शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले केन्द्रीय सदस्य रिजालको प्रस्ताव : अब मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गरौँ !

मङ्गलबार, २० साउन २०८२, १९ : २९
मङ्गलबार, २० साउन २०८२

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले प्रदेश सरकारको स्थायित्व र उपलब्धिका लागि मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्न प्रस्ताव गरेका छन् । 

प्रदेश सरकारहरू छिटो छिटो परिवर्तन हुने र भए जति सबै सांसद मन्त्री हुने अवस्था आएको तथा प्रदेशहरू मन्त्री उत्पादन कारखाना बनिरहेको भन्दै नेता रिजालले यस्तो गर्दा सङ्घीयताप्रति नै वितृष्णा बढ्न सक्ने भएकाले मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गर्नुपर्ने प्रस्ताव बहसमा ल्याएका हुन् ।

‘माकुराको बच्चाले आफ्नै आमालाई खान्छ’ भनेझैँ प्रदेशले सङ्घीय प्रणालीलाई नखाला भन्न सकिन्न ।  प्रदेशहरू मुख्यमन्त्री/मन्त्री उत्पादनका कारखाना बनिरहेका छन्’, नेता रिजालले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले प्रदेशसभामा आएपछि मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, समितिका सभापति, दलका सचेतक नभएर पाँच वर्षमा कोही पनि रित्तो हात घर फर्किनु नपर्ने अवस्था देखिएको पनि बताएका छन् । 

‘आफ्नै पार्टीका मुख्यमन्त्रीले पनि दलका सदस्यको चित्त बुझाउन नसकेर बिचैमा छाड्नु परिरहेको छ । यसको समाधानका लागि स्थानीय तहमा जस्तै प्रदेश तहमा मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्नुपर्छ । यसबाट सङ्घीयतालाई अलि स्थिर र उपलब्धिमूलक बनाउन सकिन्छ’, रिजालले भनेका छन्, ‘नत्र सङ्घमा समीकरण परिवर्तन हुँदा प्रदेशमा असर त पर्दछ नै, प्रदेशमै कुरा नमिल्दा पनि मुख्यमन्त्री परिवर्तन भइरहँदा यसले आम मानिसमा व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न गराइरहन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप