बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओभरलोड नियन्त्रणमा कडाइ गर्न महानिरीक्षक थापासँग ट्रक महासङ्घको माग

सोमबार, १२ साउन २०८२, ०० : ४३
सोमबार, १२ साउन २०८२

सारांश

  • नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले ओभरलोड नियन्त्रणका लागि ट्राफिक प्रहरीलाई निर्देशन दिन माग गरेको छ।
  • महासङ्घले ओभरलोडका कारण कानून कार्यान्वयन हुन नसकेको र जरिवाना कम भएको गुनासो गरेको छ।
  • प्रहरी महानिरीक्षक थापाले यातायात प्रणालीलाई व्यवस्थित बनाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले सवारी साधनमा अत्यधिक भारवहन (ओभरलोड) नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई प्रभावकारी निर्देशन दिन आग्रह गरेको छ ।

आइतबार महासङ्घका अध्यक्ष हिरालाल श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डलले प्रहरी महानिरीक्षक दीपक थापालाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो । 

महासङ्घका महासचिव राजेन्द्र बिक्रम बानियाँका अनुसार सवारी तथा यातायात  सम्बन्धी ऐन, नियम र मालवाहक सवारीको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ को प्रभावकारी कार्यान्वयन हुन नसक्दा ओभरलोड प्रवृत्ति बढिरहेको छ। 

स्वदेशी तथा विदेशी ट्रकहरूले लोड सिट विना तोकिएकोभन्दा बढी लोड बोक्ने र सामान्य जरिवाना तिरेर सवारी सञ्चालन गर्ने प्रवृत्तिले कानुन कार्यान्वयन समेत नभएको उनको भनाई छ । 

महासङ्घले ज्ञापन पत्रमा ट्राफिक प्रहरीले चेकजाँच गरे पनि न्यून जरिवानाका कारण समस्या समाधान नभएको उल्लेख गरेको छ । ओभरलोड बोक्न ट्रकलाई यातायात कार्यालयमा चलान गर्न वा निर्देशिकाअनुसार सामान अनलोड गराई भार मिलान गर्न कडा व्यवस्था गर्नुपर्ने माग राखेको छ।

truck bigyapati

महासङ्घले हालै सञ्चालनमा ल्याएको भारवहन नियमन सफ्टवेयर लाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीको सहकार्य आवश्यक रहेको पनि जनाएको छ। महासङ्घसँगको भेटमा प्रहरी महानिरीक्षक थापाले ओभरलोड समस्या समाधानमा  आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरे । 

उनले भने, ‘यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र कानुनअनुसार बनाउने हाम्रो लक्ष्य हो। महासङ्घको चासो जायज छ, ट्राफिक प्रहरीलाई आवश्यक निर्देशन दिइनेछ।’

महासङ्घले प्रहरी महानिरीक्षकमार्फत सातै प्रदेशका प्रहरी प्रमुख तथा ट्राफिक प्रहरीलाई निर्देशन दिन विशेष आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप