रेशम र रञ्जिताको विवादले नागरिक उन्मुक्ति पार्टीमा किचलो
सारांश
- कास्की भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवामा घुस डिलको विषय नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको छ।
- रेशम चौधरीले केन्द्रीय समितिको बैठक बोलाएपछि अध्यक्ष रञ्जिता श्रेष्ठले बैठक बहिष्कार गरेकी छिन्, जसले पार्टीमा विवाद बढेको छ।
- पार्टीभित्रको विवादका कारण जनमत पार्टीसँगको एकता अन्तिम समयमा टरेको र सुदूरपश्चिम प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिइएको छ।
काठमाडौँ । कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवामा ७८ लाख घुस डिल भएको काण्ड नागरिक उन्मुक्ति पार्टीभित्र पनि छिरेको छ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठ त्यसमा मुछिएपछि पार्टीमा त्यसको बहस सुरु भएको छ । बहस यस्तोसम्म भएको छ कि सो पार्टीका संरक्षक रेशम चौधरीले केन्द्रीय समितिको बैठक बोलाउन बाध्य भए । संरक्षक चौधरीले विधान अनुसार नै यो बैठक बोलाएको हो ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक हालसम्म बसेको छैन । पार्टीका केन्द्रीय सदस्यहरू आउने क्रम जारी रहेकाले बैठकमा ढिलाइ भएको पार्टीका नेता रामलाल डगौराले बताए ।
संरक्षक चौधरीले पार्टीका महासचिव गंगाराम चौधरीलाई भनेर केन्द्रीय समितिको बैठक बोलाएका थिए । सो बैठक अवैधानिक भन्दै अध्यक्ष रञ्जिता श्रेष्ठले बहिष्कार गरेकी छन् । यो केन्द्रीय समितिको बैठक अध्यक्षले बोलाएको हैन, त्यही भएर यो आधिकारिक हुँदैन, बैठकबाट हुने निर्णयहरू मान्य हुँदैन, उनले भनेकी छिन्
तर संरक्षक रेशम चौधरीले यसरी पन्छिन नमिल्ने बताए । उनले भने, ‘अध्यक्षमाथि पार्टीमा प्रश्न उठेको छ भने उहाँ पार्टीको बैठकमा आएर जवाफ दिनुपर्छ, पार्टीका नेता तथा कार्यकर्ताको मनमा लागेको जिज्ञासाको जवाफ उहाँले दिनुपर्छ, बहाना बनाएर भाग्न मिल्दैन ।’
उनले बैठक बोलाउने अधिकार महासचिवलाई पनि हुन्छ, यो पार्टीको विधानमा पनि व्यवस्था रहेको बताए । उनले भने, ‘मैले नै महासचिवलाई भनेर यो बैठक बोलाउन भनेको हुँ, बैठकमा आएर उहाँले जवाफ दिनुहुन्छ भनी मलाई विश्वास छ ।’
गर्नेले भोग्छ, आरोप लाग्दैमा पुष्टि हुन्छ भन्ने होइन, तर कुरा उठी सकेपछि त्यसको जवाफ दिनुपर्छ । परिस्थितिबाट भाग्न मिल्दैन, पार्टीमा आएर जवाफ दिनुपर्छ, संरक्षक चौधरीले भने ।
सो पार्टीका अर्का नेता लालवीर चौधरीले पार्टीको बैठकबारे अध्यक्ष श्रेष्ठलाई पनि जानकारी रहेको र उनी बैठकमा आउनेमा आफू विश्वस्त रहेको बताए । अध्यक्ष श्रेष्ठ नआए पनि बैठक बस्ने बताउँदै उनले बैठकले आवश्यक निर्णयहरू गर्ने बताए ।
अर्का नेता रामलाल डगौराले पार्टीका अध्यक्ष श्रेष्ठको आमा बिरामी रहेकोले आउने सम्भावना कम रहेको बताए । पार्टीमा कुनै विवाद छैन, कुनै कुरा उठेको छ भने त्यसलाई छलफलबाट समाधान गर्नुपर्ने उनले बताए ।
रेशम चौधरी जेलमा रहेको बेला रञ्जिता श्रेष्ठको अध्यक्षतामा २०७८ पुसमा यो पार्टी गठन भएको हो । यो पार्टीले २०७९ को चुनावमा अपेक्षाकृत राम्रै नजिता ल्यायो । रेशम चौधरी जेलमा हुँदासम्म यो पार्टी ठिक ठाक चलिरहेको थियो । २०८० जेठमा रेशम चौधरी रिहा भएपछि पार्टी झन् सशक्त रूपमा अगाडि बढ्यो ।
जब २०८० पुसमा पार्टीको महाधिवेशन भयो अनि त्यहाँ आन्तरिक विवाद सुरु भयो । रेशम चौधरी महाधिवेशनबाट पार्टीको अध्यक्ष भए जुन कुरा रञ्जित श्रेष्ठलाई मन परेन । उनी पनि अध्यक्षका आकाङ्क्षी थिइन् । पार्टीको अध्यक्षमा चयन भएपछि रञ्जिता श्रेष्ठ महाधिवेशन स्थल छाडेर काठमाडौँ आएपछि पार्टीको विवाद झन् छताछुल्ल भयो ।
त्यतिबेला रञ्जिता श्रेष्ठ भूमि मन्त्री थिइन् । रेशम चौधरी अध्यक्ष भएपछि निर्वाचन आयोगमा मुद्दा पर्यो, र अध्यक्षमा रञ्जिता श्रेष्ठलाई नै कायम गर्यो । त्यो बेला दुवै जनामा द्वन्द्व सुरु भएको थियो । रेशम र रञ्जिता नाताले श्रीमान् श्रीमती हुन् ।
त्यतिबेलै पार्टीमा गुटगत राजनीति सुरु भयो । त्यो गुट स्थानीय तह, प्रदेशदेखि केन्द्रसम्म देखियो । कहिले मुख्यमन्त्रीका लागि विवाद त कहिले मन्त्रीका लागि विवाद भइरह्यो ।पार्टीभित्रकै विवादका कारण सुदूरपश्चिम प्रदेशमा पाउने मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी पाएन । मन्त्रीका लागि जहिले विवाद भइरह्यो । सुदूरपश्चिम दुई जना मन्त्री बर्खास्तमा परे ।
त्यही बर्खास्तका कारण नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टीमा विवाद यतिसम्म रहेको छ कि केन्द्रीय समिति कहिले पनि एउटा मितिमा बसेन । एउटा गुटले बोलाएको बैठकमा अर्को गुट नजाने, अर्कोले बोलाएको बैठक अर्को जाने परिस्थिति सधैँ भइरह्यो । रेशम चौधरीले महाधिवेशनबाट बनेको केन्द्रीय समितिको बैठक बोलाउँछन् भने रञ्जिता श्रेष्ठले संस्थापक केन्द्रीय समितिको बैठक बोलाउँछिन् ।
एकपटक दुवै जनाको बिचमा कुरा मिलेपछि महाधिवेशनबाट बनेको केन्द्रीय समिति र संस्थापक दुवै पक्षको बैठक बसेको थियो । त्यसपछि जनमत पार्टीसँग एकताका लागि छलफल गर्न बैठक बसेको थियो ।
यद्यपि पार्टीकै आन्तरिक विवादका कारण जनमत पार्टीसँग अन्तिम समयमा एकता हुनसकेन । एकता हुने दिन एउटा नक्कली पत्रको आधारमा रेशम चौधरीलाई पक्राउ गरेपछि एकता प्रक्रिया भाँडियो । अब लगभग जनमत पार्टीसँग एकता नहुने निश्चित नै भइसकेको छ ।
कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवा प्रकरणलाई लिएर पार्टीमा नयाँ विवाद उत्पन्न भएको छ । सोही प्रकरणलाई लिएर रेशम चौधरीले केन्द्रीय समितिको बैठक बोलाएका छन् भने अध्यक्ष रञ्जिता सो बैठकमा उपस्थित नहुने बताएकी छिन् ।
सरुवा प्रकरणलाई लिएर रञ्जिता श्रेष्ठले अख्तियारमा बयान पनि दिइसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिनमा हट्यो संसद् अवरोध , विपक्षीले फेरे विरोधका कार्यक्रम
-
अबदेखि विपन्न नागरिकलाई १० प्रतिशत शैया र सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउनुपर्ने
-
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने
-
कर्मचारी ट्रेड युनियन खारेज गर्नेसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
-
‘सर्वोच्चको आदेश पालना गर, उद्योगीलाई त्रसित नबनाऊ’ : उद्योग सङ्घ मकवानपुर
-
पहिराले कर्णाली करिडोर अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण