‘मलाई प्रतिस्पर्धाले कवि बनायो’
सारांश
- कवि उमेश अकिञ्चनको नयाँ कविता सङ्ग्रह 'सायद किनाराहरू' बजारमा आएको छ।
- अकिञ्चन पुस्तकलाई ज्ञानको मार्ग मान्दछन् र पुस्तकप्रतिको प्रेम बालकथाबाट सुरु भएको बताउँछन्।
- अकिञ्चनले आगामी दिनमा उपन्यास लेख्ने योजना बनाएका छन्।
तीन दशकदेखि कविता–कर्ममा तल्लीन कवि उमेश अकिञ्चनको भर्खरै कविता ‘सायद किनाराहरू’ बजारमा आएको छ । उनै कवि अकिञ्चनलाई हामीले यसपालि रातोपाटीको ‘किताबका कुरा’ स्तम्भमा निम्त्याएका छौँ ।
- तपाईंका लागि पुस्तक के हो ? पुस्तकप्रति आकर्षण कहिलेदेखि सुरु भयो ?
म पुस्तकलाई ज्ञान मार्गका रूपमा लिन्छु । जति पुस्तक पढ्यो, जीवन त्यति नै सहज हुन्छ भन्ने मेरो विश्वास छ । पुस्तकप्रतिको मेरो आकर्षण वा प्रेम बालकथाका किताबहरूबाट सुरु भयो । मेरो ठुलो दादालाई किताब पढ्न निकै रुचि थियो । भाइहरूको सर्वाङ्गीण विकास होस् भन्ठानेर होला दादाले ‘सेती परी, काली परी’, ‘भ्यागुताको सफर’ जस्ता बालकथाका किताब ल्याएर पढ्न दिनुहुन्थ्यो । यसरी थाहै नपाई म किताबतिर आकर्षित हुँदै गए छुँ ।
- दिनमा कति समय पढ्नुहुुन्छ ? पढ्नका लागि समयको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
म पढ्न निकै रुचाउँछु । दिनमा यति नै घन्टा पढ्छु भनेर रुटिन बनाउँदिनँ, रुटिनवाला पाठक होइन म । पढ्नु मेरा लागि थेरापी हो । समयको माग, रुचि र आवश्यकता हेरेर बिहान–बेलुकी फुर्सदको समयमा पढ्छु । चाहे त्यो अध्ययन पत्रिका पढेरै सुरु किन नहोस् । दैनिक व्यस्तता र पठनबिच सन्तुलन कायम राख्न निकै चुनौतीपूर्ण छ । बाहिर जानुनपर्दा शनिबार र सार्वजनिक बिदाका दिनलाई म पढ्नमै उपयोग गर्छु । प्रोफेसनल जीवनकै कारण पनि मैले पढ्नैपर्छ । प्रशासन, नीति, कानुनसँग सम्बन्धित कुरा पढ्न पनि म समय निकालिरहेको हुन्छु ।
त्यसका अलावा मेरो रुचिको क्षेत्र साहित्य भएकाले कविता, आख्यान, गैरआख्यान पठनतिर पनि मेरो रुचि छ । समयको सदुपयोग गर्न पनि पढ्छु । कार्यालय समयबाहेक बिहान, बेलुका र सार्वजनिक बिदाका दिनहरू अध्ययनमा उपयोग गरेर व्यवस्थापन गरिरहेको छु ।
- पछिल्लो समय के–कस्ता पुस्तक धेरै पढिरहनुभएको छ ? हालैका दिनमा पढेको पुस्तक कुन थियो ? कस्तो छ यो पुस्तक ?
कविता, नन–फिक्सनका पुस्तक पढिरहेछु । हालै पढेको पुस्तक भने अमर्त्य सेनको ‘होम इन् द वल्र्ड, अ मेमोया’ हो । उनी जन्मेको ठाउँ (ढाका, बङ्गलादेश), हुर्के–बढेको (कलकत्ता, भारत) र पढेको (बेलायत) ठाउँका सुन्दर संस्मरण यस कृतिमा सङ्ग्रहित छन् ।
- तपाईंले पहिलोपटक पढेको मोटो आकारको पुस्तक कुन थियो ? त्यसमा तपाई के पाउनुभयो ?
त्यस्तो मोटै आकारको एउटा चाहिँ मैले ली क्वान युको ‘फ्रम फस्र्ट वर्ल्ड टु थर्ड : द सिंगापुर स्टोरी’ हो पढेको छ । यो लीको बायोग्राफी हो ।
म एउटा कर्मचारीतन्त्रमा भएको मान्छे । अनि यो पुस्तकमा सिङ्गापुर एउटा अल्पविकसित देशबाट कसरी विकसित देशमा दरिन सक्यो भन्ने यात्रा बताइएको छ । यसमा लीका इन्टरभ्यु छन्, उनका विचार छन् । उनले भ्रष्टाचारलाई कसरी नियन्त्रण गरे अनि त्यहाँको ब्युरोक्रेसीलाई कसरी चलाए भन्ने कुरा छन् । हुन् त यो लीको सङ्घर्षको कहानी हो । तर यसले पहिलाको अवस्थाबाट सिङ्गापुर उठेर अहिलेको यो अवस्थामा कसरी आइपुग्यो भन्ने कथा छ । यो पुस्तक पढ्न म सबैलाई सिफारिस गर्छु । नीति निर्माण तहमा बस्ने मानिसहरू, राजनीतिज्ञ अनि पत्रकार जस्ता फरक क्षेत्रका मान्छेले पनि यसलाई पढ्नैपर्छ ।
- तपाईंले बारम्बार पढ्नुभएको कुनै पुस्तक छ कि ?
यस्ता पुस्तक चार–पाँचवटै होलान् । सुरुमा म पारिजातको ‘शिरीषको फूल’को नाम लिन्छु । यो किताब मैले एकपटक किशोर वयमा पढेँ । अर्कोपटक जागिर खाँदाका सुरुका दिनमा फेरि यसलाई पढेँ । यसलाई फेरि पनि पढ्ने इच्छा छ । मलाई यो कवितै कवितामा लेखिएको उपन्यास हो जस्तो लाग्छ । जतिपटक यसलाई पढ्दा पनि म तृप्त हुन्न । अझै केही बाँकी छ जस्तो लाग्छ । ‘इनसेसबल’ भन्छन् नि हो ठ्याक्कै त्यस्तै खालको लाग्छ मलाई यो किताब ।
टोमस ट्रान्सट्रोमरको पुस्तक ‘हाल्फ फिनिस्ड हेभन’ मैले कति खोज्दा पनि भेटिनँ । एकजना साथीलाई उनका कुनै विदेशी साथीले यो पुस्तक उपहारमा दिएका थिए । मैले उनीसँग मागेर यो किताब पढेँ । यो किताब मलाई किनेरै राख्न मन थियो तर नेपालमा उपलब्ध थिएन । पछि मैले यसलाई फोटोकपी नै गरेर राखेँ ।
अर्को कृतिको नाम लिनुपर्दा रमेश क्षितिज दाइको ‘अर्को साँझ पर्खेर साँझमा’ भन्ने कविता कृतिको लिन्छु । युवाकालमा कविता लेख्न सुरु गर्दै गरेको अवस्थामा पनि मैले यो कृति कैयौँपटक पढेको हुँ । अहिले पनि पढ्छु । चिनियाँ उपन्यासकार मो यानको धेरै चर्चा भएको पुस्तक ‘रेड सोर्गम’ हो तर मलाई यी लेखकको एउटा सानो कृति ‘चेन्ज’ निकै मन पर्छ । यसलाई पनि मैले पटक–पटक पढेको छु ।
- तपाईंलाई मन परेका पाँचवटा विदेशी पुस्तकको नाम लिनुपर्दा कुन कुन पुस्तक सम्झनुहुन्छ ?
त्यस्ता कृति धेरै छन् । अहिले तत्कालै सम्झिनुपर्दा मो यानको ‘चेन्ज’ नै भन्छु । खासगरी दुइटा कारणले मलाई यो पुस्तक मनपरेको हो । नन–फिक्सन त म जति लामो भए पनि पढ्छु तर फिक्सन मलाई छोटो मन पर्छ । यो पुस्तक सानो छ, त्यसैले पनि मनपर्यो । अर्को कारण यो आत्मपरक शैलीमा लेखिएको बाल्यकालदेखि प्रौढ हुँदाम्मको वृत्तान्त समेटिएको उपन्यास हो । जुन उपन्यास चिनियाँ समाज, परिवेशमा लेखिएको भए पनि विश्वका सबै मानिसका अनुभूतिसँग मेल खाने भएकाले मनपर्यो ।
अर्को हो, हान काङको ‘द भेजिटेरियन’ हो । वास्तवमा यो कृति निकै रोचक छ । नेपालमा यसको चर्चा नोबेल पुरस्कार पाएपछि मात्रै धेरै भएको हो । मैले यसलाई पुरस्कार पाउनअघि नै पढेको थिएँ । पहिलोपटक पुस्तक पसलमा यो किताब देख्दा सुरुमा त यो किताबको लुक्सले तान्यो । जब हातमा राखेर पढ्न थालेँ, यसका शब्दले यसरी ताने कि मैले नकिनी रहन सकिनँ । यसको भाषा पढ्दा कुनै कविले लेखेको जस्तै लाग्यो । त्यति मोटो पनि थिएन । मैले त यो किताब अरु केही साथीलाई उपहार समेत दिएको छु । यसमा पाठकलाई कनेक्ट गराएर राख्ने खालको भाषा छ । यही कारणले पनि ‘द भेजिटेरियन’ एकदम राम्रो लाग्छ ।
अन्य पुस्तकहरूमा ली क्वान युको ‘फ्रम फस्र्ट वर्ल्ड टु थर्ड : द सिंगापुर स्टोरी’, ड्यारोन एसिमोग्लु र रोबिन्सनको विकास र समृद्धिसम्बन्धी पुस्तक ‘ह्वाई नेसन्स फेल’ र अभिजित बेनर्जी र एस्थर डुफ्लोको पुस्तक ‘पुअर इकोनोमिक्स’ हुन् ।

‘पुअर इकोनोमिक्स’ले पनि नोबेल पुरस्कार पाएको हो तर यो किताब होइन, अनुसन्धान पेपरको सङ्ग्रह हो ।
‘द लास्ट लेक्चर’ पनि मलाई प्रभाव पारेको पुस्तक हो । यसका लेखक र्यान्डी पोस र जेफ्री जास्लो हुन् । मलाई मन परेको अर्को पुस्तक हो, अमर्त्य सेनको ‘होम इन् द वल्र्ड’ ।
- तपाईंलाई मनपरेका पाँचवटा स्वदेशी लेखकका पुस्तकको नाम लिनुपर्दा कुन कुन पुस्तक सम्झनुहुन्छ ?
मैले अघि नै पनि भनिसकेँ, यो प्रसङ्गमा केही कृति फेरि दोहोरिनेछन् । ‘शिरीषको फूल’कै नाम लिन्छु म यसमा । यो एउटा काव्यिक उपन्यास हो । काव्यिक भएको अनि एकदम सटीक भएकाले पनि मलाई यसले तान्यो । फेरि एउटी महिलाले विश्वयुद्धताकाको प्रेमबारे लेखेकी छन् । यसको कल्पना शक्ति गज्जबको छ । अर्को चाँहि धच गोतामेका घामका पाइलाहरू । यो पनि नेपाली उपन्यासमा एउटा माइलस्टोन हो भन्ने ठान्छु म । यसका कथा निकै सरल छन् । काव्यिक फेरि त्यति नै छ । प्रस्तुतिको हिसाबले यो कृति मलाई अत्यन्त मिठो लाग्छ । कसैले कुनै दुइटा उत्कृष्ट नेपाली उपन्यास भनेर मलाई सोध्यो भने म यही दुई कृतिको नाम लिन्छु । त्यसपछि रमेश क्षितिजदाइको कविता सङ्ग्रहको नाम मैले अघि पनि लिइसकेँ— ‘अर्को साँझ पर्खेर साँझमा’ । त्यसपछि मोमिला दिदीको कवितासङ्ग्रह ‘जूनकीरीहरू ओर्लिरहेछन्’ । यसमा अर्को नाम थप्नुपर्दा म क्रान्ति पराजुलीको ‘प्रिय स्वप्नद्रष्टा’ भन्छु । यो कृति मलाई निकै मनपर्यो, यो कृतिलाई म हान काङको ‘द भेजिटेरियन’सँग दाँज्छु ।
यी सबै कृति मन पर्नुको कारण चाहिँ काव्यिक नै हो । मेरो मन काव्यिक भएकाले होला मन परे । भिडमा यी हरेक कृतिको अनुहार फरक छन् । नयाँपन दिएका छन्, विषयको उठान पनि फरक छन् । कल्पनाशीलताको भरपूर प्रयोग भएको छ ।
- तपाईंको सोच नै बदलेको कुनै पुस्तक छ कि !
पुस्तकले मेरो सोच नै बदलेको भन्ने छैन । इमानदारिताका साथ भन्नुपर्दा रिम्पोचेलाई भेटेपछि जीवनै अर्कै भो, मेटामोर्फोसिस भएर म क्याटरपिलरबाट बटरफ्लाई भएँजस्तो केही पनि छैनन् जीवनमा ।
- नेपाली साहित्यमा कुन पुस्तक अन्डररेटेड छ जस्तो लाग्छ ?
उद्धव राईको ‘भ्वाएज जिन्दगी’ । यो यात्रा संस्मरण हो । गैरसाहित्यिक मान्छेले लेखेकाले पनि यसले पाउनु जति चर्चा पाएन कि जस्तो लाग्छ । अहिले बजारमा हल्ला चलेका ट्राभल लगका पुस्तक भन्दा यसलाई म निकै उत्कृष्ट भन्छु । अर्को क्रान्ति पराजुली ‘प्रिय स्वप्नद्रष्टा’ नै हो । डियर कल्याणको ‘रेडियो छाप सलाई’लाई पनि अन्डररेटेड पुस्तक भन्छु म । यो १२–१५ वर्षअगाडिको उपन्यास हो । मलाई चाहिँ मन परेको किताब हो । हुन त सबैको टेस्ट फरक हुन्छ । मेरो टेस्ट सुहाउँदो भए, यी कृति ।
- यहाँलाई के कुराले लेखनमा बढी प्रेरित गर्छ ? लेख्दा तपाईं पाठकलाई ध्यानमा राख्नुहुन्छ कि आफूलाई ?
साहित्य कर्ममा भएका मानिसले पढ्नुपर्छ भन्छु म । पहिलो त मानिस अर्थात् समाज पढ्नुपर्यो । हामीले मानिसकै लागि मानवबिचकै कुराहरू लेख्ने हो । अर्को यसमा रोमान्टिसिस्ट वा स्वच्छन्दवादिताका कुरा आउँछ । यसका लागि प्रकृति पढ्नुपर्यो । पुस्तकहरू त पढ्नैपर्छ । समकालीन लेखन कस्तो छ ? अग्रजले के लेखेका छन् ? रिभ्यु अफ लिटरेचरका लागि पनि पढ्न आवश्यक छ ।
विद्वत्जन, साथीभाइ र कविका साहित्यिक माहोलमा मलाई सबैले कवि नै भनेर चिन्नुहुने भएकाले पनि पछिल्लो समय कवितातिरै मेरो झुकाव बढी देखिएको हो कि ! मैले कविका रूपमा मान्यता पाएको छु । मानिसले जुन क्षेत्रमा मान्यता पाउँछ, मान्छे त्यहीँ रमाइरहन चाहन्छ ।
बनिबनाउ लेखक, कवि बन्न म चाहन्नँ । कहिलेकाहीँ प्रकृतिको नजिक पुग्दा होस्, अथवा मानिसको नजिक पुग्दा होस्, अथवा कुनै पुस्तकको निकटतामा किन नहोस्— यस्तो डोज पाइन्छ कि प्यारलल्ली अर्को सिर्जनाका लागि प्रेरणा मिल्छ । मेरा लागि कविता चट्याङ परेका बेलाको त्यो झिल्को हो, जसलाई हामीले प्रयोगशील बनाउनुपर्यो । मान्छेमा, जीवनमा, समाजमा उज्यालो बाँड्नुपर्यो । हो, त्यस्तो साधना मान्छु म कविता । हो त्यस्तो चमक आएपछि म कविता लेख्न उत्प्रेरित हुन्छु ।
इमानदारिताका साथ भन्नुपर्दा म आफ्नै लागि लेख्छु । मैले लेख्ने नै अभिव्यक्त हुनका लागि हो । फराकिलो क्षितिजमा भोलिका दिनमा त्यसरी पाठककेन्द्रित भएर पनि लेखुँला, लेखिएला । लेट्स सी, लेट्स होप सो । आजसम्म मैले आफूलाई केन्द्रमा राखेर लेख्छु । मैले जे लेखे पनि त्यसको केन्द्रमा म नै हुन्छु । मैले जसरी लेखे पनि लेख्ने त यही समाज र यही भएका मानिसका लागि नै हो ।
- किताब किन्न कतिको खर्च गर्नुहुन्छ ?
किताब किन्न भनेर मैले मासिक वा वार्षिक रूपमा ठ्याक्कै यति नै बजेट छुट्याउँछु भन्ने छैन । रुचिअनुसार पुस्तक प्रदर्शनीमा र पुस्तक पसलमा पाँच–सात हजारसम्मको किताब किन्ने गरेको छु । सधैँ यति नै मूल्यको किन्छु भन्ने पनि होइन । म पुस्तक नियमित किन्दिनँ । पुस्तक भनेको आवश्यकता हो । कहिले धेरै कहिले थोरै किनिन्छ, कहिले किनिदैन । किशोर वयमा सायद म ‘बुकाहोलिक्स’ टाइपको थिएँ । विद्यार्थीकालमा जतिबेला आम्दानी हुन्नथ्यो तर किताबमा टन्नै खर्च गरिन्थ्यो । अहिले नियमित आम्दानी छ तर विद्यार्थीकालको अनुपातमा किताबमा लगानी कम छ ।
- जीवनमा तपाईंले कहिल्यै कुनै पुस्तक चोर्नुभएको छ कि ?
भन्न त पुस्तक चोर्नुलाई चोरेको भनिँदैन भन्छन् । किताब त ज्ञानको खेती हो । मैले कहिल्यै त्यसरी कसैको किताब उठाएको अथवा म लोभिएको घटना याद छैन तर यो प्रोफेसनल लाइफमा एउटा यस्तो घटना घटेको छ कि यसलाई ठ्याक्कै चोरी भन्न त मिल्दैन । मैले काम गरिरहेको कुनै अफिस छाड्नुपर्यो । यसरी छाड्दा मोटरसाइकल, गाडीजस्ता जिन्सी सामानहरू सबै बुझाउनुपर्छ । प्रायः हरेक कार्यालयमा पुस्तकालय हुन्छन् । जानुअघि यहाँबाट लिइएको किताब पनि बुझाएर राफसाफ गर्नुपर्छ । त्यहाँ काम गर्दा लिएको पुस्तक र अन्य सरसामान मैले त्यहीँको कार्यालय सहयोगीलाई दिनु है भनेर बुझाएको थिएँ । मैले राफसाफ त पाइसकेको थिएँ तर मैले जो सहयोगीलाई ती किताब बुझाइदिनु भनेको थिएँ उहाँले बुझाउनुभएको रहेनछ । मैले पछि मात्रै यो कुरा थाहा पाएँ । यसपछि मलाई निकै ‘गिल्टी’ फिल भयो । लगेर दिउँ भने किन यति ढिला भन्ने डर, नदिउँ त जिन्दगीभर यही कुराले आफूलाई पोलिराख्ने कि फलाना अफिसको किताब मैले नबुझाई आएँ छु, फाइनल्ली मैले ती किताब बुझाइदिएँ ।
अर्को एउटा घटना छ । व्यक्तिको नाम त भन्दिनँ । एकजना कवि दिदी हुुनुहुन्छ, मैले उहाँसँग पढ्नका लागि भनेर मागेर कुनै किताब ल्याएको थिएँ तर सात–आठ वर्षपछि अहिले हेर्दा त्यो किताब अझै पनि मसँगै रहेछ । उहाँको जीवनको कथाले अर्कै मोड लिइसकेको छ । त्यसैले मैले त्यो किताब फर्काउन सकेको छैन । त्यो किताब देख्दाखेरि आफूलाई गिल्टी फिल हुन्छ । उहाँले सायद यो कुरा बिर्सिसक्नुभएको छ । त्यो किताब कहाँ पुग्यो भनेर उहाँलाई थाहा छैन तर त्यो किताब अझै मसँग छ ।
- तपाईंका पुस्तक हराएका वा चोरी भएका घटना छन् कि ?
मैले चाहेर पनि घरमा लाइब्रेरी बनाउन सकेको छैन । किताब मसँग थुप्रै छन् । घरमा सानो पुस्तकालय मेरो चाहना पनि हो । चोरेको त भन्न मिल्दैन तर साथीहरूले दिन्छु भनेर मसँग मागेर लगेको तर फिर्ता नगरेको उदाहरण धेरै छन् । ताकेता गर्दा दुइटा किताब लैजानुभएको साथीले एउटा मात्रै फिर्ता गर्नुहुन्छ । जसले गर्दा किताबहरू लिन छुटेका छन् । सायद यो सामान्य नै होला, मसँग पनि अहिले ५–६ जना साथीको पाँच–सातवटै किताब छन् । मैले पनि त फिर्ता दिन सकिरहेको छैन । महत्त्वपूर्ण किताबहरू फिर्ता नपाउँदा दोहोर्याएर किनेर ‘रिस्टक’ गर्नुपर्ने स्थिति आइपरेका छन् ।
- तपाईंले धेरै नै खोज्नुभएको तर नभेटेको वा मुस्किलले भेटेको कुनै पुस्तक छन् कि ?
नेपाली त होइन, विदेशी लेखकका किताब धेरै खोजेर नभेटिएका उदाहरण छन् । एकजना स्विडिस कवि छन्, टोमस ट्रान्सट्रोमर । सन् २०११ मा यिनले साहित्यमा नोबल पुरस्कार पाएका छन् । उनको ‘हाल्फ फिनिस्ड हेभन’ मैले कति खोज्दा पनि कतै भेटिनँ । मेरा एक साथीलाई उनका कुनै विदेशी साथीले यो पुस्तक उपहारमा दिएका थिए । मैले उनीसँग मागेर यो किताब पढेँ । यो किताब मलाई किनेरै राख्न मन थियो तर नेपालमा उपलब्ध थिएन । पछि मैले यसलाई फोटोकपी नै गरेर राखेँ । यो मलाई भयङ्कर राम्रो लागेको थियो । त्योबाहेक मलाई अरू किताबको खासै सम्झना छैन ।
- पछिल्लो समय नेपालको पठन संस्कृति कस्तो पाइरहनुभएको छ ?
हामीकहाँ पठन संस्कृति त्यति धेरै उत्साहित हुने खालको मैले पाएको छैन । जनसंख्या वृद्धिसँगै अथवा साक्षरता बढेसँगै पठन संस्कृति पनि बढ्नुपर्थ्यो । सोही अनुपातमा पठन संस्कृति बढेको छैन । यो मैले मसहुस गरेको कुरा हो ।

- सामाजिक सञ्जाल र डिजिटल युगले पनि पठन संस्कृतिलाई अवरोध पुर्याएको होला त ?
होइन, अझ बल मिलेको छ भन्छु म त । सामाजिक सञ्जालमा खुलेर साहित्यका बहस भइरहेका छन् तर हरेक माध्यमले सकारात्मक नकारात्मक दुइटै कुरा लिएरै आउँछन् । अब साहित्यमा यसले के कति योगदान दियो भन्ने छलफलको विषय हुन सक्ला । यसको शक्ति र सीमा दुईटै छ, पहिलेजस्तो मधुपर्कले नै कविता छापिदिने वा लेखक जन्माउनुपर्ने समय छैन ।
जनसंख्या वृद्धिसँगै अथवा साक्षरता बढेसँगै पठन संस्कृति पनि बढ्नुपर्थ्यो । सोही अनुपातमा पठन संस्कृति बढेको छैन ।
कुनै बेला एउटा कविता छपाउन एक वर्षभन्दा बढी समय कुनुपथ्र्यो । अहिलेको सामाजिक सञ्जाल र डिजिटलीकरणले त्यो मानक भत्काइसकेको छ । एउटा राम्रो सिर्जना एउटा छ भने कुनै फेसबुकमै राख्दिनुभयो भने पनि त्यसले राम्रो पाठक पाइरहेका छन् । हामीले किन्डलमै विदेशी किताब किनेर पढ्न पाइहेका छौँ । नेपालको साहित्य ग्लोबलाइज पनि हुँदै छ । म यसलाई सकारात्मक रूपमै लिन्छु ।
- पछिल्लो समय त पुरस्कारका लागि लेख्ने प्रवृत्ति पनि छ, तपाईंले कहिल्यै यस्तो गर्नुभएको छ ?
पुरस्कारकै सन्दर्भमा म के भन्छु भने मलाई प्रतिस्पर्धाले कवि बनाएको हो । सुरुआती दिनमा हरेक प्रतियोगितामा संयोगवश म प्रथम नै भएँ । सन् २०१० मा अमेरिकामा भएको ‘इन्टरनेसनल नेपाली पोयट्री फेस्टिभल’मा एक हजार डलर पुरस्कार राखिएको थियो । यो पाँच संस्करणसम्म भयो । पहिलो प्रतियोगिता मैले जितेको थिएँ । वास्तवमा त्यो प्रतियोगितामा प्रथम भएको कविता मैले प्रतियोगितामै दिन्छु भनेर लेखेको थिइनँ ।
कवितामा मैले १०–१५ वर्ष बिताइसकेको थिएँ समकालीन र केही अग्रजहरूले पनि मलाई चिन्नुहुन्थ्यो । मैले सङ्ग्रह निकालेको थिइनँ । म ठ्याक्कै कृति निकाल्ने तयारीमा थिएँ । यसमा पाँच–सातवटा कविता अप्रकाशित थिए । कृतिमा केही फ्रेस कविता होस् भन्ने मेरो धारणा थियो । ठ्याक्कै त्यति नै खेर कान्तिपुर दैनिक पत्रिकामा प्रतियोगिताको आह्वान भयो । कविता १२० शब्दभित्र मागिएको थियो । पुरस्कार घोषणा गरिएको थियो— पहिलोलाई १००० डलर, दोस्रोलाई ३००, तेस्रोलाई २००, सान्त्वनालाई ५० डलर । प्रतियोगिताको अन्तिम दिन थियो । मैले अन्तिम क्षणमा ‘मोनालिसा र मार्च ८’ इमेल गरेर पठाइदिएँ । बहिनीले भन्नुभएजस्तो त्यो कविता प्रतियोगिताका लागि लेखिएको थिएन । भयो चाहिँ के भने प्रतियोगितामा अघि राखिएका सर्तहरूमा त्यो खरो उत्रियो । कविता अलिक फरक छ भन्ने मलाई थाहा थियो । त्यसैले पनि कुनै न कुनै पुरस्कार जित्ला भन्ने आशा थियो ।
- कविताले आफूलाई यसरी किन तान्छजस्तो लाग्छ तपाईंलाई ?
कविता मानिसको सर्वोत्कृष्ट भाषा हो भन्ने मलाई लाग्छ । कविता जीवन–सूत्र पनि हो । कवितालाई त म नयाँ खोज, नयाँ आविष्कार मान्छु । कविता शब्दहरूको संवाद हो, साधना हो । शब्दमा निकै धेरै शक्ति हुन्छ भन्नेमा म विश्वास गर्छु । त्यस कारणले पनि मलाई कवितायात्रा मन परेको हो । विद्वत्जन, साथीभाइ र कविका साहित्यिक माहोलमा मलाई सबैले कवि नै भनेर चिन्नुहुने भएकाले पनि पछिल्लो समय कवितातिरै मेरो झुकाव बढी देखिएको हो कि ! मैले कविका रूपमा मान्यता पाएको छु । मानिसले जुन क्षेत्रमा मान्यता पाउँछ, मान्छे त्यहीँ रमाइरहन चाहन्छ । कोही मान्छेले पनि बालुवामा पानी खनाउन चाहँदैन । आफूलाई जहाँ पहिचान मिल्यो, त्यहीँ मान्छेले साधना गर्छ । कविता कर्मको अभ्यस्तताले पनि मलाई यो सजिलो लाग्यो । विगतमा मैले निबन्ध, कथा पनि नलेखेको होइन । कृति भने निस्केको छैन । अहिलेसम्म कविकै रूपमा चिनिइँदा म खुसी हुन्छु । मेरो चाहना पनि यति मात्रै हो ।
- आगामी दिनका लागि तपाईंका योजना के छन् ?
मैले भर्खरै ‘सायद किनाराहरू’ कविता सङ्ग्रह ल्याएँ । अब केही समय म अब यसैको वरिपरि घुमिरहनेछु । मलाई अब आख्यानतिर विशेषगरी उपन्यासमा यात्रा गर्न मन लागेको छ । मलाई ५–७ वर्षभित्र म एउटा उपन्यास ल्याउने सोचमा छु । मलाई अब उपन्यासकारका रूपमा आउन मन छ । सबै कुरा मैले सोचेजस्तो भयो र समयले पनि साथ दियो भन म उपन्यास निकाल्नेछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण