पुष्पलाल मार्क्सवादी विश्वविद्यालय खोल्ने प्रस्तावमा १९ वाम पार्टीको ऐक्यबद्धता
सारांश
- पुष्पलालको स्मृति दिवसमा मार्क्सवादी विश्वविद्यालय निर्माणको प्रस्ताव गरिएको छ।
- विभिन्न कम्युनिस्ट पार्टीका नेता र बुद्धिजीवीहरूले विश्वविद्यालय स्थापनाको आवश्यकता औंल्याए।
- नेताहरूले इमान्दार कम्युनिस्ट निर्माण र अवसरवादलाई रोक्न विश्वविद्यालय सहयोगी हुने बताए।
काठमाडौँ । पुष्पलालको ४७ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा पुष्पलाल मार्क्सवादी विश्वविद्यालय निर्माणको प्रस्ताव गरिएको छ । सो कार्यक्रममा उनका नामबाट मार्क्सवादी विश्वविद्यालय स्थापना गर्न नेपालमा क्रियाशील १९ कम्युनिस्ट/वामपन्थी पार्टी/संस्था, सङ्गठन र बौद्धिकहरूले ऐक्यबद्धता प्रकट गरेका छन् ।
पुष्पलाल स्मृति दिवसमा आयोजित ‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालय सम्भावना र चुनौती’ विषयक बृहत् बिचार गोष्ठीमा सहभागी वामपन्थी नेता–कार्यकर्ता र बुद्धिजीवीले कम्युनिस्ट जनमत अत्यधिक रहेको समाज तर बिचार शून्यताका कारण रनभुल्लमा परेका पार्टीहरू भएको अवस्थामा नेकपाका संस्थापक पुष्पलालकै नामबाट विश्वविद्यालय निर्माण हुनु अत्यावश्यक रहेको बताएका हुन् ।
नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले यो ऐतिहासिक प्रस्ताव कार्यान्वयनमा सबै पार्टीले प्रस्थापकलाई सघाउनुपर्ने धारणा राखे । सबै कम्युनिस्ट पार्टीका सच्चा र इमानदार नेता–कार्यकर्ता यो प्रस्तावबाट पछि हट्न नमिल्ने उनको भनाइ थियो ।
वयोवृद्ध वामपन्थी नेता मोहनचन्द्र अधिकारीले कम्युनिस्ट भनेर सत्तामा गएकाहरूले गैरकम्युनिस्ट चरित्र प्रदर्शन गरेकाले देशमा समाजवाद आउन नसकेको धारणा राखे । उनले मार्क्सवादी विश्वविद्यालयले इमानदार कम्युनिस्ट निर्माण गर्न सहयोग पुर्याउने बताए ।
वामपन्थी बुद्धिजीवी हिरण्यलाल श्रेष्ठले पुष्पलालको जन्मथलो रामेछापमा विश्वविद्यालय स्थापना गर्नुपर्ने र काठमाडौँलगायत देशका विभिन्न भागमा मार्क्सवाद अध्ययन अध्यापन गर्ने कलेजहरू खोल्नुपर्ने बताए । नेपालका कम्युनिस्टहरूमा प्राज्ञिक क्षमता नभएकैले प्रत्येक विद्रोहहरू सम्झौता टुङ्गिएर देश र जनताले प्रतिगमनको सिकार बन्नुपरेको उदाहरण दिँदै उनले पुष्पलाल मार्क्सवादी विश्वविद्यालयले इमानदार र बौद्धिक कम्युनिस्ट निर्माण गर्ने र विश्वलाई एउटा सकारात्मक ऊर्जा प्रदान गर्ने प्रस्ट पारे ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले देशका कम्युनिस्ट नाउँका शासक नै भ्रष्ट भएकाले सुन्दर प्रस्ताव पनि सफल हुन नसक्ने र मार्क्सवादी विरोधी षड्यन्त्र हाबी हुने खतरातर्फ सङ्केत गर्दै यो युगकै पहिलो र महत्त्वपूर्ण प्रस्ताव सफल पार्न सबै इमानदार कम्युनिस्टहरू लाग्नुपर्ने बताए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हेमन्तप्रकाश वलीले इतिहासमा खास खास समयमा मात्र सुन्दर प्रस्तावनाहरू आउने र पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको प्रस्ताव त्यस्तै ऐतिहासिक र अन्तर्राष्ट्रिय महत्त्व बोकेको प्रस्ताव रहेको बताए । उनले आफ्नो पार्टीले जुनसुकै मूल्यमा यो प्रस्ताव पारित गराउन सहयोग गर्ने उनको भनाइ थियो ।
समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंहले नेपालमा दर्शन, सिद्धान्त र इमानदारीको अभावमा अवसरवादको सिकार भइरहेका कम्युनिस्ट पार्टी, तिनका नेता र कार्यकर्तालाई पुष्पलाल मार्क्सवादी विश्वविद्यालयले एक सूत्रमा बाँध्ने विश्वास व्यक्त गरे ।
अखिल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नारायण शर्माले पुष्पलालका मात्र नभएर मार्क्सवादकै आदर्शलाई समाजमा स्थापित गर्ने योजनासहित आएको विश्वविद्यालयको प्रस्ताव साकार पार्न सबैले लागिपर्नु पर्ने बताए ।
कार्यक्रममा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी, गोपीरमण उपाध्याय, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी, इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्य प्रा.डा. नन्दीश अधिकारी, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. रामप्रसाद ज्ञवाली, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तुमछाली, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, पुष्पलाल जन्म शताब्दी समारोह समितिका सचिव मुकुन्द आचार्य, माओवादी नेता भक्ति लामिछाने, पुष्पलाल स्मृति प्रतिष्ठानका कोषाध्यक्ष मोहनबहादुर केसी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्ष विनोद थापालगायत वक्ताले मार्क्सवादी विश्वविद्यालयको औचित्य र यसका सम्भावनाका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा पुष्पलाल मार्क्सवादी विश्वविद्यालयका प्रस्थापक अशोक सुवेदीले अवधारणा पत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान, पुष्पलाल जन्मशताब्दी कृष्णलाल बलिदान शताब्दी समारोह समिति तथा हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको सहकार्य रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण