शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मन्त्रिपरिषद्‌ बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्रीले भने– मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छ

बिहीबार, १५ साउन २०८२, १५ : ५४
बिहीबार, १५ साउन २०८२

काठमाडाैँ । गत सोमबार (साउन १२) गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएका छन् । बिहीबार सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू  सार्वजनिक गरेका हुन् । 

बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपत्कालीन पुनर्स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको उनले बताए । 

यस्तै बैठकले राज्य कोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेस गर्न एक कार्यदल गठन गरिएको बताए ।

पर्वतका रामुप्रसाद डोटेलको संयोजकत्वमा गठित उक्त कार्यदलमा दोलखाका रमेशप्रसाद शिवाकोटी र ललितपुरका चण्डीप्रसाद घिमिरे सदस्य रहेका छन् । 

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना रहेको समेत बताए ।  लामो समयदेखि मन्त्रिपरिषद् हेरफेर नभएको भन्दै उनले सत्तारुढ दलहरूबिच सहमति जुटेमा पुनर्गठन हुन सक्ने बताए । 

मन्त्री गुरुङले भने,“सामान्यतया २–३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुने देशमा हाम्रोमा १३ महिनादेखि भएको छैन। अब होला भनेर सर्वत्र चासो राखिएको छ, यो अस्वाभाविक पनि होइन।"

उनले नेकपा (एमाले) र नेपाली कांग्रेस सम्मिलित राजनीतिक संयन्त्रमा सहमति जुटेमा मन्त्रिपरिषद् पुनर्गठन हुने स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप