राजनीति केवल नारा, भिड वा समर्थनको सीमामा बाँधिनु हुँदैन
२१औँ शताब्दीमा राजनीति केवल कुर्सीको लडाइँ वा नारा–जुलुसमा सीमित विषय रहेन हाम्रो पुस्ता, विशेष गरी युवा वर्ग अब राजनीतिक चेतनामा अगाडि बढ्दै छ । समाजको दिगो विकास, समान अवसर र न्यायपूर्ण प्रणालीको खोजी गर्दै छन् । २१औँ शताब्दीका युवा सामाजिक सञ्जाल, प्रविधि र शिक्षासँग परिचित छन् । जसले उनीहरूलाई गलत र सहीबिचको भिन्नता बुझ्न सक्ने सामर्थ्य दिएको छ । अब हाम्रो पुस्ताले राजनीतिक नेतृत्वलाई उमेर, परम्परा वा पार्टी निष्ठाबाट मात्रै होइन सोच, दृष्टिकोण र कामका आधारमा मूल्याङ्कन गर्न थालेका छन् । पुराना ढाँचाका राजनीतिमा जहाँ नारा, जातीय ध्रुवीकरण र भिडको राजनीति हाबी देखिन्थ्यो, त्यो मैले पनि देख्ने अवसर पाएँ तर अहिले त्यो सोचमा परिवर्तन अवश्य भएको देखिएको छ । अबको राजनीति उत्तरदायी, पारदर्शी र परिणाममुखी हुन आवश्यक छ, जुन हाम्रो पुस्ताले चाहिरहेका छन् ।
राजनीतिक क्षेत्रमा युवाको सहभागिता बढ्दै जाँदा उनीहरू आफ्नो बौद्धिक विकास, शिक्षा, रोजगारी, वातावरण, लैङ्गिक समानताजस्ता विषयमा गम्भीर भएर आवाज उठाइरहेको अवस्था छ । यो पुस्ता सुधारको प्रतीक हो, जुन संस्थागत भ्रष्टाचार, असमानता र प्रवृत्तिका विरुद्ध उभिन तयार रहेका छन् । अझै पनि युवाको विचार र आवाजलाई निर्णायक तहसम्म पुर्याउने ढोका पुराना राजनीतिक संरचनाले खुला गरेका छैनन् । विभिन्न संगठनका तथा पार्टीका मिटिङमा युवालाई अग्रसरता दिने भनिन्छ तर त्यसलाई लागु गरिएको त्यति देखिँदैन । धेरैजसो अवस्थामा युवालाई केवल प्रचारको औजार वा भिड भर्ने साधन रूपमा मात्रै हेरिन्छ, यस चुनौतीका बाबजुद पनि युवा जागरुक छन् र परिवर्तन ल्याउने दृढ इच्छाशक्ति बोकेका छन् भन्नेमा दुईमत छैन । हाम्रो पुस्ताको राजनीति अब राष्ट्र निर्माणमा सहभागिता, नीति निर्माणमा समावेशिता र नेतृत्वमा जवाफदेहिताको अभ्यासमा केन्द्रित हुनुपर्छ ।
भावनात्मक नाराभन्दा व्यावहारिक कार्यक्रम, विकासको खोक्रो भाषणभन्दा परिणाम देखिने नेतृत्व अहिलेको आवश्यकता हो । आजको युग युवा वर्गको युग हो । सामाजिक, आर्थिक, प्राविधिक वा राजनीतिक सबै क्षेत्रमा युवाको सक्रिय सहभागिता अपरिहार्य बनिसकेको अवस्था छ । विशेषतः राजनीतिजस्तो परिवर्तनशील क्षेत्रमा युवाको भूमिका निर्णायक बन्ने समय आएको छ । पुराना संरचनाको समीक्षा गर्दै नयाँ सोच, नवीन विचार र आधुनिक दृष्टिकोणको विकास गर्न युवा नेतृत्वको खाँचो झनै बढ्दो छ ।
हाम्रो देशमा पछिल्ला वर्षमा युवा विद्यार्थीमा राजनीतिक चेतना तीव्र रूपमा वृद्धि हुँदै गएको देखिन्छ । केवल किताबी ज्ञानमा सीमित नभई समाजको अवस्था, राजनीतिक नेतृत्वको कार्यशैली र राष्ट्रको भविष्यप्रति उनीहरूको दृष्टिकोण गहिरिँदो देखिन्छ । विद्यालय तहदेखि क्याम्पससम्म राजनीतिक बहस बढेका छन्, सामाजिक सञ्जालमा नीति–निर्णयको विश्लेषण गर्ने युवा बढेका छन् । युवा अर्थात् जेन–जी पुस्तालाई प्रतिनिधित्व गर्ने राजनीति अब केवल नारा, भिड वा समर्थनको सीमामा बाँधिनु हुँदैन बरु यथार्थ परिवर्तनका एजेन्डा निर्माण गर्ने र ती एजेन्डालाई व्यवहारमा उतार्ने दिशातर्फ उन्मुख हुनुपर्छ ।
आजको युवा पुस्तामा जोश छ, क्षमताको खानी छ तर त्यसलाई देश विकासमा रूपान्तरण गर्न नीति–निर्माणमा उनीहरूको सहभागिता आवश्यक छ । हामी डिजिटल युग आयो भन्छौँ, डिजिटल तरिकाबाट काम गर्न उत्साहित हुन्छौँ तर सामाजिक सञ्जालमा अरुको बहावमा फैलिन्छौँ । युवा विद्यार्थीले डिजिटल युगको सही सदुपयोग नगरेको देखिन्छ ।
आजको युवा पुस्तामा जोश छ, क्षमताको खानी छ तर त्यसलाई देश विकासमा रूपान्तरण गर्न नीति–निर्माणमा उनीहरूको सहभागिता आवश्यक छ । हामी डिजिटल युग आयो भन्छौँ, डिजिटल तरिकाबाट काम गर्न उत्साहित हुन्छौँ तर सामाजिक सञ्जालमा अरुको बहावमा फैलिन्छौँ ।
राजनीति अब कुर्सीको दौड होइन विचारको प्रतिस्पर्धा हो । युवाले यथार्थ बुझ्ने, समाजका गहिरा समस्यामा हरेक विद्यार्थीका समस्याका प्रश्न उठाउने र समाधानको बाटो देखाउने जिम्मेवारी बोक्नुपर्छ । नयाँ पुस्ताको राजनीतिक चेतनाले पुराना सोचमा चुनौती दिन सक्ने क्षमता राख्छ । जात, धर्म वा क्षेत्रभन्दा माथि उठेर राष्ट्रियता, समावेशिता र समानताको राजनीति युवा पुस्ताको धर्म हुनु अपरिहार्य छ । हामीले बिर्सनु हुँदैन, विचारले नेतृत्व गर्छ र नेतृत्वले परिवर्तन ल्याउँछ । त्यसैले आजको आवश्यकता हो विचारशील, शिक्षित र दूरदर्शी युवा नेतृत्व । यस्तो नेतृत्वले मात्र भ्रष्टाचार, बेरोजगारी, शिक्षा र स्वास्थ्यजस्ता गम्भीर मुद्दामा समाधान दिन सक्छ ।
राजनीतिक इतिहासले दिएको पाठले अहिलेको पुस्तालाई सजग बनाएको छ । अहिलेका युवा तथा विद्यार्थीहरू नेताको भाषणभन्दा पनि कामको मूल्याङ्कन गर्छन् । नीति निर्माणको प्रक्रियामा विद्यार्थीको निगरानी बढ्नु सकारात्मक संकेत हो । छात्र संगठनमा संलग्नता, क्याम्पसमा बहस र शिक्षा सुधारमा सक्रियता यसका प्रमाण हुन् कि भन्ने लाग्छ मलाई ।
युवा पुस्ताले जातीय विभेद, लैङ्गिक असमानता, भ्रष्टाचार, बेरोजगारीजस्ता सामाजिक समस्याप्रति स्पष्ट धारणा बनाइरहेका छन् । उनीहरू अब केवल सवाल उठाउने होइन समाधान खोज्ने प्रयासमा समेत सक्रिय छन् । सामाजिक सेवाका गतिविधि, सचेतना अभियान र सिर्जनात्मक अभिव्यक्तिमा उनीहरूको सहभागिता उल्लेखनीय छ र हुनुपर्छ ।
सामाजिक सञ्जालले युवालाई सशक्त बनाएको छ । उनीहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा सजग छन् र आफ्नो विचार खुला रूपमा राखिरहेका छन् । तथापि डिजिटल माध्यमको दुरुपयोग, भ्रमपूर्ण जानकारी र अतिवादले चुनौती पनि थपेको छ । त्यसैले सूचना प्रयोगमा जिम्मेवारी आवश्यक छ तर कतैकतै हाम्रो समाजमा युवाहरू बहकिएको वा सामाजिक सञ्जालको दुरुपयोग गरेको देखिन्छ । यसलाई सुधार गर्न आवश्यक छ ।
अन्ततः हाम्रो पुस्ताको प्रतिनिधित्व गर्ने राजनीति अब केवल नारामा सीमित, भिडमा गुम्सिएको वा अन्ध समर्थनमा अडिएको हुनु हुँदैन । यो राजनीतिक सोच, उद्देश्य र मूल्यमा आधारित हुनुपर्छ जहाँ नेतृत्व केवल आवाज होइन समाधान दिने शक्ति होस् । युवा पुस्ता अब केवल अनुयायी होइन नीति–निर्माता बन्ने जिम्मेवारी लिइसकेका छन् । त्यसैले अबको राजनीतिको आधार आलोचनात्मक सोच, पारदर्शिता, सहभागिता र इमानदारीमा टेकेर अगाडि बढ्नुपर्छ । परिवर्तन केवल सडकमा होइन सोचमा सुरु हुन्छ र त्यो सोच आजको पुस्ताले निर्माण गरिरहेकै छन् र गर्नुपर्छ ।
(रेग्मी अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिमा प्रवेश गर्दै अभिनेता धनुष ?
-
सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लङ्घन भएपछि सेना परिचालन
-
ज्योतिर्मयीले जितिन् ‘इन्डियन आइडल १६’ को ताज
-
सरकारका आर्थिक नीति र राजस्व अनुसन्धान विभाग खारेजी विरुद्ध सर्वोच्चमा रिट
-
राष्ट्रिय सेवा दल विधेयकमा व्यापक हेरफेरका लागि संशोधन प्रस्ताव
-
सरकारबाट बिजनेस नपाएर कार्यतालिकाबिनै चलिरहेछ प्रतिनिधि सभा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण