शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युरोपका पाँच मुलुकमा प्रस्तुति दिँदै नेपथ्य

बिहीबार, ०८ साउन २०८२, १६ : ३३
बिहीबार, ०८ साउन २०८२

सारांश

  • नेपथ्य ब्यान्डले आगामी महिना युरोपमा सांगीतिक यात्रा गर्ने भएको छ।
  • लन्डन, कोपेनहेगन, माल्टा, लिस्बन र एन्थ्रोपेनमा कन्सर्ट हुनेछन्।
  • कन्सर्टमा व्यवस्थापन र प्राविधिक पक्षलाई उच्च प्राथमिकता दिइनेछ।

काठमाडौँ । ब्यान्ड नेपथ्यले आगामी महिना युरोपको शृङ्खलाबद्ध साङ्गीतिक यात्रा गर्ने भएको छ । बेलायत, डेनमार्क, माल्टा, पोर्चुगल र बेल्जियममा नेपथ्यले कन्सर्ट गर्न लागेको हो । 

ब्यान्डले शृङ्खलाबद्ध यात्राको पहिलो प्रस्तुति अगस्ट ९ मा लन्डनको वेम्बलीमा दिनेछ । त्यसपछि अगस्ट २३, शनिबार डेनमार्कको राजधानी कोपेनहेगनमा ब्यान्ड  प्रस्तुत हुनेछ । त्यहाँस्थित ‘पुलेन हल’ मा ब्यान्डको कन्सर्ट तय भएको छ ।

औद्योगिक युगको वैभव सम्झाउने पुरानो गोदामलाई व्यवस्थित हलमा परिणत गरिएको यो हल हिजोआज नियमित रक कन्सर्ट हुने थलो बनेको छ । यसै हलको वेबसाइटमा नेपथ्य कन्सर्टको विवरणसमेत देख्न सकिन्छ । कोपेनहेगन सहरमा नेपथ्यको दोस्रो प्रस्तुति हुन लागेको हो । यसअघि सन् २०१६ मा ब्यान्डले कोपेनहेगनमा लोकरक सुनाएको थियो । 

डेनमार्कपछि ब्यान्ड माल्टाको आटार्ड सहरमा उपस्थित हुनेछ । मुलुकको उत्तरी भेगमा पर्ने यस सहरको ‘माल्टा फेयर एन्ड कन्भेन्सन्स सेन्टर हल’ मा अगस्ट २७, बुधबार नेपथ्यका गीतहरू गुन्जिनेछन् ।

त्यसपछि ब्यान्ड पोर्चुगलतर्फ प्रस्थान गर्नेछ । त्यहाँको राजधानी लिस्बनस्थित ‘लिस्बोआ आओ भिभो’ मा अगस्ट ३१, आइतबार नेपथ्य प्रस्तुत हुनेछ ।  युरोप यात्राको अन्तिम प्रस्तुति भने बेल्जियमको एन्थ्रोपेन सहरमा हुनेछ । त्यहाँस्थित ‘एइडी स्टुडियोजको स्टुडियो सेभेन’ मा सेप्टेम्बर ३ मा नेपथ्यको प्रस्तुति रहनेछ । एन्थ्रोपेन सहरमा पनि नेपथ्य दोस्रो पटक प्रस्तुत हुन लागेको हो । 

‘नेपालका सानो बस्तीदेखि लिएर विश्वका अग्रणी सहरसम्म नेपथ्यको प्रस्तुतिले श्रोता दर्शकको मायामा एकरूपता पाउन थालेको छ,’ ब्यान्डको व्यवस्थापन सम्हाल्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठले भने ‘नेपथ्यको कार्यक्रममा अपेक्षा गरिने व्यवस्थापकीय र प्राविधिक उत्कृष्टतालाई निरन्तरता दिँदै युरोपमा पनि सबै कार्यक्रम स्तरीय हलमा स्तरीय प्राविधिक संयोजनसहित प्रस्तुत गरिनेछ ।’

यस यात्राका लागि व्यवस्थापक, प्राविधिक र कलाकारसमेत गरेर १४ सदस्यीय नेपथ्य टोली युरोप प्रस्थान गर्न लागेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप