शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
एक वर्षे प्रगति

मुख्यमन्त्रीबाट राजीनामा दिएका बहादुरले एक वर्षमा के–के गरे ?

आइतबार, १८ साउन २०८२, २० : १४
आइतबार, १८ साउन २०८२

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री पदबाट आइतबार राजीनामा घोषणा गरेका बहादुर सिंह लामाले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्षे प्रगति विवरण सार्वजनिक गरेका छन् । 

उनले विषम परिस्थितिमा उपलब्धिमूलक काम गरेको दाबी समेत गरेका छन् । उनले ३७४ दिनको कार्यकालमा प्रदेश सरकारले विपद् व्यवस्थापन सहित पूर्वाधार निर्माण र प्रशासनिक व्यवस्थापनमा महत्त्वपूर्ण उपलब्धि हाँसिल भएको दाबी गरे । 

२०८१ साउन ९ गते मुख्यमन्त्रीको रूपमा पदभार ग्रहण गरेका उनले विपद्, सीमित स्रोत, साथीहरूबाट अपेक्षित सहयोगको कमी र सरकारी अधिकृतहरूको अनियमित सरुवाको बाबजुद प्रदेश सरकारले प्रणाली निर्माण, सुशासन र विकासमा उल्लेखनीय प्रगति गरेको बताए ।

उनले बाढी–पहिरोको विपद्पछि सीमित स्रोत साधनमा पनि सरकारको बलियो उपस्थिति रहेको, पुनर्निर्माण र राहतमा सरकार प्रतिबद्ध रहेको उनले बताए । उनका अनुसार विगत सरकारद्वारा तयार गरिएको बजेटलाई पूर्ण स्वामित्व लिई कार्यान्वयन गर्दा खर्चमा करिब ७ प्रतिशत वृद्धि भएको छ । आन्तरिक आम्दानी पनि ११ प्रतिशतले बढेको उनले दाबी गरे ।

प्रदेशको प्रशासनिक केन्द्र निर्माणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने भाषा ऐन कार्यान्वयनमा समेत प्रदेश सरकार अघि बढिरहेको जनाइएको छ । कर्मचारी व्यवस्थापनमा प्रणाली विकास गर्दै संस्थागत सुदृढीकरणमा ध्यान दिइएको उनले बताए ।

‘हामी तहगत सरकार र प्रतिनिधित्व गर्ने सबै दलसँग प्रभावकारी समन्वय गर्दै प्रदेशवासीको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने दिशामा अघि बढिरहेका छौँ,’ उनले भने ।

सो अवधिमा बागमती प्रदेश सरकार मन्त्रीपरिषद्का २३ वटा बैठक बसी १२९ वटा निर्णयहरू भएको उनले बताए ।

उनका अनुसार एक वर्षको अवधिमा प्रदेशको एकल तथा साझा अधिकारका विषयहरू कार्यान्वयन गर्न ऐन ६, नियमावली–२, निर्देशिका १, मापदण्ड ४, कार्यविधि ६, सूचना २१ गरी कुल ४० वटा कानुनहरू जारी भई राजपत्रमा प्रकाशन गरिएको छ । प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र प्रदेश निजामती सेवा नियमावलीको ड्राफ्ट तयार भई मन्त्रिपरिषद्बाट स्वीकृतिको चरणमा रहेका उनले बताए ।

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि दीर्घकालीन सोचसहितको प्रदेशको दोस्रो आवधिक योजना कार्यान्वयन गरिएको छ भने आयोजना छनौट पद्धतिलाई व्यवस्थित र पारदर्शी बनाई बजेट निर्माण तथा कार्यान्वयन प्रक्रियामा सुशासन कायम गर्न प्रदेश आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीलाई कार्यान्वयन गरिएको उनले बताए ।

प्रदेशको आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीमा कुल ३ हजार ३२८ आयोजना प्रविष्टि गरिएको र १ हजार ५६६ वटा (४७ प्रतिशत) आयोजना कार्यान्वयनमा गइसकेको तथा १ हजार ७६२ वटा (५३ प्रतिशत) आयोजनाहरू कार्यान्वयन हुने क्रममा रहेको उनले बताए ।

भौतिक पूर्वाधार तर्फ रुग्ण आयोजना व्यवस्थापन गर्न अध्ययन गरी कार्यान्वयनको चरणमा लगिएको छ । विगतका आर्थिक वर्ष देखि समस्याग्रस्त रूपमा पहिचान गरिएका ५५ ओटा रुग्ण आयोजनाहरू मध्ये गत आर्थिक वर्ष २०८१/०८२ मा २१ ओटा योजनाहरूको निर्माण कार्य सम्पन्न भएको र बाँकी ३४ वटा योजनाहरूको निर्माण कार्य सुचारु अवस्थामा रहेको छ ।

सो अवधिमा ३६३ किलोमिटर पक्की सडक निर्माण भएको छ भने १८८ किलोमिटर ढलान र १७५ किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ । १४९ किलोमिटर ग्राभेल, ९१किलोमिटर नयाँ ट्रयाक, १८ किलोमिटर पदमार्ग निर्माण सम्पन्न भएको छ ।

उक्त अवधिमा ३७ वटा सडक पुल, ७ वटा झोलुङ्गे पुल, ७७ वटा कल्भर्ट निर्माण सम्पन्न भएको छ भने भवन निर्माण तर्फ ८ वटा सरकारी भवन, २७४ वटा सामुदायिक भवन, १२ वटा पार्क को निर्माण सम्पन्न भएको छ ।

साेमबारमात्रै लामाले प्रदेश प्रमुख दीपक देवकाेटालाई राजीनामा बुझाउने भएका छन् । आज मात्रै प्रदेश प्रमुख देवकाेटा अस्पतालबाट डिस्चार्ज भएकाले लामाले भाेलि देवकाेटा समक्ष राजीनामा बुझाउने भएका छन् । 

यस्तो छ लामाको प्रगति विवरण

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप