काठमाडौँ । केही दिनअघि गायक अनिल सिंहले सामाजिक सञ्जालमा एउटा पोस्ट गरेका थिए- ‘म्युजिक नेपाल र म्युजिक डटकमले मलाई मर्न बाध्य पार्दैछ । किन मेरो करिअर र सङ्गीत जीवन बर्बाद पार्दैछ ?’
दुई दशक अघिसम्म नेपाली पपसंगीतमा राज गरेका अनिल सिंह पछिल्लो समय कुन पीडाबाट गुज्रिरहेका थिए यसले स्पष्ट पार्छ । आफ्नो सिर्जनाको अस्तित्वसँग उनी लडिरहेका रहेछन् । हुन पनि एक कलाकारका लागि आफ्नो सिर्जनाभन्दा ठुलो के नै हुन्छ र ?
अनिलका अनुसार उनका गीतहरू यिनै म्युजिक कम्पनीमा बन्धक थिए । आफ्नै गीत गाउन, सुनाउन र प्रयोग गर्न अनिलले पाएनन् । एक वर्षदेखि त्यसैको संघर्षमा उनी थिए ।
नयाँ गीत-संगीत उत्पादन गर्न छाडेर पुरानाका लागि उनी लड्दै थिए । जुन लडाइँ सहज पक्कै थिएन, यद्यपि भर्खरै यसमा केही सफलता पाए । अनिलले म्युजिक डटकमबाट आफ्ना दुई एल्बम ‘मेगाहर्ज’ र ‘लिमिटेड एडिसन’का गीतको अडियो राइट फिर्ता पाएका छन् ।
यतिका लागि उनले फेसबुकमार्फत म्युजिक डटकम र म्युजिक नेपालले आफूलाई आत्महत्याको बाटोमा पुर्याएको आरोपसहितको भिडियो नै पोस्ट गर्नुपर्यो । सहमतिपछि उनले अहिले उक्त भिडियो हटाइसकेका छन् । फ्यानलाई आघात पुर्याउने भन्दै माफीसहित अनिलले भिडियो हटाए ।
यद्यपि म्युजिक कम्पनीहरूसँगको आफ्नो लडाइँ भने जारी रहने अनिल बताउँछन् ।
रातोपाटीको स्टुडियोमा कुराकानीका लागि आएका अनिलले मुख्यतः आफ्नै गीतको अधिकार आफूसँग नरहनुको विडम्बना, पछिल्ला वर्ष सुस्ताएको आफ्नो सांगीतिक सक्रियता, आगामी योजनाबारे सुनाए ।
‘म्युजिक डटकमसँगको लडाइँ सकियो । तर मेरो लडाइँ सकिएको छैन’, अनिल भन्छन्, ‘बुढासुब्बा र इन्द्रेणी क्यासेट सेन्टरसँग अझै लड्नुछ ।‘ यो लडाइँले पनि अब निकास पाउन लागेको अनिल बताउँछन् ।
५० को मध्यदेखि ६० को मध्यसम्म अनिल सिंहले नेपाली पपसंगीत क्षेत्रमा एकसे एक हिट गीत थिए । ‘प्रेमपत्र’, ‘इन्जिन गाडीमा’, ‘डुब्न देऊ मलाई’, ‘आई लभ यु’ जस्ता दर्जनौं गीत युवाहरुका ढुकढुकी बने । तर यिनै गीत, जसलाई अनिलले जन्माए, हुर्काए त्यसैमा कपीराइट लागेर उनको युट्युब च्यानल र इन्स्टाग्राम आईडी नै टर्मिनेट भयो ।
_2wrynKiaYd.jpg)
आफ्नो गीत राख्दा आफ्नै च्यानल उड्ने अवस्थाले उनलाई बेचैन गरायो । उनको मन रोयो । त्यसपछि उनी आफ्नो गीत फिर्ता ल्याएरै छाड्ने अभियानमा लागे ।
‘लडाइँ, मेरो आफ्नो लागि हो । मेरो आफ्नो हक, अधिकार र पहिचानका लागि थियो’, म्युजिक कम्पनीसँगको संघर्षबारे अनिल भन्छन्, ‘यो लडाइँ मेरो आफ्नो लागि मात्र थिएन । अरूको लागि पनि सूत्रधार हो ।’ आफ्नो लडाइँले आफूजस्तै पीडित सबै सर्जक र कलाकारलाई अगाडि बढ्न प्रेरणा दिने उनको विश्वास छ ।
डिजिटल प्लाटफर्म आउनुअघि गीत-संगीतको वितरण म्युजिक कम्पनीहरूले गर्थे । त्यसअघि सर्जक-कलाकार र कम्पनीबिच सम्झौता हुने गर्थ्यो । अनिलका अनुसार त्यसबेला ‘षड्यन्त्रमूलक’ ढंगले सम्झौताहरू भएका रहेछन् । कलाकार र सर्जकमाथि अन्यायपूर्ण काम भएको अनिललाई लागेको छ
यो कुरा बुझेपछि अनिल आफ्ना गीतहरूको खोजीमा विभिन्न म्युजिक कम्पनी धाउन थाले । आपसी छलफलबाट गीत फिर्ता दिन आग्रह गरे । तर जे गर्दा पनि कतैबाट सकारात्मक प्रतिक्रिया उनले पाउन सकेनन् ।
अनि बाध्य भएर २०७६ सालमा उनले महानगरीय प्रहरी परिसर, काठमाडौंमा उजुरी दिए । त्यतिबेला परिसरमा डीएसपी दुर्गा दाहाल थिए । उनको सबै कुरा सुनेपछि डीएसपी दाहालले म्युजिक डटकम र म्युजिक नेपाललाई बोलाएर अनिलसँग छलफल गराएर नयाँ सम्झौता गराए । उक्त सम्झौताअनुसार अनिल र म्युजिक डटकमका राजेश वंशलबीच गीतमा बराबर हक रहने र दुवैले डिजिटल प्लाटफर्ममा विना कुनै हस्तक्षेप प्रयोग गर्न पाउने सम्झौता भयो ।
त्यो समय अनिलले कम्पनीलाई प्रथम पक्ष मानेर ‘ट्रयाकिङ सिस्टम’को जिम्मा दिए । जुन उनका ठुलो भूल साबित भयो ।
_6mC2HBaGAz.jpg)
‘गीतको अडियो निर्माता, गायक, रचनाकार र संगीतकार म स्वयं थिएँ । त्यसैले सबै हक र अधिकार मैले नै राख्नुपर्ने थियो, तर मैले म्युजिक कम्पनी भनेर विश्वास गरेँ’, ‘पश्चाताप गर्दै उनी सुनाउँछन्, ‘त्यही विश्वासको परिणाम आज म यो हानि–नोक्सानी र यातना भोगिरहेको छु । मेरो लडाइँको कथा यही हो ।’ यही सम्झौताको आडमा कम्पनीहरूले उनका गीतलाई बन्धक बनाए ।
‘पैसा मैले पाइनँ त केही भएन । मैले आफ्नै युट्युब च्यानल, फेसबुक वा इन्स्टाग्राममा लाइभ गाउँदा पनि भिडियो म्युट गरिए, हटाइए’, अनिल दुखेसो पोख्छन् ।
त्यही कारण अहिलेसम्म उनको युट्युब च्यानल मनिटाइज हुन पाएको छैन । फेसबुक र इन्स्टाग्राम ब्ल्याकलिस्टमा छन् ।
‘यस्तो अवस्थामा म कसरी अगाडि बढ्ने ?’ अनिल प्रश्न गर्छन्, ‘आफ्नै गीतमा आफ्नो भिडियो आफ्नै प्ल्याटफर्मबाट राख्ने अधिकार छैन । यो जति पीडा अर्को के हुन्छ र ?’
अनिल गीत-संगीतका काम सबै छाडेर सिर्जनाको लडाइँमा लागे । तर यसमा जति अरूको साथ पाउनुपर्ने त्यो मिलेन । अरू त परको कुरा, आफ्नै (संगीत) क्षेत्रका कतिपयले पैसाका लागि कम्पनीविरुद्ध लाग्यो भनेर समेत भने ।
यो लडाइँ व्यक्तिगत हक अधिकारका लागि मात्र नभएर हरेक कलाकारको हक सुनिश्चित गर्नका लागि भएको अनिल बताउँछन् ।
‘आजको दिनमा हरेक कलाकारले मेरो जस्तो राइट्स पाउनुपर्छ भन्ने हो’, उनी भन्छन् ।
फ्यानसँग पोखे पीडा
अहिले सामाजिक सञ्जालको प्रयोग बलियो छ । यसले क्षणभरमै मानिसलाई जिरोबाट हिरो र हिरोबाट जिरो बनाउने सामर्थ्य राख्छ । त्यसैले सेलिब्रेटीले यसलाई आफ्ना सफलता साट्ने र पीडा पोख्ने माध्यमका रूपमा पनि प्रयोग गर्दै आएका छन् ।
अनिलले पनि जब कम्पनीहरूसँगको लडाइँका पीडा सामाजिक सञ्जालमार्फत व्यक्त गर्न थाले, त्यसले धेरैलाई तरंगित बनायो । ‘प्राण खतरामा छ’, ‘मर्न बाध्य बनाइँदैछ’ जस्ता उनका पोस्टले धेरैलाई झस्कायो । अनिललाई के हुन लाग्यो ? कतिले सहानुभूतिका लागि नाटक भने त कतिले विभिन्न कोणबाट अनुमान लगाए ।
_ni9glkcvKs.jpg)
‘जब कलाकारलाई थप पीडा दिँदै विभिन्न कोणबाट घेराबन्दी गरिन्छ । ऊ आतंकित बन्छ’, अनिल भन्छन्, ‘के कम्पनीहरूलाई आतंककारी भन्न मिल्दैन ? यसले आफ्नो रोजीरोटी मात्र नभएर परिवारसम्मलाई हानि पुर्यायो ।‘
म्युजिक कम्पनीहरूसँगको लडाइँले अनिलको सांगीतिक जीवन ठप्प रह्यो ।
‘मैले नियमित नयाँ गीत-संगीत ल्याइरहेको थिएँ । फ्यानको माया, कार्यक्रम, सबैको हाई-हाई थियो । मेरो कारणले परिवारको अवस्था समेत राम्रो बन्दै थियो’, अनिल भन्छन्, ‘न मैले नयाँ गीत-संगीत गर्न सके, न कार्यक्रम नै ।’ यही लडाइँले आफूलाई १२-१३ वर्षसम्म सांगीतिक क्षेत्रबाट टाढा बन्न बाध्य बनाएको अनिल सुनाउँछन् ।
सामाजिक सञ्जालका आफ्ना पछिल्ला पोस्टबाट अनिल पनि चिन्तित छन् ।
‘मेरा पछिल्ला भिडियो अभिव्यक्तिले दर्शक र शुभचिन्तकहरूलाई पर्न गएको पीडाका लागि म सरी भन्छु । भिडियो तपाईंहरुलाई दुखाउन बनाएको होइन । त्यो त नितान्त मेरो हक र अधिकारको लागि थियो, सहानुभूति र साथ पाउनका लागि थियो’, उनी स्पष्ट पार्छन् ।
रातारात स्टार
अनिलको संघर्ष कथामा सुनौलो विगत छ । स्कुले जीवनदेखि नै संगीतमा होमिएका उनको सांगीतिक क्षेत्रमा उदय फिल्मी कथाभन्दा कम छैन । कक्षा ८ मा अध्ययनकै क्रममा उनले साथीहरूसँग मिलेर ब्यान्ड खोलेका थिए । त्यसपछि सोही समय आयोजित ‘शिखर बिट कन्टेस्ट’मा भाग लिए । त्यहाँ उनले दोस्रो हुँदै २५ हजार रुपैयाँ पुरस्कार हात पारे । त्यही पैसाले तीन वटा गीत रेकर्ड गराए ।
अनि यसपछि हुन्छ रोचक कुरा । एसएलसी परीक्षा सकेर उनी साथीहरूसँग छुट्टी मनाउन काठमाडौँ बाहिर गएका थिए, फर्किँदा त स्टार भइसकेका रहेछन् ।
‘मलाई थाहा नदिई एफएमहरूले स्टुडियोबाट गीत लिएर बजाउन थालेका छन्’, उनी त्यो क्षणको खुसी सेयर गर्छन्, ‘मेरा गीत ‘सिमसिमे पानी’ र ‘प्रेमपत्र’ एफएममा अत्यधिक बज्न थालेछन् । मलाई मिडिया र कार्यक्रम आयोजकले खोज्न थालिसकेका थिए ।’ आफू रातारात स्टार भएको पाउँदा अचम्ममा परेको उनी सुनाउँछन् ।
त्यसपछि अनिलले मस्तसँग सांगीतिक उडान भरे । त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । कन्सर्टका अफरहरू ओइरिन थाले, आम्दानीको ग्राफ बढ्यो । उनको पहिलो एल्बम ‘गायकः द रियल हार्मोनिस्ट’ इन्द्रेणी क्यासेट सेन्टरले निकाल्यो । दोस्रो एल्बम ‘मेगाहर्ज’ले त उनलाई सफलताको शिखरमै पुर्यायो ।
_Y5ypAOpmzj.jpg)
त्यसपछि आएका ‘इन्जिन गाडीमा’, ‘डुब्न देऊ मलाई’, ‘आई लभ यु’, ‘सक्छौ भने’ जस्ता गीतहरूले भरिएको ‘मेगाहर्ज’ त्यस समयको ब्लकबस्टर एल्बम साबित भयो । हालसम्म १० एल्बम निकालेका उनको डिजिटल युगको आगमन र कम्पनीहरूसँगको सम्झौताले यात्रामा पूर्णविराम लगाइदियो ।
अबको यात्रा ?
सिर्जनाको अस्तित्वको लडाइँमा उनका फ्यानहरू उज्यालोको किरण बने । देश–विदेशबाट उनले पाएको माया र समर्थनले नै उनलाई यो लडाइँ लड्न प्रेरित गर्यो । जीवन चलाउन यस अवधिमा उनले फाट्टफुट्ट केही कन्सर्ट गरे ।
‘आजसम्म मलाई कार्यक्रमकै पैसाले टिकाएको हो । दर्शक-श्रोताले यति धेरै माया दिनुभएको छ, त्यो नै मेरो ऊर्जा हो’, भावुक हुँदै अनिल भन्छन् । सामाजिक सञ्जालमा उनको पीडा देखेपछि फ्यानहरूले ‘आर यु ओके?’, ‘हामीले केही गर्नुपर्छ कि ?’ जस्ता सन्देशहरू पठाउँथे । ती शब्दले उनलाई हौसला मिल्थ्यो । यही मायाले उनलाई महसुस गरायो, आफू एक्लै छैन ।
अब यो लडाइँ अन्तिम चरणमा पुग्दै गर्दा अनिल आफ्नो सांगीतिक यात्रालाई नयाँ ढंगले अगाडि बढाउने तयारीमा छन् । उनी एकसाथ १२ नयाँ गीत ल्याउने तयारीमा छन् ‘द ग्रेट हार्मोनिस्ट’ एल्बममा समावेश गरेर । म्युजिक कम्पनीसँग लड्दै गीत तयार पार्नु सजिलो पक्कै थिएन ।
१ प्रतिक्रिया