सम्बन्ध विच्छेदका कारण र कानुनी प्रक्रिया
सारांश
- नेपालमा सम्बन्ध विच्छेदका मुद्दाहरू बढ्दो क्रममा छन्, जसमा अंश र माना चामलका मुद्दा पनि सामेल छन्।
- सम्बन्ध विच्छेद दुई तरिकाले हुन्छ: मेलमिलाप र अदालतको फैसला, जसमा एक वर्षसम्म लाग्न सक्छ।
- अदालतले बालबालिकाको हितलाई ध्यान दिई सम्बन्ध विच्छेदको निर्णय गर्छ, र झुटो जानकारी दिने प्रवृत्तिलाई निरुत्साहित गर्छ।
नेपालमा देवानी मुद्दामा सबैभन्दा धेरै सम्बन्ध विच्छेदको मुद्दा देखिन्छ । जसमा अंश चलन र माना चामल मुद्दा पनि प्राय: सँगै हालेको पाइन्छ । अदालतले यी तीनवटै मुद्दालाई सँगै राखेर हेर्ने गरेको पाइन्छ ।
सम्बन्ध विच्छेदको मुद्दा आफू बसोबास गरेको जिल्लाको जिल्ला अदालतमा दर्ता हुन्छ | स्थानीय सरकार सञ्चालन ऐनमा भएको सम्बन्ध विच्छेदसम्बन्धी व्यवस्था केवल मेलमिलापसम्म मात्र सीमित हुन्छ । सम्बन्ध विच्छेद गरिदिने अधिकार स्थानीय तह अर्थात् वडा वा पालिकालाई छैन |
सम्बन्ध विच्छेदको मुद्दा दुई तरिकाले अघि बढाइन्छ । पहिलो, मिलापत्रअनुसार र दोस्रो, मुद्दामा हुने जित वा हारअनुसार | मिलापत्रअनुसार चल्ने मुद्दामा सहमतिमा कति लिने, कति दिने हरहिसाब गरी सम्बन्ध विच्छेद हुन्छ । यसअनुसार सम्बन्ध विच्छेद दुई-तीन दिनमा सकिन्छ, तर कानुन बमोजिम आधार रहे मात्र त्यसरी सम्बन्ध विच्छेद गर्न मिल्छ ।
मिलापत्र बाहेकको मुद्दामा चाहिं आफ्नो-आफ्नो गुनासो लिएर मुद्दालाई आफ्नो पक्षमा पार्न लड्ने गरिन्छ । जसमा एक वर्षसम्मको समय लाग्न सक्छ । यो मुद्दा पति र पत्नी दुवैले आ-आफ्नो हकमा दिन सक्छन् ।
मुद्दा परेको प्रतिवादीलाई सम्बन्ध जोगाउनु छ, परिवार बचाउनु छ, अंश जोगाउनु छ, माना चामलको समस्याबाट जोगिनु छ र बालबच्चाको भविष्यको चिन्ता छ भने आफ्नो र परिवारको बचाउ गर्न समयमै कानुन व्यवसायी मार्फत अदालत जानुपर्छ ।
माना चामल भराउने आदेश भयो र माना चामलको रकम दिनुहुन्न भने आदेश बमोजिम रकम नदिंदा थुनामा समेत पठाउन सक्ने कानुनी व्यवस्था छ । मुद्दालाई नजरअन्दाज गरी चुप नबसौँ ।
नेपालमा वैवाहिक सम्बन्ध सम्झौता जुनबेला मन लाग्यो, त्यही बेला जसरी तोड्न पाइँदैन । कहिलेकाहीँ पति वा पत्नी आफ्नो घरपरिवारको दबाबदे मुद्दा दिन्छन्, कहिले तथ्यको भ्रमले पनि हुन्छ । कहिले अर्काको कुरा सुनेका कारण पनि वैवाहिक जीवनमा असर परिरहेको हुन्छ । अनि कहिले सोचेजस्तो सम्बन्ध नहुँदाको तनाव रहन्छ । दुवैका आफ्ना-आफ्ना गुनासा हुन्छन् । तर परिस्थिति यस्तो भइदिन्छ कि एकअर्कालाई सुन्न र बुझ्न भने सक्दैनन् ।
यहाँ एउटा सुन्दर हिन्दी कविताको प्रसंग उल्लेख गर्न मन लाग्यो ।
हम दोनों साथ मिले, एक कहानी बनी
हम दोनों अलग हुए ३ कहानी बनी
एक तेरी कहानी जो तुजे समझ आई
एक मेरी कहानी जो मुझे समझ आई
और एक तिस्री अनकही कहानी
जो साथ बैठकर बात अगर करते, तो दोनों को समझ आती
कवितामा भनिए जस्तै अदालतले पनि पटक-पटक मेलमिलापमा मुद्दा पठाउँछ । मिल्ने अवस्था देखेन भने अदालतले अब गल्ती कसको छ र सम्बन्ध विच्छेद हुन्छ कि हुँदैन भन्ने कुरा हेरेर फैसला गर्छ । श्रीमतीको गल्ती देखियो भने अंश दिनु नपर्न पनि सक्छ । पहिला त्यो व्यवस्था थिएन २०७४ को नयाँ देवानी संहितामा यो व्यवस्था छ ।
मुद्दा दिनेको माग सान्दर्भिक देखिएन भने सम्बन्ध विच्छेद हुँदैन भनेर मुद्दा खारेज गरेका पनि उदाहरण छन् । वैवाहिक सम्बन्धबाट बालबच्चा छन् भने त अदालतले त्यसलाई सबैभन्दा माथि राखेर हेर्ने गर्छ । बालबालिकाको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि-सम्झौता, मानवअधिकार तथा बालबालिकाको मौलिक हकसम्बन्धी संवैधानिक व्यवस्थाले ‘बेटर इन्ट्रेस्ट अफ चाइल्ड’ हेरेर न्याय दिनुपर्ने व्यवस्था गरेको छ |
यो सबै कुरा मध्यनजर गरी यदि अदालतलाई सम्बन्ध कायम राख्नुभन्दा विच्छेद गरिदिनु नै उपयुक्त लागेमा मात्र अन्तिम विकल्प हो, सम्बन्ध विच्छेद ।
हिन्दी सिनेमा र सिरियल जस्तो एउटाले कागजमा सही गरेर दियो, अर्कोले सही गर्दा डिभोर्स हुने जस्तो वास्तविक जीवनमा हुँदैन ।
नेपालको सन्दर्भमा नियालेर हेर्दा यो सम्बन्ध विच्छेदको मुद्दामा कोही जटिल समस्या पनि देखा पर्छन् । यसले न्यायिक क्षेत्रका लागि बाधा अड्चन पुर्याउने बाहेक केही काम गर्दैन । मुख्य समस्यामध्ये प्रतिवादी आफ्नो बचाउ गर्न अदालत नै जाँदैनन् । परिणाम अदालतले मुद्दा ठीक लगेमा सम्बन्ध तोडिदिन्छ ।
यदि प्रतिवादी पति हो भने अंश भएमा अंश पनि जान्छ । नभएमा अंशबाट त जोगिनुहोला, तर माना चामलबाट ?
माना चामल भराउने आदेश भयो र माना चामलको रकम दिनुहुन्न भने आदेश बमोजिम रकम नदिंदा थुनामा समेत पठाउन सक्ने कानुनी व्यवस्था छ । मुद्दालाई नजरअन्दाज गरी चुप नबसौँ । चुप लागेर बस्ने काम मुद्दा परेपछि गर्ने होइन । बरु मुद्दा पर्नुभन्दा अगाडि चुप लागेर बस्यो भने मुद्दामा जाने अवस्था चाहिँ सिर्जना नहुन सक्छ ।
दोस्रो समस्या कानुन व्यवसायीलाई झुटो जानकारी दिएर हुँदै नभएको तथ्य स्थापित गर्न मुद्दा दर्ता गर्न खोज्नु हो | पति-पत्नी जस्तो परित्र सम्बन्ध न त झुटको सहारामा जोड्नु ठिक, न त झुटको सहारा लिएर तोड्नु ठिक | यसले न्यायिक क्षेत्रका साथै पारिवारिक, मानसिक तथा सामाजिक रुपमा गम्भीर असर र नराम्रो छाप छोड्छ |
पश्चिमी शैलीबाट धेरै कुरा सिक्न पाइन्छ यसमा दुई मत छैन | तर पश्चिमी शैली अपनाउने चक्करमा आफ्नो संस्कृति, नैतिकता र मानवतालाई भने बिर्सिन हुँदैन | हामी कस्तो हुने हाम्रो र बालबच्चाको स्वभाव, भविष्य कस्तो हुने भन्ने कुरामा पारिवारिक वातावरणको निकै ठुलो भूमिका हुन्छ । यस पारिवारिक वातावरणलाई सुरक्षित राख्न सम्बन्ध विच्छेदको मुद्दामा आउने समस्यालाई बुझेर त्यसमा सुधार ल्याउन निकै आवश्यक छ |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण