पोलिटब्युरोपछि एमालेका तीन नेताको दाबी : पार्टी एकताबद्ध हुने आधार तय भयो
सारांश
- नेकपा एमालेका नेताहरूले पोलिटब्युरो बैठकले पार्टीलाई एकताबद्ध बनाउने सङ्कल्प गरेको बताएका छन्।
- बैठकमा विधान संशोधनको प्रस्तावलाई सर्वसम्मत रूपमा स्विकारिएको र केन्द्रीय कमिटीमा पेश गरिने भएको छ।
- उपमहासचिव ज्ञवालीले बैठकलाई 'कट अफ बैठक' को रूपमा लिई पार्टी एकताका साथ अघि बढ्ने सङ्कल्प गरेको बताए।
काठमाडौँ । नेकपा एमालेका नेताहरूले पोलिटब्युरोको बैठकले पार्टीलाई थप एकताबद्ध बनाएर लैजाने सङ्कल्प गरेको बताएका छन् । महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य एवं पार्टीको बागमती प्रदेशका इन्चार्ज डा.राजन भट्टराईले बैठकपछि सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै यस्तो बताएका हुन् ।
महासचिव पोखरेलले ‘वादे वादे जायते तत्व बोध’ शीर्षकमा फेसबुकमा लेख्दै पार्टीको सचिवालय बैठकले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई पोलिटब्युरो बैठकले सर्वसम्मत रूपमा स्विकारेको उल्लेख गरेका छन् ।
महासचिव पोखरेलले पर्सी पाँच गते बस्ने केन्द्रीय कमिटीको बैठकमा यी प्रस्तावहरू पेस गरिने बताएका छन् । महासचिव पोखरेलले सचिवालय र पोलिटब्युरोको बैठकले पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढाउने सङ्कल्प गरेको उल्लेख गरेका छन् ।
उपमहासचिव प्रदीप ज्ञवालीले बैठकको समग्र परिदृश्यको चर्चा गर्दै विधानको बहसका विषयमा चौथो पोलिटब्युरो बैठक ‘कट अफ बैठक’ का रूपमा रहेको उल्लेख गरेका छन् । उनले सचिवालयले विधान संशोधनका लागि पेस गरेको प्रस्ताव पोलिटब्युरो बैठकले महत्त्वपूर्ण सुझाव, टिप्पणी र रायसहित प्रस्तुत गरेको बताएका छन् ।
ज्ञवालीले बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेका धारणाहरू पनि सार्वजनिक गरेका छन् । ‘पार्टी जीवनको लोकतान्त्रिकरणलाई सुविधा अनुसार खास बुँदामा होइन समष्टिमा बुझ्नु पर्ने, पार्टीको सुदृढ एकता र त्यसको बलमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्नु आफ्नो एक मात्र उद्धेश्य रहेको बताउनुभएको छ ’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
२०७८ असोजमा भएको विधान महाधिवेशन र सोही वर्षको मङ्सिरमा भएको दशौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानका बारेमा सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेका भ्रामक प्रचारलाई बैठकले खारेज गरेको ज्ञवालीले उल्लेख गरेका छन् । ज्ञवालीले लेखेका छन्– ‘यस बैठकलाई कट अफ बैठकका रूपमा लिने र सिङ्गो पार्टी भावनात्मक एकताका साथ अगाडि बढ्ने सङ्कल्प पनि बैठकले गरेको छ ।’
स्थायी कमिटी सदस्य भट्टराईले पूर्व राष्ट्रप्रमुखलाई राजनीतिमा पुन संलग्न हुने विषयलाई लिएर एमालेभित्र भाँडभैलो मच्चाउने तत्त्वहरूलाई पोलिटब्युरो बैठकले निराश पारेको बताएका छन् । ‘यो बैठकले पार्टी एकताप्रति गहिरो प्रतिबद्धता जनाउँदै आगामी दिनहरूमा पार्टी अझ एकताबद्ध र सुदृढ भएर अघि बढ्ने मार्गचित्र पनि प्रस्तुत गरेको छ’ भट्टराईले लेखेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण