कांग्रेस कोपभाजनको सिकार ‘तामाङ समुदाय’
आफ्नै दल कांग्रेसका वागमती प्रदेश अध्यक्ष इन्द्र बानियाँ पक्षद्वारा अविश्वास प्रस्ताव र शेरबहादुर देउवा, गगन थापा, पूर्णबहादुर खड्काको बानियाँ पक्षलाई आशीर्वादका कारण बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राजीनामा दिए ।
तामाङले पत्रकार सम्मेलन गरेर केही प्रश्न समेत राखेका थिए । यी सबैले अर्को प्रश्न उब्जाएको छ— के कांग्रेसमा तामाङ मुख्यमन्त्री हुनुको नियति यस्तै हो ? हुन त नेपालको जुनसुकै राजनीति दल आए पनि तामाङप्रति गरिने क्रूर प्रहार र विद्वैषी आचरण कुनै नौलो होइन । तुलाराम तामाङ (गोले काइँला), दिलबहादुर लामा, दिलमान पाख्रिन, पूर्णबहादुर तामाङ, कुलमान घिसिङ र शेरबहादुर तामाङ यसका ज्वलन्त उदाहरण हुन् ।
राणाशासनको अन्त्य गर्न र प्रजातन्त्रको स्थापना हेतु सात सालको मुक्ति संग्राममा प्रवास तथा नेपालमा रहेका तामाङ समुदायले अग्रपङ्क्तिमा उभिएर ऐतिहासिक कार्य गरेका थिए तर कांग्रेसको इतिहासमा केही विशेष पात्रको मात्र महिमामण्डल गर्ने प्रयास भएको छ । जनमुक्ति सेना गठनदेखि क्रान्तिमा लागेका तामाङ वीर योद्धाको इतिहास बहिष्करणमा पारिएको छ ।
सात सालको क्रान्तिको सफलतापश्चात् २०१५ को आमचुनावमा तामाङ समुदायले आफ्नो अमूल्य मत दिएर कांग्रेसलाई विजयी बनाउन भरपूर सहयोग गरे । २०१५ को आम चुनावमा कांग्रेसले पूर्णबहुमत प्राप्त गर्यो । बीपी नेतृत्व गठित कांग्रेस मन्त्रीमण्डल वास्तवमा ऐतिहासिक समावेशी मन्त्री मण्डल थियो— प्रेमराज आङ्दम्बे (लिम्बु), मीनबहादुर गुरुङ, जमानसिंह गुरुङ, योगेन्द्रमान शेरचन, देवानसिंह राई, सूर्यनाथ दास यादव, परशुनारायण चौधरी (थारु), गणेशमान सिंह (नेवार) आदिको । तर बीपी मन्त्री मण्डलमा तामाङ समुदाय वञ्चित भयो वा गरियो । ऐतिहासिक मन्त्री मण्डलमा स्थान नदिएर कांग्रेस तामाङविद्वेषी रहेको छर्लङ्ग हुन्छ ।
- तुलाराम तामाङ (गोले काइँला)
प्रजातन्त्रको स्थापना हेतु राणाशाहीविरुद्ध क्रान्तिको सुरुवात एकै समय, एकै दिन २००७ कार्तिक २६–२७ गते वीरगन्ज, विराटनगर लगायत नेपालका विभिन्न स्थानबाट सुरु भएको थियो । विराटनगरको क्रान्ति युद्धमा होमिने एक नाम थियो, तुलाराम तामाङ । तुलाराम तामाङ राणाशाहीको निरंकुशताविरुद्ध प्रवासबाट नेपाल आएका थिए र विराटनगरमा भएको युद्धमा सहादत प्राप्त गरे । तुलाराम तामाङबारे केही अपवादबाहेक बहुसंख्यक कांग्रेसी कार्यकर्ता अनभिज्ञ छन् तर वीरगन्ज आक्रमणमा घाइते भएका ‘थिरबम मल्ल’लाई राणाको भान्जा भएको कारण रक्सौल डन्कन अस्पतालसम्म लाने छुट प्राप्त भयो । उनले उपचारका क्रममा मृत्यवरण गरे । थिरबम मल्लको नाम प्रथम सहिदका रूपमा लिपिबद्ध भएको छ ।
तुलराम पनि युद्धमा घाइते भएका थिए, घाइते अवस्थामा उपचार गर्न फरबिसगन्ज जाँदै गरेका उनलाई सीमा क्षेत्रमा राणा सेनाले पक्राउ गरे । घाइते तुलारामलाई उपचारको कुनै सुविधा दिइएन, धेरै रक्तश्राव भएका कारण विनाइलाज उनको मृत्यु भयो । राणा प्रशासनले कांग्रेसीलाई यस्तै गर्नुपर्छ भनी तुलारामको शवलाई घाँटीमा डोरी बाँधी विराटनगर परिक्रमा गराएर हाटखोला भन्ने स्थानमा फ्याँकेको थियो । पछि त्यो शव स्याल र गिद्धको आहार बन्यो । थिरबम मल्ल र तुलाराम दुवै मुक्तियोद्धा थिए तर एक जनाको महिमामण्डन र इतिहासमा नाम दर्ज भयो भने एकजना अज्ञात सहिद बन्न पुगे किनभने तुलाराम तामाङ थिए ।
- डीबी लामा
नेपाल प्रहरीको सम्मानपूर्वक लिने नाममध्ये एक हो, स्वर्गीय दिलबहादुर लामा । प्रहरीको ७३ वर्षे इतिहासमा खड्गजित बरालपछि प्रहरी संगठनको विकासमा महत्त्वपूर्ण योगदान गर्नेमा लामा पर्छन् । प्रहरी महानिरीक्षकबाट अवकाशपश्चात् नेपाली कांग्रेसको टिकटमा २०५६ सालमा उनी रसुवाबाट सांसद् बने । उनलाई शेरबहादुर मन्त्री मण्डलमा सामान्य प्रशासन सहायकमन्त्री बनाइयो । प्रश्न छ, यत्रो विशाल प्रहरी संगठन हाँकेका अनुभवी व्यक्तिलाई के गृहमन्त्री बनाउनु अनुपयुक्त थियो ? स्पष्ट कारण तामाङ हुनु नै हो ? अनुहार र वर्णका आधारमा राणाकालमा जन्मिदै जर्नेल बनाइएका जस्तै मन्त्री बनाइएका नेपालका राजनीतिमा अनेकौँ उदाहरण छन् ।
- दिलमान पाख्रिन
खनियावास विद्रोह (२०१६) का नायक धादिङका दिलमान पाख्रिनप्रति अन्तिम समयमा गरिएकोे घात अकल्पनीय छ । २०७४ को आम चुनावमा एमाले–माओवादी गठबन्धनविरुद्ध बलिको बोका बनाएर धादिङ क्षेत्र नम्बर १ बाट दिलमानलाई उम्मेदवार बनाइयो । दिलमान पाख्रिनले आफ्नो एकल बलबुतामा प्रतिद्वन्द्वी एमालेका खेम लोहनीसँग मात्र ५३४ मतले पराजय बेहोर्नुपर्यो ।
दिलमानले उक्त चुनावमा ३५,६३९ मत प्राप्त गरेका थिए । २०७९ को आमचुनावमा पुनः दिलमान उम्मेदवार हुने पक्का थियोे । टिकट वितरण हुनुभन्दा एक दिनअघिको समाचारपत्रमा दिलमानको नाम थियो तर कांगे्रस–माओवादी गठबन्धन र सजिलै विजय प्राप्त गर्ने वेला रामनाथ अधिकारीलाई टिकट दिइयो, जो वर्तमान मन्त्री मण्डलमा कृषिमन्त्री छन् ।
बीपी मन्त्री मण्डलदेखि बहादुरसिंह तामाङको राजीनामा प्रकरणसम्म आइपुग्दा कांग्रेस तामाङ समुदायप्रति असहिष्णु हुनु कांग्रेसको आन्तरिक नीति हो कि कांग्रेसका शीर्ष नेतामा जंगबहादुरको मुलुकी ऐन १९१० को धङधङी हुनु हो ?
- कान्छाराम तामाङ
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रतिद्वन्द्वी श्यामकुमार श्रेष्ठ (वाम गठबन्धन) ले ४२,११७ मत र पूर्णबहादुर (कान्छाराम) तामाङले एकल बलबुतामा ३५,७७१ मतप्राप्त गरेका थिए । २०७९ को आमचुनावमा कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट कान्छाराम तामाङले ४७,०९८ मतप्राप्त गरी आफ्ना प्रतिद्वन्द्वी कैलाश ढुंगेललाई १६,३६९ मतान्तरले पराजित गरे । २०७९ को आमचुनावमा कांग्रेसको तर्फबाट विजयी हुने तामाङ समुदायका एक मात्र विजयी उम्मेदवार थिए, पूर्णबहादुर तामाङ । ओली मन्त्री मण्डलमा पूर्णबहादुरलाई ऊर्जा, सिँचाइराज्य मन्त्री बनाइयो । कुलमान घिसिङविरुद्ध खनिएका ओली सरकारको गलत निर्णयको विरोध गर्दा पूर्णबहादुर अपमानपूर्वक निकालिए ।
यसरी हेर्दा बीपी मन्त्री मण्डलदेखि बहादुरसिंह तामाङको राजीनामा प्रकरणसम्म आइपुग्दा कांग्रेस तामाङ समुदायप्रति असहिष्णु हुनु कांग्रेसको आन्तरिक नीति हो कि कांग्रेसका शीर्ष नेतामा जंगबहादुरको मुलुकी ऐन १९१० को धङधङी हुनु हो ?
प्रजातन्त्र प्राप्तिपश्चात् नेपाली कांग्रेसबाट संघीय मन्त्रीमण्डलमा जम्मा पाँचजना तामाङ (भीमबहादुर तामाङ, मणि लामा, डीबी लामा, दिलमान पाख्रिन, पूर्णबहादुर तामाङ) मन्त्री भए । लगभग ६ प्रतिशत जनसंख्या भएको तामाङ समुदायको अहिलेसम्म कांग्रेसबाट पाँचजना मन्त्री हुनु के यो लज्जास्पद एवं पूर्वाग्रही प्रतिनिधित्व होइन ? प्रश्न छ, तामाङ जनसंख्यालाई दृष्टिगत गर्ने हो भने जुनसुकै पार्टीको सरकार भए पनि अनिवार्य एकजना तामाङ मन्त्री हुनुपर्ने हो र संघीय संसद्मा ८–१० तामाङ सांसद पर्नुपर्ने हो तर टिकट वितरण गर्दा कांग्रेस लगायत ठुला दलले दुई–चार सिट मात्र दिएर तामाङलाई हमेसा पूर्वाग्रही दृष्टिकोण अपनाउँदै उपेक्षित गरेका छन् ।
कांग्रेसले समावेशी लोकतन्त्रको नारारूपी ललिपप छर्ने प्रयत्न गरेको छ तर वास्तविकता बिल्कुल विपरीत छ । अब पनि कांग्रेसले सम्पूर्ण नेपाली प्रतिविम्बित हुने जनसंख्या अनुसारको प्रतिनिधित्वको अवलम्बनमा कन्जुस्याइँ गर्छ भने कांग्रेसको ऐतिहासिक धरातल धराशायी हुने अवश्यम्भावी छ ।
डाँडाखर्क, दोलखा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण