१ अर्ब खर्चिएर कस्ता हतियार किन्दैछ प्रहरी ?
सारांश
- प्रहरीले करिब ३ वर्षदेखि रोकिएको हतियार खरिद प्रक्रिया फेरि सुरु गर्ने भएको छ, जसका लागि बजेट विनियोजन गरिएको छ।
- प्रहरीले ९ एमएम पेस्तोल, गोली, र भिड नियन्त्रणका लागि आवश्यक सामग्री खरिद गर्ने तयारी गरेको छ, जसमा १ हजार पेस्तोल र सटगनहरू समावेश छन्।
- प्रहरी प्रवक्ताका अनुसार, नयाँ प्रक्रिया अनुसार हतियार खरिद गरिनेछ, तर यसअघिका खरिद सम्झौताहरू बजेट अभावका कारण रोकिएका थिए।
काठमाडौँ । करिब ३ वर्षदेखि अड्किएको हतियार खरिद गर्ने प्रक्रिया प्रहरीले फेरि अघि बढाउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ मा प्रस्तुत गरेको बजेटमा ‘प्रहरीका लागि हतियार तथा सुरक्षा उपकरण खरिद गर्न’ भनेर ९२ करोड विनियोजन गरिएको छ ।
बजेट विनियोजन भएसँगै प्रहरीले आवश्यक हतियारको सूची तयार गरेको छ । ९ एमएम पेस्तोल सहित ६ प्रकारका सुरक्षा उपकरण खरिद गर्नेगरी प्रहरी प्रधान कार्यालयले तयारी थालेको हो ।
यसअघि २०७८ चैतमा पनि प्रहरीले ८४ करोडको हतियार खरिद प्रक्रिया अघि बढाएको थियो, तर बोलपत्र आह्वान गरेर ‘खरिद सम्झौता’ भए पनि प्रतितपत्र खोल्न नसक्दा प्रक्रिया रोकिएको थियो ।
२०७९ वैशाख २९ मा भएको बोलपत्र अनुसारको हतियार प्रहरीले खरिद गर्न सकेन । २०७८ चैत २ मा अर्थ मन्त्रालयले ८४ करोड मूल्य बराबरको हतियार खरिद गर्न प्रहरी प्रधान कार्यालयलाई स्वीकृति दिएको थियो । त्यसपछि प्रहरीले तयार गरेको सामान खरिद सम्बन्धी गुरुयोजना २०७९ वैशाख १९ मा गृह मन्त्रालयले स्वीकृत गरेको थियो । यद्यपि अर्थ मन्त्रालयले रकम निकासा नदिएपछि त्यसवेला प्रतितपत्र खोल्न नसकेर प्रक्रिया रोकिएको प्रहरीका उच्च अधिकृत बताउँछन् ।
आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट आएसँगै प्रहरी प्रधान कार्यालयले आवश्यक सुरक्षा उपकरणको सूची बनाएको छ । नयाँ प्रक्रिया अनुसार प्रहरीले ९ एमएम पेस्तोल खरिद गर्दैछ । १ हजार थान पेस्तोल खरिद गर्न लागिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
एक हजार थान पेस्तोलका लागि १० हजार थान गोली किन्नुपर्ने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । भीआईपी सुरक्षामा खटिने पीएसओ (निजी सुरक्षा अधिकृत)ले बोक्ने पेस्तोलसमेत अभाव हुँदै गएकाले १ हजार थान पेस्तोल खरिद गर्न लागिएको प्रहरीका उच्च अधिकृत बताउँछन् ।
भिड नियन्त्रणमा आवश्यक गैरघातक सामग्री पनि प्रहरीले किन्दैछ । भिडमा छर्रा हान्न प्रयोग गरिने १२ बोर सटगन १ हजार थान किन्ने प्रहरीको तयारी छ । प्रहरीका एक जना उच्च अधिकृतले भने, ‘सटगनमा प्रयोग हुने कार्टिज १८ सय थान किन्नेगरी योजना बनाउँदै छौँ ।’
बजेट व्यवस्था भएसँगै नयाँ प्रक्रियाअनुसार हतियार खरिद गर्न लागिएको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले बताए । रातोपाटीसँग घिमिरेले भने, ‘सरकारले बजेट छुट्ट्याएको छ, आवश्यक हतियार तथा सुरक्षा उपकरण खरिद प्रक्रिया अब सुरु गर्छौं ।’
- किन्न लागिएका उपकरण
–९ एमएम पेस्तोल (१ हजार थान)
– पेस्तोलको गोली (१० हजार थान)
–बाह्रबोर सटगन (१ हजार थान)
–रबर बुलेट (२५ सय राउण्ड)
–टियर ग्याँस सेल (२२ सय राउण्ड)
–सटगन कार्जिज (१८ सय)
अहिले प्रहरीसँग भएको चाइनिज टाइप–५४ पेस्तोल, रिभल्वर, सटगन, थ्रीनट थ्री र अन्य लामा हतियार काम नलाग्ने भइसकेको अधिकृतहरू बताउँछन् । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले भने, ‘टाइप–५४ पेस्तोल र रिभल्बर फेज आउट भइसकेको छ । त्यसैले १ हजार थान पेस्तोल खरिद गर्ने प्रस्ताव अघि बढाउँदै छौँ ।’
प्रहरी प्रधान कार्यालयले भिड नियन्त्रणमा प्रयोग गरिने अश्रुग्याँस सेल २२ सय राउण्ड नयाँ प्रक्रियाअनुसार किन्ने तयारी गरिरहेको छ ।
२०७८ भन्दापछि प्रहरीले अश्रुग्याँस किनेको छैन । अहिले १२ करोड बराबरको अश्रुग्याँस प्रहार गर्न प्रयोग गरिने एयर गन, मल्टी ग्याँस गन, बडी प्रोटेक्टर सेट र शिल्डढाल सहितको सामग्री खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
सरकारले यस वर्ष सशस्त्र प्रहरीका लागि पनि हतियार खरिद शीर्षकमा ५० करोड रुपैयाँ विनियोजन गरेको छ । यद्यपि व्यवसायी दिपक भट्ट सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्स अन्तर्गतका एजेन्ट कम्पनीमार्फत ‘सेटिङ’मा खरिद गर्न खोजेको भनेर आलोचना सुरु भएको छ । तर, नयाँ प्रक्रियाबाट खरिद ठेक्का दिँदा योग्यता पुग्ने कम्पनीहरूले खरिद गर्नसक्ने प्रहरी अधिकृत बताउँछन् ।
यसअघि विदेशी कम्पनी मिनरवाको स्थानीय एजेन्ट मर्करी टे«डिङ प्रालि लाजिम्पाटसँग प्रधान कार्यालयले गरेको खरिद सम्झौता अलपत्र परेको हो । मर्करी टे«डिङ छनोट भए पनि प्रतितपत्र खोल्न अर्थ मन्त्रालयले बजेट नदिँदा सम्झौता अलपत्र परेको थियो ।
- प्रक्रिया के हुन्छ ?
सुरक्षा, सामरिक वा प्रतिरक्षा सामग्री आपूर्ति कार्यविधि–२०६४ को दफा ३ (क) र कार्यविधि (४) (३) बमोजिम हतियार खरिद गर्नुअघि कम्पनीहरू सूचीकरण हुनुपर्छ । हतियार तथा सुरक्षा उपकरण खरिद गर्ने कम्पनीहरूको सूचीकरणका लागि सूचना प्रकाशन गर्ने तयारी भइरहेको छ ।
सूचीकरणपछि बोलपत्र आह्वान गरिन्छ । ई–बिडिङ मार्फत प्रतिस्पर्धा गर्ने कम्पनीमध्येबाट योग्यता पुगेका कम्पनी सार्वजनिक खरिद नियमावली अनुसार छनोट हुन्छ । छनोट भएको कम्पनीसँग खरिद सम्झौता गरेर राष्ट्र बैंकबाट प्रतितपत्र खोल्ने प्रक्रिया अघि बढ्छ ।
प्रतितपत्र खोलेपछि सम्झौताअनुसारको हतियार ती कम्पनीले हतियार निर्माता कम्पनीमा अर्डर गर्छन् । खरिद प्रक्रिया पूरा गरेर सामान आउन कम्तीमा ११ महिना लाग्ने प्रहरीका एक जना उच्च अधिकृतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण