शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कञ्चनपुर कारागारमा क्षमता भन्दा धेरै कैदी

शनिबार, ०३ साउन २०८२, ०४ : १८
शनिबार, ०३ साउन २०८२

सारांश

  • कञ्चनपुरको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ, जसमा लागुऔषधका कैदीबन्दीको संख्या अधिक छ।
  • कारागारमा क्षमता १४० जनाको भए पनि अहिले ४५६ जना कैदीबन्दी छन्, जसले गर्दा पालको व्यवस्था गरिएको छ।
  • प्रवक्ताका अनुसार, लागुऔषध सेवनका कारण आपराधिक घटना बढेका छन्, र कैदीबन्दीको संख्यामा वृद्धि भएको छ।

कञ्चनपुर । महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ ।

जिल्ला कारागार कार्यालय कञ्चनपुरमा महिला र पुरुषका लागि १ सय ६० जना बन्दी राख्ने क्षमता भए पनि कारागारमा क्षमताभन्दा तेब्बर बढी ४ सय ५६ जना कैदी बन्दी राखिएको छ । अहिले कारागारमा २७ जना महिला, २६ जना भारतीय नागरिक बन्दी रहेको कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रमुख रामदत्त जोशीले जानकारी दिए । उनका अनुसार अहिले कारागारमा सबैभन्दा बढी लागु औषधका १ सय ६७ जना कैदीबन्दी छन् । “कारागारमा महिला बन्दीको क्षमता २० जना र पुरुष बन्दीको क्षमता १४० जना हो ।” उनले भने, “क्षमताभन्दा बढी कैदीबन्दी हुँदा पालको व्यवस्था गरेर राखिएको छ ।” उनले गत पुसमा कारागारमा कैदीबन्दीको सङ्ख्या ५ सय ८० सम्म पुगेको बताए । “अहिले अदालतले पछि मुद्दाको फैसला छिटो गर्दा बन्दीको सङ्ख्या घट्दै गएको छ ।” जोशीले भने, “पहिला जस्तो खुला आकाशमुनि बस्नुपर्ने अवस्था छैन हामीले पाल र टिनको व्यवस्था गरेर भए पनि कैदीबन्दी राखेका छौँ ।”

कारागारमा अन्य जिल्लाबाट समेत कैदीबन्दी स्थानान्तरण भएका आउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले लागु औषधका सेवनका कारण अन्य आपराधिक गतिविधिमा पनि संलग्न हुनेभएकाले पछिल्लो समय आपराधिक घटना बढेको बताए । “अहिले लागु औषधका कारण पनि आपराधिक घटना बढेका छन् ।” उनले भने, “लागुऔषध सेवनकर्ताले चोरी गर्ने, ठगी गर्ने, जबरजस्ती करणी र हत्यासम्मका घटना हुन्छन् ।”

उनले लागु औषधका कारण पनि आपराधिक घटना बढेकाले कारागारमा कैदीबन्दीको सङ्ख्या बढेको बताए । “साथीभाइको लयलयमा लागेर, मनोरञ्जनका लागि लागुऔषध सेवन गरेको पाइन्छ ।” उनले भने, “एक पटक लागुऔषध सेवन गरेपछि खाउँखाउँ लाग्ने र खुल्ला सिमानाका कारण सहज पहुँचले पनि सेवनकर्ता बढेका छन् ।” जिल्ला कारागार कञ्चनपुरमा हाल सबैभन्दा बढी लागु औषधका बन्दी छन् । त्यसैगरि महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप