बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चौतर्फी घेराबन्दीमा मुख्यमन्त्री

संसदीय दलमा पराजित भएपछि चौतर्फी दबाबमा मुख्यमन्त्री लामा

बिहीबार, १५ साउन २०८२, १९ : १५
बिहीबार, १५ साउन २०८२

सारांश

  • मुख्यमन्त्री बहादुर सिंह लामा बागमती प्रदेश सभा संसदीय दलको नेतामा पराजित भएपछि घेराबन्दीमा परेका छन्।
  • एमाले र प्रदेश प्रमुखको असहयोगका कारण लामाको राजीनामाको दबाब बढेको छ, जसले गर्दा उनी काठमाडौं गएका छन्।
  • कांग्रेस शीर्ष नेतृत्वले लामालाई राजीनामा दिन दबाब दिइरहेको छ र इन्द्रबहादुर बानियालाई नयाँ मुख्यमन्त्री बनाउने तयारी छ।

मकवानपुर । नेपाली कांग्रेसको बागमती प्रदेश सभाा संसदीय दलको नेतामा पराजित भएसँगै मुख्यमन्त्री बहादुर सिंह लामा चौतर्फी घेराबन्दीमा परेका छन् । उनलाई संसदीय दल र पार्टीले राजीनामाको दबाब बढाइरहेको छ भने सत्ता साझेदार दल एमालेबाट पनि घेराबन्दी सुरु भएको छ ।

मुख्यमन्त्री लामाले आफ्नो दल कांग्रेससहित साझेदार दल एमालेको साथ पाउन सकेका छैनन् भने प्रदेश प्रमुख कार्यालयबाट पनि सहयोग गुमाएका छन् ।

सत्ता साझेदार दल एमालेको संसदीय दलको बैठकले मुख्यमन्त्रीका सन्दर्भमा कांग्रेसको संस्थागत निर्णय मान्ने बताइसकेको छ । पार्टीको आन्तरिक प्रक्रिया अनुसार चुनिएका दलको नेतालाई नै एमालेले स्वीकार गर्ने निर्णयसहित प्रदेश सभालाई अस्थिरतातर्फ धकेल्न नहुने जनाएको छ ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार विस्तारको अन्तिम तयारीमा रहेका मुख्यमन्त्री लामाको प्रयासलाई विफल तुल्याइदिए । पार्टीको आन्तरिक चुनावी प्रक्रिया चलिरहेका बखत मन्त्रिपरिषद् विस्तार नगर्न सुझाव दिँदै उक्त प्रक्रियामा एमालेको समर्थन नरहेको थपलियाले जनाएका थिए । त्यसपछि मन्त्रीको शपथग्रहण कार्यक्रम रोकिएको थियो ।

सरकार विस्तारको तयारीमा रहेका मुख्यमन्त्री लामा चौतर्फी घेराबन्दीका कारण काठमाडौँ हिँडेका छन् । सरकारबाट तत्काल राजीनामा नदिने अभिव्यक्ति दिँदै आएका उनी पार्टी सभापति शेरबहादुर देउवाले बोलाएपछि बिहीबार दिउँसो काठमाडौँ हिँडेका हुन् ।

मुख्यमन्त्री लामा आफूले राजीनामा दिनुपर्ने कुनै आधार नरहेको र संविधान अनुसार चल्ने बताउँदै आएका छन् । संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुनैपर्छ भन्ने नरहेको उनको दाबी छ । उक्त सरकारलाई दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पनि नमिल्ने गरी संविधानले स्थिर सरकारको व्यवस्था गरेको उनले बताए ।

यता प्रदेश प्रमुखबाट पनि मुख्यमन्त्री लामालाई सहयोग प्राप्त हुन सकेन । ३ मन्त्रीको शपथ ग्रहण बिहीबार दिउँसो तोकेर सूचना जारी गरेका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अचानक बिरामी परेको भन्दै शपथ स्थगित गरेका थिए । शपथ ग्रहण रोकेर प्रदेश प्रमुख देवकोटा उपचारका लागि भन्दै बिहीबार बिहान काठमाडौँ हिँडेका छन् ।

कार्यपालिकाको सिफारिस अनुसार काम गर्नुपर्ने संवैधानिक दायित्व भए पनि प्रदेश प्रमुख देवकोटाले सत्ता साझेदार दलहरूको असहमतिबिच तयारी गरिएको ३ मन्त्रीको शपथ गराउन नचाहेको देखिन्छ, जसका कारण मुख्यमन्त्री लामा थप दबाबमा परेका थिए ।

उता मुख्यमन्त्री लामामाथि कांग्रेस शीर्ष नेतृत्व नै राजीनामाको दबाब बढाइरहेको छ । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, प्रवक्ता प्रकाशरण महत, नेता प्रकाशमान सिंह लगायतको दबाब रहेको स्रोत बताउँछ । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने संसदीय अभ्यास गर्दै आएको कांग्रेसले लामालाई राजीनामा गराएर नयाँ सरकार निर्माणको योजना बनाएको हो ।

एमाले–कांग्रेस गठबन्धनबाट मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नवनिर्वाचित नेता इन्द्रबहादुर बानियालाई अघि सार्ने तयारी छ । बुधबार कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा बानियाँ निर्वाचित भएका थिए । कुल ३७ मत खसेकोमा बानियाँले २२ र उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत प्राप्त गरेका थिए । एक मत भने बदर भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप