सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

शनिबार, १७ साउन २०८२, १० : ०७
शनिबार, १७ साउन २०८२

सारांश

  • बरियारपट्टी छोटी भन्सारले पछिल्लो तीन आर्थिक वर्षमा राजस्व सङ्कलनमा वृद्धि गरेको छ।
  • २०७९-८० मा १९ लाख राजस्व सङ्कलन गरेको भन्सारले २०८१-८२ मा ७० लाख राजस्व सङ्कलन गरेको छ।
  • भन्सार प्रमुखका अनुसार, सीमावर्ती व्यापारको विस्तार, चेकपोइन्ट व्यवस्थापनमा सुधार र आयातकर्ताको सक्रियताले राजस्व बढेको हो।

सिरहा । सिरहाको माडर मुख्य भन्सारअन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्लो तीन आर्थिक वर्षमा राजस्व सङ्कलनमा उल्लेखनीय प्रगति गरेको छ । 

आ २०७९–८० मा जम्मा रु १९ लाख ६६ हजार मात्रै राजस्व सङ्कलन गरेको यस भन्सार कार्यालयले आव २०८०–८१ मा रु ४६ लाख ५० हजार सङ्कलन गर्न सफल भएको थियो भने गत आव २०८१–८२ मा रु ७० लाख छ हजार राजस्व सङ्कलन गर्दै उल्लेखनीय वृद्धि देखाएको छ ।

छोटी भन्सार कार्यालयका प्रमुख शम्भु केसीका अनुसार हाल मासिक सरदर रु छ लाख बराबरको राजस्व सङ्कलन भइरहेको छ । उनले भने, “सामान्यतः खाद्यान्न, किराना सामग्री, मेलापर्वका लागि आवश्यक सामग्री, खेलौना र सजावटका वस्तुहरू यो भन्सार नाका भएर आयात हुने गरेका छन् ।” 

राजस्व वृद्धिको पछाडि सीमावर्ती व्यापारिक गतिविधिको विस्तार, चेकपोइन्ट व्यवस्थापनमा सुधार र आयातकर्ताको सक्रियताजस्ता कारण रहेको प्रमुख केसीको भनाइ छ । भारतसँग सीमा जोडिएको सिरहा जिल्लामा यो छोटी भन्सारले गाउँस्तरको सस्तो तथा दैनिक प्रयोगका सामग्री भित्र्याउन सहजता प्रदान गर्दै आएको छ ।

त्यस्तै, स्थानीय व्यवसायीहरूले भन्सारको सेवा प्रवाहमा भएको सुधार र सहज प्रक्रियाले व्यवसायमैत्री वातावरण बनाएको बताएका छन् । एक स्थानीय व्यापारी मुकेशकुमार यादवले भने, “पहिला सामान ल्याउँदा धेरै झन्झट थियो, अहिले प्रक्रिया छरितो छ र राजस्व बुझाएर सहजै सामग्री ल्याउन सकिन्छ ।”

भन्सार प्रमुख केसीले आगामी महिनामा राजस्व सङ्कलन अझ बढ्ने विश्वास व्यक्त गरे । “चाडपर्व नजिकिँदै छ, जसका कारण व्यापारिक गतिविधि झनै बढ्नेछ । त्यसअनुसार राजस्व सङ्कलन पनि उच्च हुने अपेक्षा गरेका छौँ,” उनले भने । भारतसँग सिमाना जोडिएको यस जिल्लामा माडर र ठाडी गरी दुईवटा मूल भन्सार रहेका छन् भने एउटा छोटी भन्सार सञ्चालनमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप