शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
सत्ता राजनीति

बागमतीमा सरकार फेरिने चर्चा, मुख्यमन्त्री नै फेर्ने कि मन्त्रीमात्र ?

शुक्रबार, ०९ साउन २०८२, १४ : १३
शुक्रबार, ०९ साउन २०८२

मकवानपुर । बहादुर सिंह लामा नेतृत्वको बागमती प्रदेश सरकारको विकल्पमा चर्चा हुन थालेको छ । गत २०८१ साउन ९ गते दुई ठुला दल कांग्रेस र एमालेको गठबन्धनबाट मुख्यमन्त्री बनेका लामा नेतृत्वको सरकारले वर्ष दिन पूरा गरेसँगै मुख्यमन्त्री हेरफेरको चर्चा चुलिएको हो ।

लामा बागमती प्रदेश सभा कांग्रेस संसदीय दलका नेतासमेत हुन् । लामा नेतृत्वको सरकार फेर्ने विषयमा कांग्रेसकै सांसदहरू खुला बहसमा उत्रिएका छन् ।

वर्तमान गठबन्धनबाटै मुख्यमन्त्री लामा नेतृत्वको सरकारको विकल्पका विषयमा छलफल भइरहेको हो । विशेषगरी तत्कालीन समय (सरकारको नेतृत्व लिनेवेला)मा कांग्रेस शीर्ष तहमा नेता लामा र कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँबिच आलोपालो आधाआधा समय सरकारको नेतृत्व गर्ने विषयमा सहमति भएको बताइन्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको रोहबरमा भएको उक्त सहमति अनुसार लामाले सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्ने बहस सुरु भएको हो ।

कांग्रेसका एक नेता अनुसार अहिले २ विकल्पमा छलफल भइरहेको छ । मुख्यमन्त्री परिवर्तन गर्ने वा मन्त्रीहरू फेरर मुख्यमन्त्रीलाई निरन्तरता दिने भन्ने सवालमा छलफल भएको उनको भनाइ छ ।

हालकै अवस्थामा गठबन्धन कायम राखेर अघि बढ्नुको विकल्प नरहेकाले मुख्यमन्त्री लामालाई नै निरन्तरता दिएर मन्त्रीहरू फेर्नुपर्ने केही नेता तथा सांसदहरूको भनाइ रहेको ती नेताले रातोपाटीलाई बताए । उनका अनुसार अर्कातर्फ राजनीतिक सहमति बमोजिम सत्ताको नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग पनि चर्को रूपमा उठेको छ ।

कांग्रेस बागमती प्रदेशका एक सांसदका अनुसार कांग्रेसभित्र मुख्यमन्त्री वा मुख्यमन्त्री बाहेकका मन्त्रीहरू फेर्ने विषयमा बहस चलेको छ । उक्त विषयमा गत वैशाखदेखि नै छलफल चले पनि मुख्यमन्त्री लामाले बजेट ल्याउन समय माग गरेको र विदेश भ्रमणपछि सरकार छाड्ने प्रतिवद्धता जनाएकाले केही समय यो विषय थाँती राखिएको बताइन्छ ।

सरकारको कार्य सम्पादनको विषयलाई लिएर कांग्रेस केन्द्रमा प्रश्न उठेपछि विकल्पमा छलफल भएको कांग्रेसका ती सांसदले बताए ।

अर्का एक सांसदका अनुसार सरकार परिवर्तनको बहस सुरु भए पनि प्रक्रियागत रूपमा कठिन देखिन्छ । यद्यपि पार्टी केन्द्रको निर्देशन पाएकै भएर कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ विश्वस्त देखिएको ती सांसदको दाबी छ ।

‘जानकारीमा आएसम्म आधाआधा समय नेतृत्व गर्ने सहमति भएको र बहादुर दाईले म विदेशबाट फर्केर आएर जिम्मा लाउँछु भन्नुभएको थियो रे । विषय उठेको हो । उहाँहरू बिचको सहमति कार्यान्वयन हुनुपर्छ भन्ने सांसदहरूको पनि भनाइ छ । त्यही भएर होला इन्द्रजी पनि विश्वस्त देखिनु भएको हो,’ उनले भने, ‘त्यही अनुसार सहजै निर्णयमा पुग्न छलफल भएको भन्ने बुझिन्छ ।’

सहमति नभए संसदीय दलको नेताविरुद्ध अविश्वास प्रस्तावसहित प्रक्रियाबाट टुङ्ग्याउने तयारीसमेत रहेको ती सांसदको भनाइ छ ।

मुख्यमन्त्री लामाको सचिवालयका अनुसार पछिल्लो समय सरकार परिवर्तनको विषयमा सामान्यभन्दा बाहिरका विषयहरू आइरहेका छन् । त्यसमा कुनै छलफल नै नभएको मुख्यमन्त्री लामाको सचिवालयले जनाएको छ । 

सचिवालयका एक सदस्यका अनुसार विधान र प्रक्रिया अनुसार दलको नेता र मुख्यमन्त्री बनेका कारण दलको नेतामाथि अविश्वास राख्ने, हस्ताक्षर संकलन गर्नेसम्मका विषयहरू आउनु चर्चामा मात्र सीमित देखिन्छ । संसदीय दलको निर्वाचित नेता भएकाले आधा–आधा समय नेतृत्व गर्ने सहमति भएको भन्नुमा तुक नरहेको उनले प्रस्ट पारे ।

1672224907-Bvhky1672241086

उनका अनुसार सरकारको एक वर्ष पूरा भएकाले मुख्यमन्त्रीले कार्यसम्पादनको आधारमा मन्त्रीहरू फेरबदलको विषयमा छलफल गरेका छन् । कार्यसम्पादन कमजोर ठहरिएका मन्त्रीहरू हटाउने र नयाँ मन्त्री ल्याउने विषयमा मुख्यमन्त्री लामाले होमवर्क गरिरहेको उनको भनाइ छ ।

  • काठमाडौँमा मुख्यमन्त्री लामाको दौडधुप

सत्ता परिवर्तनको चर्चासँगै मुख्यमन्त्री लामा काठमाडौँमै रहेर छलफलमा जुटेका छन् । उनी आफू निकट सांसदहरूसहित कांग्रेस शीर्ष नेताहरूसँगको भेटघाटमा जुटेका हुन् ।

गत असार २४ मा काठमाडौँ पुगेका मुख्यमन्त्री लामा एक साता लामो विदेश भ्रमण सकेर फर्के पनि प्रदेश राजधानी आएका छैनन् । काठमाडौँमै ४ मन्त्री र निमित्त प्रमुख सचिवको भरमा मन्त्रिपरिषद् बैठक चलाएर उनी सरकारको विषयमा छलफलमा जुटेका हुन् ।

साउन ५ मा विदेशबाट फर्किएका मुख्यमन्त्री लामाले लगत्तै बुढानीलकण्ठ पुगेर पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । प्रदेश सरकारको पछिल्लो कार्यसम्पादनबाट असन्तुष्ट रहेका सभापति देउवाले सरकारको विकल्पका विषयमा छलफल भइरहेको जानकारी गराएका थिए । जबाफमा मुख्यमन्त्री लामाले सरकारको कामको डिफेन्स गर्दै आफूले नेतृत्व नछाड्ने जनाएका थिए ।

कार्यक्रममा हिँड्ने तयारीमा रहेका सभापति देउवाले लामालाई राजीनामा दिनसमेत सुझाए पनि केही दिनमै बसेर छलफल गर्ने आश्वासन दिएका थिए । उक्त विषयमा मुख्यमन्त्री लामाको सचिवालयको पनि स्वीकारोक्ति छ । केही मन्त्रीको काम र बजेटका कारणले सरकारको विषयमा पार्टी केन्द्रमा प्रश्न उठ्नुको साथै मुख्यमन्त्री लामामाथि दबाबको अवस्थासमेत आएको सचिवालयका एक सदस्य बताउँछन् ।

मुख्यमन्त्री लामाले विदेश भ्रमणबाट फर्के लगत्तै सभापति देउवा पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटेर सरकारको विषयमा छलफल गरेका थिए भने बिहीबारमात्र पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलाई भेटेका थिए । सो लगत्तै उनले नेता शेखर कोइराला, महामन्त्री गगन कुमार थापा, मोहनबहादुर बस्नेत लगायतलाई भेटेका थिए ।

सरकारको विषयमा उनले कांग्रेस बागमती प्रदेश समितिसँग भने छलफल नगरेको मुख्यमन्त्री लामाको सचिवालयले जनाएको छ ।

  • देउवा समक्ष प्रदेशका मन्त्रीहरूको ब्रिफिङ

बागमती सरकारको विषयमा देउवा निवास बुढानीलकण्ठामा छलफल भएको बुझिएको छ । कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई देउवाले बोलाएर ब्रिफिङ लिनुको साथै सरकारको विषयमा छलफल गरेका थिए ।

प्रदेशमा रहेका कांग्रेसका ७ मन्त्रीमध्ये ४ जना देउवा निवास पुगेका थिए । छलफलमा सहभागी एक मन्त्रीका अनुसार विगतमा सरकारले गरेका काम कारबाहीको समीक्षा गर्नुका साथै पार्टी सभापतिको चासोको विषयमा आफूहरूले बजेट निर्माण, योजना कार्यान्वयन, अन्तरसम्बन्ध र सहकार्यका विषयमा छलफल भएको थियो ।

‘अहिलेको सरकारको विषयमा पाटी सभापति खुसी हुनुहुन्न । बजेट निर्माण, सरकार सञ्चालनको विषयमा उठेका विषयहरू केन्द्रीय समितिमा प्रवेश पाउने अवस्था बन्यो । केन्द्रीय सदस्यहरूले नै प्रश्न उठाउने अवस्था रह्यो । जसले पाटी सभापतिलाई पनि असन्तुष्ट बनाएको देखेँ,’ ती सदस्यले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप