बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कर्णाली विकास बैंक घोटाला

कर्णाली विकास बैंक घोटाला : परिवारै मिलेर अपचलन, विभिन्न बैंकबाट रकम झिकेर अन्यत्रै खर्च

बुधबार, १४ साउन २०८२, २२ : २०
बुधबार, १४ साउन २०८२

सारांश

  • कर्णाली विकास बैंक अनियमितता प्रकरणमा १०९ जनाविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरिएको छ।
  • बैंक घोटालामा संलग्न व्यक्तिहरूमा तत्कालीन अध्यक्षका नातेदारहरू पनि छन्, जसमा २ अर्ब ६३ करोड बढीको बिगो माग गरिएको छ।
  • विभिन्न व्यक्तिहरूले विभिन्न कम्पनीका नाममा प्रवाह भएको कर्जा आफैँले चलाएको र रकम अपचलन गरेको पाइएको छ।

काठमाडौँ । कर्णाली विकास बैंकको अनियमितता प्रकरणमा १०९ जनाविरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दायर भएको छ । बैंक घोटाला प्रकरणमा मुद्दा दर्ता भएका मध्ये केही व्यक्तिहरू आफ्नै परिवारका नातेदार र सदस्यसमेत रहेको खुलेको छ ।

त्यसरी बैंक घोटालामा संलग्न हुनेमा बैंकका तत्कालीन अध्यक्ष राजेन्द्र वीर रायको साली, भान्जी, भान्जी ज्वाइँ र भान्जा संलग्न छन् । बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रवीर रायलाई २ अर्ब ६३ करोड ३२ लाख १६ हजार ५९७ रुपैयाँ बिगो र जरिवाना माग दाबी गरिएको छ ।

रामकुमार चौधरी, तत्कालीन प्रमुख वित्त अधिकृत वेदप्रकाश सिंह ठकुरीको श्रीमती लता शर्माको पनि संलग्नता देखिएको छ । नीरजविक्रम शाहको भाइ र सालो पनि बै‌ंक घोटालामा संलग्न छन् । पवन सिंह थारु, भुजुनी थरुनी, दिनेशकुमार रावतको परिवारकै सदस्य संलग्न रहेको पाइएको छ ।

राजेन्द्रवीर रायले ३२ करोड, पशुपति दयाल मिश्रले १५ करोड, नीरजविक्रम शाहले १५ करोड, दिनेशकुमार रावतले १५ करोड, वेदप्रकाश सिंह ठकुरीले १५ करोड र सुशीलकुमार सार्की नेपालीले २ करोड गरी ९४ करोड अपचलन गरेका थिए । उनीहरूले विभिन्न कम्पनीका नाममा प्रवाह भएको कर्जा पनि आफैले चलाएका थिए । 

हिल्सा इन्भेस्टमेन्ट प्रालिका नाममा प्रवाह भएको १५ करोडमध्ये रायले १२ करोड तथा दिनेश रावत र नीरजविक्रम शाहले तीन करोड अपचलन गरेका थिए । 

राप्ती पोलिमर्स प्रालिलाई प्रवाह भएको १५ करोडमा पनि राजेन्द्रवीर रायले १२ करोड तथा ३ करोड रुपैयाँ दिनेश कुमार रावत र उनका भिनाजु नाताका महेशजंग थापाले अपचलन गरेको खुलेको छ । बेचनलाल भुजुवाको नाममा प्रवाह भएको कर्जा ८० लाख पनि रायले नै अपचलन गरेको पाइएको छ । 

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा दायर गरेको मुद्दामा तीन अर्ब २० करोड ११ लाख ५४ हजार १ सय ५७ रुपैयाँ बिगो माग गर्दै १०९ जनाविरुद्ध मुद्दा दायर भएको छ । यो प्रकरणमा संस्थाको विभिन्न बैंकको खाताबाट नगद झिकेर संस्थाको बैंकिङ प्रणालीमा प्रविष्ट नगरी नगद अन्यत्रै लगेको पाइएको छ ।

संस्थाको अन्य बैंकमा रहेको खातामा नगद जम्मा गर्न पठाइएको तर सम्बन्धित बैंकमा जम्मा नभएको भेटिएको छ । पदाधिकारी एवं कर्मचारीहरूको खातामा मौज्दात पर्याप्त नभएता पनि नगद काउन्टरबाट भुक्तानी पुर्जा र चेकमार्फत नगदै रकम लिने दिने गरिएको खुलेको छ ।

अन्तर–शाखा कारोबार मार्फत अपचलन 

केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरूको बीचमा हुने अन्तर–शाखा कारोबार गर्दा शाखा कार्यालयबाट केन्द्रीय कार्यालयमा नगद फन्ड ट्रान्सफर हुने गरेको पाइएको छ । केन्द्रीय कार्यालय मार्फत सो फन्ड कर्णाली डेभलपमेन्ट बैंकको अन्य बैंकस्थति खाताहरूमा दाखिला गर्न पठाएको तथ्य संस्थाको कागजात र हिसाबबाट६ देखाएता पनि सम्बन्धित बैंकमा सो फन्ड रकम दाखिला भएको नदेखिएको पाइएको छ । 

अन्तर–शाखा कारोबार अन्तर्गत अपचलन भएको खुद रकम १ करोड पचास हजार ५ सय ४१ रुपैयाँ ४० पैसा लामो समयदेखि हिसावमिलान नभई बक्यौता रहेको देखिएको छ ।

123

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निराजन पौडेल
निराजन पौडेल
लेखकबाट थप