शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
विकास निर्माण

मुग्लिन–पोखरा सडक पूरा हुने कहिले ?

मुग्लिन–आँबुखैरेनी खण्ड अझै ठेक्का लागेन
मङ्गलबार, १३ साउन २०८२, ०८ : ५१
मङ्गलबार, १३ साउन २०८२

सारांश

  • मुग्लिन-पोखरा सडक आयोजनाको पूर्वी खण्डको ८६% काम सकिए पनि पश्चिमी खण्डको निर्माण सुस्त छ।
  • सडकको पूर्वी खण्डको म्याद सकिएको र म्याद थप्ने तयारी भइरहेको छ, भने पश्चिम खण्ड पनि समयमै नसकिने देखिएको छ।
  • आँबुखैरेनी-जामुने खण्ड आकर्षक देखिए पनि पैदलयात्री र अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज छैन।

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्ड आँबुखैरेनी–जामुनेको ८६ प्रतिशत काम सम्पन्न भएर चिटिक्क र आकर्षक बनेको छ । तर यो सडकको पश्चिमी खण्ड जामुने–पोखराको निर्माण कार्य भने सुस्त छ ।

मुग्लिन–आँबुखैरेनी खण्डको ठेक्का प्रक्रिया नै सुरु भएको छैन । निर्माण सम्पन्न भइसकेको भनिएको पूर्वी खण्डले समेत तोकिएको समयसीमा नाघिसकेको छ । यो खण्ड पैदलयात्री तथा अपाङ्गता भएका व्यक्तिका लागि सहज छैन ।

एसियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण सहयोगमा तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको दुई लेन सडकलाई चार लेन र बजार क्षेत्रमा ६ लेनमा विस्तार गरिँदैछ । दुई खण्डमा विभाजित यस आयोजनाको निर्माण कम्पनी र लागत पनि फरक–फरक छ ।

आँबुखैरेनी–जामुने सडक अहिले देशकै आकर्षक बनेको छ । बीच सडक चिल्लो र आकर्षक बने पनि छेउका खण्डमा विस्तार कार्यले गति लिन सकेको देखिँदैन । यस सडकको पश्चिम खण्ड जामुने–पोखरा सडक अहिले करिब ५५ प्रतिशत काम सम्पन्न भएको छ । यता मुग्लिन–आँबुखैरेनी खण्ड विस्तारका लागि त ठेक्का नै लाग्न सकेको छैन । 

अझै चार महिनापछि मात्रै ठेक्का प्रक्रिया अघि बढ्ने एडीबी निर्देशनालय आयोजना निर्देशक चुडाराज ढकाल बताउँछन् । 

‘ऋण स्वीकृत हुँदैछ । यता राइट अफ वे क्लियर गर्ने, त्यसको ठेक्का लाग्न अझै दुई-चार महिना लाग्छ होला । नयाँ प्रोजेक्टमा हालिदिने हो । त्यो प्रोजेक्ट स्वीकृत चाहिँ पुस-माघतिर हुन्छ होला,’ ढकालले भने, ‘तर त्यो एग्रिमेन्ट हुनुभन्दा अगाडि ठेक्कामा जाने भन्दैछौं । यसबारे छलफल भइरहेको छ ।’

पूर्वी खण्डको म्याद थप्ने तयारी 

7-pokhara sadak

मुग्लिन-पोखरा सडकको पूर्वी खण्ड आँबुखैरेनी–जामुने सडकको म्याद सकिसकेको छ । असार २९ गते म्याद सकिएसँगै म्याद थप्ने तयारी भइरहेको आयोजनाले जनाएको छ । 

कुल ४१.४५ किलोमिटरको यो सडकखण्ड एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनमा विस्तार थालिएको हो । यस खण्डमा डुम्रे र दमौली बजारमा ६ लेन तथा राजमार्गमा चार लेनको सडक निर्माण गरिएको छ । 

यो सडक विस्तारका लागि २०७७ माघ १७ गते चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा सम्झौता भएको थियो । २०७८ वैशाख २ गतेदेखि सडक विस्तार सुरु भएको थियो । हालसम्म करिब ८६ प्रतिशत निर्माण सम्पन्न भएको छ । 

आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर सडक कालोपत्र भएको छ । मादी पुल र करिब ५०० मिटर जति सडक कालोपत्र हुनुका साथै फुटपाथ, सडक सुरक्षाका काम, ट्राफिक मार्किङ, सेफ्टी ब्यारियर जडानलगायत काम बाँकी नै छन् । 

यस सडकखण्डमा पर्ने १८ वटा मोटरेबल पुलमध्ये १७ वटा निर्माण सम्पन्न भएका छन् । तनहुँको सदरमुकाम दमौली नजिकै व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमा पृथ्वी राजमार्गकै सबैभन्दा लामो ‘आर्क डिजाइन’को चार लेनको पुल निर्माण भइरहेको छ । 

नेपालकै पहिलो चार लेनको मोटरेबल पुल ३१८ मिटर लामो छ । यसको कुल लागत १ अर्ब २१ करोड छ । डिजाइन एण्ड बिल्ड ठेक्का अनुसार निर्माण सम्झौता भएको यो पुल एएनके निर्माण सेवा र चाइनिज निर्माण कम्पनीको संयुक्त रूपमा ठेक्का लिएर निर्माण भइरहेको छ । यो पुलको करिब पाँच वर्ष मर्मत सम्भार निर्माण कम्पनीले गर्नुपर्नेछ ।

1-madi pul

२०७९ भदौ २२ गते निर्माण सम्झौता भएको यो पुल २०८२ भदौ २० अन्तिम म्याद छ । हालसम्म ७१ प्रतिशत निर्माण सम्पन्न भएको छ । तर यो म्यादमा निर्माण सम्पन्न हुन नसक्ने आयोजनाले जनाएको छ । यो पुल २०८३ माघसम्ममा निर्माण सम्पन्न हुने आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीले बताए । हाल दुई लेनको ३७० मिटर लामो पुल सञ्चालनमा छ ।

कालोपत्रे सकिएको आँबुखैरेनी–जामुनेखण्ड अहिले देशकै आकर्षक सडक बनेको छ । हेर्दा आकर्षक चिल्ला सडक, बिचमा हरियो दुबो । फिनिसिङ नहुँदै सुन्दर यो सडक पैदलयात्रीका लागि भने सहज छैन । सडकको बिचबिचमा पैदल यात्रीका लागि बाटो वारपार गर्नका लागि जेब्राक्रसिङ बनेको छ । तर जेब्राक्रसिङको बिचमा डिभाइडर राखेर उचो बनाई दुबो रोपिएको देखिन्छ । ह्वीलचियरबाट जेब्रा क्रसिङ गर्न भने सहज छैन । त्यसकारण यो सडक अपाङ्गमैत्री देखिँदैन ।

2-pokhara sadak

एडीबी निर्देशनालय आयोजना निर्देशक ढकाल जेब्राक्रसिङबाट चालकहरुले साइकल तथा मोटरसाइकल गुडाउने भएकाले जोखिम नहोस् भनेर त्यस्तो बनाएको बताए । 

‘मोटरसाइकल र साइकल जहाँ पायो त्यहींबाट नमोडुन् भनेर उँचो बनाइएको हो । यसलाई अशक्त नागरिक, ह्वीलचियर प्रयोगकर्तालाई अप्ठ्यारो पर्छ भन्ने कुरा आइरहेको छ । हामी त्यसलाई एकपल्ट अनुमान गर्छौँ ।’

पश्चिम खण्डमा के–के बन्यो ? 

5-pokhara sadak paschim khanda

मुग्लिन–पोखरा सडकको पश्चिम खण्ड पनि म्यादभित्र सम्पन्न नहुने देखिएको छ । जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म ५५ प्रतिशत काम सकिएको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)ले जनाएको छ । यसको अन्तिम म्याद पुस १६ गतेसम्म छ । तर बाँकी काम तोकिएको अवधिमा सम्पन्न हुन नसक्ने आयोजनाले बताएको छ । 

हालसम्म एकतर्फी ३६ किलोमिटर सडक कालोपत्र भएको पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवर बताउँछन् । एकतर्फी सडक १.५ किलोमिटर कालोपत्र हुन बाँकी छ । 

पश्चिम खण्डमा पर्ने ११ पुल बनिसकेका छन् भने दुईवटा निर्माणाधीन छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । 

सडक ठेक्काअनुसार निर्माण भइरहेको विजयपुर खोला पुलको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ । ८०.२४ मिटर लम्बाइ रहेको यो मोटरेबल पुल तीनवटा स्पानको बन्नेछ । निर्माण सम्पन्न हुन अझै ५ देखि ६ महिनासम्म लाग्ने इन्जिनियर कुँवर बताउँछन् । 

9-pokhara paschim khanda

पुल ठेक्काअन्तर्गत निर्माण भइरहेको सेती पुल ४८ प्रतिशत सकिएको छ । २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनसँग निर्माण सम्झौता भएको थियो । यो पुलको डिजाइन स्वीकृत गर्न र पुल आसपासका संरचना हटाउन ढिलाइ हुँदा पुल समयमा बन्न नसकेको कुँवरको भनाइ छ । यो खण्ड पनि म्यादभित्र सम्पन्न हुन नसक्ने निश्चित छ । 

सात अर्ब ४० करोड रुपैयाँमा पश्चिम खण्ड निर्माणको ठेक्का एनहुई केयूएन हाइवे एन्ड ब्रिजले पाएको थियो । २०७८ जेठ ३ गते भएको सम्झौताअनुसार सुरुमा २०८१ भदौ १२ गतेभित्र काम सम्पन्न गर्नुपर्ने थियो, तर त्यस अवधिमा काम नसकिएपछि म्याद थपिएको हो । पहिलोपटक १०१ दिन र दोस्रोपटक ३९० दिन थपिएको पश्चिम खण्डको अन्तिम म्याद पुस १६ गतेसम्मलाई तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप