विद्यालाई एमालेको 'ढोका बन्द', कांग्रेस र माओवादीका नेताहरूले के भने ?
सारांश
- एमाले बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रद्द गर्यो, जसले पार्टीमा ध्रुवीकरण ल्यायो।
- भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा सदस्यता खारेज गरियो, तर उनी पछि हट्नेवाला छैनन्।
- एमालेले पूर्वराष्ट्रपतिको राजनीतिमा पुन: प्रवेशले गणतन्त्रलाई समस्या पार्ने भन्दै सदस्यता नवीकरण स्थगित गरेको जनाएको छ।
काठमाडौँ । नेकपा(एमाले) पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रद्द गरिदिएपछि पार्टी दुई कित्ताका ध्रुवीकरण भएको छ ।
बुधबार बिहान सम्पन्न एमालेको केन्द्रीय समिति बैठकले भण्डारीको सदस्यता रद्द गर्ने निर्णय गरेको थियो । २०७२ देखि २०७९ सम्म सात वर्ष राष्ट्राध्यक्षको समेत भूमिका निर्वाह गरेकी उनले असार १४ गते एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारेर सदस्यता नवीकरण विषय सार्वजनिक गरेकी थिइन् ।
साथै सोही दिनबाट फेरि एमालेको सक्रिय राजनीतिमा जोडिएको घोषणा गरेकी थिइन् । भण्डारीको घोषणाबाट असन्तुष्ट देखिएका प्रधानन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीको विशेष प्रस्तावमा सदस्यता नवीकरण रद्द गरिएको थियो । उक्त निर्णयको उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र स्थायी समिति सदस्य कर्णबहादुर थापाले असहमति जनाएका थिए ।
पार्टीले सक्रिय राजनीतिमा आउने ढोका नै बन्द गरिदिएपछि भण्डारीले आफू पछि नहट्ने बताइसकेकी छिन् । उनलाई पार्टीमा फर्किन निषेध गरेको सम्बन्धमा एमालेले प्रस्टीकरण दिएको छ । केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी महासचिव शंकर पोखरेलले देशको सम्मानित पदमा बसेर भूमिका निर्वाह गरिसकेका पूर्वराष्ट्रपति फेरि राजनीतिमा आउँदा त्यसले गणतन्त्र संस्थामाथि नै समस्या आउने भएकाले थिति बसाल्न सदस्यता नवीकरण स्थगित गरेको जिकिर गरेका छन् । साथै भण्डारीले सदस्यता नवीकरण गरेकोबारे पार्टी जानकार भएर पनि उपयुक्त समयमा निर्णय लिनेगरी सार्वजनिक नगरिएको पोखरेलले प्रस्टीकरण दिए ।
‘प्रथम राष्ट्रपति डा. रामवरण यादव पार्टी राजनीतिमा नफर्किएकाले केही गर्नै परेन । विद्यादेवी सक्रिय राजनीतिमा आउने घोषणा गरेपछि स्वाभाविक रूपमा पार्टीले एउटा थिति बसाल्नुपर्थ्यो । उहाँले पार्टीको नेतृत्व तहमाा रहेर वा राष्ट्रपतिको पदमा बसेर गणतन्त्रको रक्षा र संविधानको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्नुभयो । यी सबैलाई विश्लेषण गरी पार्टीले उहाँलालाई पार्टीले सम्मान गरेको हो,' उनले भने ।
यद्यपि भण्डारीको पुत्री उषाकिरण भण्डारीले विगत एक महिनादेखिको मूल्यांकन गरे नैतिक समर्थन तहसम्म पुर्याउन नसकिने गरी ज्ञान प्राप्त भएको सामाजिक सञ्जालबाट आक्रोश पोखेकी छिन् । पूर्वराष्ट्रपतिको हैसितयतले सेवासुविधान त्यागेर राजनीतिक मौदनमा उत्रेकी भण्डारी पछाडी नहट्ने प्रस्ट सन्देश दिइसकेकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी राजनीतिमा सक्रिय हुने विषयले पार्टीको गम्भीर ध्यानाकर्षण भएको एमालेले बताएको थियो । एमालेले नेपालको संविधानको भाग –६ धारा (६१), सोही धाराको (२), (३) र ४ तथा धारा–२६७ को (२) को व्यवस्थालाई देखाएर सदस्यता नवीकरणमा रोक लगाएको थियो ।
यसरी एमालेभित्र निराशा र आक्रोसको तह बढ्दै गइरहेको वेला सत्ताको मुख्य घटक कांग्रेस, विपक्षी दलका नेताहरूले समेत प्रतिक्रिया दिएका छन् । एमालेबाटै चोइटिएको दल नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले उनीहरूको आन्तरिक विषय भएको भन्दै कुनै टिप्पणी नगर्ने बताए ।
‘पूर्वराष्ट्रपति राजनीतिमा आउनुहुन्थ्यो वा हुन्थेन त्यो एमालेको आन्तरिक विषय हो । सदस्यता किन नवीकररण गरियो ? फेरि किन स्थगित गरियो ? त्यो उहाँको आन्तरिक विषय हो । यसमा मेरो कुनै प्रतिक्रिया छैन । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भनेर प्रस्ट धारणा रहेको बताए । नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले गणतन्त्र स्थापनापछि राजनीतिक दलहरुका नेताहरू निरंकुश बन्दै गएको बताए । यसै विषयमा कांग्रेसका प्रवक्ता महत र माओवादीका सचिव कार्कीले रातोपाटीलाई प्रतिक्रिया दिएका छन् ।
डा. प्रकाशशरण महत
पूर्वराष्ट्रपतिलाई फेरि पार्टी राजनीतिमा सक्रिय गराउने वा नगराउने त्यो एमालेको आन्तरिक विषय हो । तर, यसमा हाम्रो प्रस्ट धारणा छ । राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किन हुँदैन । यो कुनै व्यक्ति विशेष वा दल विशेष भन्दा पनि हामी सबैले स्थापापित गरेका संस्था हो ।

त्यसको गरिमालाई जोगाउनु सबैको कर्तव्य हो । पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन हुन्छ वा हुँदैन भनेर संविधान र पार्टीको विधानमा लेखिएको छैन । यो नैतिक विषय हो । त्यसो भन्दैमा राष्ट्रपति बनेका व्यक्ति फेरि पार्टीमा फर्किनुले गलत नजिर बस्छ । यस्तो नजिरले राष्ट्रपति संस्थालाई नै बदनाम गराउँछ । त्यसकारण यसबारे व्यक्ति आफै सचेत हुनुपर्छ ।
राम कार्की
गणतन्त्र स्थापनापछि विडम्बना गणतन्त्रको बाहक भनिने जुन संस्था हो, त्यो स्थापनापछि पार्टीभित्रको जनतन्त्र, जनवादको अभ्यास समाप्त भएर गयो । गणतन्त्रको स्थापना भनेको राजनीतिक दल हो । राजतन्त्रको निरंकुशता कहिँपनि जवाफदेही हुनुपर्दैन । राजतन्त्र समाप्त भयो तर अहिले राजनीतिक दलमा सर्यो । राजतन्त्रको निरंकुशता, स्वच्छाचारिता अंकुश, बन्धन, विधान केहिलाई नमान्ने पार्टीमा सर्यो । यसमा कुनै व्यक्तिलाई दोष दिनुभन्दा धेरै अध्ययन हुनुपर्छ । संसारभर गणतन्त्र जहाँ जहाँ स्थापना भए, राजनीतिक संस्थाले संक्रमण कालमा सर्तकता अपनाएको देखिन्छ ।

किनभने राजनीतिक प्रणालीको घोषणा सजिलै गर्न सकिन्छ । पञ्चायत गयो, प्रजातन्त्र आयो । राजतन्त्र गयो, गणतन्त्र आयो भन्न सकिन्छ । सजिलै घोषणा गर्न सकिन्छ आधा मिनेट पनि लाग्दैन । तर गणतन्त्रमा राजनीतिक संस्कृति निर्माण गर्न बढो चनाखो भएर लामो समय प्रयत्न गर्नुपर्छ । जनतालाई गणतन्त्रको बहाक नेतालाई हेरिराखेको हुन्छ । नेताले के बोल्छ भन्दा पनि के गर्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।
निरंकुशता नै आइसकेपछि अन्या कुरा छोडिदिनोस् । हिजो अन्याय धेरैलाई परेको थियो । आज पूर्वराष्ट्रपतिलाई परेको भएकाले सबैको ध्यान गयो । हिजो यसको सिकार धेरै भएका छन् । समस्या निरंकुशता हाबी भएर गयो । गणतन्त्रको स्थापनासँगै नेताहरूले लोकतान्त्रिक संस्कृति देखाउन सकेनन् । उनीहरूले लोकतान्त्रिक संस्कृति देखाउन सकेको भए विस्तारै गणतन्त्रको संस्कृति, जनतन्त्रको संस्कृति समाजमा फैलिन्थ्यो । नेताहरूले जे मन लाग्यो त्यही गर्न थाले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण