सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

राजनीतिमा प्रवेश गर्दै अभिनेता धनुष ?

सोमबार, ११ साउन २०८३, १३ : १०
सोमबार, ११ साउन २०८३

सारांश

  • अभिनेता धनुष राजनीतिमा प्रवेश गर्ने चर्चा छ, जसलाई उनका समर्थकहरूले समाज सेवामा सक्रिय हुन आग्रह गरेपछि बल मिलेको छ ।
  • धनुषले रक्तदान कार्यक्रममा आफ्ना समर्थकहरूको एकतालाई समाज हितमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।
  • धनुषले राजनीतिमा प्रवेश गर्ने वा नयाँ दल खोल्नेबारे कुनै औपचारिक घोषणा नगरे पनि समर्थकहरूले उनलाई राजनीतिमा देख्न चाहेका छन् ।

नयाँ दिल्ली । दक्षिण भारतीय चलचित्रका लोकप्रिय अभिनेता तथा निर्देशक धनुष राजनीतिमा प्रवेश गर्न सक्ने चर्चा चुलिएको छ । उनले आफ्ना समर्थकलाई केवल चलचित्रको उत्सव मनाउनेमा सीमित नरही समाज सेवामा सक्रिय हुन आग्रह गरेपछि यस्तो अड्कलबाजी सुरु भएको हो । 

आइतबार धनुषका प्रशंसकहरूले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी हुँदै उनले समर्थकहरूको एकताले ठूलो शक्ति बोकेको बताए । उक्त शक्तिलाई समाजको हितमा प्रयोग गर्नुपर्नेमा उनले जोड दिएका थिए ।  

कार्यक्रममा बोल्दै धनुषले प्रशंसकहरूलाई भने, 'यति धेरै मानिसहरू एकै ठाउँमा भेला भएका छौं । यस प्रकारको एकतामा अपार शक्ति छ । हामीले यो एकतालाई उद्देश्य दिनुपर्छ । अडियो लन्च र भेटघाटमा मात्र सीमित हुनुको सट्टा, हामीले भलाईका अरु पनि काम गर्नुपर्छ । यस क्षत्रेका मानिस र वरपर बस्ने परिवारहरूको आवश्यकता बुझ्नुहोस् र उनीहरूलाई सम्भव भएसम्म मद्दत गर्नुहोस् । उनीहरूलाई मद्दत गर्न तपाईंले जे गर्न सक्नुहुन्छ गर्नुहोस् । म तपाईंहरू सबैमाथि अझ धेरै गर्व गर्न चाहन्छु । मलाई विश्वास छु कि तपाईंले गर्नुहुनेछ ।'

कार्यक्रममा दिएको उनको मन्तव्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धनुष पनि अभिनेता थलपति विजयको बाटो पछ्याउँदै राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको चर्चा सुरु भएको हो । सामाजिक सञ्जाल एक्समा धेरै प्रयोगकर्ताले धनुषको सम्भावित राजनीतिक यात्राबारे प्रतिक्रिया जनाएका छन् ।

 केहीले थलपति विजयपछि अब धनुष पनि राजनीतिमा आउन सक्ने अनुमान गरेका छन् भने केहीले तमिलनाडुलाई जिम्मेवार र दूरदर्शी नेतृत्वको आवश्यकता रहेको भन्दै धनुषको राजनीतिमा स्वागत गरेका छन् । केही प्रयोगकर्ताले उनले चाँडै नयाँ राजनीतिक दलसमेत घोषणा गर्न सक्ने अनुमान गरेका छन् ।

यद्यपि धनुषले राजनीतिमा प्रवेश गर्ने वा नयाँ दल गठन गर्नेबारे कुनै औपचारिक घोषणा गरेका छैनन् । त्यसैले उनी वास्तवमै सक्रिय राजनीतिमा प्रवेश गर्छन् वा गर्दैनन् भन्ने कुरा आगामी दिनमा मात्र स्पष्ट हुनेछ । 

दक्षिण भारतीय चलचित्र उद्योगमा कलाकारहरूको राजनीतिमा प्रवेश गर्ने लामो परम्परा रहेको छ । हालै थलपति विजयले पनि राजनीतिक दल गठन गरी सक्रिय राजनीतिमा प्रवेश गरेपछि धनुषबारे पनि यस्तै चर्चा हुन थालेको हो । अहिले भने उनका समर्थकहरू सामाजिक सञ्जालमार्फत उनलाई राजनीतिमा देख्न चाहेको प्रतिक्रिया दिइरहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप