ब्रह्माण्डको विशालता : अस्तित्वको अनन्त अन्वेषण
शताब्दियौँदेखि मानिसले आकाशतिर हेरेर आफ्नो उत्पत्तिको खोजी गर्दै आएका छन्, हामी कहाँबाट आयौँ, कुन नियमले हामीलाई चलाइरहेको छ र हामी एक्लै हौँ कि होइनौँ भन्ने गहिरा प्रश्नमाथि चिन्तन र अनुसन्धान गर्दै आएका छन् । आज शक्तिशाली दूरबिनहरू, उपग्रहहरू र सापेक्षता तथा क्वान्टम यान्त्रिकीजस्ता सिद्धान्तले पहिलेभन्दा धेरै कुरा हामीलाई थाहा भएका छन् तर जति जान्दछौँ उति नै अझ धेरै कुरा अज्ञात लाग्न थाल्छ । ब्रह्माण्ड अकल्पनीय रूपमा विशाल छ, यथार्थ समय र अस्तित्वको परिभाषालाई समेत चुनौती दिने रहस्यमय संरचनाले भरिएको छ ।
हाम्रो ब्रह्माण्ड झन्डै १३.८ अर्ब वर्षअघि ‘बिग ब्याङ’ नामक घटनाबाट सुरु भएको थियो । आरम्भमा सम्पूर्ण ऊर्जा, पदार्थ, समय र स्थान एकै विन्दुमा केन्द्रित थिए भन्ने मानिन्छ । त्यसै विन्दुबाट अचानक विस्फोट हुँदा पदार्थहरू बनिन थाले ।
करोडौँ वर्षमा हाइड्रोजन र हिलियमका आणविक कणहरू निर्माण भए, गुरुत्वाकर्षणले तिनीहरूलाई तानेर ताराहरू बनाए र तिनै ताराहरूको कोरमा भारी तत्त्वहरू बने । ती तारा विस्फोट हुँदा कार्बन, अक्सिजन, फलामजस्ता तत्त्व फैलिए, जसबाट ग्रहहरू र अन्ततः जीवनको विकास भयो । आज हामीले बोकेको हरेक तत्त्व कुनै न कुनै समयमा ताराको भित्री भागमा बनिएको थियो ।

सन् १९२० को दशकमा एडविन हबलले आकाशगङ्गाहरू हामीबाट टाढा हुँदै गइरहेको पत्ता लगाए, जसबाट ब्रह्माण्ड विस्तार भइरहेको छ भन्ने प्रमाण भेटियो । अझ अचम्मको कुरा त के भने यो विस्तार अझै तीव्र गतिमा भइरहेको छ, वैज्ञानिकहरूले यसलाई ‘डार्क एनर्जी’ नाम दिएका छन् l
सन् १९२० को दशकमा एडविन हबलले आकाशगङ्गाहरू हामीबाट टाढा हुँदै गइरहेको पत्ता लगाए, जसबाट ब्रह्माण्ड विस्तार भइरहेको छ भन्ने प्रमाण भेटियो । अझ अचम्मको कुरा त के भने यो विस्तार अझै तीव्र गतिमा भइरहेको छ, वैज्ञानिकहरूले यसलाई ‘डार्क एनर्जी’ नाम दिएका छन्, एक रहस्यमय ऊर्जा रूप जसको स्वरूप अझै थाहा छैन । ब्रह्माण्डको झन्डै ६८ प्रतिशत भाग यही डार्क एनर्जीले बनेको छ । अरु २७ प्रतिशत ‘डार्क म्याटर’ हो जुन देखिँदैन तर गुरुत्व बल दिन्छ । बाँकी ५ प्रतिशत मात्र हाम्रो ज्ञात पदार्थ (तारा, ग्रह र हामीजस्ता प्राणीहरू) मिलेर बनेको हो । ब्रह्माण्डको यस्तो संरचनाले विज्ञान मात्र होइन हाम्रो अस्तित्वप्रतिको दृष्टिकोणलाई समेत गहिरो झट्का दिन्छ ।

यस्तो गहन ब्रह्माण्डलाई बुझ्न मानवले शक्तिशाली वैज्ञानिक सिद्धान्तहरू विकास गरेका छन् । आइज्याक न्युटनले प्रतिपादन गरेका गति र गुरुत्वाकर्षणको नियमहरूले लामो समयसम्म पृथ्वी र आकाशका घटनालाई व्याख्या गर्न सक्षम भए । तर ती नियमले समयलाई स्थिर र आकाशलाई अपरिवर्तनीय मानेका छन् । जुन धेरै द्रूत गतिमा गइरहेका वा विशाल वस्तुहरूको सन्दर्भमा गलत साबित हुन्छ । यसै कारण अल्बर्ट आइन्स्टाइनको ‘सापेक्षता सिद्धान्त’ले विज्ञानमा क्रान्तिकारी परिवर्तन हुन्छ । उदाहरणका लागि प्रकाशको गतिसँग नजिक वस्तु चल्दा समय सुस्त हुन्छ, यो नै ‘समय विस्तार’ हो । ‘सामान्य सापेक्षता’ले गुरुत्व बललाई स्पेसटाइमको वक्रताको रूपमा वर्णन गर्छ । जसले सौर्यमण्डल, ब्ल्याक होल र स्याटेलाइटहरूमा समेत प्रभाव पार्छ ।

आइन्स्टाइनका सिद्धान्तहरू पनि सधैँ काम लाग्दैनन् । अणु र कणहरूको सूक्ष्म संसारमा ‘क्वान्टम यान्त्रिकी’ लागु हुन्छ । यो विज्ञान अत्यन्तै अचम्मको छ, जहाँ कणहरू एकैचोटि विभिन्न अवस्थामा रहन सक्छन्, एकअर्कासँग अकल्पनीय दूरीबाट तुरुन्त सम्पर्क राख्न सक्छन् । क्वान्टम र सापेक्षता सिद्धान्तहरू आ–आफ्ना क्षेत्रका लागि उत्तिकै सशक्त छन्, तर एक–अर्कासँग मेल खाँदैनन् । आजको आधुनिक भौतिकशास्त्र (जस्तैः स्ट्रिङ थ्यौरी वा लुप क्वान्टम ग्राभिटी—दुवै सिद्धान्तलाई समेट्ने) एउटा साझा सिद्धान्तको खोजीमा छ । यो खोज केवल वैज्ञानिक होइन, अस्तित्वको मूल प्रश्नसँग सम्बन्धित छ, बह्माण्ड साँच्चै के हो ?

क्वान्टम यान्त्रिकीलाई ब्रह्माण्ड विज्ञानमा लागु गर्दा अकल्पनीय सम्भावना जन्मिन्छ । प्रारम्भिक ब्रह्माण्डको संरचना (ग्यालेक्सीहरू, ताराहरूको बिचमा दूरी) को जड क्वान्टम ‘फ्लक्चुएसन’मा छ । अझ रोचक कुरा त कतिपय वैज्ञानिकहरू विश्वास गर्छन् कि हाम्रो ब्रह्माण्ड एक्लो होइन, प्रारम्भिक फैलावट (इन्फ्लासन थ्यौरी) अनुसार अनन्त रूपमा ‘बबल ब्रह्माण्डहरू’ जन्मिन सक्छन्, जुन सबलाई ‘मल्टिभर्स’ भनिन्छ । तीमध्ये केही ब्रह्माण्ड पूर्ण रूपमा अँध्यारा, केही जीवनयुक्त त केही हाम्रो भौतिक नियमभन्दा नै भिन्न हुन सक्छन् । यद्यपि मल्टिभर्स थ्यौरी प्रमाणित गरिएको छैन । यसले हाम्रो ब्रह्माण्ड किन यति जीवन अनुकूल छ भन्ने प्रश्नको सम्भावित उत्तर दिन्छ ।
यति विशाल ब्रह्माण्डमा हामी कहाँ पर्छौं ? सौर्यमण्डलको एक सामान्य ग्रह पृथ्वी एउटा सामान्य ग्यालेक्सीको सामान्य ताराको वरिपरि परिक्रम गर्दै छ । हामी अनौठा छौँ, किनभने हामी ब्रह्माण्ड बुझ्न सक्छौँ । हामी समयको प्रारम्भ कणहरूको रहस्य र अन्तरिक्षको विस्तारबारे प्रश्न उठाउन सक्षम छौँ । हामी ताराको भित्रबाट बनेका छौँ ‘स्टारडस्र्ट’ तर आफैँले तारा हेरिरहेका छौँ ।
के हामी मात्र बुद्धिमान प्राणी हौँ ? ब्रह्माण्डमा अर्बौं ग्यालेक्सी छन्, हरेकमा अर्बौं तारा, तिनमा अझ अनगिन्ती ग्रहहरू, त्यसमध्ये केही ग्रहमा जीवन हुनु असम्भव त होइन । यद्यपि अहिलेसम्म कुनै स्पष्ट संकेत छैन ।
सेटी (सर्च फर एक्ट्राटेरेस्ट्रियल इन्टेलिजेनस) जस्ता परियोजनाहरूले अन्य सभ्यताको संकेत खोज्दै छन्, ‘जेम्स वेब टेलिस्कोप’ले अन्य ग्रहको वातावरणमा जीवनको संकेत खोज्दै छ । अहिलेसम्म शून्यता छ । यिनै कुराले ‘फर्मी प्याराडक्स’ जन्माउँछ, जीवन सम्भावना यति धेरै छ भने कोही किन देखिँदैन ? सम्भवतः बुद्धिमत्ता अत्यन्त दुर्लभ छ वा कुनै पनि सभ्यताले अन्तर नक्षत्रीय स्तरमा पुग्नुअघि आफैँलाई नष्ट गर्छ । जवाफ अझै अज्ञात छन् ।
यी सबै विषय किन आम मानिसका लागि महत्त्वपूर्ण हुन् ? किन साधारण मानिसले ब्रह्माण्ड विज्ञान बुझ्न प्रयास गर्नुपर्छ ? किनभने यसले हाम्रो सोचाइलाई फराकिलो बनाउँछ । जीपीएस सिस्टम, मेडिकल इमेजिङ, स्मार्टफोन टेक्नोलोजी— यी सबै ब्रह्माण्ड अध्ययनकै प्रतिफल हुन् । अझ महत्त्वपूर्ण कुरा ब्रह्माण्डबारे बुझ्दा हामी पृथ्वीका झिनामसिना समस्याबाट माथि उठ्न सक्ने दृष्टि राख्छौँ । हामी सबै एउटै ‘प्याले ब्लु डट’मा सवार छौँ, एउटै आकाशमा यात्रा गर्दै छौँ । जब हामी यो बुझ्छौँ हामी अरु मान्छे, हाम्रो ग्रह र हाम्रो भविष्यप्रति बढी जिम्मेवार बन्छौँ ।
अन्ततः ब्रह्माण्डको विशालता केवल डरको विषय होइन, यो प्रेरणाको विषय हो । क्वान्टमदेखि ग्यालेक्सीसम्म, सिङ्गुल्यारिटीदेखि मल्टिभर्ससम्मको ब्रह्माण्डको कथा हाम्रो पनि कथा हो । हामी झिनो छौँ तर असाधारण । हामी धुलोबाट बनेका छौँ, तारा बुझ्न सक्ने सामथ्र्य राख्छौँ । उत्तर भेटिन्छ वा छैन, सत्य के हो भन्ने कुरा थाहा हुन्छ वा हुँदैन तर खोज्ने यात्रा मानवताको महानतम यात्रामध्ये एक हो । त्यो यात्रामा हामी सबै सहभागी हौँ, चाहे वैज्ञानिक हौँ वा सर्वसाधारण ।
(बोहरा क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर, बालकुमारी काठमाडौँमा प्राध्यापक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण