बड्डीचौर–खम्बागाडे खण्डमा रुख कटानको गाँठो फुक्यो, थपिएको म्यादभित्र काम सक्ने चुनौती कायमै
सारांश
- पश्चिम सुर्खेतको जीवनरेखा मानिएको मदन भण्डारी राजमार्गको बड्डीचौर-खम्बागाडे खण्डको रुख कटान समस्या समाधान भएको छ।
- निर्माण कार्यमा ढिलाइ हुनुको मुख्य कारण रुख कटान र जग्गा प्राप्ति रहेकोमा अब निर्माणले गति लिने आशा गरिएको छ।
- सडकखण्डको स्तरोन्नतिमा ढिलाइप्रति स्थानीयले विरोध जनाएका थिए भने अन्य खण्डमा भने निर्माण कार्यले तीव्रता पाएको छ।
सुर्खेत । तीन दशकभन्दा लामो समयदेखि पश्चिम सुर्खेतका नागरिकले देखेको विकासको सपना अब साकार हुने दिशामा अघि बढेको छ । यस क्षेत्रको ‘जीवनरेखा’ मानिएको मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने बड्डीचौर–खम्बागाडे खण्डको स्तरोन्नतिमा सबैभन्दा ठुलो अड्चनका रूपमा रहेको रुख कटानको समस्या अन्ततः समाधान भएको छ ।
आयोजनाको दोस्रो पटक थपिएको म्याद पनि सकिएको अवस्थामा बुधबार बल्ल रुख कटान र जग्गा प्राप्तिको प्रक्रिया सकिएको हो । यो अनुमतिले वर्षौंदेखि अल्झिएको निर्माण कार्यले गति लिने आशा जगाएको छ । यद्यपि थपिएको नयाँ समयसीमाभित्र काम सम्पन्न गर्नुपर्ने चुनौती भने कायमै छ ।
- अन्ततः खुल्यो रुख कटानको बाटो
नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ चैत २६ गतेको निर्णय निर्णयअनुसार बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाभित्र पर्ने १०.३९९ हेक्टर राष्ट्रिय वन क्षेत्रका विभिन्न प्रजातिका ८६४ वटा रुख÷पोल हटाउन स्वीकृति मिलेको छ ।
यो स्वीकृति कार्यान्वयनका लागि वन तथा भू–संरक्षण विभाग, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय र कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबिच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक सूर्यबहादुर शाहीले अबको दश दिनभित्रै रुख कटानको प्रक्रिया थालिने रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार, आयोजनामा सबैभन्दा जटिल मानिएको जग्गा प्राप्ति र रुख कटानजस्ता व्यवधान हटेकाले अब निर्माण कार्य द्रुत गतिमा अघि बढ्नेछ ।
यो सडकखण्डको कथा निकै लामो र जटिल छ । सुरुमा संघीय सरकारबाट बजेट नआएको भन्दै प्रक्रियागत कार्य पूरा नगरी कर्णाली प्रदेश सरकारले स्वामित्व लिएको थियो । प्रदेशका तत्कालीन अर्थमन्त्री विन्दमान विष्टको पहलमा प्रदेश सरकारले बड्डीचौरदेखि खम्बागाडेसम्मको १३.९ किलोमिटर सडक कालोपत्रे गर्न बजेट सुनिश्चित ग¥यो ।
आयोजना निर्माणको जिम्मा दैलेखबाट निर्वाचित सांसद दीक्पाल कुमार शाहीको कम्पनी जयदेव जेभी नेपालगन्ज (मुख्य ठेकदार अनक) ले ४२ करोड ५८ लाख ६० हजार ५६३ रुपैयाँमा पाएको थियो ।
०७९ असार १४ गते सुरु भई २०८१ असार २४ गते सम्पन्न हुनुपर्ने सम्झौता भए पनि अहिलेसम्म भौतिक प्रगति ५० प्रतिशतसमेत पुग्न सकेको छैन ।
निर्माण कम्पनीले रुख कटान र जग्गा प्राप्तिको विषयलाई ढिलाइको प्रमुख कारण देखाउँदै आएको थियो ।
प्रदेश सरकारले आयोजनाको म्याद ०८२ असार १२ सम्म थप गरे पनि काम अघि बढ्न नसकेपछि पुनः ०८३ असारसम्मका लागि समयसीमा बढाइएको छ ।
पछिल्लो समय, सहायक ठेकदार जयदेव जेभीले प्रभावकारी काम गर्न नसकेपछि मुख्य ठेकदार कम्पनी ‘अनक’ आफैँले निर्माणको सम्पूर्ण जिम्मेवारी लिएको छ ।
अब रुख कटानको बाटो खुले पनि थपिएको अवधिभित्र काम सम्पन्न गर्नु कम्पनीका लागि प्रमुख चुनौती हुनेछ । निर्देशनालयका निमित्ति निर्देशक शाहीले जसरी पनि आगामी असारसम्म काम सम्पन्न गरिछाड्ने दाबी गरे ।
- जनआक्रोशदेखि सरकारी समन्वय अभावसम्म
०४९ सालमा ट्र्याक खुलेर ०५१ देखि नै सवारी चल्न थालेको यो मार्गको दुर्दशाले पश्चिम सुर्खेतका बासिन्दा आजित थिए । जीर्ण सडक, धुलो र हिलोको सास्ती उनीहरूको दैनिकी बनेको थियो ।
संघीयतापछि ०७५ सालमा सडकलाई ‘मदन भण्डारी राजमार्ग’ नामकरण गरिए पनि केन्द्रीय सरकारको प्राथमिकतामा पर्न सकेन ।

निर्माणमा भएको चरम ढिलाइप्रति स्थानीयले विभिन्न माध्यमबाट विरोध जनाए । कहिले उनीहरूले ठेकदार सांसद शाहीको फोटो रुखमा टाँसेर सांकेतिक विरोध गरे भने कहिले सामाजिक सञ्जालमा ‘ठेकदार सांसद हराएको’ सूचना जारी गर्दै व्यङ्ग्य गरे ।
विगतमा द्वन्द्वकाल तथा त्यसपछिका वर्षहरूमा स्तरोन्नतिका नाममा छुट्ट्याइएको ‘कनिका छराई’ बजेट राजनीतिक पहुँचका आधारमा दुरुपयोग भएको तीतो यथार्थ पनि स्थानीयसँग छ ।
- अन्य खण्डमा भने तीव्र गति
बड्डीचौर–खम्बागाडे खण्डमा काम अघि नबढे पनि अन्य भागमा भने निर्माण कार्यले तीव्रता पाएको छ ।
मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका अनुसार, खम्बागाडेदेखि लगामसम्मका विभिन्न तीन खण्डमा गरी ४७ किलोमिटर सडकको काम धमाधम भइरहेको छ ।
खम्बागाडेदेखि विद्यापुरसम्मको १० किलोमिटर र बल्देदेखि लगामसम्मको १५ किलोमिटर गरी २५ किलोमिटर खण्डमा यती बिल्डर्सले १ अर्ब ३६ करोडको लागतमा काम गरिरहेको छ ।
त्यस्तै, विद्यापुरदेखि गुटु, बिजौरा हुँदै बल्देसम्मको २२ किलोमिटर खण्डमा बानियाँ मोतिदान डीएस जेभीले १ अर्ब २१ करोडको लागतमा निर्माण गरिरहेको छ ।
यो राजमार्ग केवल सुर्खेतको पश्चिमी क्षेत्रलाई सदरमुकामसँग जोड्ने माध्यममात्र होइन, यो सुदूरपश्चिमका कैलाली र डोटीलाई कर्णालीको राजधानी वीरेन्द्रनगरसँग जोड्ने सबैभन्दा छोटो र रणनीतिक मार्ग पनि हो ।
वीरेन्द्रनगरदेखि बड्डीचौरसम्म कर्णाली राजमार्ग प्रयोग हुन्छ भने त्यसपछि पश्चिम सुर्खेतको मुहार फेर्ने यात्रा यही राजमार्गले तय गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण