उच्च अदालत पाटनले किन दियो दुर्गा प्रसाईंलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश ?
सारांश
- उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
- प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा १८ करोड ४४ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो।
- अदालतले प्रसाईं क्यान्सर रोगबाट पीडित रहेको र थप प्रमाण बुझ्दै जाने जनाएको छ।
काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । सोमबार उच्च अदालत पाटनका न्यायाधीश मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राजावादी प्रदर्शनमा ३ लाख गरी २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो ।
१८ करोड ४४ लाख रुपैयाँ बिगो दाबी गरिएको कर्जा अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो । अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा प्रसाईंलाई निर्दोष भन्न नसकिने तर उनी क्यान्सर रोगबाट पीडित रहेको प्रमाणलाई समेत आधार मान्दै धरौटीमा छाड्न आदेश दिएको हो ।
आदेशमा भनिएको छ, ‘मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी दुर्गाप्रसाद प्रसाईं निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था नदेखिँदा, साथै निज क्यान्सर रोगबाट पीडित रहेको भन्ने निजले पेस गरेको प्रमाणबाट देखिन आएबाट समेत पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी २५ लाख नगद धरौटी वा बैंक जमानत दिए लिई मुद्दाको पुर्पक्षका लागि तारेखमा राख्नुहोला ।’
नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा नेपाल सरकारले प्रसाईंविरुद्ध मुद्दा दायर गरेको थियो। अभियोगपत्रमा प्रसाईंले ‘राउन्ड ट्रिपिङ’ र ‘लेयरिङ’ मार्फत कर्जा अपचलन गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ विपरीत कार्य गरेको आरोप लगाइएको छ । अभियोजनकर्ताले १८ करोड ४४ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको माग गरेका थिए ।
अदालतमा बयान दिने क्रममा प्रसाईंले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका थिए । अदालतको आदेशअनुसार प्रसाईंले तोकिएको २५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत बुझाउनुपर्नेछ । यदि उनले धरौटी बुझाउन नसकेमा कानुनबमोजिम थुनामा पठाइने आदेशमा उल्लेख छ । यो आदेशसँगै प्रसाईंले अब तारेखमा रहेर मुद्दा लड्न पाउनेछन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण