बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

खेलकुद मन्त्री विवादको भुमरीमा, कार्यक्षेत्रको समेत छैन ज्ञान

आइतबार, १८ साउन २०८२, ०९ : ०२
आइतबार, १८ साउन २०८२

सारांश

  • नेपाली खेलकुद मन्त्रीको कार्यकाल विवादित बनेको छ, जसमा खेल संघहरूबीचको विवाद र ओलम्पिक कमिटीसँगको असमझदारी प्रमुख छन्।
  • मन्त्रीले राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा आफ्नो विद्यालयकी प्रिन्सिपललाई नियुक्त गरेको र एसियाली खेलकुदमा सहभागिताको विषयमा पनि विवाद सिर्जना गरेका छन्।
  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न पटक-पटक मिति तोक्दा पनि असफल हुनु, र खेल नीतिमा एकलौटी निर्णय गरेको आरोप मन्त्रीलाई लागेको छ।

काठमाडौँ । नेपाली खेलकुदले पछिल्लो समय पाइरहेको सफलतालाई कम आँक्न सकिँदैन । खासगरी महिला फुटबल र महिला क्रिकेटका कारण नेपाली खेलकुद चम्किएको छ ।  

तर विडम्बना ! खेलकुद र खेलाडीको भावना बुझ्न सक्ने नेतृत्वलाई नहुँदा निकै ठुलो समस्या देखिएको छ । 

खेल संघ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) देखि मन्त्रालयसम्मकै नेतृत्व नै खेलकुद संघबिच विवाद ल्याउन, ओलम्पिक कमिटी र राखेपलाई आफ्नो हातमा लिएर चलाउन खोज्नेजस्ता हर्कत देखिन थालेका छन् । 

यस्तोमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको कार्यकाल निकै विवादित बनिरहेको छ । खेल र खेलाडीभन्दा खेल संघलाई आपसमा जुधाउने, ओलम्पिक कमिटीलाई अन्योलमा राख्ने, अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी हुने बाटो असहज बनाउने पक्षमा उनको मन्त्रालय लागिपरेको छ । 

त्यसको पछिल्लो उदाहरण हो, एसियन गेम्समा ओलम्पिक कमिटीले पठाएका खेलहरूको बेवास्ता गर्दै मन्त्रालयको मातहतमा सहभागी हुने खेलको लिस्ट पठाउनु । यता रातारात प्रधानमन्त्रीसँग भेटेर नयाँ खेल संघहरू दर्ता गर्नेजस्ता कार्यहरू दोहोर्‍याउनुले पनि खेलकुदमन्त्री विवादित मात्र होइनन्, असक्षम र असफल नै सावित भइसकेका देखाउँछ । 

उनले गर्ने भाषणमै खेलकुद क्षेत्रबारे ज्ञान नहुने त धेरै पटक पुष्टि भइसकेको छ ।  

  • खेलकुद मन्त्री विवाद र असफलतामा परेका प्रसङ्गहरू

तीन पटक मिति तय गरेर पनि दशौँ राष्ट्रिय खेलकुद गर्न नसक्नु

10th national game 3 pathak miti paribartan

वर्तमान नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकार आएपछि खेलकुद मन्त्रीको जिम्मेवारी तेजुलाल चौधरीले पाए । उनी पदमा नियुक्त भएसँगै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै गराउनुपर्ने मुख्य चुनौती थियो ।

उनले पनि पटक–पटक आफ्नो मुख्य लक्ष्य भनेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै गर्नुपर्ने बताइरहे । २०८१ साल मंसिर २ गते देखि ९ गतेसम्म हुने भनिएको दशौँ खेलकुद चैत २३ देखि ३० सम्मका लागि सारियो । र पनि उनले जसरी पनि प्रतियोगिता गर्ने बताइरहे । 

पछि समयमै तयारी हुन नसकेको भन्दै जेठ ३ देखि १० गतेसम्मका लागि खेलकुदको मिति तय भयो । तेस्रो पटक मिति तय हुँदा खेलकुद मन्त्री चौधरीले त प्रतियोगिताको सचिवालय नै स्थापना गरिसकेका थिए ।

भर्खरै मात्र बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दशौँ राष्ट्रिय खेलकुद यथाशीघ्र गर्ने माहोल मिलाउनू’ भनेपछि पुनः मन्त्री चौधरी प्रतियोगिताको तयारीमा लागेका थिए । 

ओलम्पिक कमिटीको निर्वाचन रोक्न असफल प्रयास

olympic commite sangha bibadh

गत पुस महिनामा ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ तेस्रो कार्यकालका लागि निर्वाचित भए । आफ्नो गुटको संघहरूको सहायताले विधान संशोधन गरेर उनी तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न सफल भए । तर, यो कार्यकालका लागि खेलकुदमन्त्री चौधरीले निर्वाचन रोक्न पत्र नै पठाए ।

पत्र मात्र होइन, उनले निर्वाचन हुने दिन प्रहरीलाई नै निर्वाचनस्थलमा पठाए । त्यसो त खेलकुद मन्त्री मात्र होइन, सर्वोच्च अदालतले पनि केही खेल संघलाई निर्वाचनमा सहभागी नहुन निर्देशन दिएको थियो ।

तर श्रेष्ठ अनलाइनमार्फत निर्वाचन गराउँदै तेस्रो पटक अध्यक्ष बने । र खेलकुद मन्त्री चौधरी हालसम्म पनि यसलाई ‘अवैधानिक ओलम्पिक कमिटी’ भन्दै बसेका छन् । पाटन उच्च अदालतमा परेको निवेदनमा भने ओलम्पिक कमिटीको नयाँ कार्यसमितिलाई वैधानिकता दिने या नदिने भन्ने विषयमा निर्णय भएको छैन ।

आफ्नै स्कुलकी प्रिन्सिपललाई बोर्ड सदस्य 

afnai principal borard sadasya niukta

खेलकुद मन्त्री तेजुलाल चौधरीले आफैँ सञ्चालक रहेको नाइटिंगेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त गरे । त्यसपछि उनी विवादमा तानिएका थिए । उनले सुरुवातमा प्रधानसहित आफ्नो सचिवालयमा रहेका व्यक्तिहरूलाई नियुक्त गर्न लाग्दा विवादमा परेका थिए ।

आफ्नो सचिवालयमा कार्यरत लालबहादुर जीसी, रञ्जना प्रधान, दिनेश व्यञ्जनकार, रामचन्द्र श्रेष्ठ, प्रतिमा चौधरी, विनोद चन्द र चन्द्रप्रसाद चौधरीको नाम सिफारिस गरेको सार्वजनिक भएको थियो । त्यसपछि उनी आफ्नो नियुक्ति थाती राख्दै नयाँ बोर्ड सदस्यलाई सिफारिस गर्ने तर्फ लागेका थिए ।

कार्यक्षेत्र नजान्दा ओलम्पिक कमिटीसँग विवाद

विश्व ओलम्पिक कमिटी (आईओसी) ले चिन्ने एक मात्र निकाय भनेको नेपाल ओलम्पिक कमिटी हो, जसको अधिकार ओलम्पिक कमिटीसँग मात्र सीमित हुन्छ । राज्य र राखेपले हस्तक्षेप गर्ने केही अधिकार हुन्छ, तर त्यसका लागि पनि सीमित क्षेत्र मात्र हुन्छन् । केही कुरामा ओलम्पिक कमिटीले ‘खेलकुद मन्त्रालय र राखेपको कुरा मान्दिनँ’ भन्न पनि पाउँछ ।

ओलम्पिक कमिटीलाई भने नेपाल सरकारको कानुन मान्दिनँ भन्ने अधिकार छैन । नेपालको कानुनबमोजिम चल्नुपर्ने बाध्यता भने पक्कै हुन्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउँदा ओलम्पिक कमिटीमार्फत नै जानुपर्ने भएकाले केही समय खेलकुद मन्त्रीले खेलसंघलाई अन्योलमा पारे । २०औँ एसियाली खेलकुदमा सहभागिताबारे मन्त्रालय र ओलम्पिक कमिटीबिचको द्वन्द्व नै चर्कियो ।

नेपाल ओलम्पिक कमिटीले मंगलबार पत्रकार सम्मेलन गर्दै एसियाली खेलकुदका लागि ३० वटा खेल (खेलसंघ) दर्ता गरेको जानकारी दिएको थियो । नेपाल ओलम्पिक कमिटीले दर्ता गरिएका ३० खेल सार्वजनिक गरे पनि मन्त्रालयले भने ३१ वटा खेल दर्ता गरिएको बताएको हो ।

गत असार १७ गते दुवै, ओलम्पिक र खेलकुद मन्त्रालयले, एसियाडका लागि खेल दर्ता गर्न पत्र पठाए । तर, एसियाडले खेलकुद मन्त्रालयले पठाएको पत्र मान्य नहुने भन्दै फिर्ता पठायो र ओलम्पिकले पठाएको पत्र दर्ता भएको जानकारी गरायो । तर, देशको खेलकुद मन्त्रीजस्तो जिम्मेवार व्यक्तिलाई एसियाली खेलकुदमा सहभागिता जनाउने खेल संघबारे जानकारी दिने एक मात्र पाटो भनेको ओलम्पिक कमिटी हो भन्ने जानकारी थिएन ।

एनपीएल अनियमितता छानबिन संयोजकमा आफ्नै स्कुलकी प्रधानाध्यापक

राखेप र खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान) मा नेपाल प्रिमियर लिग (एनपीएल) को आर्थिक अनियमितताको विषयमा निवेदन आएपछि छानबिन समिति नै गठन गर्‍यो । मन्त्री चौधरीले आफैँ सञ्चालक रहेको नाइटिंगेल स्कुलकी प्रिन्सिपल उनै प्रधानलाई उक्त समितिको संयोजक बनाउँदै छानबिन गर्न लगाए ।

छानबिन समितिले प्रतिवेदन बुझाउने केही दिनअघि नै संयोजक प्रधानले राजीनामा दिइन् । चौतर्फी आलोचना हुँदा उनले राजीनामा दिएकी थिइन् । त्यसपछि एनपीएलको छानबिन प्रतिवेदन पनि अन्योलमा पर्‍यो । प्रतिवेदन पाएपछि पनि मन्त्रालयले कुनै कदम चाल्न सकेन । अहिले त झन् क्यानले आफ्नो एनपीएल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिसकेको छ ।

खेलकुद नीति २०८० मा विवाद

khelniti khelkud mantri

गत असार १६ गते युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम आयोजना गर्दै खेलकुद नीति सार्वजनिक भयो, जसमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ सहभागी भएनन् । उनी सोही दिन राखिएको खेल पत्रकारिता सम्मान कार्यक्रममा भने सहभागी भए ।

राखेपका बोर्ड सदस्यहरूले खेल नीतिको विषयमा मन्त्री चौधरीले एकलौटी ढंगले बनाएको आरोप लगाउँदै आइरहेका छन् । तर, उक्त खेल नीतिको विषयमा मन्त्री चौधरीलाई पनि धेरै ज्ञान छैन । खेल नीतिको विवादबारे रातोपाटीले प्रश्न गर्दा उनले नीति बनाउँदा सबै निकायसँग छलफल गरेको बताउँदै सबैको धारणा समेट्न नसकिने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप