विवेक कसले बिर्सियो : विद्यार्थीले कि प्राध्यापकले ?
केही दिनदेखि फेसबुकमा एउटा पोस्ट निकै छिटो र विशेषतः प्राज्ञिक व्यक्तिबाट अधिक रुचिका साथ सेयर भएको देखिन्छ । विश्वप्रसिद्ध भनिएको हारभर्ड विश्वविद्यालयका एक प्राध्यापक कनेल वेस्टले राजीनामा दिएको बेहोरा सञ्जालमा भाइरल नै बनिरहेको छ । उनको विचार संक्षेपीकरण गरिएको पोस्टलाई आफ्नो फेसबुक वालमा धेरैले सेयर गरिरहेछन् ।
उनीले प्राध्यापनबाट बिदा लिनुमा विद्यार्थीमा मानवता हराएको; संस्कार, सभ्यता र संस्कृति विनाश भएको; विद्यार्थी तथा आजका दीक्षितहरू केवल बजार नियन्त्रित भएको भन्ने आशय छ । यद्यपि उनले विद्यार्थीमा खोजेको मानवता, सभ्यता र संस्कृतिको मानक के के हुन् भन्ने उक्त पोस्टमा खुलेको छैन । अनि शिष्य र आजका दीक्षितहरू केवल बजार नियन्त्रित भएको भनाइमा पनि स्पष्ट उदाहरण छैनन् ।
केवल एउटा प्रसंगलाई जोडतोड साथ पेस गरिएको छ कि उनकी आमाको देहावसान हुँदा हारभर्ड न्युजलेटरमा जम्मा दुईजनाले मात्र सहानुभूति सन्देश दिएका थिए रे । यद्यपि विभिन्न समाचार पोर्टलहरूमा उनको राजीनामाका कारणलाई थोरै व्याख्या गरिएको छ । उनकै शब्दमा चाहिँ बौद्घिक दिवालियापन र छरपस्ट दिशाहीनता (इन्चलेक्चुएल ब्याङ्करप्सी र स्क्याकरेड डिसओरियन्टेसन्) जस्ता शब्दको प्रयोग भएका छन् ।
यो घटना भने आजभन्दा चार वर्षअघिको हो । उनले राजीनामा दिएको २०२१ जुन ३० मा हो । जागिर छाड्नुको कारणसहित उनले यो आशयको राजीनामाको प्रथमप्रति आफ्नो ट्विटरबाट सार्वजनिक गरेका थिए । उनले पहिलोपटक सन् २००२ मा सोही विश्वविद्यालयबाट जागिर छाडेको र समय क्रममा पुनः संलग्न भएपछि पछिल्लो राजीनामा दोस्रो थियो । सेवा अवधि गणनामा विश्वविद्यालयसँग मनमुटाव भएका कारण उनले राजीनामा गरेको भए पनि उनको ट्विटर टिप्पणीले धेरैलाई आकर्षित र प्रभावित बनाएको थियो ।
घटनाको चार वर्षपछि अहिले धेरैले विद्यार्थीमा विवेक हराएको भन्ने उनको तर्कलाई समर्थन गर्दै पोस्ट सेयर गरिरहेका छन् । यो पंक्तिकारलाई भने आफ्ना गुरु ऋषिकेश उपाध्यायको कविता ‘काठमान्डु ट्वेलाइट’ सम्झना आइरहेको छ । उक्त कवितामा धेरै मानिस तत्कालीन राज परिवारको देहावसानमा शोकाकुल भए पनि कवि भने ती शोकाकुलमा उन्नत सोचको देहावसान भएको देखेर शोकाकुल भएको चित्रण छ । पंक्तिकारको मथिंगलले चाहिँ यो भन्दै छ कि विवेक कसमा हरायो ? विद्यार्थीमा कि ती प्राध्यापकमा ? उनलाई सेयर गर्ने सेयरकर्तामा ?
जिम्मेवारी, समर्पण र दायित्व हो पेसा । त्यहाँ पारिवारिकता खोज्नु हुँदैन । सेवाग्राही र पेसाकर्मीले आधारभूत मान्यताभित्र रहेर सेवाप्रवाह गर्ने हो । यो एक औपचारिक प्रक्रिया हो । पेसामा पारिवारिक सामीप्यता खोज्ने मानिस अन्ततः कहीँकतै प्रताडीत र दुःखी हुनैपर्छ । परिवारका हिसाबले सामीप्यता नदेखाउनु विद्यार्थीको कमजोरी होइन; अपेक्षा गर्नेको अनावश्यक महत्त्वाकांक्षा हो । तिनै प्रोफेसरका जीवनकालमा उनलाई पढाएका शिक्षक कहाँ–कहाँ छन्, तिनीहरूप्रति त्यस्तै दुःखमा उनले अहिले अपेक्षा गरेको जस्तै सहानुभूति कति देखाएका थिए ? उनका हरेक शिक्षकले उनीबाट यस्तै प्रकारको सद्भाव अपेक्षा गरेका थिए अथवा उनले त्यो कृतज्ञता देखाएका थिए त ? यसरी शिक्षकहरूप्रति शिष्यले आदरभाव प्रकट गर्नुपर्छ भनेर उनी स्वयंले सिकाएका थिए त ?
बजारकेन्द्रित बन्नु र व्यावसायिक हिसाबमा सफल हुनु उच्च शिक्षाको अनेकमध्ये एक मापन प्रणाली होइन र ? उनका शिष्यहरू पेसामा सफल छन्; बजारमा प्रभावी हैसियत बनाएर बसेका छन्; रोजगारीमा अब्बल छन्; उनीहरूको व्यक्तिगत जीवनमा सफल छन्; सामाजिक ख्याति कमाएका छन्; समाज, देशको लागि योगदान गरिरहेका छन् र हरेक कर्ममा तथा समाजप्रति इमानदार छन् भने त्यसैमा हो एउटा प्राध्यापकले गहिरो सन्तोष र असीम आनन्द महसुस गर्ने । उनीहरूबाट कुनै निगाहा अथवा अनुग्राह्यता अपेक्षा गर्नु कदापि मर्यादित होइन । स्वेच्छाले आदरभाव र सम्मान प्रकट गर्ने अभिरुचि देखाए भने त्यो अहोभाग्य हो, तर अधिकारको रूपमा दाबी गर्न सुहाउँदैन । भेटघाट हुँदा सामान्य शिष्टाचार कायम र आदर अनुपालन गरे भने त्यो विद्यार्थी असल भएको महसुस गर्नुपर्छ । उनले इंगित गरेकोे सहानुभूति परिवार, नातागोता र सहकर्मीबाट अपेक्षा गर्ने विषय हो विद्यार्थीबाट होइन ।
उनलाई सहानुभूति प्रकट नगर्दैमा सबैप्रति ती विद्यार्थी उनले सोचे जति नै अनुदार छन् भन्ने निष्कर्ष निकाल्न मिल्छ र ? उनका शिष्यहरू सम्बन्धित अथवा तत्तत् समूह तथा समुदायमा उच्च मानवीयतासहित व्यावसायिक सफलता पनि हासिल गरिरहेका छन् कि ? उनीहरूका पनि आफ्ना जिम्मेवारी, दायित्व, पेसागत चुनौती अनि थुप्रै अरु असहजता र सीमा होलान् नि ?
आमा ममताकी खानी हुन् । मृत्यु कसैको र कहिल्यै पनि खुसी हुने अवसर होइन । अझ आमाको मृत्यु सामान्य मृत्यु मात्र नभएर ममताको खानी भासिएजस्तो अनि माया र स्नेहको पहाड ढलेजस्तै हो । कनेल भावविह्वल भए होलान् तर उनको त्यो पीडा र दुःख उनले सहानुभूति अपेक्षा गरेका सबै सामु पुगेकै थियो भन्ने के निश्चित छ र ? उनका शिष्य यो अवस्थासँग ज्ञात नै थिएनन् कि ?
बजारकेन्द्रित बन्नु र व्यावसायिक हिसाबमा सफल हुनु उच्च शिक्षाको अनेकमध्ये एक मापन प्रणाली होइन र ? उनका शिष्यहरू पेसामा सफल छन्; बजारमा प्रभावी हैसियत बनाएर बसेका छन्; रोजगारीमा अब्बल छन्; उनीहरूको व्यक्तिगत जीवनमा सफल छन्; सामाजिक ख्याति कमाएका छन्; समाज, देशको लागि योगदान गरिरहेका छन् र हरेक कर्ममा तथा समाजप्रति इमानदार छन् भने त्यसैमा हो एउटा प्राध्यापकले गहिरो सन्तोष र असीम आनन्द महसुस गर्ने ।
एउटा प्राध्यापकको धर्म कक्षा कोठामा राम्रो ज्ञान दिने हो, विद्यार्थीबाट गुनासो नहुने गरी शिक्षण सिकाइ सम्पन्न गर्ने हो । विद्यार्थीलाई उनीहरूको पेसागत जीवनमा सफल हुन आवश्यक प्रशिक्षण र परीक्षण गर्ने हो । अतिरिक्त परामर्श लिन चाहेमा उदारताका साथ सहयोग गर्ने हो । सामाजिक हिसाबले जिम्मेवार बनाउन प्रयास गर्ने हो । विद्यार्थीसँग औपचारिक, मर्यादित र जीवन्त सम्बन्धको अपेक्षा गर्ने हो । आत्मीयताको अपेक्षा औचित्यपूर्ण होइन । सफल र निपुण शिक्षकको मानक निर्माण गर्ने हो तर उनले भोगेको एउटा दुःखद घटनामा सहानुभूति नजनाएकै भरमा विद्यार्थीमा विवेक हराएको भनेर रोष व्यक्त गर्नुचाहिँ स्वयंमै विवेकको अभाव हो कि ? यी प्राध्यापकले आफ्ना विद्यार्थीबाट गरेको यस्तै अपेक्षा चिकित्सकले बिरामीबाट, पाइलटले यात्रुबाट, किसानले उपभोक्ताबाट लगायत सबै पेसाकाले आफ्ना सेवाग्राहीबाट खोज्ने आशक्ति राख्ने हो भने समाज कुन जडमा भासिन्छ होला ?
हो, पछिल्लो समय शिक्षण सिकाइ यान्त्रिक हुँदै जाँदा विद्यार्थी केवल प्रमाणपत्रधारी मात्र बनेका छन्; आचरण, शिष्टाचार, चरित्र तथा सामाजिक अन्तर्घुलनमा अपेक्षित अब्बल बन्न सकेका छैनन् भनेर चिन्ता व्यक्त भइरहेका छन् । यो समस्या चिर्न शिक्षाको व्यवस्थापन र प्रणालीकै पुनर्संरचनाका बहस पनि विश्वव्यापी रूपमा चलिरहेका छन् । लेखक जोन मेरोको पुस्तक ‘एडिक्टेड टु रिफर्म’ र फिपिल सी सलेक्टीको पुस्तक ‘इन्भेन्टिङ बेटर स्कुल’ले शिक्षाको सुधारका लागि एक दर्जन उपाय सुझाएका छन् । प्राचीन दार्शनिक कन्फुसियसले शिक्षाले मानिसको आचरण र व्यवहारमा परिवर्तन ल्याउनुपर्ने अनि जिम्मेवार तथा उत्तरदायी व्यक्ति बनाउनुपर्ने कुरामा जोड दिएका थिए ।
त्यो जिम्मेवार र उत्तरदायी व्यक्तित्व उसका सामाजिक कर्म, व्यवहार तथा पेसागत निपुणता साथै राष्ट्रप्रेमलाई केन्द्रमा राखेर गरिरहेका कार्यमार्पmत प्राप्त अथवा सिर्जित योगदानले मापन गर्ने होला । केवल उनको दुःखको घडीमा सहानुभूति नदिएका आधारमा संवेदनाहीन र मानवीयता विमुखको बिल्ला भिराउन कति जायज हुन्छ ? अन्य कुनै असामाजिक, अधिक स्वार्थकेन्द्रित, अनैतिक, सामूहिक लाभ र सार्वजनिक सरोकारको चरम बर्खिलाप हुने काम गरेको अथवा उनी वा संस्थाविरुद्घ गलत मनसायले काम गरेका भए त्यस्तो आरोप लगाउन पनि सुहाउँथ्यो होला । त्यसो भए त्यस्तो जनशक्ति निर्माण गर्ने कुरामा उनको पनि भूमिका छैन र ? केवल अरूप्रति रोष प्रकट गरेर मात्र हुन्छ ? निर्मित कुनै पक्ष भन्दा निर्माण गर्ने पक्ष यसको जस र अपजसको भागी बन्नुपर्छ । यस्ता विद्यार्थी निर्माण उनी स्वयंले गरेको हैन र ?
तसर्थ उनको अपेक्षा कति जायज हो भन्ने विषय अझै थप छलफलको विषय बन्न सक्छ तर उनले दिएको राजीनामाको हंगामा एक मनमौजी मजाकभन्दा केही पनि होइन । उनको पोस्ट पढिरहँदा विद्यार्थीमा होइन, अपेक्षा गर्ने तथा सेयर गर्नेमा चाहिँ विवेक हराएको भान हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण