भक्तपुरको गहितिटोलमा पत्ता लागेका सम्पदा
- भूमिका
२१ असार २०८२ । समय : साँझको ७ बजे । मेरो मोबाइलको घन्टी बज्यो । फोन गर्ने भक्तपुर नगरपालिका वडा ४ का सदस्य श्री पुरुषोत्तम तमखुज्यू हुनुहुँदोरहेछ । फोन उठाएँ । उहाँले भन्नुभयो ‘पुरुषोत्तम सर, गहितिटोलको चोकमा ढुङ्गा छाप्ने क्रममा मूर्तिसहितको एउटा शिलालेख भेटिएको छ । हेर्न आउनुहुन अनुरोध गरेँ ।’
मैले भनेँ, ‘भोलि बिहानै आउनेछु ।’ उहाँले भन्नुभयो, ‘भाइबरमा मूर्ति र शिलालेखको फोटो पठाएको छु, हेर्नुहोला ।’
उहाँले भाइबरमा पठाएका ती तस्बिर हेरेपछि थाहा भयो, चतुर्बाहु नारायणको मूर्ति रहेछ । सोही मूर्तिको पादपीठमा ने.सं.५९७ उल्लेख रहेछ, यक्षमल्लको पालाको ।
गहितिका उल्लेख्य लुकेका सम्पदाबारे सोच्दै गर्दा मनमा अनायासै एउटा कुरा उब्जियो, ‘कर्म गर्दै गएपछि कताकताबाट भाग्य त त्यत्तिकै पछिपछि दौडीदौडी आउँदो रहेछ ।’ अन्वेषण (कर्म) का क्रममा पत्ता लाग्ने प्रत्येक सम्पदा मेरा लागि भाग्य हुन् । त्यसपछि मेरा विद्यार्थी ‘समाजसेवा–रत्न’ राजेश गाईजूलाई फोनमा सम्पर्क गरी अनुरोधपूर्वक भनेँ, ‘क्यामेरा लिएर भोलि बिहान ७ बजे गहितिमा आउनु । त्यहाँ केही उल्लेख्य ऐतिहासिक, पुरातात्त्विक महत्त्वका वस्तु, शिलालेख फेला परेका छन् ।’

- पत्ता लागेका सम्पदा
२२ असार २०८२ । बिहानको ७ बजे, स्थान गहिति । हामी सबै समयमै गहितिचोकमा भेला भयौँ । चौबाटोको सङ्गमस्थल गहितिचोकको माझमा एउटा ठुलो इनार छ । सोही इनारको पश्चिमपट्टिको भाग देखाउँदै तमखुज्यूले भन्नुभयो, ‘चोकमा ढुङ्गा छाप्ने क्रममा खन्दा यहीँबाट पुरिएको अवस्थामा नारायणको मूर्ति र शिलालेख भेटिएको हो ।’
काठ, कपडा, कागज आदिमा यस प्रकारका आकृति चित्रहरू लेखेको कुँदिएको भेटिन्छ तर ढुङ्गामा कुँदिएको रतासनको मूर्ति यसअघि देखिएको वा प्राप्त भएको जानकारी छैन (यो मेरो अल्पज्ञान पनि हुन सक्छ) । यसो हो भने नेपालमा आजसम्म प्राप्त रतासन/कामकलाका मूर्ति वा आकृतिहरूमध्ये प्रस्तरमा कुँदिएको यो नै यस विषयको पहिलो हो भनी मान्न सकिन्छ ।
पादपीठमा यक्षमल्लको ने.सं.५९७ को अभिलेख उत्कीर्ण शक्तिसहितका (कीर्ति र लक्ष्मी) चतुर्बाहु वामन केशवमूर्ति । ४६ गुणा ४३ सेमि । छायाचित्र साभार : पुरुषोतम तमखु ।
यक्षमल्लको ने.सं.५९७ को वामन–केशवमूर्तिको पादपीठमा उत्कीर्ण शिलालेख

गहितिटोलको, यक्षमल्लको ने.सं.५९७ को, शक्तिसहितको (कीर्ति र लक्ष्मी) चतुर्बाहु वामन–केशव मूर्तिको पादपीठमा उत्कीर्ण अभिलेख । ८१ गुणा २२ सेमि अभिलेख उत्कीर्ण भाग १४ गुणा ५५ सेमि । लिपि : नेपालभाषा । भाषा : संस्कृत । खासगरी ‘ए’ कार अक्षरमा भुजिँमोल लिपिको प्रभाव स्पष्ट देख्न सकिन्छ । मैले पढेको पाठ सच्याई सहयोग गर्नुहुने लिपिविज्ञ डा. श्री श्यामसुन्दर राजवंशीज्यूप्रति आभारी छु ।
- लिप्यान्तर
१. ...धरति करतले वामनो वासुदेव:
श्रीलक्ष्मी सयुतेश्च त्रिभुवन नमितो धर्म मोक्ष
२ थ हेतुः । विष्णु ...त्रैलोक्यनाथ: कलिकलूषहरौ ।
भुक्तिमुक्तिप्रदाता, पापाद्व: सव्र्वदा प्रवरसरसिजस्थोपि
नारायणश्च ।।
३. स्वस्ति ।। श्रीनेपालमहीश्वरो नृपगुरुः
श्रीयक्ष मल्ल, प्रभुश्चक्रे शत्रसुमंडपं सकलश
पाषाणमूत्र्ति हरे:। स्वग्र्गो
४. प्नां प्रतिमांप्रधानर्गारमन्सत् यक्षराजस्यवै,
रम्यांयुग्मसती युतांविरचितांशत्रोपरिस्थापितां ।।
यावच्चन्द्रकलामला
५. पशुपतेर्मोलौवसत्यूज्ज्वले यावछेष फणामणो च
धरणी सव्र्वास्रयावत्र्तते । यावन्नोरुगिरौ सुखेन रमते
सव्र्व सुराणां ग
६. ण स्तावेद्रक्षतु शत्रे मंडपवरं श्रीवामन केशव:।
अनेनापिच पुण्यन, चारोग्य संतति श्रिय: ।
श्री यक्षमल्ल देवानां वृ
७. द्धयः । संतु सव्र्वदा ।। दिवंगत प्रधानस्य,
यक्षराजस्य धीमत: । वैकुण्ठ भुवना वासो,
भूयाद्धंद्व सतीसह: ।। ।।
८. नेपालहायने गतेमुनि रंध्र वाणे माघसितेमकरकेतु
तिथौ प्रयाते । तस्मिंश्चवामन हरिं वरऋतु श्रीनां
धर्मार्थ काम फलदांहि कृत प्रतिष्ठां ।।
- टिप्पणी
दिवंगत प्रधानको स्मृतिमा वैकुण्ठवासको कामना गरी ने.सं.५९७ मा कीर्ति र लक्ष्मीसहितको वामन केशवको मूर्ति स्थापना गरिएको कुरा यस अभिलेखबाट ज्ञात हुन्छ । यस अभिलेखमा आएको वामन केशव र तदनुसारको मूर्तिले गहितिटोल वामनतीर्थको रूपमा रहिआएको दृष्टिगोचर हुन्छ । वामन केशवका शक्ति कीर्ति–लक्ष्मी हुन्, जुन भाव अर्थका दृष्टिले यक्षमल्लकी रानी कीर्तिलक्ष्मीको पनि स्मरण हुन्छ । यसबारेमा पछि भाषान्तर एवं विश्लेषणसहितको लेख प्रकाशमा ल्याउनेछु ।
हितिमंग : गहितिको को अवशेष

गहितिको अवशेष हितिमंगः (ल्वंहहिति/ढुङ्गेधाराको मकराकृति टुटो) ९३ गुणा २० गुणा १५ गुणा २२ सेमि । ईस्वी पन्ध्रौँ शताब्दी ।

गहिरो स्थानमा रहेको ल्वंहहिति/ढुङ्गेधारालाई नेपालभाषामा ‘गहिति’ भनिने कुरा जानिन्छ । यसो हुँदा सोही ल्वंहहिति भएको टोलबस्ती ‘गहिति’ नामले लोकजीवनमा प्रचलित रहिआएको कुरा ज्ञात हुन्छ । आज हामी गहितिटोलमा ‘गहिति’ देख्दैनौँ । समयको प्रवाहमा, नियतिको मारमा सो गहिति लोप भइसकेको प्रतीत हुन्छ । कुराले कुरा आउँछ । यस बारेमा सोधखोजकै सिलसिलामा तमखूज्यू लगायत स्थानीय बासिन्दाहरूसित जिज्ञासा राख्दा उहाँहरूले गहितिचोकको दक्षिणमा रहेको ढुङ्गाको थुप्रोतिर देखाउँदै भन्नुभयो, ‘त्यही थुप्रोमा गहितिको अवशेष हितिमंग दबिएर रहेको हुनुपर्छ । अनि उत्निखेरै हामी सबै मिलेर ढुङ्गाको रासबाट हितिमङ्ग पत्ता लगाएरै छाड्यौँ । कैयन् कालदेखि यसमा जमेर लागेको हिलोमाटो पखालेपछि हाम्रो सामु साह्रै सुन्दर, कलात्मक हितिमंग देखापर्न आयो । मैले यसको पनि नापो लिएँ । गहितिको अवशेष पत्ता लागेकोमा हामी सबै खुसीले दङ्ग भयौँ । निःसन्देह यो पनि अन्वेषणको एक उल्लेख्य आकस्मिक खोज वा उपलब्धि थियो । स्थानीय बासिन्दाका अनुसार सो हितिमंगको अर्को अवशिष्ट भाग सँगैको लक्ष्मीनरसिंहमन्दिरको पश्चिमपट्टि पहिलो तहको पेटी बनाउने क्रममा छापिनपुगेको छ ।
- जर्हुँ/जलद्रोणी

जर्हुँ/जलद्रोणी । इस्वी पन्ध्रौँ शताब्दी । १८० गुणा ३४ गुणा २९ सेमि । ल्वंहहितिपरिसरमा जर्हुँ पनि बनाएर जलसम्पदालाई अझ बढी सम्पन्न, सुन्दर र शोभायुक्त तुल्याइराख्ने नेवार वास्तुकलाको एक सुन्दर नमुना यो जर्हुँ पनि हो । गहिति परिसर ल्वंहहिति, तुंथि/इनार लगायत जर्हुँले पनि सम्पन्न रहिआएको आभास यस जर्हुँले गराएको छ ।
- रतासनका मूर्ति

सम्पदा संरक्षण : जर्हुँ, रतासनका मूर्ति कुँदिएको प्रस्तरखण्ड, गहितिको अवशिष्टभाग हितिमंग ।

रतासनका मूर्ति कुँदिएको प्रस्तरखण्ड, एक दुर्लभ नमुना । ईस्वी पन्ध्रौँ शताब्दी ।
भोलिपल्ट, ३२ असार, बुधबार, २०८२ । तःमाह्रिटोल र गहितिटोलमा बिहान र साँझ सधैँ तरकारीबजार लाग्छ, तरकारी किन्न म प्रायः यहीँ आउने गर्छु । एक पन्थ दो काज भनेझैँ यस दिन बिहान तरकारी किनेर फर्कने क्रममा गहितिचोकमा पनि यसो घुम्न थालेँ । यहाँ नारायणमूर्ति र अन्य सम्पदा पुनस्र्थापनाको काम तीव्र गतिमा भएको देखेँ । खुसी लाग्यो । सोही क्रममा त्यहाँ मलाई देखेपछि स्थानीय श्री बलराम सिबंजार (४७) ले हिजो पत्ता लागेका जर्हुँसँगै हितिमंग र अर्को एक रतासनका मूर्ति कुँदिएको प्रस्तरखण्ड पनि त्यसैसित जोडेर पुनस्र्थापन गरेको कुरा ती सम्पदा देखाउनुहुँदै बताउनुभयो । बलराम सिंबजार लगायत गहितिचोकमा काम गर्ने कामदारहरूले रतासनका मूर्ति कुँदिएको सो प्रस्तरखण्डलाई हितिमंगकै एक भाग होला भनेर त्यसैसित जोडेर राखिदिएका रहेछन् ।
सिबंजारज्यूका अनुसार यसै गहिति परिसरमा अलपत्र अवस्थामा रहेको सो प्रस्तरखण्डलाई वि.सं. २०६४ सालमा वडा कार्यालयमा लगी राखिएको र अहिले गहितिचोकमा ढुङ्गा छाप्ने क्रममा यहाँ त्यसरी राख्न ल्याइएको हो । खण्डित अवस्थाको सो प्रस्तरखण्डमा दुई जोडी भिन्नभिन्न मुद्रामा रतासनमा लीन छन् । रतासनका मूर्ति कुँदिएको यो प्रस्तरखण्ड विशेष महत्त्वको छ । यस्तो दुर्लभ सम्पदा देखाइदिनुभएकोमा बलराम सिंबजारज्यूलाई धन्यवाद छ ।
मलाई लाग्छ, यो कुनै शिखरशैलीको ढुङ्गे मन्दिरको अवशिष्ट भाग हुनुपर्छ । खण्डित अवस्थाकै सही, यसमा कुँदिएका रतासनका मूर्ति र सुन्दर कलात्मक बुट्टाका अंशले खजुराहो मन्दिरका रतासनका मूर्तिहरू (ईस्वी दसौँ शताब्दी)लाई सम्झाएको छ ।
नेपालमा अझ विशेष गरी नेपालमण्डल (काठमाडौँ उपत्यका) मा मन्दिरका टुँडाल, सत्तलपाटी आदि र चित्रकलामा यस प्रकारका रतासनका आकृति देख्न सकिन्छ । अर्को शब्दमा भन्नुपर्दा काठ, कपडा, कागज आदिमा यस प्रकारका आकृति चित्रहरू लेखेको कुँदिएको भेटिन्छ तर ढुङ्गामा कुँदिएको रतासनको मूर्ति यसअघि देखिएको वा प्राप्त भएको जानकारी छैन (यो मेरो अल्पज्ञान पनि हुन सक्छ) । यसो हो भने नेपालमा आजसम्म प्राप्त रतासन/कामकलाका मूर्ति वा आकृतिहरूमध्ये प्रस्तरमा कुँदिएको यो नै यस विषयको पहिलो हो भनी मान्न सकिन्छ । यो पनि आकस्मिक खोजको अर्को एक उल्लेख्य उपलब्धि हो ।
गहितिटोल अनेक कालखण्डका सम्पदाले समृद्ध रहेको देखिन आएको छ । यति सानो ठाउँ वा चोक परिसरबाट अनेक अतुल्य सम्पदा फेला परेका छन् । भक्तपुरको गर्भमा अनेक कालखण्डका अद्भुत सम्पदा गर्भस्थ रहेछन् भन्ने कुराको एक झलक यस चोक परिसरमा पत्ता लागेका सम्पदाबाट पनि आकलन गर्न सकिन्छ । यसले भक्तपुर खुला आकाशमुनिको खुला संग्रहालय मात्र नभएर पातालमुनि गर्भस्थ रहेको रहस्यमय बन्द रूपको संग्रहालय पनि रहेछ भनी मान्न कर लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण