बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पुस्तक समीक्षा

वानिरा गिरिको व्यञ्जनामूलक काव्यिक चेतना

शनिबार, १० साउन २०८२, १२ : ४८
शनिबार, १० साउन २०८२

नेपाली साहित्यको कविता विधामध्ये गद्य कविता गोपालप्रसाद रिमालबाट प्रारम्भ भएको हो । गद्य कविता लेखनको प्रारम्भिक चरणमा चेतनामूलक शैलीलाई अवलम्बन गरेर सरलताका साथ अभिव्यक्ति दिइन्थ्यो । पछि लेखिएका गद्य कवितामा बौद्धिकतामा सूक्ष्म व्यङ्ग्यात्मक दृष्टिकोण एवं अभिव्यञ्जनात्मक प्रभावकारितामा अगाडि बढ्यो । अहिले यसको क्षेत्र धेरै फराकिलो भएको छ । विविध स्रष्टा कविता लेखनमा देखिएका छन् । यही शृङ्खलाभित्र प्रसिद्धिप्राप्त नारीस्रष्टा वानिरा गिरिको उदय भएको हो । 

विम्ब, प्रतीक, आलङ्कारिक प्रयोग गरी सूक्ष्म सामाजिक वेदना, प्रेमभाव र सुधारात्मक अभिव्यक्ति दिने कविहरूको काव्यिक चतुरताले कवितामा फराकिलोपन आएको देखिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’, भूपि शेरचनको ‘हामी’ कविता सबैको मनमा बसेको छ— व्यङ्ग्य–प्रहारले गर्दा । थोरै भनाइमा धेरै अर्थ लाग्ने शब्द प्रयोग कविताको तात्पर्य हो । गम्भीरता, रसात्मकता र आलङ्कारिकता कविताको अभिलक्षण पनि हो । त्यसैले पूर्वीय काव्य परम्परामा ‘वाक्यं रसात्मकं काव्यम्’ (साहित्य दर्पणमा विश्वनाथ), ‘रमणीयार्थ प्रतिपादकः शब्दः काव्यम्’ (रसगङ्गाधरमा जगन्नाथ) अर्थात् कवितामा रसको अपेक्षा गरिन्छ, रमणीयताको अपेक्षा गरिन्छ, तसर्थ लेखन कलामा जीवन्तता, वैश्विकता, सर्वकालिक लेखनदक्षता, सर्वदेशीय कुशलता कविताको अपेक्षा हो । कवितामा जीवन र जगत्को अभिव्यक्ति हुनुपर्छ भन्ने मान्यतालाई कदापि बिर्सन सकिँदैन । 

नेपाली साहित्यिक क्षेत्रमा बहुचर्चित व्यक्तित्व वानिरा गिरि अध्यापन कार्यमा संलग्न नारीस्रष्टा हुन् । जीवनलाई आफ्नो साधनामा निकटबाट अवलोकन गर्ने वानिराको कविता लेखन आलङ्कारिक छ, अभिव्यक्तिकला वक्रोक्तिमय छ, चामत्कारिक दृष्टिकोणबाट अगाडि बढेको छ । भावानुकूल भाषाको प्रयोग सुगठित प्रबन्धन, अमूर्तामूर्तको संयोजन, कविताको सुसङ्गठन, कवितामा विम्ब, प्रतीकहरूको प्रचुरता हुँदाहुँदै पनि त्यसको संयोजन, मीतव्ययिता र व्यञ्जनात्मकताले परिपुष्ट रहेका छन् वानिराका कविताहरू । कवि वानिरा गिरिमा रहेको भाव, विचार, विश्लेषणात्मक क्षमताका कारण कवित्वशक्ति प्रभावकारी रहेको अनुभूति हुन्छ । 

  • वानिरा गिरिको कृतिगत परिचय

वानिरा गिरिको सर्वप्रथम प्रकाशित ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ कवितासङ्ग्रह २०३१ सालमा आयो भने त्यसपछि प्रकाशित कविता सङ्ग्रहमा ‘जीवन थायमरु’ (२०३४), ‘मेरो आविष्कार’ (२०४१), ‘काठमाडौँ काठमाडौँ’ (२०६८) रहेका छन् । यसै गरी उपन्यासमा पनि सफल उपन्यासकार हुन् वानिरा गिरि । उपन्यासमा ‘कारागार’ (२०३५), ‘निर्बन्ध’ (२०४२), ‘शताब्दी शान्तनु’ (२०५६) हुन् । यस्तै निबन्धसङ्ग्रह दुइटा रहेका छन्— पर्वतको अर्को नाउँ पार्वती (२०६७) र जङ्गल जङ्गल । अंग्रेजी भाषामा लेखिएका कृति हुन्— ‘फ्रम द अदर इन्ड’ (१९८७), ‘माई डिसकभरी’ (१९९६), ‘फ्रम द लेक, लभ’ (२००५) । 

यसरी तेह्रवटा कृति प्रकाशन गर्ने डा. वानिरा गिरिको लेखन क्षमता नेपाली अंग्रेजीमा उत्तिकै थियो । २०७१ जेठ १६ गते नइ एकेडेमीको संयोजनमा त्रिमूर्ति निकेतनले डा. गिरिलाई पाँच लाख रुपैयाँ राशिसहित नेपाली साहित्यका विश्वनारी रत्नको उपाधिसहित अभिनन्दन र पुरस्कार प्रदान गरेको थियो । प्रधानमन्त्री सुशील कोइरालाले हस्ताक्षर गरी डा. गिरिलाई सो उपाधि प्रदान गर्नुका साथै रथयात्रा गराएका थिए । 

वानिरा गिरिको सम्झनालाई जीवन्त राख्न उनका श्रीमान् इन्जिनियर शङ्कर गिरिको संरक्षकत्व र नइको नेतृत्वमा ‘वानिरा फाउन्डेसन’ सञ्चालन भएको छ । यसको बानेश्वर, काठमाडौँमा तीनतले भवन रहेको छ र यहाँ विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यसै संस्थामा नेपाली साहित्यका स्रष्टालाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गर्न कोष पनि राखिएको छ । 

यस लेखनको मुख्य विषय वा तात्पर्य वानिरा गिरिको सर्वप्रथम प्रकाशित कविताको सँगालो ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’को विषयमा परिचर्चा गर्ने समुद्देश्य हो । यो कृति २०३१ सालमा शशि शाहको आवरण चित्रमा पुष्कर गिरिबाट प्रकाशनमा आएको थियो । त्यस्तो उपयोगितालाई ध्यानमा राखी अहिले अलभ्य भएका कारण वानिरा फाउन्डेसनले पुनर्मुद्रण गर्ने सोचअनुरूप शशि शाह, कृष्णगोपाल श्रेष्ठ र सुमन कार्कीको आवरण सज्जासहित दोस्रो संस्करणको रूपमा २०८२ सालमा प्रकाशनमा आएको छ ।

‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ कृतिमा २०२३ सालदेखि २०३० सालको अवधिमा लेखिएका २१ वटा गद्यकविताहरू समाविष्ट छन् । यी कविताले वैश्विक दृष्टिकोण, मानवीय भावना, सामाजिक अवधारणा, देशप्रतिको धारणा, प्रकृतिप्रदत्त सन्दर्भहरू र सामाजिक विकृति विसङ्गतिलाई उद्बोधन गरेका छन् ।

कृति प्रकाशनका क्रममा वानिरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईंको दृष्टिकोणलाई यहाँ उद्धृत गर्नु वाञ्छनीय हुन आउँछ, ‘डा. वानिरा गिरि नेपाली भाषामा कविता, कथा उपन्यास, निबन्ध, समालोचना र अन्वेषणमूलक प्रबन्ध लेखनकी नारीचुली हुन् । उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम नारी हुन् । यसै गरी नेपाली साहित्यको प्रतिनिधित्व गरेर ‘अफ्रो एसियाली लेखक सम्मेलन’मा भाग लिन सोभियत रुस पुग्ने प्रथम स्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटा थिए भने दोस्रो व्यक्ति अर्थात् प्रथम नारीस्रष्टा वानिरा गिरि हुन् ।’ 

(पृ. ८) ।

यसरी वानिरा गिरिको विविध कार्यक्रम गरेर स्रष्टालाई जीवन्त राख्ने कार्यमा परिवारका व्यक्तित्वदेखि नइ प्रकाशन, त्रिमूर्ति निकेतनजस्ता संस्थाहरूलाई विश्व समक्ष चिनाउने स्रष्टा व्यक्तित्वद्वय (नरेन्द्र–इन्दिरा प्रसाई)को योगदान निरन्तरता स्तुत्य रहेको छ । 

  • समदृष्टिगत विवेचना

‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ कृतिमा २०२३ सालदेखि २०३० सालको अवधिमा लेखिएका २१ वटा गद्यकविताहरू समाविष्ट छन् । यी कविताले वैश्विक दृष्टिकोण, मानवीय भावना, सामाजिक अवधारणा, देशप्रतिको धारणा, प्रकृतिप्रदत्त सन्दर्भहरू र सामाजिक विकृति विसङ्गतिलाई उद्बोधन गरेका छन् । यसभित्रका कविता शीर्षक सुबोध्य र व्यञ्जनामूलक रहेका छन् । कवि भावनामा आएका स्वच्छन्द एवं निर्मुक्त विचारहरूले मानवीय प्रकृतिलाई सन्निकटता प्रदान गर्छन् । 

‘समय तिमी सधैँको विजेता’ शीर्षकको कवितामा समयलाई विजेताको रूपमा व्याख्या गरेर मानिसले जे गरे पनि मेरो अस्तित्वले काम गर्ने भएको भए सीतालाई लक्ष्मणरेखा किन नाघ्नुपर्थ्यो ? बर्बरिक, ययाति, भीष्म पितामहजस्ता सामर्थ्यवान् तिम्रा अगाडि विवश थिए, त्यसैले मलाई पनि स्वात्त सँघारबाट बाहिर पारिदिनु, किनकि समय तिमीलाई कसैले जित्न सक्तैन, सधैँ तिमी नै विजेता हौ भनिएको छ । कविताको बान्की यस्तो रहेको छ—

तिमी मलाई

चिलले टप्प चल्ला टिपेझैँ टिप्नु

खेतको आलीलाई 

बाढीले ह्वात्त बगाए झैँ बगाउनु

मेरी छोरीले कस्यार लाउँदा फोहोर बढारेझैँ

एकैचोटि स्वाट्ट सङ्घार बाहिर पारिदिनु

एकैचोटि स्वाट्ट सङ्घार बाहिर पारिदिनु । 

(पृ.१६)

‘क्याक्टसमाथि फुलेको कमल’ कवितामा आकाशशून्य भएजस्तै उपस्थिति पनि सबै हुँदाहुँदै एक्लो छ, क्याकटसमाथि फुलेको कमल अर्थात् सुन्दरता एक्लो छ, जीवन पनि त्यस्तै हो भन्ने धारणा कविको छ । ‘एउटा रात एउटा बेडरुम’मा हरेक कुरामा असन्तोष रहेको छ । मानिस असन्तोषका बिचमा बाँचेको अभिव्यक्ति यसमा पाइन्छ भने ‘साँझकी बागमती’ शीर्षकको कवितामा चारवटा आँखामा अटाउने माया क्षणिक छ, एकछिनको रहरमा माया छ भने त्यो कति क्षणिक छ, बागमतीले हिमालदेखि माया (माटो) बोकेर ल्याएकी छन् सहस्रधारासँगै । यही पवित्र माटोमा हामी केही गर्न सकौँ, केही बोट रोप्न सकौँ भन्ने आशयको कविताले देशप्रतिको माया र माटोको मायालाई उद्बोधन गरेको छ । 

‘कस्तो विश्वास’ शीर्षकको कवितामा मानिसमा गरिने विश्वासमा अन्धकार नआओस् । हरेकको सीमा हुन्छ, विश्वासको हातमा उज्यालोपन हुनुपर्छ । कतै शाहजहाँका हातहरू मुमताजको कम्मरमा नपुगून्, क्लियोपेट्रा, लैलाप्रेमको सौन्दर्यरूपी आँगनीमा विश्वासको खडेरी नपरोस् भन्ने भाव व्यक्त गरिएको छ ।

‘एउटा छाया–स्फटिकमाथि’ शीर्षकमा मानिसले स्वयंलाई थाहा नपाउनु डरलाग्दो कुरा हो । जस्तोभित्र छ त्यस्तै सङ्कल्प–विकल्प–निष्कर्ष र समर्पण हुने र इच्छा–आकाङ्क्षा, अतृप्ति, भोग, जिन्दगी र रात उब्जिने हुन् । अनेक किसिमका भावना उर्लिंदै जान्छन् छाया स्फटिकमा जस्तै भनिएको छ कवितामा । 

‘रिक्तताको अनुभव’ शीर्षकको कविताले रिक्तताकै अनुभव गराउँछ । जीवनमा मानिसका आफैँले पारेका दुःखका प्वालको ज्वालामुखीमा केही गर्न नसक्ने स्थितिको बोध गराइएको छ कवितामा । नारी अस्मिताको दृष्टिकोणबाट कवितालाई हेरिएको छ । जस्तै :

अब आफैँलाई मार्न 

आफैँबाट जन्मिएको रिक्तता पर्याप्त बन्छ

आफैँलाई समाप्त गर्न

आफँैबाट भोगिएको रिक्तता प्रशस्त हुन्छ

आफैँलाई नङ्ग्याउन

आफैँबाट दोहोर्‍याइएको रिक्तता प्रशस्त हुन्छ । 

(पृ.३३)  ।

‘म आफैँलाई बढ्ता बोध गर्छु’ शीर्षकको कवितामा पनि उपर्युक्त भावनामा नारीजीवनको बोध अर्थात् शिला बनेकी गौतमीको परिकल्पनामा सांसारिक आकृति मन नपर्ने, विश्वमा देखिने विद्रोह र बाध्यता, युग नै बाँझो भएको स्थिति, आफैँलाई नियाल्दा बुद्धिहीन बनेको राक्षस मारिचलाई सुनको मृग देख्ने र अपहृत हुने सीताजस्तै मतिभ्रष्ट आमा बनेको नारी अस्तित्वको बोध व्यक्त भएको छ । यस्तै ‘मध्याह्न र दुई प्रतिक्रिया’ शीर्षकको कवितामा गरिबीको विवशता, आफैँले अपराध गरेको बोध कविताको मूल मर्म हो । सिर्जना गर्नुभन्दा विनाशमा मन लगाउने मानिसको अवनतिमा सहर निदाएको छ, तसर्थ मध्याह्नको उज्यालो आकाङ्क्षामा कविता अडेको छ । ‘एक अभिव्यक्ति ः विधवा रात’ शीर्षकको कवितामा नारीवेदनामा आधारित ‘आह...उफ्...’को उच्छ्वास मिश्रित अभिव्यक्तिले नारीको अस्तित्वलाई प्रदर्शन गरेको छ । यस कवितामा बिहानीको आशा गरिएको भावना व्यक्त छ । विधवा बनेका नारीको सिउँदो भरिने आशा गरिएको छ । यस्तै भावशून्य र अस्तित्व कैद भएको र नारी अस्मितालाई व्यक्त गरिएको छ, वर्तमान अस्तित्वविहीन भएर चलेको छ । कुनै आशाविहीन बनेको नारी–जीवनसम्बन्धी वेदना व्यक्त छ, ‘मेरो मरेको भोलि जन्मन्छ सडकमा आँखा टँसाएर’ कवितामा । ‘एक शताब्दीलाई एउटा चिह्न’ कवितामा नारीजीवनलाई केन्द्रविन्दुमा राखेर लासको रूपमा हेरिएको समाजको यथार्थलाई प्रस्तुत गरिएको छ । जस्तै— 

कि कतिका सुरक्षित छन् मेरा पाइलाहरू

कि कतिका सुरक्षित छन् मेरा निधिहरू 

कि कतिका चिसा बनेका छन् मेरा आँसुहरू

कि कतिका जीवित छन् मेरा रिक्तताहरू

कि कतिका उकुसमुकुसिएका छन् मेरा विवशताहरू 

कि कतिका बाफिला छन् मेरा सुस्केराहरू 

कि कतिका सलबलाउँदा छन् मेरा छायाहरू 

कि कतिका खोपिँदै गएका छन् मेरा अस्तित्वहरू । 

(पृ.५२) । 

यसरी ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ मानिसको जीवनको प्रतीक हो, आकाङ्क्षा हो, नैसर्गिक अधिकार हो, अपेक्षा हो, अहंता हो । विसङ्गति–विकृतिले ध्वस्त समाजको प्रतिविम्ब हो । मानिसले आफैँलाई त्यही प्रतीकात्मक रूपमा पाउँछ भन्ने धारणा कविको आशय हो ।

‘एउटा च्यातिएको पोस्टर’ शीर्षकको कवितामा सदियौँदेखिका कथाहरूको अवलोकन गर्दै दक्ष र उनकी छोरी सत्यदेवी, शिवधनुषसँग सीताको, हरिश्चन्द्रको पौराणिक कथामा नारीको अस्मितालाई हाँक दिने प्रवृत्ति आदिलाई मिथकको रूपमा ल्याएर हाम्रो जिन्दगी लासहरूमाथि हिँडेको भाव व्यक्त भएको छ । जस्तै ः

हामी लासहरूमाथि निर्धक्क हिँडिरहेछौँ

पृथ्वी पनि लासहरूको एउटा चिहान हो

हामी चिहानमा घर बनाउँछौँ

हामी चिहानमा भोज खान्छौँ

हामी चिहानमा बाँचिदिन्छौ 

हामी हाँक दिन्छौँ 

आफ्नै लासलाई चिहानभित्रबाट । 

(पृ.५८) ।

आमाको स्तनबाट निस्केका सन्ततिले मृत्युको स्तुतिगान गरेको कुरा व्यक्त भएको छ ‘मृत्युको स्तुति’ कवितामा भने ‘धरहरा ः बाक्लो कुहिरोको खास्टोभित्र’ शीर्षकको कवितामा गरिबी क्षतविक्षत भएको यथार्थ र हारेको जीवनको अवस्था प्रस्तुत भएको छ । जस्तै :

कसो एउटा खास्टो बाँकी रहन गएको रहेछ

सारा देह ढाक्नलाई 

नत्र कसरी ठिङ्ग उभिन सक्थेँ पहाडैपहाडका सामु ?

पहाड— अग्लाअग्ला पहाड !

पहाड— स्तब्ध, मौन पहाड !

पहाड— अविचल, स्थिर पहाड !

हरिया र नीला हुँदै गएका पहाड !

पहाड केवल पहाड हुन्

विजेता होइनन् मेरा निम्ति । 

(पृ.६६) ।

Banira cover (1)

‘आफ्नै कविता’ शीर्षकको कवितामा सुदरतालाई पचाएर निर्लज्ज बनेर जन्मोत्सव मनाउने भाव व्यक्त छ भने ‘एउटा गाउँखाने कथा’ शीर्षकको कवितामा गाउँखाने कथाजस्तै जिन्दगीको आभास भएको र निर्जनताको सन्दर्भ ल्याउँदै नारीको विद्रूपतामा व्यङ्ग्य गरिएको छ । यस्तै, जसरी नदीमा ध्वनि हुन्छ, त्यस्तै जीवनमा तिमी नदी बन म ध्वनि बन्छु, चट्टान बगर हुँदै तिमी बग, म ध्वनि भई पछ्याउँछु । यसै गरी जीवनयापन गरौँ । केवल आवाज, तिमी निरन्तर बगिरह्यौ, म ध्वनि भई पछ्याइरहेँ । नदी र ध्वनिमा फरक नभएजस्तै समय र जीवन, नारी र पुरुष अलग नभएको भाव व्यक्त भएको छ, ‘नदी र ध्वनि’मा । यसमा भनिएको कविताको बान्की वा एउटा उदाहरण —

तिमीले

गति दिँदादिँदै समयलाई

वेग दिँदादिँदै नियतिलाई 

स्वयं एउटा समय बन्यौ

स्वयं एउटा नियति बन्यौ

तिमीबाट उब्जिएको म 

एउटा ध्वनि बनेँ

एउटा सिङ्गो अस्तित्व बनेँ

एउटा सन्तुष्ट अहं बनेँ

एउटा सन्तुष्ट अहं बनेँ । 

(पृ.७७) ।

‘मेरो साथी : मेरो आफ्नो सपना’ शीर्षकको कवितामा जीवन शून्यता, एउटा कथा जीवनको उज्यालो पचाएर मृत्युको आभास व्यक्त गरिएको छ भने ‘म के हुँ’ कविताले आफूलाई चिन्ने प्रयास गरेको छ । यसै गरी कविता सङ्ग्रको अन्तिम कविता ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ मूल शीर्षक पनि हो र यो कविताले अहंपन मानिसको यथार्थतालाई प्रस्तुत गरेको छ । केही बदलिन नसक्ने, द्रौपदीको चीरहरणसँगै सबै समाप्त भएको, सबैबाट अलग्ग भएको जिन्दगी नै रित्तो भएको सन्दर्भलाई सङ्केत गरिएको छ । अन्तमा भनिएको छ —

कति अत्यास लाग्दो रात

मानौँ रात होइन– सर्पको ठुँगाइ हो

मानौँ रात होइन– मरुभूमिको मृगतृष्णा हो

मानौँ रात होइन– भूइँचालोको कम्पन हो ।

हिप्पिनीले पिठ्युँमा बच्चा झुन्ड्याए भैmँ

एउटा न एउटा मोह छाती च्यापी 

साँझतिर नयाँसडकको पेटीमा हिँड्ने 

प्रत्येक लोग्नेमानिस र स्वास्नीमानिस ।

एउटा एउटा महत्त्वाकाङ्क्षा

एउटा एउटा जिउँदो जङ्गबहादुर

एउटा एउटा जिउँदो जङ्गबहादुर । 

(पृ.८८) ।

यसरी ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ मानिसको जीवनको प्रतीक हो, आकाङ्क्षा हो, नैसर्गिक अधिकार हो, अपेक्षा हो, अहंता हो । विसङ्गति–विकृतिले ध्वस्त समाजको प्रतिविम्ब हो । मानिसले आफैँलाई त्यही प्रतीकात्मक रूपमा पाउँछ भन्ने धारणा कविको आशय हो । समाजमा सुन्दरताको हनन भएको छ, मानवता हराएको छ, जीवनमा अनेक बाधा–व्यवधानले जरा गाडेको छ । नदी र ध्वनि, बगर र नदी, नर र नारी, जीवन र जगत्, प्रकृति र प्रेम, जीवन र मृत्यु एकअर्काका परिपूरक हुन् तापनि मानिसले त्यसलाई ठम्याउन नसक्दा आफैँले दुःख पाएको र अन्धकारमा बाँचेको दिनलाई ठम्याउन नसककेको यथार्थतालाई कविले कवितामा स्पष्टतया उजागर गरेको देखिन्छ । 

  • बुँदागत दृष्टिकोणमा कविताको यथार्थ

(क) ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ आवश्यकता पनि हो, साहस वस्तुतः जीवन हो, आकाङ्क्षालाई मानिसले नकार्न सक्दैन, त्यही त ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ हो । जीवनसँगै मृत्यु छ, दिनसँगै रात पनि छ, बिहानसँगै साँझ पनि छ, नदीसँगै ध्वनि पनि छ, ढुङ्गासँगै कठोरता छ, प्रकृतिसँगै सुन्दरता छ, राम्रो–नराम्रो सँगै छ, सुख–दुःख सँगै छ, यसलाई बुभ्mनुपर्छ भन्ने भाव प्रत्येक कविताको आशय हो र ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’को शीर्षक प्रभावशाली छ, गतिमान् छ, द्वन्द्वात्मक छ, बहुअर्थी छ, सङ्ग्रह भित्रका सबै कवितालाई समेट्ने खालको छ । 

(ख) आत्मपरक शैलीमा अभिव्यक्त भएका छन् सम्पूर्ण कविताहरू । ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’भित्र लेखिएको छ विविध उपशीर्षकका कविताहरू । यो कवि–वेदना हो, प्रकृतिप्रदत्त मानवीय स्वभाव पनि हो, क्षणिकतामा अल्झिने, पछि पछुताउने मानवीय प्रवृत्ति पनि हो ।  

(ग) कविताहरू वाक्यात्मक पुनरावृत्ति हुँदाहुँदै पनि त्यसले कविताको उत्कर्षतामा कमी ल्याएको छैन, परन्तु त्यसले अभिव्यक्तिमा सुन्दरता थपेको छ । कतिपय कविताको टुङ्ग्याइमा पनि पुरावृत्ति वाक्यांश रहेका छन् ।

(घ) शाहजहाँ र मुमताजजस्ता प्रतीकहरूको दोहार्‍याइ पनि देखिन्छ भने विधवा विवाहको क्रान्तिकारिता पनि रहेको छ । मूलतः प्रत्येक कवितामा सुधारात्मक क्रान्तिकारिताको झलक पाइन्छ । वर्तमान अवस्थामा चेतनाशून्य मानव मस्तिष्क भएको यथार्थबोध कविताको लक्ष्य छ । कविताहरू आज पनि त्यत्तिकै सान्दर्भिक रहेका छन् ।

(ङ) नारी–अस्मिताको वेदना धेरै कवितामा पाइन्छ । नारीमुक्ति कतै छैन । मानिस त्यसै हराएको छ । सबैलाई विसङ्गतिका पहाडले थिचेको, मिचेको अनुभूति गराउँछन् कविताले । अर्थात् नारीकेन्द्रित कविता हुन् ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ सङ्ग्रहभित्रका कविताहरू ।  

(च) परिष्कृत भाषाशैली छ, कतै पनि व्याकरणिक दोष देखिँदैन । कविताको कलात्मक शैलीलाई प्रकाशक संस्था वानिरा गिरि फाउन्डेसनले पनि त्यस्तै कलात्मकता र प्रभावकारी ढङ्गबाट प्रकाशन गरेको छ । ८८ पृष्ठको कृतिको गरिमा ग्रन्थवत् रहेको आभास कृति अवलोकन गर्दा पाइन्छ, किनकि सङ्ग्रहभित्रका प्रत्येक कविता अभिव्यञ्जनामूलक छन्, आलङ्कारिताले परिपूर्ण छन्, भावनागत संवेदनाले युक्त छन् र जीवन्त छन् ।  

  • कवितात्मक निष्कर्ष 

कवितामा वर्णनात्मकभन्दा व्यञ्जनात्मक प्रस्तुति अपेक्षित हुने हुनाले कविमा पूर्णतया फलेको फूलेको देखिन्छ र आफ्नो विचारलाई भावकसमक्ष सम्प्रेषण गर्ने सामर्थ्य प्रचुर मात्रामा हुँदाहुँदै पनि यदाकदा अमूर्तताको कारणले गर्दा भावकले ठम्याउन प्रथमाध्ययनमा कठिनाइ होला तर जतिपटक अध्ययन (कविताको पुनरावृत्ति) गर्दै गयो, त्यत्ति अनेक अर्थ खुल्दै जाने कविताको क्षमता रहेको छ, किनकि कविताको मूलमर्म लेखनको क्षमताभित्र अन्तर्निहित हुन्छ र अभिव्यञ्जना शक्तिले प्रश्रय पाएको हुन्छ । ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ कविता सङ्ग्रहको विषय सन्दर्भलाई दृष्टिगत गर्दै कवितात्मक भावना यसरी व्यक्त गरिएको छ–

वानिरा–साधनाभित्र कला–सौन्दर्य खुल्दछ

कवि–विन्यासमा पोख्त व्यञ्जनाशक्ति मिल्दछ ।

आलङ्कारिक सौन्दर्य प्रतीकात्मक भावमा

एउटा–एउटा जङ्ग–बहादुर छ शक्तिमा ।१।
 

व्यङ्ग्य–शक्ति सजाएको कविताभित्र पाउँदा

मूल शीर्षकको सीमा जीवन्त रस छाउँदा ।

प्रकृतिभित्रको फूल वैलिँदाको छ चिन्तन

कविताभित्र देखिन्न अनावश्यक गन्थन ।२। 
 

नारीको जीवनीलाई डोर्‍याई क्रान्तिमार्गमा

पाठकी चेतना खोल्ने कार्य हुन्छ सुधारमा ।

सती–सीता यहाँ दक्ष–जनकका कथाहरू

गौतमी र हरिश्चन्द्र अनेकौँ छन् व्यथाहरू ।३।
 

‘म के हुँ’ आत्मचिन्ताले अस्तित्व खोजमा कवि

भौतिकी लक्ष्य–अन्तर्य भेटिन्छन् ती सबै छवि ।

सभ्य–संस्कारको ज्योति तामसीपनले गरी

वैश्विक वेदना बन्छ शून्यतामा पुगेसरि ।४।
 

जिन्दगी त्रासदीयुक्त बनेको छ जताततै

जङ्गबहादुरी भाका उदाएको जताततै ।

प्रारम्भदेखि नै अन्तसम्मको कवि–भावना

एकाकार भएको छ काव्यमा कवि–साधना ।५।
 

भावनाको बगाइमा काव्यिक–दृष्टि साथमा

मूर्तामूर्त बनेका छन् साधनायुक्त धारमा ।

विजेता छ कतै प्रेम–छाया–मानव रिक्तता

संसार–सारमा हेर्दा शृङ्खलाबद्ध तिक्तता ।६।
 

समाजभित्रको पीडा कविताभित्र ल्याउँदा

चञ्चल मनको भाका कवितामा मिसाइँदा ।

विचित्र–चित्र भेटिन्छ वैश्विक कथ्य–साथमा

पग्लिँदै–पग्लिँदै जान्छ कविको मन–माझमा ।७।
 

बहुअर्थी कविताभित्र एकै कथ्य स्वरूपमा

आएका कविता देख्छु एकै छन् तथ्य रूपमा ।

काव्यिक रचना हो यो नर–नारी सुधार हो 

सारा अस्तित्वको चेत खुलाउने विचार हो ।८।
 

कवित्व शक्ति देखिन्छ– वाक्यांश शब्द–शब्दमा

परिष्कृत छ विन्यास– औत्सुक्य छ सुसाइमा ।

कलाका पारखीलाई आलङ्कारिक अर्थमा

एकाकार भई खुल्छिन् वानिरा–कृति साथमा ।९। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ठाकुर शर्मा भण्डारी
ठाकुर शर्मा भण्डारी
लेखकबाट थप