बालेन र ममदानीको लोकप्रियताले देखाएको वैकल्पिक नेतृत्वको खोजी
सारांश
- न्युयोर्क सिटीको मेयर चुनावमा जोहरान क्वामे ममदानीको अभियानले ध्यान तानेको छ।
- ममदानीले आर्थिक न्याय र आवासीय पहुँचमा आधारित प्रगतिशील राजनीतिलाई जोड दिएका छन्।
- लेखमा विश्व राजनीति र नयाँ नेतृत्वको खोजीबारे चर्चा गरिएको छ।
काठमाडौं । आगामी ४ नोभेम्बरमा हुन लागेको अमेरिकाको न्युयोर्क सिटीको मेयर चुनावका लागि जोहरान क्वामे ममदानीको 'साहसी र समावेशी अभियान'ले सबैको ध्यान तानेको छ ।
युगाण्डाबाट न्युयोर्क आएका ममदानीले आर्थिक न्याय र आवासीय पहुँचमा आधारित प्रगतिशील राजनीतिलाई आफ्नो मूलमर्म बनाएका छन् । लोकतान्त्रिक समाजवादमा विश्वास राख्ने बताइरहेका उनले सम्पत्तिको समान वितरणले जीवनस्तर सुधार्ने विचार व्यक्त गरिरहेका छन् ।
उनको लोकप्रियताले डेमोक्रयाट र रिपब्लिकनलाई नै तरंगित बनाएको छ । वर्षौंदेखिको दलहरुको विरासतलाई न्युयोर्कको मेयरमा उम्मेदवारी दिने तयारी गरिरहेका ममदानीले एकाएक कसरी तरंगित बनाए ? आफूलाई चर्चाको शिखरमा कसरी पुर्याए ?
त्यसमा आउनुअघि केही समकालीन विश्व राजनीतिको कुरा जोडौं ।
विश्व राजनीति अहिले पछिल्लो दशककै जटिल मोडमा छ । स्थापित मूल्यमान्यताहरु भत्किरहेका छन् । राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय डिप्लोमेसीका सिद्धान्तहरुले फेल खाइरहेका छन् ।
मूलत: अमेरिकाको राष्ट्रपतिको रुपमा सन् २०१६ मा पहिलो कार्यकालका लागि रिपब्लिकनका डोनाल्ड ट्रम्प उदाएसँगै विजारोपण भएको लोकतान्त्रिक उपलब्धिविरुद्धको त्रासदीलाई दोस्रो कार्यकालले थप अनुमोदन गरिदिएको छ ।
लोकतन्त्र, त्यसभित्र पनि पार्टी पद्धतिमा स्वस्थ रुपमा सञ्चार प्रक्रिया अवरुद्ध हुँदाको विकल्पमा नयाँ नेतृत्वको खोजी भएको बुझ्न कठिन छैन । यसले के देखाउँछ भने राजनीतिक शक्ति माथिल्लो तहका नेता र प्रभावशाली व्यक्तिको नियन्त्रणमा मात्रै सधैंभरि सीमित हुँदैन ।
शक्ति सन्तुलनको अवस्था धर्मराएको छ । शीतयुद्धकालीन दुई धुव्रीय विश्व राजनीतिको 'ब्यालेन्स' अब कता जाँदैछ भन्ने ठम्याउनै गाह्रो छ ।
सन् २०२२ देखि जारी रुस-युक्रेन युद्धले पश्चिमा शक्तिको अवस्थालाई उदाङ्गो बनाएको छ । लगत्तै अर्को वर्षमध्ये एसियामा देखिएको तनाव र त्यसपछि देखिएको अमेरिकी सक्रियताले संयुक्त राष्ट्र संघकै भूमिकामाथि प्रश्न उठ्न थालेको छ ।
राष्ट्र संघको पुर्नसंरचना गर्नुपर्ने आवाज विश्वमञ्चमा सशक्त भएर आएको छ । विश्व राजनीतिको यस जटिल परिवेशमा फरक नेतृत्वको अपेक्षा नागरिकका लागि स्वाभाविक बन्न पुगेको छ । अमेरिकाको न्युयोर्क होस् वा नेपालको काठमाडौं एकै स्वरले खोजिरहेका छन् राजनीतिमा, व्यवहारमा र शासकीय शैलीमा नयाँ प्रयोग ।
राजनीतिक रुपमा यसलाई 'पपुलिजम' पनि भन्न सकिएला । तथापि, वैश्विक परिवेशमा राजनीतिको यो चेतनालाई कसरी मुखरित भयो ? त्यसको मुख्य स्रोत के हो ? भन्ने प्रश्न पनि छँदैछ ।
घोत्लिएर हेर्ने हो भने त्यसको स्पष्ट रुट आँकलन गर्न कठिन छैन, अमेरिकाका ट्रम्प हुन् कि भारतका मोदी, युक्रेनका जेलेन्स्की वा नेपालका केपी ओली ।
समग्र राजनीतिक प्रवृत्तिको कुरा गर्दा यही तथ्यले मुखरित गर्छ कि उनीहरु नै पछिल्लो दशकमा देखापरेको पपुलिजमका स्रोत हुन् ।
पपुलिजमभन्दा पनि समकालीन नेतृत्वको राजनीतिक रणनीतिलाई मात खुवाउनेगरी कसरी अगाडि आए बालेन वा ममदानी ? यस आलेखमा सोही कुरालाई केलाउने कोसिस गरिएको छ ।
विश्व राजनीतिमा दुई फरक भूगोलबाट उदाउन खोजेका ममदानी हुन् वा बालेन, उनीहरुले एउटा सन्देश स्पष्टै रुपमा दिएका छन्- शक्तिको स्रोत नागरिक हो । यही ग्रासरुटबाट शक्तिको पुष्पण हुन्छ । लोकतान्त्रिक शासन प्रणालीमा सार्वभौमसत्ता जनताले आफ्ना प्रतिनिधिमार्फत उपयोग गर्छन् ।
लोकतन्त्रमा नागरिक नै सर्वेसर्वा हुन् । चीरकालसम्म एउटै पात्र वा प्रवृत्ति स्थापित हुन सक्दैन भन्ने कुरा विश्व राजनीतिमा देखिएका यी ज्वलन्त उदाहरण हुन् । २०७९ सालको स्थानीय तह निर्वाचनको बेला बालेन शाहले अपनाएकोजस्तै चुनावी शैली ममदानीको पनि देखिन्छ ।
राजनीति साँचो अर्थमा आर्थिक रुपान्तरणमार्फत नागरिकको व्यवहारमा देखिने परिवर्तन हो । जुन कुरा देशको शासन प्रणालीसँगै अर्थतन्त्रसँग जोडिएको हुन्छ । स्पष्ट आर्थिक नीति विना राजनीतिक मुद्दालाई व्यवहारमा उतार्न असम्भव हुन्छ ।
राजनीतिक मुद्दा कुनै मुभमेन्टको रुपमा प्रकट भए पनि त्यसले पैदा गर्ने तरंग अन्तत: अर्थतन्त्रसँग जोडिएर टुंगिन्छ । नागरिकको अपेक्षा भनेकै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकास हो । सहज जीवनशैली र राज्यको उपस्थितिको खोजी हो ।
माग र आपूर्तिसँगको तन्तु जोडिएका कारण राजनीतिक मुद्दाले नागरिकको जीवनस्तरमा सुधार नगरी सुखै छैन भन्ने लोकतान्त्रिक प्रणालीमा सर्वस्वीकार्य सिद्ध भइसकेको छ ।
ममदानीले गरिब, मजदुर र युवाहरूको पक्षमा आफ्नो चुनावी अभियानलाई मुखरित गरेका छन्, जहाँ सस्तो आवास, सुलभ यातायात र सामाजिक न्यायको सिद्धान्त अंगीकार गर्न खोजिएको छ । बालेनले उठाएका राजीतिक एजेन्डा हुन् कि ममदानीले उठाएका चुनावी एजेन्डा, जसले परम्परागत राजनीतिक प्रवृत्ति र यथास्थितिलाई चलायमान बनाउन खोजेको छ ।
बीपीले अँगालेको प्रजातान्त्रिक समाजवाद वा मदन भण्डारीले प्रतिपादन गरेको जबज प्रकारान्तरमा किन नागरिकसामु लोकप्रिय बन्न पुगे त ? उनीहरु नेपाली राजनीतिको केन्द्रमा किन अहिलेसम्म छन् ? यसको एउटै जवाफ हुनसक्छ, तात्कालिक परिस्थितिलाई बुझेर भविष्यको रुपरेखा उनीहरुले आफ्नो राजनीतिक एजेन्डामार्फत कोरे ।
पछिल्लो पटक राजनीतिमा देखिएका यी नयाँ अनुहारहरुले विद्मान राजनीतिक जडताको विकल्पका रुपमा नागरिकले उठाएको देखिन्छ । तर उनीहरुले उठाएको एजेण्डा कार्यान्वयनको माध्यम आर्थिक नीति नै हो । यद्पि, राष्ट्रिय राजनीतिमा उनीहरुको उपस्थिति छैन ।
संगठित नीति कार्यान्वयन गर्ने दलको रुपमा आएका छैनन् । तर नागरिकले उनीहरुको एजेन्डालाई मन पराएरै लोकप्रियताको कमिसनमा उभ्याएका छन् । बालेनलाई सत्ता सञ्चालनको वैद्धता नै सुम्पिए ।
करका दरहरू राज्यको आयस्रोत मात्रै होइनन्, सामाजिक न्याय स्थापित गर्ने विषय समेत हेरिनुपर्छ । लोकल्याणकारी राज्यको स्थापना नै त्यसका लागि भएको हुन्छ ।
लोकतान्त्रिक समाजवादबिना सामाजिक न्याय स्थापित गर्न कठिन हुन्छ । यो लक्ष्य प्राप्तिमा पुँजीवादको भूमिका आवश्यक छ । पुँजीवादको उत्पादन र नवप्रवर्तनको शक्तिबिना समावेशी विकास असम्भव छ । सामाजिक सुरक्षाको खाडल पुर्न असम्भव हुन्छ ।
बालेन शाहले आफ्नो एजेन्डालाई डिजिटल माध्यमबाट नागरिकसम्म पुर्याए । त्यसैबाट मतदातालाई 'कन्भिन्स' गराएर उनी मेयरमा निर्वाचित भए । खासगरी युवापंक्तिमाझ उनको लोकप्रियता उचाईमा छ ।
मूलधारको राजनीतिक नेतृत्वप्रति वर्षौंदेखि 'वाक्कदिक्क' भएका युवापंक्तिले बालेनको कामको चर्चा गरिरहेका छन् । यसैगरी ममदानी पनि न्युयोर्कको चुनाव अगाडि नै चर्चाको शिखरमा छन् ।
यसको स्रोत भनेको नागरिक सपोर्ट हो । वर्षौंसम्म सत्ता राजनीतिको म्युजिकल चेयरमा बसेर लोकतान्त्रिक सञ्चार पद्धतिलाई अवरुद्ध गर्ने ठूलै भू-जडता हाम्रो नेतृत्व पंक्तिमा छ ।
लोकतन्त्र, त्यसभित्र पनि पार्टी पद्धतिमा स्वस्थ रुपमा सञ्चार प्रक्रिया अवरुद्ध हुँदाको विकल्पमा नयाँ नेतृत्वको खोजी भएको बुझ्न कठिन छैन । यसले के देखाउँछ भने राजनीतिक शक्ति माथिल्लो तहका नेता र प्रभावशाली व्यक्तिको नियन्त्रणमा मात्रै सधैंभरि सीमित हुँदैन ।
शक्ति त्यहाँ छ, जहाँ जनताका भावना, संघर्ष र आशा हुन्छन् । पुराना संरचनाले नयाँ चुनौतीहरू सामना गर्न सक्दैनन् । नेपालमा पनि नयाँ सोच, ऊर्जा र समावेशी नीतिको खाँचो थप टड्कारो रुपले देखिएको छ ।
आर्थिक वृद्धिमार्फत जीवनस्तर रुपान्तरणको आकांक्षा अवरुद्ध भएको छ । उत्पादन र अर्थतन्त्रको गति सुस्ताएको छ । मुलुकको आर्थिक रुपान्त्ररणका लागि नीतिगत सर्जरी गर्न ढिला भइसकेको छ । परिवर्तित विश्व मूल्यमान्यताले हाम्रो राजनीतिको जडतालाई पर्खिरहने छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण