बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जफत गरिएको साढे ३२ करोड डलरको रुसी सुपरयोट लिलाम गर्दै अमेरिका

बिहीबार, २२ साउन २०८२, ११ : २६
बिहीबार, २२ साउन २०८२

सारांश

  • अमेरिकाले ३२ करोड ५० लाख डलरको सुपरयोट लिलाम गर्ने भएको छ, जुन रुसको हो र सान डिएगोमा पार्क गरिएको छ।
  • युक्रेनमाथि रुसको आक्रमणपछि अमेरिकाले यो सुपरयोट फिजीबाट जफत गरेको थियो र यसमा १६ जना पाहुना र ३६ जना चालक दल बस्न मिल्छ।
  • यस योटको वास्तविक मालिक को हो भन्ने अस्पष्ट छ, तर अमेरिकी दाबी अनुसार सुलेमान केरिमोभ हुन् र लिलामी सेप्टेम्बर १० सम्म चल्नेछ।

वासिङ्टन डिसी । अमेरिकाले महँगो लक्जरियस सुपरयोट अमाडिया लिलाम गर्न लागेको छ । ३२ करोड ५० लाख डलर मूल्य पर्ने यो सुपरयोट रुसको हो ।

 यो सुपरयोट अहिले सान डिएगोमा पार्क गरिएको छ । ३४८ फिट लामो यसलाई जर्मन कम्पनी लुर्सेनले २०१७ मा विशेष तरिकाले बनाएको थियो । यो सुपरयोट फ्रान्कोइस जुरेट्टीले डिजाइन गरेका थिए । 

यसको भित्री भाग मार्बलले बनेको छ भने जसमा आठ राजकीय कोठा छन् । यसमा एउटा ब्यूटी सैलुन, एउटा स्पा, एउटा जिम, एउटा हेलिप्याड, एउटा स्विमिङ पुल र एउटा लिफ्ट पनि छ । यसमा १६ जना पाहुना र चालक दलका ३६ जना सदस्यहरूको लागि बस्ने व्यवस्था छ ।

२०२२ को फेब्रुअरीमा युक्रेनमाथि रुसले आक्रमण गरेलगत्तै अमेरिकाले यो सुपरयोट फिजीबाट जफत गरेको थियो । अब भने अमेरिकाले यसलाई लिलामीमा बेच्न लागेको हो । लिलामी सेप्टेम्बर १० सम्म चल्नेछ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्ध अन्त्य गर्न दबाब दिइरहेको समयमा यो सुपरयोट बेच्न लागिएको हो । युक्रेन युद्ध सुरु भएपछि अमेरिका र यूरोपले पुटिनका नजिकका अति धनाढ्यहरूको सुपरयोट जफत गरेका थिए । 

को हुन् वास्तविक मालिक ?

अमाडियाको असली मालिक को हो भन्ने कुरा अझै पनि अस्पष्ट छ । यसलाई केम्यान टापुहरूमा रहेको मिलमारिन इन्भेस्टमेन्ट लिमिटेडको नाममा दर्ता गरिएको छ । योटको वास्तविक मालिक अर्थशास्त्री र पूर्व रूसी राजनीतिज्ञ सुलेमान केरिमोभ भएको अमेरिकाको दाबी छ ।

  केरिमोभ २०१८ देखि अमेरिकी प्रतिबन्धमा छन् । रुसको सरकारी तेल र ग्यास कम्पनी रोसनेफ्टका पूर्व अध्यक्ष र प्रमुख कार्यकारी एडुआर्ड खुदाइनाटोभले आफू यो योटको मालिक भएको दाबी गरिरहेका छन् । 

खुदाइनाटोभले केरिमोभलाई लुकाउनु आफू यसको मालिक भएको दाबी गरिरहेको अमेरिकी अभियोजनकर्ताहरू भन्छन् । सुपरयोट जफत भएपछि यसको विरुद्धमा खुदाइनाटोभले मुद्दा हालेका थिए । यसको लिलामी गलत भएको र यसको कानुनी रूपमा विरोध गरिने विरुद्ध खुदाइनाटोभका वकिल एडम फोर्डले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप