पुनर्निर्माणका लागि सात तले दरबार भत्काउन सुरु
सारांश
- २०७२ सालको भूकम्पले क्षति पुगेको नुवाकोटको सात तले दरबार पुनर्निर्माणका लागि भत्काउन सुरु गरिएको छ।
- चिनियाँ सहयोगमा बन्ने दरबारको पुनर्निर्माणका लागि प्राविधिक कार्य सम्पन्न भएपछि क्षतिग्रस्त संरचना हटाउन थालिएको हो।
- पुनर्निर्माण वि.सं २०८३ असोजभित्र सम्पन्न गर्ने चिनियाँ पक्षको प्रतिबद्धता रहेको छ, जसमा तलेजु मन्दिर पनि समावेश छ।
त्रिशूली । विनाशकारी ‘गोरखा भूकम्प’ले क्षति पुगेको नुवाकोटको सात तले दरबार (दुर्गरत्न) पुनर्निर्माणका लागि भत्काउन थालिएको छ । चीन सरकारको सहयोगमा निर्माण हुने उक्त दरबारको पुनर्निर्माण अघिको पूर्व तयारीका लागि प्राविधिक कार्य सम्पन्न भएसँगै क्षतिग्रस्त संरचनाको भाग भत्काउन थालिएको हो ।
पुरातत्त्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पाण्डेका अनुसार दरबारमा लगाइएको स्क्राफ फोल्डिङ (मचान) मार्फत छाना (झिँगटी) निकाल्ने कार्य सकिएर माथिल्लो तला हटाउन थालिएको छ ।
‘पुरातात्त्विक सम्पदाको संरचना भएकाले त्यसको संवेदनशीलतालाई ख्याल गर्दै नेपाली प्रतिनिधिको उपस्थितिमा सजगताका साथ दरबारको संरचना हटाउने कार्य भइरहेको छ’, उनले भने, ‘भत्काउने क्रममा दरबारमा प्रयोग भएका झिँगटी, झ्याल, बुर्जा, बार्दलीलगायत सामग्रीको संरक्षणका लागि सोहीअनुसार प्रबन्ध मिलाइएको छ ।’
नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले नुवाकोट राज्यमाथि १८०१ सालमा विजयी हासिल गरेका थिए । त्यसपश्चात् उनले निर्माण गर्न लगाउनुभएको उक्त सात तले दरबार १० वर्षअघि २०७२ साल वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएसँगै आवश्यकताका आधारमा पुनर्निर्माण थालिएको हेरचाह कार्यालयका प्रमुख पाण्डेले बताए ।
सात तले दरबार पुनर्निर्माणका क्रममा पुनर्निर्माण, प्रबलीकरण के गर्ने भन्ने सम्बन्धमा दरबार भत्काउँदै गएपछि मात्र यकिन हुने चिनियाँ पक्षले जनाएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए ।
‘अहिलेको प्राविधिक अध्ययनअनुसार दरबारको जग सतहदेखि तेस्रो तलासम्मको संरचना सुरक्षित छ । यद्यपि, दरबार भत्काउँदै जाने क्रममा गरिने प्राविधिक अध्ययनपश्चात् दरबार पूरै भत्काउने वा जोखिम भएका तलाहरू हटाई सोही ठाउँबाट पुनर्निर्माण गरिने भन्ने विषयमा आगामी दिनमा निर्णय लिने चिनियाँ पक्षले जानकारी गराएको छ’, उनले भने ।
भूकम्पपछिको पुनर्निर्माणका क्रममा चिनियाँ सहयोगअन्तर्गत चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजमार्फत नुवाकोटको सात तले दरबार, तुलजा भवानीको मन्दिरसहित आठ वटा संरचनाको पुनर्निर्माण हुने नगरप्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुनर्निर्माणअन्तर्गत भूकम्पले पूर्ण क्षति बनाएको लिच्छविकालीन तुलजा भवानी (तलेजु) को मन्दिर पूरै भत्काइएको छ ।
हाल उक्त स्थानमा भेटिएका पुरातात्त्विक सम्पदासँग सम्बन्धित विषयमा अध्ययन भइरहेको दरबार हेरचाह कार्यालयका प्रमुख पाण्डेले जानकारी दिए । उनका अनुसार उक्त अध्ययनपश्चात् तलेजु मन्दिरको नयाँ निर्माण पहिलाजस्तो थियो सोहीअनुसार हुनेछ ।
सात तले दरबार र तुलजा भवानीको मन्दिरको पुनर्निर्माण वि.सं २०८३ असोजभित्र सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी निर्माण गरिने चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले प्रतिबद्धता जनाएको छ । बाँकी छ वटा धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक संरचनाको निर्माण त्यसपछि सुरु हुने समझदारी भएको छ । ती सबै पूर्ण क्षति भएकाले नयाँ निर्माण गर्न लागिएको हो ।
भूकम्पले क्षति पुगेको सात तले दरबार, तुलजा भवानीको मन्दिरसहित गारदघर, रङ्गमहल, लामपाटी, शीतलपाटी, नारायण र विष्णु मन्दिरको पुनर्निर्माण चीन सरकारको सहयोगमा भइरहेको पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण