शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सेयर बजारमा आज पनि सुधार, ३ हजार विन्दुको मनोवैज्ञानिक प्रतिरोध

बुधबार, ०७ साउन २०८२, १५ : २४
बुधबार, ०७ साउन २०८२

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एकल अङ्कले बढेर ३००० विन्दुको मनोवैज्ञानिक प्रतिरोध नजिक पुगेको छ ।

आज बजार बन्द हुँदा नेप्से परिसूचक ९.६१ अङ्कले बढेर २९८३.३१ विन्दुमा रोकिएको छ । मङ्गलबार बजारमा झण्डै ८० अङ्कको सुधार देखिएको थियो ।

बजारमा ठुलो सुधार नभए पनि आज कारोबार रकम भने उत्साहजनक रहेको छ । बजारमा आज ३१९ वटा स्क्रिपका ४ करोड ४८ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । यसबाट कुल १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स सबैभन्दा अगाडि रह्यो। शिवम् सिमेन्ट र नेपाल इन्फास्ट्रक्चर बैंकको उच्च कारोबार भयो ।

समग्रमा परिसूचक बढे पनि आज बजारमा घट्ने कम्पनीको सङ्ख्या बढी रह्यो। कारोबारमा आएकामध्ये ९८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको मूल्यमा घटेको छ । यसले बजारको वृद्धि केही ठुला पुँजी भएका कम्पनीमा मात्र भएको देखाउँछ । 

बजारमा आज बैंकिङ, होटलसहित ६ वटा समूहका परिसूचक नकारात्मक रहेका छन् । सबैभन्दा धेरै वृद्धि फाइनान्स समूहमा ३.४३ प्रतिशत देखिँदा हाइड्रोपावर, लगानी तथा अन्य समूहका सूचक समेत एक प्रतिशत भन्दा धेरैको सुधार देखिएको छ । 

आजको वृद्धिसँगै नेप्से परिसूचक ३ हजारको मनोवैज्ञानिक तथा प्राविधिक प्रतिरोधले काम गरेको देखिन्छ । कारोबारको सुरुमा बजार तीन हजारको नजिक पुगे पनि त्यसपछि घट्न थालेको थियो । त्यसपछि मध्यान्हतिर घटेको बजार अन्तिम समयमा बढेर सकारात्मक सूचकसहित बन्द भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप