बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कविता

पातकीको पतन

सोमबार, १९ साउन २०८२, १३ : ३१
सोमबार, १९ साउन २०८२

घरभित्र छिर्न 
ढोका ढकढकाउँदै छ रे  
कानुनको छायाले
मेरो मस्तिष्क चिसो भयो
अँध्यारो पिँढीमा बसी
सुनेँ— बहुविवाह अब ‘विशेष’मा स्वीकार्य छ रे ।

विशेष ?
कसका लागि ?
उही नैतिकताका
घेरा तोड्ने
बेसरम गतिछाडाका लागि ?
घरका भान्सा लत्याएर
सन्तान टुहुरा पारेर
अर्कैको रेस्टुरेन्टमा पोस्नेका लागि ?
आफू गुँड नबनाउने
अरूका पनि भत्काउने
थेत्तरा नर्तकीका लागि ?
कि घिनौना पुरुषका लागि ?
कि प्रेमको उपहासक
र सम्बन्धको मजाक उडाउनेका लागि ?

म एक नारी मात्र होइन
हजारौँ निधारको टल्किएकी सुहाग हुँ
हजारौँ चुल्होमा बलिरहेकी आगो हुँ
तर 
मतलबी 
पुरुषसत्ताको खोल ओढेर
आमा, दिदीबहिनीको सिन्दूरको खिल्ली उडाएर
वेश्याको काखमा निदाउँदै
खुकुरीको धारमा देशलाई सुताएर
मस्तीमा मूर्खताको मन्दविष
पिउनेहरू हो
कहाँ छ र तिम्रो चेतना
सहअस्तित्वको
कानुन बनाउन सक्ने ?

कसैको चेतको आगो निभ्दैन
तिम्रा कानुनी भाषाले अब !
‘फुँडाफुँडी’को स्वार्थमा
हुन्न है ‘विशेष अवस्था’ सज्जनको
आमाको आत्मसम्मानको चिता जलाएर
पत्नीका समर्पणको धज्जी उडाएर
दिदीबहिनी र भाञ्जाभाञ्जीका हरिबिजोग रचाएर
छोरीको सुन्दर भविष्य च्यातेर
लाज लाग्दैन चेतनाविहीन बन्दै नाङ्गिन ?

बनाउन होइन भत्काउन खोज्दै छौँ 
अनुशासन र मर्यादामा भ्रष्टाचार घोलेझैँ
प्रेम, जिम्मेवारी र संस्कारमा पतीतपन घोलेर
कमजोर छैनन् नारी
अशिक्षित छैनन्
सहनशीलता र सौन्दर्यको उपमामा
मख्ख परेर
मुखमा बुजो लगाउने दिन गए 
अब प्रतिकार लेख्छौँ
हृदयभन्दामाथि
मस्तिष्कले अक्षर कोर्छाैं
भुइँमा टपक्क–टपक्क झरिरहेका छन् आक्रोशका आँसुहरू
धर्तीले सोस्न छाडेपछि
बग्नेछौ पातकीहरू
युगौँयुग नामेट भएर
अब कि यसमा तयार होऊ 
कि छाड वेश्यावृत्ति मौलाउने 
खेतीपाती सुरु गर्न
विशेषमा विशेष रटान छाँट्न ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अम्बिका अर्याल
डा. अम्बिका अर्याल
लेखकबाट थप