बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ग्राउण्ड जिरो मधेस

काकाकुल मधेसको कहालीलाग्दो जनजीवन [फोटोकथा]

सोमबार, १२ साउन २०८२, १२ : ४३
सोमबार, १२ साउन २०८२

काठमाडौँ । मनसुनकै समयमा मधेस प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा भएको छ । वर्षा नहुँदा मधेसका किसान यो वर्ष कसरी गुजारा चलाउने भन्ने चिन्तामा छन् ।

बिहीबार बिहानै मधेसमा फिल्ड रिपोर्टिङका लागि इभी चढेर काठमाडौँबाट प्रस्थान गरियो । मध्याह्नभन्दा करिब आधा घण्टा अघि वीरगन्ज झर्दा देखिएको अवस्थाले खडेरी के हो भन्ने राम्रैसँग अनुभूत गरायो ।

जताततै खाली भाँडा र धाँजा फाटेका खेतका गरा, सुकेका ब्याड– अहिले पनि मधेसको त्यो कहालीलाग्दो दृश्य मेरो मानसपाटलमा आइरहेको छ ।

khaderi (7)

काठमाडौँको चिसो वातावरणमा बसिरहेको म केही घण्टाको यात्रामै सुक्खाग्रस्त मधेस पुग्दा भुङ्ग्रोमा हामफालेजस्तै भयो । शरीरबाट नदीसरी पसिना बगिरहेको थियो । त्यहाँका मान्छे आफ्नो शरीरलाई शीतल राख्न अनेक यत्न–प्रयत्न गरिरहेका थिए, तर ती सबै बेकार भइरहेका थिए ।

khaderi (8)

मानिसहरूको अनुहारमा पिर झल्किन्थ्यो । दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने समूह झन् बढी प्रभावित थिए । न घरभित्र, न बाहिर गर्मीले गर्दा मानिसहरू आलसतालस भएका थिए ।

khaderi (21)

फोटो पत्रकारको जिम्मेवारी र ढाडमा ब्यागको भारी बोकेर म आफ्नो कर्ममा लागेँ । वीरगन्ज पुगेदेखि नै सुरु भएको मेरो कर्म रौतहट पुगेर बिट मारियो । तर काकाकुल बनेको मधेसले मेरो मन साह्रै कुँडियो ।

वीरगन्जमा त मधेस सरकारले दमकल र ट्याङ्की प्रयोग गरेर पानी वितरण गरिरहेको छ, तर यसले त्यहाँको पानीको मागलाई पूरा गर्न सकेको छैन । घरमा रहेका ज्येष्ठ सदस्यदेखि बालबालिकासम्म सबैको ध्यान ट्याङ्कर आउला र पानी भरौँला कि भन्नेमा केन्द्रित थियो ।

khaderi (13)

नेपालकै आर्थिक केन्द्रको रूपमा सुनिएको र मानिएको वीरगन्ज सहर पानीको लागि तड्पिरहेको थियो । अझ बिजुली पनि अनियमित हुँदा मानिसहरूलाई आफ्नो शरीरको तापक्रम नियन्त्रित राख्न सकस परेको देखिन्थ्यो ।

khaderi (22)

रापिलो मधेसमा वेलावेलामा अवरुद्ध भइरहने विद्युतले पनि मानिसहरूको धैर्यताको परीक्षण गरिरहेको छ । निलो छ्याङ्ग आकाश काठमाडौँमा देख्दा जुन खालको आनन्द हुन्थ्यो, मधेसमा भने त्यही आकाश किन कालोमैलो भइदिएन भनेर चिन्ता गर्नुपर्ने अवस्थामा पुगियो ।

वीरगन्जमा एक रातको बसाइपछि मयुरी गाडी चढेर हामी त्यस्तै विकराल स्थितिको अर्को दृश्य हेर्न बारा पुग्यौँ । बाराको बरियापुरका खेतहरूमा डिप बोरिङ गरेर खेती गर्र्दै आएका किसानहरू आफ्नो मेसिन बिग्रिएर बनाउँदै गरेका दृश्य यत्रतत्र देखियो ।

khaderi (20)

हावा चल्दा पनि खेतका माटो सुक्खा भएर बुरुरु उडिरहेका थिए । धानको ब्याडसँगै चर्किएका खेतका गराले आउँदै गरेको खाद्य सङ्कटको सङ्केत दिइरहेका थिए ।

khaderi (19)

भोलिपल्ट रौतहटको मौलापुर पुग्दा त्यहाँ अर्को कुरा थाहा पाइयो । सरकारले बनाउने भनेको डिप बोरिङहरू त यहाँ पहिला नै सुक्न थालिसकेका छन् । यहाँ बोरिङको भरमा बसेका कैयौँ किसान जमिनमुनि पानी नभेटाउँदा तनाबमा छन् ।

सुक्खाग्रस्त क्षेत्रको रूपमा घोषणा गरिएको मधेस प्रदेशको स्थलगत भ्रमणमा शुक्रबार गएकावेला प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल समस्या समाधान गर्न ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका थिए । तर जमिनमुनि नै पानी नभएपछि सरकारले कसरी आफ्नो घोषणा पूरा गर्छ भन्ने प्रश्न मेरो दिमागमा आइरहेको छ ।

khaderi (18)

अझ आइतबार काठमाडौँ आएपछि थाहा भयो कि विपद् सङ्कटग्रस्त मधेस प्रदेशका विभिन्न जिल्लामा चैत यता सिँचाइका लागि ३ सय वटा डिप बोरिङ खनिएको भए पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन ।

विभिन्न स्थानमा सिँचाइ प्रयोजनका लागि खनिएका बोरिङमा प्रयोग हुने ५० वटा ट्रान्सफर्मर चोरी भएको पनि प्रारम्भिक अध्ययनमा देखिएको छ । केही स्थानमा भोल्टेजको स्थायित्व नभएका कारण प्रयोग हुन नसकेर सिँचाइ हुन नसकेको अवस्था छ ।

khaderi (5)

मधेस प्रदेशको स्थलगत अध्ययनमा रहेको अन्तरमन्त्रालयस्तरको अध्ययन कार्यदलले मुख्यसचिव एकनारायण अर्याललाई आइतबार प्रारम्भिक जानकारी गराउने क्रममा भनेको यो कुराले मधेस कुन दुर्दशामा छ र सरकार त्यसमा कति गम्भीर छ भन्ने बुझ्न कठिन छैन ।

khaderi (15)khaderi (16)khaderi (17)khaderi (23)

khaderi (1)khaderi (2)khaderi (3)khaderi (4)khaderi (6)khaderi (9)khaderi (10)khaderi (11)khaderi (12)khaderi (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप