यो ।

3-photo (1)

साउन महिनामा मासुभन्दा गोरस (दुध–दही) को बढी महत्त्व हुन्छ । साउन लागेपछि मासु खानुहुँदैन भन्ने चलन अहिले पनि गाउँघरमा छ । शुद्ध भएर दुध, दही, घिउ खाने र हरेक सोमबार शिवजीको पूजा गर्ने गरिन्छ ।

पहिलेको समयमा, जब खोपजस्ता सुविधा थिएनन्, साउन महिनामा जुम्लातिर बच्चाहरूको मृत्युदर धेरै हुन्थ्यो । आचार्यका बुझाइमा त्यसैले यसलाई ‘कालो साउन’ पनि भन्थे । बालरोग धेरै हुन्थ्यो । जुम्लामा एउटा उखानै थियो– ‘चार साउन काट्या छोरो, चार माघ काट्या थोरो ।’ अर्थात्, चार वटा साउन नकाटेसम्म छोरो बाँच्छ भन्ने आशा हुँदैनथ्यो । त्यस्तै, चिसोले गर्दा चार वटा माघ नकाटेसम्म गोरु (थोरो) बाँच्न गाह्रो हुन्थ्यो ।

यो पर्व ती सबै दुःख र कष्ट हटेर जाओस् भन्ने कामनासँग पनि जोडिएको आचार्यको भनाइ छ ।

कतिपय इतिहासविद्हरू लुतो फाल्ने भन्ने चलन पनि कर्नालीबाटै सुरु भएर देशदेशावर फैलिएको दाबी गर्छन् ।

जुम्ला कनकासुन्दरी गाउँपालिका—३ का मक्क बुढाक्षेत्री  भाषा, शैली, संस्कार, संस्कृतिहरू, धार्मिक परम्पराहरू, त्यो सबै लोप भएर जान लागेकोमा चिन्ता व्यक्त गर्छन् । उनले भने, ‘यसलाई संरक्षण र संवर्द्धन गर्नका निमित्त हामी लागिरहेका छौँ ।’

बिहीबार वीरेन्द्रनगरमा उनीहरूकै जुम्ली एकता सेवा समाजले राँको बाल्ने र देउडा खेल्ने कार्यक्रम गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप