हराएको मान्छे र समाजको मौनता
सूचना पाटीमा च्यातिएको कागजको एउटा टुक्रा टाँसिएको छ । कुनै अमुक व्यक्तिको फोटोसहित ठुलो अक्षरमा लेखिएको छ, ‘मानिस हराएको सूचना !’
कागजको सानो टुक्रामा मानिसको नाम, उमेर, हुलिया र अन्त्यमा लेखिएको वाक्य यस्तो छ, ‘यो तस्बिरमा भएको मान्छेलाई कतै देख्नुहुनेले तुरुन्त सम्पर्क गर्नुहोस् ।’ यो सन्देशले कोही भौतिक रूपमा हराएको संकेत गर्छ, तर त्यस पछाडिको गहिरो कथा भन्न सक्ने अवस्था पत्रिकाका अक्षरहरूसँग हुँदैन ।
मानिस किन हराउँछ ? कहाँ हराउँछ ? के हराउनुको अर्थ शरीरको अनुपस्थिति हो कि त्यसले एउटा व्यक्तित्वको अस्तित्वलाई पनि प्रश्न गर्छ ?
‘हराएको सूचना’ मानिसलाई फेला पार्ने साधन हो । यद्यपि हराएको व्यक्ति कस्तो अवस्थामा हरायो भन्ने कुरा कागजका ती अक्षरले बयान गर्न सक्दैन । कोही परिवारका झगडाहरूबाट ‘तर्सिएर’ हराउँछ, कोही ‘प्रेमको अभाव’ले हराउँछ । कोही जिन्दगीका हरेक मोडमा ‘पराजित भएर’ हराउँछ ।
यो हराउने प्रक्रियाले एक प्रकारको मौन कथा लेख्छ, हराएको मानिसभित्रका भावनाहरू, रहरहरू र संवेदनाहरू हराउँदाको छायामा ओझेल परेर लुकेको हुन्छ ।
कोही, कसैलाई हराउनुमा शारीरिक अनुपस्थिति मात्र मुख्य कुरा हुँदैन । कतिका लागि हराउनु भनेको आफ्नै परिचयबाट टाढा भाग्नु पनि हो । गुमनाम भएर वा आफैँदेखि विरक्त भएर कतै भूमिगत हुनु पनि हो । मानौँ, उनीहरूले समाजले जबर्जस्ती टाँसिदिएको अनुहार फालेर आफ्नै अनुहार खोज्न हराएको अभिनय गर्छन् । यस्तो हराउने क्रियामा उनीहरूले बाँच्नुपर्ने जिम्मेवारीको डर, अपूर्ण रहरहरूको बोझ र समाजले थोपरिदिएको अपेक्षाको भार बोकिरहेका हुन्छन् ।
मानिस किन हराउँछ ? कहाँ हराउँछ ? के हराउनुको अर्थ शरीरको अनुपस्थिति हो कि त्यसले एउटा व्यक्तित्वको अस्तित्वलाई पनि प्रश्न गर्छ ?
अर्को पाटोमा, हराउनु भनेको दुर्घटना मात्र हुन सक्छ । सहरका भिडभाडमा, समयको गति र मानिसको मनोविज्ञानको उतार–चढावमा हराउन कति सजिलो छ ! एक दिन बजारमा हिँड्दा अनुहार बिर्सेर हिँडेजस्तै मानिस आफ्नो अस्तित्वको कुनै टुक्रा हराउँदै जान्छ, बिस्तारै हिजोको सपना हराउँछ, पुराना मित्रहरू हराउँछन् अनि सबैभन्दा डरलाग्दो आफैँभित्रको ‘म’ हराउँछ ।
त्यो सूचना पाटीमा टाँसिएको कागज एउटा मानिस फेला पार्ने प्रयत्नजस्तो देखिन्छ तर सायद त्यो कागजले हामी सबैको कथा बताइरहेको हुन्छ । हामी कुनै न कुनै रूपमा हराएका छौँ । हराएको मान्छे मात्र सूचना पाटीमा खोजिँदैन । हामी आफ्नो आत्मा हराएको कुरा बुझ्न चाहँदैनौँ । हामी आफ्नो पहिचान, आफ्नो सपना र आफ्नो स्मृतिलाई हराउँदै जान्छौँ ।
यस्तो अवस्थामा हामी आफैँ ‘हराएको सूचना’ लेख्न थालेमा कस्तो होला ? ‘हराएको सूचना ः एउटा सपना, एउटा हाँसो, एउटा जिन्दगी । देख्नु हुनेले तुरुन्त नजिकैको प्रहरी कार्यालय वा फोन नम्बरमा खबर गरिदिनुहोला ।’ कागजका अक्षरहरूमा सीमित यो सन्देशले सायद हराएको मान्छेलाई फेरि भेट्न सहयोग गर्ला ।
मानिस हराउनुको कथा एउटा शारीरिक अनुपस्थिति होइन, त्यो एउटा दार्शनिक प्रश्न पनि हो । जस्तै ः हामी कहाँ गइरहेका छौँ ? के हामीले आफूलाई गुमाउँदै गएको महसुस गरेका छौँ ? ती अक्षरले हामीलाई जागरुक बनाए भने सायद एक दिन हामी भौतिक रूपमा मात्र नभई भावनात्मक रूपमा पनि हराउनबाट जोगिन सकौँला ।
मान्छे हराउँछ, सूचना टाँसिन्छ, दिन बित्छन्, आशा बाँचिरहन्छ । यो एउटा सामान्य घटनाजस्तो लाग्छ । यसको पछाडि लुकेका भावनाहरू निकै गहिरा हुन्छन् । हराएको मान्छेको सूचनामा लेखिएका शब्दहरू, हराएको परिवारको चिन्तित अनुहार । दिनहुँ बढ्दै जाने आशाको क्षय । यी सबै मिलेर मान्छेको मन छुने कथा बनाउँछन् । एउटा कथा जसले हामीलाई जीवन, मृत्यु, आशा र निराशाबारे सोच्न बाध्य पार्छ ।
‘मान्छे हराएको सूचना’मा लेखिएका शब्दहरू निकै मार्मिक हुन्छन् । ‘यति उमेरको, यस्तो वर्णको, यस्तो लुगा लगाएको...’ यी शब्दले हामीलाई त्यो व्यक्तिको अनुहार, आवाजको कल्पना गर्न बाध्य पार्छन् । हामी त्यो व्यक्तिलाई अझै जीवितै छ भन्ने आशा राख्छौँ तर दिन बित्दै जाँदा त्यो आशा मधुरो र क्षीण हुँदै जान्छ ।
‘फेला पार्ने सहयोगी मनलाई सधन्यवाद सम्मान गरियो’ अथवा ‘हराएको मान्छे आफैँ घरमा टुप्लुक्क आइपुग्नु भो’ भन्ने समाचार सुन्न कति शुभचिन्तकहरू कान ठाडो पारिराखेका हुन्छन् ।
आजकल मान्छे हराएको सूचना सामाजिक सञ्जालमा पनि व्यापक देखिन्छ । हामी फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालमा त्यस्ता सूचनाहरू बारम्बार देख्छौँ । हामी त्यस्ता सूचनालाई ‘लाइक’ गर्छौं, ‘सेयर’ गर्छौं तर हामी त्यसबाट बाहिर निस्किएर केही गर्न सक्दैनौँ । हामी आफ्नो प्रार्थना मात्र गर्न सक्छौँ । हराएको मान्छे कहाँ होला ? के भयो होला ? कुनै खोजखबर गर्न असमर्थ हुन्छौँ । मात्र संवेदित मनले भावविह्वल हुन पुग्छौँ ।
भनिरहनुपर्दैन कि जब कुनै मान्छे हराउँछ, त्यसको परिवारको जीवन नै अस्तव्यस्त हुन्छ । उनीहरू दिनरात खोजीमा लाग्छन् । समय बित्दै जान्छ तर खोज्ने परिवारलाई केही हात लाग्दैन । आफ्नो प्रियजनलाई फेरि कहिल्यै देख्न पाउनेछैनन् भन्ने डरले उनीहरूलाई सताइरहेको हुन्छ ।
‘हराएको मान्छे’ फेला परेको खबर सुन्न पाउँदा धेरै खुसी लाग्छ । अफसोस यस्तो खबर हामीले कमै मात्र सुन्छौँ । धेरै मानिस हराएरै रहन्छन् । उनीहरूको परिवार सदस्यहरूले जीवनभर उनीहरूको खोजीमा लागिरहनुपर्छ । किनभने कोही प्रियजन अनायासै गुमाउनुको पीडा कष्टदायी हुन्छ, चटक्कै बिर्सिन सकिँदैन, झिनो आशा बाँकी नै रहिरहन्छ तापनि निराशाले घरै अन्धकार पारिरहेको हुन्छ । शोक र सुर्ताले व्यथित बनाइरहेको हुन्छ ।
लाग्छ, हराएको सूचनामा सूचित मान्छे एक दिन त फेला पर्छ होला तर फेला परेको समाचार कतै, कहिल्यै आउँदैन । हराएपछि हराएको हराएकै हो कि हराएको मान्छे भेटिएको हो ? अवश्य पनि भेटिएको हुनुपर्छ तर भेटिएपछि किन हराएको मानिस भेटियो भनेर खबर सार्वजनिक गरिँदैन ?
यथार्थमा ‘मान्छे हराएको सूचना’ले हामीलाई जीवनको अनिश्चितताबारे सोच्न बाध्य पार्छ । हामी पनि कुनै वेला हराउन सक्छौँ । हामीलाई खोज्ने कोही नहुन सक्छ । यसले हामीलाई आफ्ना प्रियजनहरूको समयको महत्त्व बुझ्न सिकाउँछ । त्यतिबेला हामी आफैँ निकै भावुक बन्न पुग्छौँ ।
मान्छे हराएको सूचनाले हामीलाई मानवताका बारेमा पनि सोच्न बाध्य पार्छ । हामी कति निर्दयी हुन्छौँ ? हामी कति चाँडो बिर्सन्छौँ ? ‘मान्छे हराएकोे’ परिवारको पीडालाई हामीले बुझ्न सक्दैनौँ । हामी आफ्नै जीवनमा व्यस्त रहन्छौँ तर यस कुरामा पनि सत्यता नहुन सक्छ । किनभने ‘हराएको’ मानिस ‘भेटिएको’ पनि हुन सक्छ ।
‘मान्छे हराएको’ सूचनाले हामीलाई आशाका बारेमा पनि सोच्न बाध्य पार्छ । हामी सधैँ आशा राख्छौँ कि हराएको मान्छे फेला पर्नेछ तर कहिलेकाहीँ आशा पनि मरिरहन्छ ।
‘मान्छे हराएको’ सूचनाले हामीलाई जीवनको मूल्य बुझ्न सिकाउँछ । हामीले जीवनलाई भरपूर रूपमा बाँच्नुपर्छ । किनकि जीवन अनिश्चित छ । हामीले आफ्ना प्रियजनसँगको समयलाई सदुपयोग गर्नुपर्छ । किनकि हामीले कुनै आफन्तलाई वा आफैँलाई पनि कुनै पनि बेला गुमाउनुपर्ने हुन सक्छ ।
‘मान्छे हराएको’ सूचनाले हामीलाई मानवताप्रति थप संवेदनशील बनाउँछ । हामीले ‘मान्छे हराएको’ परिवारलाई सहयोग गर्नुपर्छ । हामीले आफ्नो समुदायलाई सुरक्षित बनाउनका लागि काम गर्नुपर्छ । यो मानव धर्मको एक अंश हो । मान्छेको परम कर्तव्य पनि हो ।
जहाँ पीडालाई मात्र सार्वजनिक गरिन्छ र खुसीलाई निजी राखिन्छ । वास्तवमा यो हाम्रो चेतनाको अभावको परिणाम हो । पीडा साझा गर्नु हाम्रो दायित्व हो तर खुसी बाँड्नु एउटा अप्रत्याशित बोझ ।
यस्तो सूचनाले हामीलाई जीवनको अर्थ खोज्न प्रेरित गर्छ । हामी किन यहाँ छौँ ? हाम्रो जीवनको उद्देश्य के हो ? यी प्रश्नको जवाफ खोज्ने क्रममा अन्ततः हामीले आफैँलाई राम्रोसँग बुझ्न सक्छौँ ।
हराएको मान्छे... ! यो शब्द आफैँमा एक त्रासदी हो । कुनै घरको आँगनबाट हराएको बालक होस्, कुनै आमाको काखबाट छुटेको सन्तान होस् वा कुनै जिम्मेवारीले थिचिएको मान्छे, यत्तिकै हराएको होस् । हरेक हराउने कथा समाजका अनेकन् तहहरूमा एउटा पीडादायी चिसो ज्वारभाटा बनिरहन्छ ।
कोही मानिस घरायसी कारणले ‘घर छाडेर’ हिँडिदिन्छ । कोही मानिस ‘मानसिक अवस्था ठिक नभएर’ बेसुरले कतै हिँडिदिन्छन् र घर फर्किन नसकी हराउँछन् । कोही मानिस आफूखुसी घर छाडेर सुटुक्क कतै जान्छन् । अनि घरपरिवारलाई तनावमा पार्छन् ।
समाचारपत्र, रेडियो, टेलिभिजन, भित्ताका पोस्टर आदिले ‘हराएको मान्छे’को कथा हाम्रो आँखाअघि प्रस्तुत गरिदिन्छ । मानौँ त्यो परिवारको पीडा हामीले अनुभूत गर्न सकौँ । ‘यति उमेरको, यस्तो अनुहारको, यस्तो लुगा लगाएको’ यी शब्दले हराएको मान्छेको परिकल्पना गराउँछ । कुनै पोस्टरमा देखिएको मुस्कानले आँखा रसाउँछ । एउटा आवाजले घर–आँगनको शून्यता चिच्याएर सुनाउँछ, हाम्रो समाजको विडम्बना भने त्यहीँ सुरु हुन्छ, ‘मान्छे हराएको’ यात्रा कहाँ गएर टुङ्गिन्छ, त्यो कहिल्यै सार्वजनिक गरिँदैन ।
कुनै दिन परिवारका आँसु रोक्न नसक्ने घटना अचानक हराउँछ । हराएको मान्छे फेला पर्छ वा पर्दैन, यो प्रश्न गुमनाम भइदिन्छ । फेला परेको हो भने त्यो घरमा जति खुसी फैलियो, त्यति खुसी समाजमा किन साटिँदैन ? पुनर्मिलनले कसैको आँखा रसाइसक्यो भने त्यो खुसी समाजका लागि पनि प्रेरणा बन्न सक्थ्यो तर समाजले हराउने घटनालाई आँसुमा मात्र हेर्छ; खुसीको उत्सवमा हेर्ने आँखा कहिल्यै तयार गर्दैन ।
वास्तवमा ‘हराउने’ र ‘भेटिने’ बिचको यो मौनता समाजको गहिरो ‘बेवास्ता’को रूप हो । घरबाट हराएको मान्छे समाजकै हिस्सा हो । हराउनु र फेला पर्नु दुवै घटनाले समाजलाई असर गर्छ तर हामीलाई सतहमा ‘हराउनु’ मात्र देखिन्छ; देखाइन्छ । ‘फेला पर्नु’ भने ओझेल पर्छ, पारिन्छ, पारिएको छ ।
हरेक पोस्टरले जसरी मान्छेको अस्तित्व खोज्छ, फेला परेको क्षणले पनि त्यसको उत्तर दिनुपर्छ । ‘हाम्रो हराएको मान्छे फेला प¥यो !’ भन्ने खुसीले मानिसको भरोसा र समाजको संवेदनशीलता दुवैलाई नयाँ जीवन दिन सक्छ । यद्यपि हाम्रो व्यवहारमा त्यो खुसीलाई गोप्य राख्ने एक अनौठो र संकुचित परम्परा बनेको छ । ‘हराएको’ तथ्य व्यापक गरिन्छ तर ‘भेटिएको’ सत्य चुपचाप राखिन्छ ।
‘फेला पार्ने सहयोगी मनलाई सधन्यवाद सम्मान गरियो’ अथवा ‘हराएको मान्छे आफैँ घरमा टुप्लुक्क आइपुग्नु भो’ भन्ने समाचार सुन्न कति शुभचिन्तकहरू कान ठाडो पारिराखेका हुन्छन् ।
सामाजिक सम्बन्धहरूको यो स्वरूप जहाँ पीडालाई मात्र सार्वजनिक गरिन्छ र खुसीलाई निजी राखिन्छ । वास्तवमा यो हाम्रो चेतनाको अभावको परिणाम हो । पीडा साझा गर्नु हाम्रो दायित्व हो तर खुसी बाँड्नु एउटा अप्रत्याशित बोझ । समाजको मौनताले भेटिएका मान्छेका कथालाई हराउने कथाभन्दा कम महत्वपूर्ण बनाउँछ ।
त्यसैले यो विडम्बना हटाउन समाजले आत्मचिन्तन गर्न आवश्यक छ । हराएको मान्छे फेला पर्नु एउटा विजय हो, मानवताको उत्सव हो । त्यो खुसीलाई हामीले सबै सामु बाँड्न सके मात्र ‘हराउने’ र ‘भेटिने’ क्रमले समाजमा सकारात्मक सन्देश दिन सक्छ । हराएको मान्छे मात्र होइन, समाजको संवेदनशीलता पनि फेला पर्छ । अनि मात्र हामी यो विडम्बनाको चक्रलाई तोड्न सक्छौँ ।
हराएको मान्छे ‘भेटिनु’, त्यो खबरको खुसी ‘फैलिनु’ अनि समाजका हरेक कुनामा नयाँ उज्यालो छर्नु हाम्रो जिम्मेवारी हो । किनभने हराएको मान्छे ‘फेला पर्नु’ एउटा घरको कुरा होइन, त्यो एउटा समाजकै लागि ‘पुनर्जन्म’ पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण