सडक पूर्वाधारले फेरिँदै वीरेन्द्रनगरको मुहार, एक वर्षमा १२ किलोमिटर कालोपत्रे
सारांश
- कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरमा एक वर्षमा झन्डै १२ किलोमिटर सडक कालोपत्रे गरेको छ।
- विभिन्न सडक आयोजनाका लागि ८१ करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ, जसमा नाला निर्माण पनि समावेश छ।
- वीरेन्द्रनगरका १५ सडक निर्माण कार्य भने सांसद कान्छाराम तामाङको ठेक्का कम्पनीको लापरबाहीका कारण अलपत्र छन्।
सुर्खेत । कर्णाली प्रदेश सरकारले विगत एक वर्षको अवधिमा प्रदेश राजधानी वीरेन्द्रनगरभित्र झन्डै १२ किलोमिटर सडक कालोपत्रे गरेको छ । गत आर्थिक वर्ष (०८१/०८२) मा ११.९४८ किलोमिटर सडक कालोपत्रे गरेको हो ।
सडक पूर्वाधारमा कर्णाली प्रदेश सरकारको सबैभन्दा बढी लगानी भएको क्षेत्र राजधानी वीरेन्द्रनगर नै हो । अहिलेसम्म प्रदेशको लगानीबाट सयौँ साना–ठुला सडक कालोपत्रे भएका छन् । पूर्वाधार विकास निर्देशनालय, सुर्खेतले रातोपाटीलाई उपलब्ध गराएको विवरणअनुसार वीरेन्द्रनगरभित्र गत वर्ष २६ वटा सडक आयोजना सञ्चालनमा थिए । कुनै सडक आयोजना अघिल्ला वर्षदेखि नै सञ्चालित थिए भने कुनै गत वर्षदेखि मात्रै सञ्चालनमा छन् ।
ती सडक आयोजनामा ८१ करोडभन्दा बढीको बजेट विनियोजन गरिएको छ । विवरणअनुसार यी आयोजनाबाट नगरका विभिन्न वडामा गरी गत वर्षभरि करिब १२ किलोमिटर सडक कालोपत्रे, ५ किलोमिटरभन्दा बढी सडक ग्राभेल र १२ किलोमिटरभन्दा बढी पक्की नाला निर्माण भएका छन् ।
यसअघि लामो समयदेखि विवाद र चर्चामा रहेको मंगलगढी चोकदेखि कांक्रेबिहारतर्फ जोड्ने सडकले पूर्णता पाएको निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजंग शाहीले बताए । १८ करोड ८१ लाख लागत रहेको उक्त सडकको दुरी २.४ किलोमिटर छ ।
अमर सिस्ने नेपाल मेघा जेभी नेपालगन्जले ०७८ मङ्सिर ४ गते सडक निर्माणको जिम्मेवारी पाएको थियो । ०८० असारमा काम सम्पन्न गरिसक्ने लक्ष्य भए पनि दुई वर्षपछि मात्रै काम सम्पन्न भएको हो । यद्यपि ठेक्का भने अझै नसकिएको उक्त सडक हेर्ने इञ्जिनियर प्रेमचन्द पाण्डेले बताए ।
सबैभन्दा ठुलो बजेट रहेको मूलपानी–फलाँटे–रानीघाट सडक स्तरोन्नति आयोजनाको काम धमाधम भइरहेको छ । वीरेन्द्रनगर नगरपालिका–२ र ३ लाई जोड्ने यो आयोजनाका लागि ३१ करोड ८५ लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन भएको छ, जसबाट ०.४५७ किलोमिटर नाला निर्माण गरिने छ । यो सडक वीरेन्द्रनगरदेखि बर्दिया भुरीगाउँ जोड्ने छोटो मार्ग हो ।
यो सडक खण्डको करिब तीन किलोमिटर सडक निर्माण गर्नका लागि केही समयअघि मात्रै सम्झौता भएर काम अघि बढेको छ । ०८३ पुससम्म काम सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।
यस्तै, सुर्खेत विमानस्थल ढल निकास तथा सडक स्तरोन्नति आयोजना गत वर्षभित्रै सम्पन्न भएको छ । ७ करोड ९८ लाख रुपैयाँ लागत रहेको उक्त सडकको १२ मिटर सडक र नाला दुवै बनिसकेका छन् ।
गत वर्षभित्रै ठेक्का लगाएर सम्पन्न भएको रङ्गशाला पूर्व धमलाचोकदेखि क्याम्पस रोडसम्म जोड्ने सडकमा प्रदेशको ८ करोड ६५ लाख रुपैयाँ लगानी भएको छ ।
वीरेन्द्रनगर–४ मा रहेको रातोपुलदेखि हटलाइन सडक स्तरोन्नतिका लागि करिब २ करोड रुपैयाँ विनियोजन भएकोमा ०.७९६ किलोमिटर नाला निर्माण भएको छ ।
बाँकी सडकमध्ये कुनैको काम सम्पन्न भइसकेका छन् भने कोही बहुवर्षीय आयोजना अन्तर्गत काम भइरहेका छन् । प्लानिङ क्षेत्र सहरी सडक अन्तर्गत १५ वटा आयोजनाको काम भने अझै सम्पन्न हुन सकेको छैन ।
नेपाली कांग्रेसका सांसद एवं ठेकदार कान्छाराम तामाङको ‘कान्छाराम कन्स्ट्रक्सन’ ले जिम्मा लिएका ती सडक दुई पटक म्याद गुज्रिसक्दा पनि ४० प्रतिशतमात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास निर्देशनालयका इञ्जिनियर प्रेमचन्द पाण्डे बताउँछन् ।
प्रदेश राजधानीको योजनाबद्ध विकास र सहरी सौन्दर्यलाई बढावा दिन यी आयोजना महत्त्वपूर्ण मानिएका छन् । प्रदेश सरकार बनेसँगै राजधानीका सयौँ सडक कालोपत्रे भएर चिटिक्क बनेका छन् । राजधानी वीरेन्द्रनगरमा प्रदेशको जति लगानी छ, त्यत्तिकै केन्द्र र स्थानीय सरकारले पनि साना–ठुला सडक बनाइरहेका छन् ।
वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालका अनुसार फागुन महिनाभन्दा अघिमात्रै सघन सहरीबाट सुरु भएका ४८ वटा सडक कालोपत्रे बनेका छन् ।
यी सडक संघीय सरकारको सहयोग र नगरपालिकाको समन्वयबाट बनेका हुन्, जसको अध्यक्ष नगरप्रमुख हुन्छ । ‘हामीले प्रत्येक वडामा नगर गौरवका आयोजना बनाएर काम गरिरहेका छौँ,’ ढकाल भन्छिन्, ‘सडकमा मात्रै ०७४ यता नगरबाट ५ अर्ब बराबरको लगानी भइसकेको छ ।’
नगरपालिकाले अहिले आफ्नै सडक, शिक्षाको गुरुयोजना बनाएको छ । १६ वटै वडामा कुन प्रकृतिका सडक आवश्यक छन् भन्नेबारे लेखाजोखा गरी कार्यक्षमता, लम्बाइ, चौडाइ सबैबारे गुरुयोजना बनेको छ । यस्तै भू–उपयोग नीति पनि बनेको छ । साविकमा एउटा प्लानिङ भएको र अर्को नभएको क्षेत्र छ । राज्यको पुनर्संरचनासँगै साबिकका गाउँ विकास समिति यो नगरमा समाहित भएका क्षेत्रमा गुरुयोजना थिएन । त्यसमा भू–उपयोग नीति अनुसार सडकको ८ मिटर र १० मिटरको मापदण्ड बनाइएको ढकाल बताउँछिन् ।
ढकालका अनुसार स्थानीय सडकको दुरी ६१२.३७६ किलोमिटर छ । क्लास ‘ए’ अन्तर्गत १६, ‘बी’ मा १०८, ‘सी’मा ३५८ र ‘डी’ अन्तर्गत ३८२ वटा सडक छन् । उपत्यकाभित्रका अधिकांश सडकको स्तरोन्नति पछिल्ला दुई आर्थिक वर्षमा भइसकेको छ । वीरेन्द्रनगरभित्र राष्ट्रिय सडकबाहेक १०५.८८ किलोमिटर सडक कालोपत्रे छ । मुख्य बजारभित्रका अधिकांश पुराना सडकलाई चौडा बनाएर स्तरोन्नति गरिएको छ । यस्तै कच्ची २५९.७५, ग्राभेल २४३.५६, आरसीसी ढलान ३.५६ र नयाँ ट्रयाक खोलिएको सडक १.७८ किलोमिटर छ । गत वर्षभित्र झण्डै ४० किलोमिटर सडकको काम भइरहेकोमा अधिकांशको काम सम्पन्न भइसकेका छन् ।
- कर्णाली सरकारद्वारा वीरेन्द्रनगरमा सञ्चालित आयोजना र गत एक वर्षभित्र भएको कामको प्रगति विवरण:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण