बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बागमती विवाद

मुख्यमन्त्री लामाको अडानले बागमतीमा नयाँ सरकार गठन गर्न समस्या

कांग्रेसको निर्णय कुर्दै एमाले
शुक्रबार, १६ साउन २०८२, ११ : ४९
शुक्रबार, १६ साउन २०८२

सारांश

  • बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेतामा पराजित भए पनि सरकार नछाड्ने अडान लिएका छन्।
  • कांग्रेस सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री लामालाई राजीनामा दिन निर्देशन दिएका छन्।
  • मुख्यमन्त्री लामाले राजीनामा दिने वा नदिने भन्ने विषयमा आफ्नो टिमसँग छलफल गर्दैछन्।

मकवानपुर । संसदीय दलको नेतामा पराजित भए पनि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारको नेतृत्व नछाड्ने अडान लिएपछि नयाँ सरकार गठन प्रक्रिया अन्योल बनेको छ ।

कांग्रेसका प्रदेश सभापतिसमेत रहेका इन्द्र बानियाँले संसदीय दलमा लामाविरुद्ध अविश्वास प्रस्ताव ल्याएर सरकार परिवर्तनको अभ्यास थालेका थिए । अविश्वास प्रस्ताव पारित भएसँगै संसदीय दलको नेताका लागि निर्वाचन भयो, जसमा बानियाँ निर्वाचित भए । यद्यपि मुख्यमन्त्री लामाले संसदीय दलको नेता नहरे पनि मुख्यमन्त्री हुनबाट आफूलाई संविधानले नरोक्ने जिकिर गर्दै राजीनामा दिन चाहेका छैनन् ।

संविधानको धारा १६८(२) मा प्रदेश सभामा कुनै दलको स्पष्ट बहुमत नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सांसदलाई मुख्यमन्त्री बनाउने प्रावधान छ । सोही कारण मुख्यमन्त्री लामाले संसदीय दलको नेता पद गुमाए पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने आवश्यकता नरहेको दाबी गर्दै आएका छन् ।

सत्ता साझेदार दल नेकपा एमाले भने कांग्रेसको संस्थागत निर्णयका आधारमा भूमिका निर्धारण गर्ने पक्षमा छ । एमालेले बुधबार नै कांग्रेसको संस्थागत निर्णयलाई मान्ने निर्णय संसदीय दलको बैठकबाट गरिसकेको छ ।

मार्ग प्रशस्त गर्न सभापति देउवाको निर्देशन

मुख्यमन्त्री लामालाई मार्ग प्रशस्त गर्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् । सभापति देउवाले बिहीबार मुख्यमन्त्री लामालाई काठमाडौँ बोलाएर मार्ग प्रशस्त गर्न निर्देशन दिएको उनीसँगै बुढानीलकण्ठ पुगेका एक सांसदले रातोपाटीलाई बताए ।

सभापति देउवाले पार्टीभित्रको कुरालाई धेरै नलम्ब्याउन निर्देशन दिएको ती सांसदको भनाइ छ । उनका अनुसार छलफलका क्रममा देउवाले मुख्यमन्त्री लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्वीकार गरेर जान सुझाव दिएका थिए ।

सभापति देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले आफ्नो टिमसँगको छलफलपछि मात्रै राजीनामा दिने कि नदिने भन्ने निर्णय गर्ने बताएका थिए ।

अन्तरिक छलफलमा मुख्यमन्त्री लामा

मुख्यमन्त्री लामा सरकार छाड्नेबारे छलफलमा जुटेका छन् । बिहीबार काठमाडौँ पुगेका उनी पार्टीका शीर्ष नेता तथा सांसदहरूसँग छुट्टाछुट्टै छलफल गर्दैछन् ।

सरकारलाई निरन्तरता दिने वा मार्ग प्रशस्त गर्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ । उक्त छलफलमा मुख्यमन्त्री लामा निकटका सांसदहरू पनि सहभागी छन् । मुख्यमन्त्री लामाले आफूलाई संसदीय दलको नेतामा सहयोग गरेका अधिकांश सांसदलाई छलफलमा बोलाएका थिए ।

सभापति देउवाको निर्देशनबारे ब्रिफिङ गर्ने र आफू निकटका सांसदहरूको धारणा लिन मुख्यमन्त्री लामाले छलफल थालेका हुन् । सांसद गोविन्द लम्सालका अनुुसार सरकारको विषयमा छलफल जारी छ । केही समयपछि यसबारे निर्णय लिइने उनको भनाइ छ । छलफलमा कांग्रेसभित्रको समस्या समाधानका विषयमा उठेका विकल्पबारे समेत चर्चा हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप