बाढी पहिरोको प्रभाव : देशका आठ स्थानमा पूर्ण रूपमा सडक अवरुद्ध
सारांश
- मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भएको छ।
- अरनिको, मेची, कोशी राजमार्ग लगायतका सडकहरूमा पहिरोका कारण यातायात प्रभावित भएको छ।
- सडक विभागले अवरुद्ध सडक खुलाउन उपकरण पठाए पनि वर्षा र खोलाको बहावले समस्या भइरहेको जनाएको छ।
काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भइरहेको छ । सडक विभागका अनुसार आइतबार मात्रै ६ वटा मुख्य राजमार्ग तथा सडक खण्डमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
आइतबारसम्म देशभर ८ स्थानका सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ८९ स्थानमा एकतर्फी सञ्चालन छन् । अरनिको, मेची, कोशी राजमार्ग लगायतका सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ । विभागले अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरे पनि निरन्तरको वर्षा र खोलाको बढ्दो बहावले काममा कठिनाइ भइरहेको जनाएको छ ।
आइतबार अरनिको राजमार्गअन्तर्गत दोलालघाट–खाडीचौर–कोदारी सडकअन्तर्गत सिन्धुपाल्चोकको जुरेमा बिहानै पहिरोले सडक अवरुद्ध भएको छ । यसैगरी मेची राजमार्गको गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोलामा सडक खण्डअन्तर्गत हेवा खोलामा पूर्ण रूपमा अवरुद्ध बनेको छ । खोलाको बहाव घटेपछि मेशिन प्रयोग गरेर डाइभर्सन मर्मत गरिने जनाइएको छ ।
भेडेटार रवि राँके सडक धनकुटामा उपकरण तैनाथ गरी सडक खुलाउने प्रयास भएको जनाइएको छ । तानसेन–सिडी–कोरला सडक अन्तर्गत मुस्ताङको भेना गाउँमा लेदोसहितको पहिरो आएको र ब्याकहोइ मेशिन परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ ।
यस्तै कोशी राजमार्गको तुम्लिङटार–खाँदबारी–किमाथांका सडक खण्डअन्तर्गत सङ्खुवासभाको देउरालीमा पनि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यहाँ पनि एक्स्काभेटर प्रयोग गरी बाटो खुलाउने काम भइरहेको छ ।
साथै शहिदमार्गको कोइलावास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाउँ–थवाङलुकुम सडक खण्डअन्तर्गत रोल्पामा पानी परिरहेको र लेदोसहितको माटो आएकाले पानी रोकिएपछि कार्य सञ्चालन गर्ने साथै लेदो पन्छाउन केही समय लाग्ने जनाइएको छ ।
विभागले असार २९ गते कोशी राजमार्गको तुम्लिङ्टार–खाँदबारी–नुम–किमाथांका सडकअन्तर्गत सङ्खुवासभाको वरुण नदीमा डाइभर्सन बगाएको र पुल निर्माण ढलानको कार्य बाँकी रहेको जनाउँदै पानीको बहाव बढेको कारण डाइभर्सन पुनर्स्थापना गर्न नसकिएको जनाएको छ । पानीको सतह घटेलगत्तै डाइभर्सन निर्माण गरिने र सँगै ढलानको कामलाई जोड दिइने जनाइएको छ ।
असार २४ गते आएको बाढीले स्याफ्रुवेसी–रसुवागढी सडक अवरुद्ध भएको छ । यो सडक खुलाउने प्रयास भइरहेको समेत विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण