बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नियात्रा

फूलको जुलुसमा राँगोको रन्को

शनिबार, १७ साउन २०८२, १३ : ००
शनिबार, १७ साउन २०८२

योद्धाले मात्र खोज्छ, युद्ध जित्ने नयाँ कला ।
‘जाने भो, धेरै मान्ठाको ज्यान जाने भो । बनचरीलाई पनि सुख नहुने भो अब । वनमा डुलेर क्यार्नु र ?’
जङ्गल सकिएर पाटन सुरु हुन लाग्दा अग्लो ढुङ्गामाथि बसेकी दिदी एक्लै भुतभुताइरहेकी भेटिइन् ।
हामीलाई नै सुनाउन भनेकी थिइन् दिदीले । हाम्रा पाइला टक्क रोकिए ।
‘के भयो दिदी ?’

‘के हुन्या हुन् नाइ, जङ्गल छोडेको एक राँगो बौलाएछ, मान्छे देख्यो कि झम्टँदै हिँड्या छ, पाटनपाटनमा । हिजो बझाङको एउटा गोठालोको पेटबाट आन्द्रै झिकिदिएछ, आज बिहानै डोटीतिरको अर्को गोठालोको हातखुट्टा भाँचिदियो रे, आँखा पनि फुटेको छ रे । यतै आएर झम्ट्यो भने क्यार्नु । त्यसैले ढुङ्गामाथि बसेकी ।’

रमाउँदै, हाँस्दै हिँडिरहेका हामीहरूलाई एक्कासि समात्यो डरले । 

‘बौलाएर जङ्गल र पाटन दौडिरहेको राँगोले भेट्यो भने जखम नै बन्ने भो’ ज्यान । अनकन्टार ठाउँ छ, एक–दुई मान्छेको अनुहार देख्नै मुस्किल । राँगोले हानेर मारिहाल्यो भने बरु टन्टै साफ, अङ्गअङ्ग भाँचकुच पारेर थङ्थिलो छोडिदियो भने न हिँड्न सक्नु, न कसैले पुर्‍याउन सक्नु अस्पतालसम्म । खप्तड पुग्ने धोकोमा खँजाहा बनेर थन्कनुपर्ने भयो कि कसो ?’ आपसमा पिरलियौँ बेस्सरी ।

IMG_1536

‘बरु त्यस्तो नसुनाइदिएको भए पनि हुन्थ्यो दिदीले, जे पथ्र्यो सो टथ्र्यो, बेकारमा सुनाइदिइन् दिदीले ।’ हामीले एउटा निष्कर्ष निकाल्यौँ ।

बाटोमा हिँडिरहेका बेला खतरा आइपर्‍यो भनेर हिँडाइ रोक्न पनि भएन !

हिँडाइ चलिरह्यो, डर बढिरह्यो ।

जिन्दगी भनेकै जुध्नु हो खतरासँग र हिँड्नु हो जीवन रहेसम्म ।

श्वासश्वासमा ताप बढिरह्यो ।

‘एक्कासि बौलाहा राँगोले झम्टिहाल्यो भने लट्ठीले बेस्सरी हान्ने । वरिपरि ढुङ्गा वा रूख भेटिए हत्त र पत्त चढिहाल्ने,’ सूत्र सिकाए बलभद्र सिंह भाइले ।

‘केलाई बोकेर हिँडिरहनु फलफूल, केलाई झुन्ड्याइरहनु पानी ?’ कुन बेला राँगोको सिङमा उनिनुपर्ने हो । स्याउ, केरा र पानी पेटपेटमा हुल्यौँ हामीले ।

‘ट्वाङराङ... ट्वाङराङ... ट्वाङराङ...’ जङ्गल सकिने बेलामा परपर कतातिर हो घण्ट बजेको आवाज सुनियो ।

‘अब जङ्गल सकियो । अब पाटनहरू सुरु भए,’ बलभद्र भाइले भने । राम्रो पथप्रदर्शकको भूमिका निभाइरहेछन् भाइले । लेकमा वा पहाडमा त्यसरी गाई–भैँसीहरू बौलाउनु, मान्छेलाई हान्नु, मार्नु स्वाभाविक घटना भएको बताइरहेछन् बलभद्र भाइले । कैयौँचोटि भैँसीले हान्दा आफ्नो शरीरको छाला ताछेको आलुको बोक्रा जस्तो एकै ठाउँमा सोहोरिएको, कैयौँचोटि हातखुट्टा भाँचिएको कुरा बताए उनले ।

‘यी हेर्नुस् न, पन्ध्र वर्षअघि गाईले हानेर तीन कान्ला तल पुर्‍याइदिँदा भाँचिएको यो हात अहिलेसम्म बाङ्गाको बाङ्गै छ ।’ साँच्चै हलोजस्तो बाङ्गो रहेछ भाइको हात ।

‘जङ्गलमा हिँडेपछि दुई–चारवटा जनावरसँग नजुध्ने हो भने मान्छे खारिँदैन ।’ भाइको भनाइले हौसला र डर दुवै ताजा हुँदै छ ।

हरियो चौर छ, चौरभरि कलिलो घाँस सलबलाइरहेछ । बिचबिचमा ताराजस्ता बुच्काबुच्का छन्— राता, निला, पहेँला, कलेजी र हरिया फूलहरूको । मोडदार घाँसेमैदान । परपर कुनातिर लाम लागेर उभिरहेका देवदार र सल्लोका हरिया रूखहरू । ढिस्को परतिर कुलुलुकुलुलु बगिरहेको सानो नदी । वरिपरिको जमिनमा छिपछिपे पानी र त्यसैको प्रभावमा परपरसम्म फैलिएको घाँसको जवानी ।

जङ्गल छोडेपछि घाम पनि नाङ्गै उभिएको भेटियो त्यो पाटनमा ।

दुई भैँसी जुधिरहेछन्, एउटाको सिङ भाँचिएर रगताम्य छ, अर्काको सिङ भाँचिन ठिक्क परिरहेछ । रगतका धाराले भैँसीको निधार र भुइँ भिजिरहेछ । तैपनि जुध्न छाडेका छैनन् डाम्नाहरूले । जित–हारको प्रश्न उठेपछि मान्छे मात्र होइन जनावरमा पनि अचम्मको मात चढ्ने गर्छ । हामीले एउटा लडेको रूखको हाँगामा उभिएर तिनीहरूको लडाइँ हेरिरह्यौँ ।

‘कतै त्यसमध्येकै हो कि बहुलाएको राँगो ?’— एउटा डर भने जाग्राम भइरह्यो ।

अलि परको कुनातिर सोह्रवटा भैँसी र तीनवटा घोडाहरू एउटा लयमा चरिरहेछन् । सिर्सिर चलेको हावाले फिर्फिर हल्लाइरहेछ घाँसका घुमुर्केका टुप्पाहरूलाई ।

‘चुरोट छ भने देउ न,’ त्यहीँ भेटिएकी एउटी गोठालीले सोधिन् । उनीसँगै अर्की एउटी तरुनी पनि थिइन् । त्यो निर्जन पाटनमा ती दुई दिदीबहिनी भेट्दा पनि खुसीको लहर बढेको छ । उनीहरूमा पनि रोशनी थपिएझैँ लाग्दै छ ।

‘हामी चुरोट पिउँदैनौँ । तपाईंहरू पनि नपिउनुस्’— साथीले सम्झाउन खोज्नुभयो ।

‘पाटनमा बस्नु छ । आगो, धुवाँ, दही, दुध, मासु, जडीबुटी र पानीमै त रमाउनु छ नि । यिनै घोडा, गाई र भैँसी हाम्रा जहान । यही धुवाँ र आगोको आड–भरोसा ।’ नजिकै एउटा सुकेको मुडा धुवाइँरहेथ्यो । अलि पर पोलिथिनले ढाकिएको एउटा छाप्रो थियो ।

अछामतिरको गाउँबाट गोठालो गएका रहेछन् ती बहिनीहरू । चरनका लागि लैजाने गाई, भैँसी र गोठालाको विवरण दिएपछि शुल्क लिएर खप्तड राष्ट्रिय निकुञ्जले स्वीकृति पुर्जी दिने रहेछ । त्यो पुर्जी लिएपछि वैशाखदेखि असोजसम्म गाईवस्तु र गोठाला पाटनमै बिताउने रहेछन् । असोजदेखि चैतसम्म त खप्तडको जङ्गल र पाटन सबै हिमाम्य भइहाल्छ । हिउँले टोक्न थालेपछि को टिक्न सक्छ र पाटनहरूमा ।’ त्यताको जीवन दर्शाउन खोज्नुभयो हीरामती बहिनीले ।

IMG_1540

‘दुध दोह्यो, दही मथ्यो, घिउ लगेर बजारतिर बेच्यो, अन्नपानी ल्यायो, खायो । कहिलेकाहीँ तपाईंहरूजस्तै बटुवाहरू भेटे कुराकानी गर्‍यो । कहिलेकाहीँ महिनौँसम्म कोही मान्छे देखिँदैन । यिनै रूखबिरुवा, घाँसपात र जनावरसँग बात मार्‍यो । कहिले बाघ, भालु, बँदेल, चितुवा र ब्वाँसोसँग लड्यो भिड्यो । जसरी पनि काल पखर्ने त रहेछ जीवन भन्ने । दुई दिनको जिन्दगीमा केही न केही व्यथाले छोड्ने होइन,’ चुरोट माग्ने गोठालीले लामै फलाको हालिन् ।

दिदीजस्तो लागेको थियो, बहिनी पो रहिछिन् तिनी त । अस्ति फागुनबाट बत्तीस लागेँ भनेको सुन्दा हाम्रो अड्कल व्यर्थ भयो । हामीले त साठी–बैसट्ठीकी ठानेका थियौँ उनलाई । हप्तौँदेखि नकोरेको जस्तो जिङ्रिङ्ग कपाल, महिनौँदेखि ननुहाएजस्तो शरीर, किनेदेखि नै नधोएजस्तो लत्ताकपडा, थाकेकाजस्ता गहिरा आँखा, मानसिक असन्तुलनजस्तो बकबक बकबकाइरहने बोली— त्यस्तै थियो ती बहिनीको अवस्था । तिनको मुस्कान कसैले खोसेजस्तो लाग्दैनथ्यो ।

‘घर, परिवार त ?’ मान्छे भेटेपछि कथा खोतल्ने बानी छ मेरो र साथीको पनि ।

‘चार गाह्रोभित्र मान्छे बस्दैमा घरपरिवार हुने नाइँ ।’ बगेको धमिलो नदी भइन् हीरामती बहिनी ।

‘मान्छे भेटेपछि कहिलेकाहीँ अलिअलि दन्तबजान त भइहाल्छ नि । मान्छे नै नभेट्ने हो भने कहाँ टेकाउला र मनलाई मान्छेले ।’ उज्यालो कोट्याउने प्रयास थियो मेरो ।

‘खासमा के भयो घरमा ? सासूससुराले सहेनन् ? लोग्ने अरूसँगै लाथे ? कि जुवातास खेले, रक्सी धोके ? वा जनयुद्धमा होमिनुपर्‍यो घरबार छोडेर ? कि खान–लाउनै पाएनन् ? वा चोर–फटाहा बनेर निस्किए छोराछोरी ? सम्भावित प्रश्न सबै ओइराएँ एकैपटक ।

‘अनि, किन त तपाईं उदास ? किन बनिरहेछ तपाईं र तपाईंजस्ता गोठालीहरूको ज्यान सुकेको बाँझको ठुटोजस्तो ? मलाई त लाग्छ, पाटनभरि रङ्गीविरङ्गी फूलहरूले ढाकिएका प्रकृतिका हरिया गलैँचाहरू टेक्दै हिँडिरहने, जडीबुटीकै तिहुन र जडीबुटीकै खाजा खाने, संसारमै सबैभन्दा सुन्दरसँग फुलेका फूलहरू छानीछानी कपालमा सिउरिँदै हिँड्न पाउने तपाईंहरूजस्ता दिदीबहिनी यतैका डाँफे, मुनाल र अरू चरीहरूझैँ फुर्फुरिँदै हिँड्नुपर्ने, तर त्यस्तो कुनै गोठालागोठालीमा देखिन मैले । अरू छोड्नुस्, किन सलबलाइरहेछन् औँसीका रेखाहरू तपाईंको अनुहारमा ?’ कमलो घाँसमाथि पल्टिएँ म ।

‘म मान्छेभन्दा धेरै दुःख नै दुःखको पहाड हुँ ।’ दुःखको थैली फुकाल्न थाल्नुभयो बहिनीले ।

जन्मेको दुई वर्षमा मलाई छाडेर आमा अर्कैसँग हिँडिछन् । त्यसको ६ महिनामा बाउले पनि मलाई छाप्रीमै छाडेर काठमाडौँतिर हिँडेछन् । रोइरहेकी मलाई राति छिमेकी आमाले उनको घर लगिछिन् । उनैले ख्वाइपियाइ हुर्काइछिन् । सधैँँ गोठालो जान्थेँ । गोठालोमा केटाहरू पनि र केटीहरू पनि हुन्थे । देउडा गाइन्थ्यो, नाचिन्थ्यो । म अरूभन्दा अलि बढी नै सक्थेँ नाच्न–गाउन । अर्को गाउँको कालीबहादुर थापाले अलि बढी नै माया गथ्र्यो मलाई । गोठालो जाँदा मकै, भटमास दिन्थ्यो; हराएका गाईवस्तु खोज्न मद्दत गथ्र्यो । एक दिन उसकै साथी दलसिंहले मलाई भागुँ भन्यो । मैले कालीबहादुरलाई भनिदिएँ । कालीबहादुरले दलसिंहलाई मुक्कैमुक्काले हान्यो, मेरो मान्छेलाई आँखा लगाउने भनेर निकैबेर झगडा गरिरह्यो । मैले सम्झाएपछि मान्यो पनि ।

ऊ गएको चार महिनामा छोरी जन्मी । जन्मेदेखि नै खिनौरी थिई, सधैँ बान्ता गरिरहन्थी, सधैँ झाडापखाला लागिरहन्थ्यो । मेरो दुध त्यति आउँदैनथ्यो । ऊ अरू केही खान–पिउन मान्दिनथी । धामी देखाएँ, लागुभागु छ भन्यो । कुखुरा चढाएँ, बोका चढाएँ, व्यथा घटेन झन् बढ्यो ।

हामी दुई भागौँ— भोलिपल्ट भेट हुनेबित्तिकै कालीबहादुरले भन्यो ।

कहाँ भाग्ने, म त घर लाने भए मात्र जान्छु, अन्त जान्नँ— मैले भनेँ ।

अर्को दिन कालीबहादुरले उसको घर लग्यो । उसका बाबुआमा र गाउँलेले पनि मलाई बुहारी माने । भेडो काटेको थियो । सबैले भेडाको मासुको झोलसँग चामलको भात खाए । कालीबहादुरकहाँ अन्न नभएकाले गाउँकै पसलबाट चामल उधारो ल्याएको रहेछ ।

बिहे भएको एघार महिनामा कालीबहादुर कालीपार गयो । केही कमाएर ल्याउँछु । तँ पनि दोजिया छेस्— उसले हिँड्ने बेलामा सम्झाएथ्यो ।

ऊ गएको चार महिनामा छोरी जन्मी । जन्मेदेखि नै खिनौरी थिई, सधैँँ बान्ता गरिरहन्थी, सधैँँ झाडापखाला लागिरहन्थ्यो । मेरो दुध त्यति आउँदैनथ्यो । ऊ अरू केही खान–पिउन मान्दिनथी । धामी देखाएँ, लागुभागु छ भन्यो । कुखुरा चढाएँ, बोका चढाएँ, व्यथा घटेन झन् बढ्यो । हेल्थपोस्टमा देखाएँ । औषधि किन्ने पैसै भएन । आखिर बाउले नदेख्दै र बाउको अनुहार नै नदेख्दै ऊ पनि जन्मेको नौ महिनामै मरी । नौ महिनामै बित्नु थियो भने किन नौ महिना मेरो पेटमा बसेकी होली, किन नौ महिना मेरो माया बनेर बाँचेकी होली— कहिलेकहीँ आँसुसँगै सोध्छु यी कुरा पनि ।

छोरी बितेको वर्षदिन नपुग्दै सासू भिरबाट खसेर मरिन् । ससुरा हिँड्दाहिँड्दै गाउँमै एक्कासि ढलेछन् र मरे । फेरि एक्ली बनेँ म घरमा । कहिलेकाहीँ कालीबहादुरको चिठी पाउँदा उसैलाई भेटेझैँ लाग्थ्यो । चिठीमा ऊ आइहाल्ने कुरा लेख्थ्यो, तर गएको नौ वर्षपछि मात्र फक्र्यो ऊ । ऊ फर्केको साँझ सूर्य नै सूर्य खोकिलामा च्यापेझैँ खुसी भएँ म । जून नै जूनको साथमा रहेझैँ हासिरहेँ म ।

तर त्यो खुसी धेरैबेर टिकेन ।

मैले म्वाइँ खान खोजेँ । उसले हुँदैन भन्यो । मैले उसको हातपाखुरा, छाती, पिठ्युँ र जिउ छाम्न खोजेँ, ऊ झन्झन् टाढा तर्कियो । किन यस्तो ? म रोएँ, बेस्सरी रोइरहेँ । उसले भन्यो— मैले धनसम्पत्ति होइन, एड्स बोकेर आएको छु । त्यसको फन्दामा म तँलाई पार्न चाहन्नँ । 

ऊ पनि बेस्सरी रोयो ।

मसँग त रुने आँसु नै निख्रिसकेको थियो ।

कहिल्यै नसिद्धिने कोसेली लिएर घर फर्केको तीन वर्षमा ऊ पनि कहिल्यै नफर्कने गरेर बित्यो । कहिलेकाहीँ त म पनि किन यो टन्टा बोकेर बाँचिरहुँजस्तो लाग्छ । सधैँँ मेलापात, सधैँँ भारी बोकाइ, सधैँँ नुन–तेल र एक माना अन्नको अभाव । सधैँँ दुखिरहेको र घाउ लागिरहेको जिउको भार— सबै एकैपटक बिसाइदिउँ जस्तो पनि लाग्छ । के गर्नु यी गाईभैँसीलाई भिरबाट खसाइदिनु पनि भएन, जिउँदै आगो लगाइदिनु पनि भएन । बिचरा यी पशु त बाँचेकै छन् र पाटनपाटन चहारेका छन् भने मचाहिँ त्यसै मर्नु पनि भएन । 

लामो सुस्केरा छाडिन् बहिनीले र भनिन्, ‘बाँच्ने केका लागि ? प्रश्न सधैँँ आइरहन्छ मनमा । जवाफ पाउन्न कसैबाट ।’ 

बहिनीका तापहरू सुन्नुबाहेक केही गर्न सकेनौँ हामीले । केही समाधान गर्न नसके पनि किन खोतल्छ मान्छेले मान्छेका कुरा । एउटा असह्य पीडाले कोपरिरहन्छ ।

‘आया हो, आया हो, होस गरेर बस,’ पाटनको उत्तरपश्चिमपट्टिको जङ्गलबाट एउटा आवाज सुनियो ।

‘के आया हो ? बौलाएको राँगो आयो कि कसो ?’ मित्रले सोध्नुभयो । हामी झस्कियौँ ।

‘नाङ्गो घाँसेमैदानबाहेक केही छैन । राँगोले भेटिहाल्यो भने त आन्द्राभुँडी निस्किने भो,’ आँखा, नाक, कान कुच्चिने भो, कत्ति गरेर जोगाएर यहाँसम्म ल्याएको ज्यान अकालमै खुस्किने भो,’ हामी रनभुल्ल पर्‍यौँ ।

‘यहाँ डराएर केही हुँदैन । न लुक्ने घर छ, न त छेक्ने ढुङ्गामुढा । बहुलाएको राँगोको के कुरा; बाघ, भालु नै आइहाले पनि सामना गर्नैपर्‍यो । फेरि सिपाहीहरूले त्यो राँगो मार्न खोज्दै हिँडेका भन्ने सुनेकी छु,’ हीरामतीका कुराले हाम्रो हिँडाइलाई थप गति दियो । जङ्गलजङ्गल चहारी हिँड्ने घरबारविहीन चरा र हामी उस्तैउस्तै भएका छौँ । केही अप्रिय घटना घटे न लुक्ने ठाउँ छ न त समाउने सहारा ।

पाटनबिचको बाटोमा आठ पाइला चले, चलिरहे । दायाँतिर बगिरहेछ कञ्चन पानी बोकेको एउटा सानो नदी ।

ओहो ! कति सुन्दर छन् पाटनहरू । जताततै हरियो लेपन गरेजस्तो कलिलो घाँसको लय छ । जताततै घाँसभन्दा अग्लिएर फुलेका फूलहरूको अलौकिक रूप र लावण्य छ । सुगन्ध छ, असीम रङ्ग छ, प्रकृतिको विराट् बगैँचा छ । 

मान्छेहरूको उपस्थिति भने कम छ त्यतातिर । घण्टौँ हिँड्दा पनि मान्छेहरू भेट्न मुस्किल छ । अलिअलि गोठालाहरू र झुन्डझुन्ड चरिरहेका गाई, भैँसी, घोडा र भेडाहरू नदेखिने हो भने मान्छे सौन्दर्यबाटै आत्तिन्थ्यो होला सायद । एकान्त सौन्दर्यको पनि के अर्थ ? नदेखेको र नभेटेको सौन्दर्य र मायाको पनि के अर्थ ? हुन त मान्छे नै मान्छेको गन्जागोल हुँदो हो त यी पाटनका उम्रँदै गरेका कोमल घाँसहरू माडिन्थे होलान्, मान्छेले कल्पनै गर्न नसकेका मायालु रूपरङ्गका फूलका पत्रपत्र थिलथिलो पारिन्थे होलान् वा उम्रनै नपाई किचिमिची पारिन्थे होलान् । प्राकृतिक सौन्दर्य त हेर्न मात्र रहेछ मान्छेलाई, अलि बढी गर्ने हो भने त प्रकृतिबाट सिकेर समृद्ध संस्कृति बनाउनुपर्ने रहेछ मान्छेले ।

अलिअलि उठेका, अलिअलि भिरालिएका, समथर बन्न खोज्दाखोज्दै बिस्तारै मसिनो उचाइ लिएका हरित साम्राज्यका पाटनहरूमा चलिरहेको मन्द हावाले मनलाई ताजा पारिरहेछ । हिँड्दाहिँड्दै उब्जेको थकाइ पनि बिलाउँछ त्यतै कतै । पाटनका परपरका किनारहरूमा उभिएका देवदार, खस्रु र धुपीका बोटहरूको कम्पनले मिठो तरङ्ग फैलाइरहन्छ मनसम्म । कहिले निक्खरा हरियो, कहिले सर्वाङ्ग सेतो, कहिले फूलैफूलको राजधानी हो खप्तड ।’ खप्तड पाटन चिनाउन खोजे बलभद्र भाइले । अहिले पो घाँसेकम्पन छ यी पाटनहरूमा । असोजदेखि पाँच–छ फिट हिउँले पुरिन्छन् । त्यतिखेर हिउँलाई जित्न सक्ने जनावरहरू र चराहरूबाहेक कोही टिक्न सक्तैन,’ थपे भाइले ।

‘ट्वाङराङ... ट्वाङ्राङ... ट्वाङ्राङ...’ फेरि घन्टीको मिठो धुन । हामी ओरालो झरिरहेथ्यौँ । त्यहीँ रहेछन् एक हुल भैँसी र घोडाहरू । उनीहरूकै गलामा झुन्ड्याइएको घन्टीको आवाज फैलेको रहेछ परपरसम्म । चराहरूको तिखो र मधुर आवाजले काउकुती लगाइरहेछ मनको कुनाकुनासम्म । गीत गाउँदै हुइँकेर हिँडिरहने हावाले भने थुमथुम्याइरहन्छ हाम्रो गतिलाई । 

पाटनमै उत्तानो परेर सुत्छौँ हामी । हरियो घाँसेगलैँचा गलैँचामाथि जिउँदा फूलका कोलाजहरू, विशाल घाँसेमैदानमाथिको कोलाजमाथि हामी चुलबुले कोलाज सुतेका छौँ लमतन्न । हामीमाथि शालीन ढङ्गले सुतिरहेछ नीलो आकाश । ठिक त्यसै बेला परतिरबाट बिस्तारै आउँछन् कुहिरोका भुल्काहरू । हामीलाई छुन्छन्, जिस्क्याउँछन्, मस्किन्छन् र फेरि अलि परसम्म गएर बिलाउँछन् । मान्छेको यात्रा र कुहिरोको यात्रा उस्तैउस्तै छ । फुत्त निस्कन्छ एक ठाउँबाट, सिनित्त सकिन्छ अर्को ठाउँबाट । देखिन्छ, दौडन्छ र फेरि हराइदिन्छ हावाकै रङ्गमा ।

‘ऊ त्यहीँनेर हो सिपाही स्वाहा भएका,’ अलि पर अग्लो ढुङ्गा देखाउनुभयो बलभद्र भाइले ।

६ सिपाही झिँग्रानाबाट छिरिपाटन खप्तड ब्यारेकमा जाँदै रहेछन्, बरफ बर्सने बेला थियो । बिचपानीबाट झरेपछि हिमपात झन् चर्को भएछ । खुला आकाश छ, खुला धर्ती छ । ओत लाग्ने ठाउँ कतै छैन । हिउँ झन् बढी फुसफुसाउन थाल्यो । बाटोहरू पुरिए चौर, खोच, खोल्सी सबै समथर बने । सिपाहीहरू पाटनमा दौडिए तर छेकिने र बच्ने ठाउँ कतै भेटेनन् । आखिर त्यही ढुङ्गामा छेकिन खोजे । ठिङ्ग उभिएको ढुङ्गाले के छेक्न सक्थ्यो र हिउँको बबन्डरलाई । महिनौँपछि हिउँ पग्लँदै गयो । त्यही ढुङ्गामुन्तिर अँगालो हालेर ठिङ्ग उभिरहेका छ सिपाहीको मृत शरीर भेटियो । 

मृत्युको त्यो बीभत्स कहानी सुन्दा हाम्रो शरीर पनि सिरिङ्ग भयो । आखिर मृत्युको विशाल पौजाहरूभित्र फसिरहेका बेला कति नमिठो हुँदो हो जीवनको अर्थ । मार्न ठिक्क पारिरहेका बेला बिरालोले खेलाइरहेको मुसा सम्झनामा आयो मेरो ।

हिउँ पर्ने बेलामा खप्तड छाम्ने सुर हो भने होसपूर्वक जुटाउनुपर्ने रहेछ खजाना ।

बेहोसी यात्राले कतिबेर लाग्दैन जीवन सिनित्त बढार्न ।

चारैतिर मृत्युका प्रलापहरू फैलिरहेका बेला मोड्नु नै बेस जीवनलाई फरक दिशामा ।

‘पहिलो पाटन सकियो । अब हल्का उकालो र जङ्गल एकैपटक आउँछ । त्यसपछि खप्तड नपुगेसम्म नै पाटन नै पाटन । हजुरहरू दायाँतिर उकालोउकालो चढ्नुस् म भने यतातिर लागेँ,’ बलभद्र भाइ बायाँतिर समथर भागतिर छुट्टिए । उनको घर बझाङ पुग्न त्यताबाट जान पर्ने रहेछ । यात्रामा साथ दिएकोमा भाइलाई धन्यवाद दियौँ । बाटामा खानु भनेर स्याउ, केरा र एक प्याकेट विकानेर दालमोठ पनि दियौँ ।

IMG_1550

‘यो जङ्गल सकिएपछि त पाटन नै पाटनको यात्रा हो तपाईंहरू बेस्सरी रमाउनुहुन्छ होला । तपाईंहरू बाउन्न धोती त्रिपन्न पाटनमा हिँड्ने मौका पाइरहनुभएको छ । बाउन्न धोती त्रिपन्न पाटनको क्षेत्र भनेकै खप्तड क्षेत्र हो नि,’ अलि परैबाट कौलासे बलभद्र भाइले । यो यात्राको पनि पुस्तक लेख्ने कुरा थाहा पाएपछि झन् खुसी भएथे, बलभद्र भाइ ।

बलभद्र भाइ र हामी छुट्टिएको ठाउँलाई भुजेर भनिँदो रहेछ ।

मैले म्वाइँ खान खोजेँ । उसले हुँदैन भन्यो । मैले उसको हातपाखुरा, छाती, पिठ्युँ र जिउ छाम्न खोजेँ, ऊ झन्झन् टाढा तर्कियो । किन यस्तो ? म रोएँ, बेस्सरी रोइरहेँ । उसले भन्यो— मैले धनसम्पत्ति होइन, एड्स बोकेर आएको छु । त्यसको फन्दामा म तँलाई पार्न चाहन्नँ ।

झाँक्रा फिँजेका रूखहरू छन् । टुप्पादेखि फेदसम्म झ्याउका झाँक्रा । हिउँले हाँगाहरू खाएर टुप्पा मात्र रहेका रूखहरू छन् । कैयौँ वर्ष कठोर हिउँहरू खपेर त्यति ठुलो रूपमा उभिन सक्नु पनि कम हिम्मत होइन रूखहरूको ।

‘ओहो, यतातिर त रूखले पनि ज्याकेट लगाउँदा रहेछन्,’ अघिअघि लाग्ने साथीको कल्पना मिठो ।

‘ज्याकेट मात्र होइन, रौँदार रहेछन् रूखहरू, हेर्नुस् न, कति राम्रा आहा । कोरीबाटी चट्ट कपाल, लाली ओठैमा, जिन्दगीभरी एउटै कदम धुपी बोटैमा,’ बिचमा हिँड्ने साथीको कल्पना अर्को ।

देवदारका बडेमानका दुई रूखका हाँगाहरू छन्, पातहरू एउटै मात्र पनि छैनन् । पहेँलो र हरियो झ्याउदार ज्याकेट पहिरेर हिउँभालुझैँ देखिएको छ रूख । हाँगाहाँगा जोडिएका दुई रूखहरू अष्टावक्र मात्र होइन अष्टादश वक्रभन्दा बढी देखिन्छ । कहिलेकहीँ सुलुत्त पर्नुभन्दा बाङ्गिनु पनि सुन्दर हुने रहेछ, सीधा हुनुभन्दा घुमाउरो हुनु पनि आनन्ददायी हुने रहेछ । अमूर्त कलाले भरिपूर्ण देखिन्छ जोल्ठिएका ती रूखहरू । माथितिरबाट केही बाँदरहरू फालहाल्न खोजिरहेछन् । तलतिर केही बाख्राहरू निमग्न चरिरहेछन् । दुई सुन्दरी गोठालो लागेका छन् ती बाख्राहरूको । केही मान्छेहरू कुस्ती खेल्न लागिरहेछन् । उत्तरतिर घाम फैलिएको छ बादल फोरेर । केही बालकहरू घाम समात्न तँछाडमछाड गरिरहेछन् । कैयौँ सम्भावना देखिन्छन् त्यो अमूर्त कलामा । अमूर्तता उठान हो हरेक विषयको, मूर्तताले रोक्न खोज्छ बाटोलाई ।

घाँऽऽ घाँऽऽ घाँऽऽ घाँऽऽ— हिमाली कागहरूको धोत्रो स्वरले ठुलै कोलाहल सुनियो जङ्गलको उकालो सकिएर दायाँतिर मोडिएपछि । हजारौँ कागहरू चिच्याइरहेछन्, मानौँ, ठुलै विपत्ति भइरहेछ । डढेलोले खाएका बाह्र–पन्ध्र रूखहरू चुपचाप उभिएका छन् । पातहरू नभएपछि न हावासँग हल्लिनु, न सुसेल्नु हावासँगै मिसिएर । नजिकै गन्हाइरहेको रहेछ एउटा कुहिएको जनावरको शरीर । सायद त्यो पनि पर्‍यो होला डढेलोको लपेटामा । डढेलोले खाएका रूखहरू र कुहिएको शरीर छामेर पनि गन्तव्य खोज्नैपर्ने रहेछ जिन्दगीले । जिन्दगीको गन्तव्यसामु गौण हुन्छन् हरेक घिन, लाज, डर, पिर र बिग्रेका बाटाहरू ।

अर्कोपटक आउँदा यहीँ हुर्केका हुनेछन् देवदार र खस्रुका चिल्ला रूखहरू । यहीँ सुसेलिरहेका हुनेछन् हावा र चराहरूले जीवनगान । यहीँ सिँगौरी खेलिरहेको हुनेछ चिल्लो र चङ्ख आँखाधारी मृगले,’ डँढेलोले खाएको जङ्गलभित्र उदास बनेको साथीहरूको मन मोडेँ मैले उज्यालोतिर ।

‘तर अर्कोपटक आइन्न, कहिले ?’— अनिश्चय खोतल्नुभयो मित्रले । 

‘ज्वाइँराजा नमरी बाँचे कालले साँचे आउँला कुनै दिन,’ निश्चय पार्न खोजेँ मैले ।

‘यसपालि आउन त यो महाभारत अर्कोपटक आउने कुरा । हर्रो नपाउँदो जाइफल धाउँदो भनेजस्तो,’ मुख चेप्य्राउनुभयो अघिल्तिरबाट अर्काले ।

IMG_1573

एक घण्टाको जङ्गलको यात्रापछि अब फेरि पाटनहरू सुरु भए, जतासुकै पाटन । जतासुकै पाटनभरि तरबर्र फूलहरू ढकमक्क फक्रेका छन् । पाटनहरू ढकमक्क ताराहरूले ढाकिएको आकाशजस्ता छन्, छरपस्ट फूलहरू फक्रेका तलाउजस्ता छन्, अथवा छन् लाखौँ फूलबुट्टाहरूले भरिएको मिहीन मजेत्रोजस्तो । कहिले उत्तरबाट, कहिले पश्चिमबाट आएको हावाले बिस्तारै मुसार्दा ती फूलहरूमा पैदा भएको स्पन्दनले हाम्रो मुटु र मस्तिष्कलाई मिठो काउकुती लगाइरहेछ । सहरतिरको क्यालेन्डरमा ग्रीष्म ऋतु लेखिएको छ, जेठ महिनालाई तर त्यतातिर ग्रीष्मको कुनै रूप रङ र आभास छैन । कठोर उष्णता, बहुलाहा धुलो र बेपरवाहको हुरीबतास— त्यतातिर त्यस्तो कुनै सङ्केत छैन । ग्रीष्मऋतुमा पनि त्यो शीतल मनोरमता बयान गरेर साध्य छैन ।

सुनपातीहरू सलबलाइरहेछन् । पाँचऔँलेहरू चलमलाइरहेछन् । फर्रर फक्रेका बुकीहरूले हल्लाइदिन्छन् मनलाई । नीलरूपाको नखरा अर्कै छ । बेस्सरी इत्तरिरहेछन् इन्द्रेणीमालाका अङ्गहरू । अरू लाखौँ फूलहरूको नामै थाहा छैन हामीलाई । हामीले पहिले देख्दै नदेखेका हजारौँ किसिमका फूलहरूको फक्राइमा परेपछि मेरो जिन्दगीभरि मनमा लागेका घाउहरू एकैपटक स्वात्तसुत्तै हराए । फूलैफूलको यति ठुुलो प्राकृतिक बगैँचा पहिलोपटक देखिरहेछौँ हामी । वारिपारि, उकालो, ओरालो, समथर, गहिरो जतासुकै गाँजिएका छन् रङरङका फूलहरू । ती सबै फूलहरू टिपेर सिउरिइदिऊँझैँ लाग्छ प्रकृतिलाई अथवा ढकमक्क ढाकिदिउँजस्तो लाग्छ उनको सुगन्धी शरीरलाई । म जति हेर्छु, उनी त्यति फूल फक्रिरहन्छिन्, उनी जति हेर्छिन् म त्यति रङ फिजाइरहन्छु । हाम्रो मायाको सुगन्ध बिस्तारै सुँघ्दै वारिपारि उडिरहेछन् रङ्गीन चराहरू ।

‘आयो, आयो, ठोक्, मार्’— एक्कासि ठुलोठुलो स्वरमा कराएको सुनियो । भिरबाट खुर्मुरिँदै हामी भएतिरै झरे, नौ–दस ध्वाँसेभैँसीहरू । ढुङ्गाले हानिरहेछन् गोठालाहरूले । हामी खोँचमा छौँ । भैँसीको सिङले आन्द्रा उछिट्टिने हो कि ! गोठालाले प्रहार गरेका ढुङ्गाहरूले भत्किने हुन् कञ्चटहरू ! न बहुलाएको राँगो पो मिसिएको छ भैँसीको त्यही बथानमा । हामी सबैको जिउ थरर्र काम्यो ।

‘यता चढौँ यता,’ मित्रले औँल्याउनुभएपछि बल्लतल्ल ढिस्कोमा उक्लियौँ र ज्यान जोगायौँ । बाटामै भएको भए किचिमिची पार्थे होलान् डाम्नाहरूले । तिनीहरू ढुङ्गा खसेझैँ भिरतिरबाट आए र बुर्कुसी मारे तलतिर ।

‘त्यसरी पनि धपाउने हो भैँसीलाई । हामीलाई कुल्चेर राइफाँडो पारेको भए,’ गोठालासँग झर्कनुभयो मित्र ।

‘लेकमा कुन बाटो कुन भिर, जङ्गलमा आएपछि आफ्नो ज्यान आफैँ बचाउनुपर्छ जनावरसँग । रिसाएर हुन्छ ? कुल्चेर ज्यान गएको भए बगाइहाल्थ्यो नि खप्तड खोलाले,’ हलल्ल हाँसे गोठालाहरू । हाम्रो रिस पनि एकाएक हाँसोमा परिणत भयो । रुँदारुँदै हाँसेको बच्चाजस्तो ।

IMG_1582

‘साँच्ची त्यो बहुलाएको भनेको राँगो कता होला हँ, भैँसीको छाया देखे पनि त्यही राँगो हो कि भनेर मुटु काम्छ हाम्रो त !’ अर्को मित्रले हाम्रो डर निकाल्नुभयो ।

‘ए त्यो राँगो त आज बिहानै तिहुन भइसक्यो, धेरैको । हिजो साँझै छिरिपाटनमा गोली हानेर मारे सिपाहीहरूले । दुई–चार दिन त हामी गोठालालाई पनि त्यो डाँगोले मार्ने हो कि भन्ने पिरलो परिरह्यो । चार दिनमा नौ जनालाई घाइते पनि बनायो त्यसले । तीनजना त बाँच्दैनन् भन्छन्,’ गोठालाहरू पनि खुसी देखिए ।

‘ए त्यो राँगो मारिएछ,’ पिठ्युँका झोला चौरतिर हुत्याउँदै पूरै शरीर छाडेर पल्टियौँ हामी फूलबुट्टे पाटनमा । गोठालाहरूचाहिँ टुक्रुक्क बसे ढुङ्गाढुङ्गामा ।

अलि तलतिर पश्चिमपट्टि देखियो समयसँग बगिरहेको खप्तड नदी । नदी सुन्दर मात्र छैन, बुद्धिमत्तापूर्वक आफ्नै नियममा बगिरहेछ । ऊ सधैँँ नयाँ खोज्छ । ऊ पुरुष पनि होइन, नारी पनि होइन, कालो पनि होइन, गोरो पनि होइन, उसको जात पनि छैन, ऊ कुनै धर्ममा विभाजित छैन, एउटै धर्म पालना गर्छ ऊ बग्ने, भेटेसम्मलाई तिर्खा मेटाइदिने र हरेक बगाइमा सग्लिँदै जाने । हामी मान्छेहरूले कहिले सकौँला ख्वै नदी बन्न ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. दामोदर पुडासैनी ‘किशोर’
डा. दामोदर पुडासैनी ‘किशोर’
लेखकबाट थप