बहादुरलाई हराएपछि इन्द्रले भने– हामी उहाँलाई मुख्यमन्त्रीबाट सहजरुपमा बिदाइ गर्छौँ (भिडियोसहित)
सारांश
- नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिनुपर्ने बताए।
- नेता बानियाँले लामा संसदीय दलको नेता नरहेकाले मुख्यमन्त्रीबाट सहजै बिदा गरिने बताए।
- उनले लोकतान्त्रिक प्रक्रिया अनुसार लामाले राजीनामा नदिए पनि बिदा गरिने बताए, र राम्रो सरकार बनाउने कुरा गरे।
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
संसदीय दलको नेतामा निर्वाचित भएसँगै बुधबार हेटौँडामा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले संसदीय दलको नेता नरहेका लामालाई अब मुख्यमन्त्रीबाट सहजरुपमा बिदाइ गरिने बताए ।
सञ्चारकर्मीहरुसँग उनले गरेको प्रश्नोत्तर जस्ताको जस्तैः
संसदीय दलको नेता बन्न सफल हुनुभयो । अब कसरी अघि बढ्नुहुन्छ ?
लोकतन्त्रमा आन्तरिक तथा बाह्य संघर्षहरू स्वाभाविक हुन्छन्। दलहरूभित्रको आन्तरिक प्रतिस्पर्धा र दलहरूबीचको बाह्य प्रतिस्पर्धाबीच कहिलेकाहीँ मेलमिलाप पनि हुन्छ र यही लोकतन्त्रको सुन्दर पक्ष हो। लोकतान्त्रिक प्रणालीमा जब कुनै दलका नेताले प्रभावकारी रूपमा कार्य सम्पादन गर्न सक्दैनन्, तब पार्टी कमजोर नहोस् भन्ने सोचले नेतृत्व परिवर्तनको आवश्यकता पर्छ।
यो कुरा एकदलीय तानाशाही वा निरंकुश व्यवस्थामा सम्भव हुँदैन। हाम्रो प्रजातान्त्रिक, गणतान्त्रिक, संघीय र समावेशी प्रणालीको विशेषता नै यही हो—यहाँ नेतृत्व परिवर्तन लोकतान्त्रिक तरिकाले हुन सक्छ।
कहिले काँही बहुमतका आधारमा, कहिले राजनीतिक मूल्यांकनका आधारमा परिवर्तन हुन्छ। कर्मको मूल्याङ्कन गर्दै जाँदा पार्टी, प्रदेश वा देशलाई अप्ठ्यारो पर्ने अवस्था आउन सक्छ। यस्तो बेला जनताले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति राखेको विश्वास कमजोर हुँदै जान सक्छ। त्यसलाई पुनः मजबुत बनाउने उद्देश्यले नेपाली कांग्रेसभित्र अहिले आन्तरिक प्रतिस्पर्धा भएको हो।
यो प्रतिस्पर्धामा कसैको जित वा हार होइन, केवल जिम्मेवारीको अदल–बदल मात्रै हो। हिजो अर्काे साथीको काँधमा जिम्मेवारी थियो, आज अर्को साथीको काँधमा आएको छ। फरक यत्ति मात्रै हो।
मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा नदिने बताउनुभएको छ। तपाईंको धारणा के हो ?
यो विषयमा पनि स्पष्ट प्रक्रिया छ। बहादुर सिंह लामा नेपाली कांग्रेसको संसदीय दलको नेताका हैसियतले दुई दलबीच गठबन्धन हुँदा मुख्यमन्त्री बन्नुभएको हो। अहिले उहाँ दलको नेताको हैसियत गुमाइसक्नुभएको अवस्था छ।
पार्टी विधान अनुसार उहाँको हैसियत समाप्त भइसकेकोले अब उहाँले त्यसअनुसार निर्णय गर्नुपर्छ। राजनीति नैतिकता, इमान्दारिता, लोकतान्त्रिक परम्परा र जनताको भावना बुझ्नसक्ने अभ्यास पनि हो। यदि उहाँले ती कुराहरूको सम्मान गर्नुभएन भने त्यो लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण हुन्छ।
यसबारे प्रक्रिया स्पष्ट छ र धेरै लामो समय लाग्दैन। उहाँले मार्गप्रशस्त गरिदिनुभयो भने सबै कुरा सहज ढंगले अगाडि बढ्छ। यदि उहाँले नमानेमा पनि लोकतान्त्रिक अभ्यासअनुसार प्रक्रिया अपनाएर उहाँलाई बिदा गरिन्छ। धन्यवाद।
उहाँको बिदाइ गरेर सरकार कसरी बनाउनुहुन्छ ?
सरकार राम्रोसँग बनाइन्छ। एकदम राम्रो, सशक्त र स्थिर सरकार बनाइनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण