शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सिराहा कारागार झडपका घाइतेलाई थप उपचारका लागि काठमाडौँ  पठायो

आइतबार, ०४ साउन २०८२, २२ : १३
आइतबार, ०४ साउन २०८२

सारांश

  • सिराहा कारागारमा कैदीबन्दीबीचको झडपमा घाइते भएका १३ जनालाई थप उपचारका लागि काठमाडौं पठाइयो।
  • नाइके नियुक्तिको विषयमा विवाद हुँदा झडप भएको र जिल्ला प्रशासनले थप अनुसन्धान गरिरहेको छ।
  • क्षमताभन्दा बढी कैदीबन्दी रहेको कारागारमा अवैध कारोबारको आशंकामा सुरक्षाकर्मीले सर्च गरेको थियो।

सिराहा। सिराहा कारागारका घाइते सबै जनालाई आजै थप उपचारका लागि काठमाडौँ पठाइएको छ। नाइके नियुक्ति विषयमा आइतबार अपराह्न विवाद पछि भएको झडपका घाइते १३ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको हो। 

उनीहरूलाई प्रोदशिक अस्पतालले रेफर गरेपछि उपचारको लागि एम्बुलेन्समार्फत केन्द्रीय कारागार पठाइएको सिराहा कारागार प्रमुख सुबोध महतोले जानकारी दिए। 

उनले भने, ‘यहाँका डाक्टर सावहरुले सबै जनालाई रेफर गर्नुभयो, त्यसैले जिल्लाको सुरक्षा निकायको सल्लाह बमोजिम केन्द्रीय कारागार पठाएका छौँ। त्यहाँ आवश्यकता अनुसार उपचारको प्रबन्ध मिलाउनुहुन्छ।’

झडपमा विजय महतो, वरुण महतो, शिवा भन्ने शिवकुमार राम, दीपक ठाकुर, शिवम् भन्ने जय प्रकाश चौधरी, जङ्गली भन्ने अन्जनी कुशवाह, छोटु भन्ने रिपेन्द्र झा, सन्तोषकुमार सिंह, बैजु दास, मकेश्वर महतो, दीपेन्द्र यादव, जितन साह र सत्यनारायण कारक घाइते भएको कारागार स्रोतले जनाएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार कारागारमा नाइके बनाउने विषयमा भएको विवाद पछि झडप भएको भन्ने प्रारम्भिक अनुमान छ। उनले भने, ‘प्रशासन र सुरक्षा अधिकारीहरूको टोली कारागार पुगेर थप सोधपुछ गरिरहेको छ। त्यसैले तत्काल यही हो भन्ने अवस्था छैन।’

क्षमताभन्दा साढे तीन गुणा बढी कैदी बन्दी रहेको सिराहा कारागारमा अवैध कारोबार हुने गरेको आशङ्कामा जिल्ला प्रशासन कार्यालय सिराहाको नेतृत्वमा शनिबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहितको सुरक्षा अधिकारीको टोलीले कैदीबन्दी बस्दै आएका कोठाको सर्च गरेको थियो। 

सर्च अपरेसनको भोलिपल्ट कारागारमा कैदीबन्दीबिच दोहोरो झडप भएको हो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप