बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बेथिति

जनतालाई देखाउन चुनावअघि शिलान्यास गरिएको पुल तीन वर्षदेखि अलपत्र

बुधबार, २१ साउन २०८२, १६ : ५७
बुधबार, २१ साउन २०८२

सारांश

  • बारामा चुनावअघि शिलान्यास भएको पुल तीन वर्षदेखि अलपत्र छ।
  • पुल नहुँदा स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको छ, र बर्खामा लामो बाटो घुम्नुपर्ने बाध्यता छ।
  • बजेट अभावका कारण पुल निर्माण अघि बढ्न सकेको छैन, र स्थानीय नेताहरूले यस विषयमा चासो दिएका छैनन्।

बारा । चुनावअघि जनतालाई काम देखाउन शिलान्यास गरिएको बाराको एउटा पुल तीन वर्षदेखि अलपत्र परेको छ । २०७९ को प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन अघि तत्कालीन जसपा नेपालका नेता तथा उपराष्ट्रपति रामसहाय प्रसाद यादव र अर्का नेता रामबाबु प्रसाद यादवले सिमरा– कोल्हवी सडकखण्डमा पर्ने पसाहा खोलामा पुलको संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

तर, पुल शिलान्यास भएको ३ वर्ष बितिसक्दा निमार्णको कुनै पनि काम सुरु भएको नसकेको हो । भौतिक पूर्वाधार तथा मन्त्रालयको पुल महाशाखाले ४३ करोडको ठेक्कासम्बन्धी सूचना निकालेपनि बजेट सुनिश्चित नै नभएकोले काम सुरु हुन नसकेको जीतपुर सिमरा–१७ का वडाध्यक्ष भीम लामाले बताए ।

समयमा पुल नबन्दा सो क्षेत्रका सर्वसाधारण मारमा परेका छन् । कोल्हवी नगरपालिका–८ का उमेश सापकोटा तामागढी बचत तथा ऋण सहकारी संस्था सिमरा सेवा केन्द्रका प्रमुख हुन् । उनी ४ वर्षदेखि  दैनिक सिमरा–कोल्हवी आउजाउ गर्दै आएका छन् ।

तर, बर्खा लागेपछि सापकोटा ३० किलोमिटर घुमेर कलैया हुँदै सिमरा आउन बाध्य छन् । पसाहा खोलामा पुल नभएर्क कारण वर्षेनी सापकोटाले यो समस्या झेल्दै आएका हुन् ।

‘वैकल्पिक बाटो छैन । सिमराको उद्योगहरूमा काम गर्ने, कोल्हवी, करैयामाई, बारागढी हुदै रौतहटसम्म आउजाउ गर्ने यात्रुहरूलाई धेरै समस्या छ’, उनले भने, ‘यो पुल बनिदियो भने धेरै सहज हुन्थ्यो, यहाँका स्थानीयहरूलाई नागरिकता बनाउन, वडा कार्यालयमा सिफारिस लिन खोला तरेर जानुपर्छ । खोलामा बाढी आउँदा २०/२२ किलोमिटर परबाट घुमेर जानुपर्ने बाध्यता छ ।’

p44

सापकोटा जस्तै करैयामाई गाउँपालिका वडा नं ३ का सुनिल यादव पनि पसाहा खोलामा पुल नहुँदा धेरै सास्ती भोग्नुपरेको बताउँछन् । ‘नेताहरू भोट लिएर जान्छन्, अनि कहाँ कहाँ हराउँछन्, थाहै हुँदैन’, उनले भने, ‘एकैपटक चुनावमा आउछन् अनि यही बाटो हिँड्छन् ।’

जनताको पिडा एसीमा बस्ने नेताहरूले नसुनेको उनको गुनासो छ ।

वडाध्यक्ष लामाका अनुसार चुनावको बेला राजनीतिक दबाबमा ठेक्काको सूचना निकालिएको थियो ।  तर यो योजनामा बजेट सुनिश्चित नभएकाले काम अगाडि बढ्न सकेन । वडाध्यक्ष लामाले भने, ‘पुल नहुँदा हामीलाई धेरै समस्या छ, खोलामा बाढी आउँदा एम्बुलेन्स समेत आउआउ गर्न गाह्रो हुन्छ ।’

सिमरादेखि रौतहटको गौरसम्म जाने यात्रुहरूका लागि मुख्य राजमार्गको तुलनामा सिमरा–कोल्हवीको सडक ६० किलोमिटरसम्म दुरी कम पर्दछ ।

वडाध्यक्ष लामाले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेटेर पुल निमार्णका लागि बजेट विनियोजन गरिदिन ध्यानाकर्षण गराए पनि यसवर्षको रातो किताबमा समेत छुटेको गुनासो गरेका छन् ।

बारा–३ का पूर्वसंघीय सासंद रामबाबु प्रसाद यादवले २०७९ को निर्वाचनपछि सरकार फेरबदल भएको र निर्वाचनमा पराजित भएकाले आफूले पुल निर्माणको काम अगाडि बढाउन नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप