शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतमा बाढीको वितण्डा: उत्तर प्रदेशमा १८ जनाको मृत्यु, उत्तराखण्ड र हिमाचलमा 'रेड अलर्ट'

आइतबार, ०४ साउन २०८२, ०० : ३२
आइतबार, ०४ साउन २०८२

सारांश

  • भारतका विभिन्न राज्यहरूमा मनसुन सक्रिय भएसँगै भारी वर्षा र बाढीपहिरोले जनजीवन अस्तव्यस्त भएको छ।
  • उत्तर प्रदेशमा १८ जनाको मृत्यु भएको छ भने राजस्थानका विभिन्न जिल्लाहरूमा बाढीको अवस्था सिर्जना भएको छ।
  • उत्तराखण्ड र हिमाचल प्रदेशमा रेड अलर्ट जारी गर्दै सतर्क रहन आग्रह गरिएको छ भने पूर्वोत्तरमा पहिरोले जनजीवन प्रभावित पारेको छ।

नयाँ दिल्ली । भारतका विभिन्न राज्यहरूमा मनसुन सक्रिय भएसँगै भारी वर्षा र बाढी पहिरोले जनजीवन अस्तव्यस्त बनेको छ ।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा वर्षाका कारण भएका घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् भने राजस्थानका कयौं जिल्लाहरूमा बाढीको अवस्था सिर्जना भएको छ ।

भारतीय मौसम विभाग (आईएमडी) ले उत्तराखण्ड, हिमाचल प्रदेश, पश्चिम बङ्गाल र केरलमा भारी वर्षाको चेतावनी दिँदै रेड अलर्ट जारी गरेको छ।

उत्तर भारतमा मनसुन सक्रिय 

उत्तर प्रदेशमा मनसुनी वर्षाले ठूलो क्षति पुर्‍याएको छ। राज्यका विभिन्न भागमा भएका वर्षाजन्य दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यसैगरी, राजस्थानका विभिन्न जिल्लाहरूमा लगातारको वर्षाले बाढीको स्थिति उत्पन्न भएको छ, जसका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ। मौसम विभागले आगामी केही दिनसम्म यी क्षेत्रमा भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ।

पहाडी राज्यहरूमा उच्च सतर्कता

उत्तराखण्ड र हिमाचल प्रदेशमा मनसुनको प्रभाव सबैभन्दा बढी देखिएको छ। मौसम विभागले यी दुवै राज्यका लागि 'रेड अलर्ट' जारी गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। उत्तराखण्डको उत्तरकाशी जिल्लामा बादल फाट्दा र भारी वर्षाका कारण केही स्थानमा सडकहरू अवरुद्ध भएका छन् ।

हिमाचल प्रदेशमा पनि भारी वर्षाले नदीहरूको जल स्तर बढाएको छ र कैयौँ स्थानमा बाढीको खतरा बढेको छ । दुवै राज्यमा विपद् व्यवस्थापन टोलीहरूलाई उच्च सतर्कतामा राखिएको छ र सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिएको जनाइएको छ ।

पूर्वोत्तरमा पनि पहिरोको मार

अरुणाचल प्रदेश र सिक्किममा पनि लगातारको वर्षाले पहिरो जाँदा जनजीवन प्रभावित बनेको छ । अरुणाचल प्रदेशको लोअर सियाङ जिल्लामा आलो(लिकाबाली सडकखण्ड विभिन्न ठाउँमा पहिरोले अवरुद्ध भएको छ । लगातार पानी परिरहेकाले राष्ट्रिय राजमार्ग एवं पूर्वाधार विकास निगम (एनएचआईडीसीएल) लाई पहिरो पन्छाउन कठिनाइ भइरहेको छ ।

त्यस्तै, सिक्किम र पश्चिम बङ्गाल जोड्ने राष्ट्रिय राजमार्ग-१० मा पनि पहिरो र ढुङ्गा खस्दा यातायात सेवा अवरुद्ध भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । कालिम्पोङ जिल्लाको बिरिक दारामा पहिरो हटाउने काम जारी छ र २४ घण्टाभित्र सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ ।

अन्य राज्यमा पनि प्रभाव

केरलका केही जिल्लाहरूमा पनि भारी वर्षाको चेतावनी दिइएको छ । देशका अन्य भागहरूमा पनि मनसुन सक्रिय रहँदा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ ।

प्रभावित सबै राज्यहरूमा विपद् व्यवस्थापन टोलीहरू तैनाथ गरी उद्धार तथा राहत कार्य र मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको समाचारहरूमा उल्लेख छ । भारतको मौसम विभागले आगामी केही दिन देशका विभिन्न भागहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । 

यसैबिच नेपालमा पनि आगामी तीन दिन भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप