सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

‘अबको बर्खामा नागढुंगा–मुग्लिङ सडकखण्डमा यात्रुले सास्ती खेप्नुपर्ने छैन’

शनिबार, ०३ साउन २०८२, १३ : ०१
शनिबार, ०३ साउन २०८२

सारांश

  • नागढुंगा-मुग्लिङ सडकखण्डको झ्याप्ले खोलामा पहिरो रोकथाम तथा सडक निर्माणको काम तीव्र गतिमा भइरहेको छ।
  • पहिरोको मुख्य कारण सडक माथि घरजग्गाका लागि गरिएको प्लटिङ र त्यसबाट निस्किएको माटो भएको निष्कर्ष छ।
  • सडकखण्डमा डबल लेनको सडक निर्माण भइरहेको छ, जसमा उकालो र ओरालोका लागि लेनहरू छुट्याइनेछन्।

काठमाडौँ । एक वर्षअघि नागढुंगा—मुग्लिङ सडकखण्ड अन्तर्गतको झ्याप्ले खोलामा पहिरो खस्यो । जसकारण ठुलो मानवीय क्षति भयो । ३५ जनाले अकालमै ज्यान गुमाए । देशलाई नै शोकमा बदल्ने त्यो घटनापछि नागढुंगा–मुग्लिन सडक खण्डमा अहिले पहिरो रोकथामदेखि सडकनिर्माणको काम तीव्र गतिमा भइरहेको छ ।  

नागढुंगा–नैबिसेको पहिलो प्याकेज अन्तर्गत चिनियाँ कम्पनी जियाङ्सु र नेपाली साझेदार कम्पनी सगुनले काम गरिरहेको छ । सो सडकखण्ड निर्माण गरिरहेका निर्माण व्यवसायी ज्ञानेन्द्र घिमिरे सो प्याकेज अन्तर्गत अहिले कालोपत्रेको काम सकिसकेको बताउँछन् । उनकाअनुसार झ्याप्ले खोलाको पहिरो पोहोर जुन वितण्डा निम्ताया, अहिले पहिरो रोकथामको काम तीव्र गतिमा भइरहेको छ ।

काम मात्रै भएको छैन त्यो पहिरो आउनुको मुख्य कारण पनि खोजी भइसकेको छ । देशलाई नै शोकमा पार्नेगरी दशकौँ यता भएको उक्त पहिरो जानुको मुख्य कारण सडकभन्दा केही माथि घरजग्गाका लागि प्लटिङ गरिनु हो, उनले भने ।

निर्माण व्यवसायी घिमिरेकाअनुसार प्लटिङको माटो यत्तिकै फालिदिए । जब भारी वर्षा भयो त्यो पानीले माटो बग्यो । माटो पहिरो स्वरूप आयो र माटो लेदो भएर आयो । सडकमा कलर्भट थियो । लेदेलो कलर्भट भरिदियो । निकासी हुन पाएन । पानीले पनि कहीँ जाने निकास पाएन । सम्पूर्ण लेदो पहिरोस्वरुप आएका कारण ठुलो घटना घट्यो । 

घिमिरेकाअनुसार स्थानीयले भनेअनुसार २०५० सालमा पनि त्यहाँ ठुलो पहिरो आएर धेरै क्षति गरेको रहेछ । सडक निर्माण कार्यले गर्दा अहिले झ्याप्ले खोलामा ठुलो पहिरो आएको होइन ।  सडक भन्दा केही माथि अव्यवस्थित तवरले गरिएको प्लटिङले गर्दा पहिरो आएको घिमिरेले बताए । उनकाअनुसार अनुसन्धान गर्दै जाँदा सडक निर्माणका क्रममा त्यसरी पहिरो गएको पाइएन ।

निर्माण व्यवसायी घिमिरेले भन्नुभयो–जब झ्याप्ले खोलामा पहिरो गएर जनधनको क्षति गर्‍यो अहिले पुन:डिजाइन गरेर भित्ताहरूमा कडा चट्टानहरू राखेर जाली भर्ने काम भइरहेको उनी बताउँछन् । घिमिरेकाअनुसार झ्याप्ले खोलामा पहिरोको रुप लिइसकेको छ । अब त्यसलाई रोकथाम गर्नका लागि अहिले काम गरिरहेको निर्माण कम्पनीलाई गत चैतमा सरकारले जिम्मा दियो र अहिले यसमा काम भइरहेको छ । अहिले भित्तामा ‘ग्याबिन’ लगाइएको छ । प्लटिङ भएको भूभागआसपासका भित्तामा बास रोप्नेदेखि अत्याधुनिक तवरले भित्तालाई आरसीसी ढलान गरिँदैछ ।

नागढुंगा—मुग्लिङ सडक योजना पूर्वी खण्ड आयोजना प्रमुख केशवप्रसाद ओझा पनि बर्खायाममा यात्रुहरूले पाइरहेको दुःख अब छिट्टै अन्त्य हुने बताउँछन् । उनकाअनुसार नागढुंगा पूर्वी खण्ड आयोजना सडकखण्डअन्तर्गत दुईओटा प्याकेजहरू छन् ।

आयोजना प्रमुख ओझाले भने–एउटा प्याकेज नागढुंगादेखि नैबिसे खण्डसम्म १२.२ किलोमिटर र नविसेदेखि मलेखुखण्डसम्म ४३.५ किमी छ । कुल ५५ किमीमध्ये हालसम्म करिब आधा अर्थात २७ किमी पहिलो तहको कालोपत्रे सम्पन्न भएको छ । त्यसमा पर्ने १५ वटा पुलहरूमध्ये आठ ओटा पुलहरूमा गाडीहरू नै चल्न सुरु गरेका छन् । 

अब दुईओटा पुलहरूमा छिट्टै गाडी चल्लेसम्मको बन्नेछ । बाँकी ५ वटा पुल चालु आर्थिक वर्षसम्म पूरा हुनेछन् । सडकतर्फ पनि चालु आवसम्म पहिलो तहको कालोपत्रे ५५ किमीमा सक्ने योजना छ । आयोजनाको कुल समग्रमा हेर्दा ४४ प्रतिशत भौतिक प्रगति छ । पहिलो प्याकेजको करिब ८४ प्रतिशत र दोस्रो प्याकेजको ४४ प्रतिशत काम भइसकेको छ । 

यो आयोजना अन्तर्गत डेडिकेटेडड डबल लेनको सडक बन्दैछ । यसका कतिपय खण्डमा बिस्तारै हिँड्ने सबारीका लागि छुट्टै क्लाइमिन लेन थपेर तीन लेनको बन्नेछ । जसमा उकालोतर्फ जाने २ लेनमा जानेछन् भने ओरालोतर्फ झर्ने १ लेनमा सवारी झर्नेछन् ।

त्यस्तै बजार क्षेत्रमा चारलेनदेखि ६ लेनको सडक बन्दैछ । गल्छी–बैरेनी एरियामा एकदमै पानीहरू पर्ने र खाल्डो पर्ने समस्या छ । समस्या मात्रै आइरहने स्थान थियो । पछिल्लो हिउँददेखि नै यसमा युद्धस्तरमा काम भयो । अहिले हिलो र धुलोबाट मुक्त हुने अवस्था छ । 

यद्यपी केही कामहरू बाँकी रहेका छन् । दोहोरो गाडी हिँड्नसक्ने भइसकेको छ । अबको बर्खामा यात्रुहरूले हिलो खेप्नुपर्नेछैन । ओझाले पनि गत मनसुनका घटनाहरु सडकहरुमा क्षति पुगेको  र त्यस ठाउँमा पहिरोलाई रोकथाम गर्न नयाँ प्रविधिहरू ल्याएर काम भइरहेको बताए  । यो मनसुनलाई लक्षित गरेर कामहरू तीव्र गतिमा भइरहेको छ । खोलाका कटानहरू समेत रोक्ने काम सम्पन्न भएको छ ।

उहाँकाअनुसार मलेखु भीरमा पनि पहिरो गएर सधैँ दुःख दिइरहने स्थानमा त्यहाँ पनि पहिरो नजानेसम्मको सतह भेटाइसकेको छ । पर्खाल लगाएर लेदो सडकमा आउन नसक्नेगरी काम भइरहेको छ ।

अहिले दैनिक १५ हजार भन्दा बढी सबारीलाई व्यवस्थापन गरेर निर्माण गर्न मुख्य चुनौतीका रुपमा देखा परिरहेको छ । यसको डाइर्भसन पनि गरिएको छैन । विपी, कान्ति राजमार्गले पनि सोचेअनुसारको सुविधा नदिएका कारण सडक निर्माणाधीन सडकमै परेको छ । दैनिक ८ घण्टा काम गर्ने समय पाउन पनि मुस्किल परिरहेको छ । यसले गर्दा सोचेअनुरुप परिणाम निस्कन सकिरहेको छैन । गाडीको चाप कम हुने समयमा काम गर्नुपरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप