तीज नजिकिँदै जाँदा बढ्दैछ कलाकारको विदेश दौडाहा
सारांश
- तीज नजिकिँदै गर्दा, कलाकारहरू स्वदेश र विदेशमा सांगीतिक कार्यक्रमका लागि व्यस्त छन्।
- अस्मिता अधिकारी र महेश काफ्ले अमेरिका उडेका छन् भने अस्ट्रेलियामा 'दिदीबहिनी तीज' कार्यक्रम हुँदैछ।
- बद्री पंगेनी अमेरिकामा 'अब गाउँछ अमेरिका' कार्यक्रममा जाँदैछन् र एलिना चौहान पनि तीजका कार्यक्रममा व्यस्त छिन्।
काठमाडौँ । तीज र संगीत एकअर्काका परिपूरक जस्ता लाग्छन् । विशेषगरी हिन्दु नेपाली महिलाले मनाउने तीजमा सांगीतिक कार्यक्रमहरु पनि धेरै हुने गर्छन् ।
तीज नजिकिँदै जाँदा कलाकारहरुलाई भ्याइनभ्याई हुन्छ । स्वदेशमा मात्रै होइन, विदेशका कार्यक्रमका लागि पनि चलेका कलाकारहरुको उच्च माग हुने गरेको छ । कोही अमेरिका, कोही युरोप त कोही जापान र भारतका कार्यक्रमका लागि जाने तयारीमा छन् ।
कन्सर्टमा मात्रै होइन, तीजका गीत रेकर्डिङमा पनि कलाकारहरुको व्यस्तता उस्तै देखिन्छ । अहिले दैनिक एक दर्जन हाराहारीमा तीजका नयाँ गीत सार्वजनिक हुने गरेको बताइन्छ ।
तीजलाई लक्षित स्वदेश तथा विदेशमा संगीतिक कार्यक्रम समेत आयोजना हुन थालिसकेका छन् । गीत रेकर्डिङदेखि सांगीतिक कार्यक्रमसम्म कलाकारको व्यस्तता बढ्दो छ । तीज कार्यक्रमका लागि कलाकार विदेश उड्न थालिसकेका छन् ।
केही दिनअघि गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले कार्यक्रमका लागि अमेरिका उडिसके । तीजसहित विभिन्न नेपाली चाडपर्वको अवसर पारेर अमेरिकाका विभिन्न सहरमा हुन लागेको ‘सोलफुल यूएसए यात्रा’का लागि उनीहरु अमेरिका उडेका हुन् । कोलम्बस, ओहायो, मियामी, फ्लोरिडा, ब्रानफोर्ड, कनेक्टिकट, भर्जिनिया, ल्यान्कास्टर, पेन्सिलभेनिया लगायत राज्यका सहरमा उनीहरुले प्रस्तुति दिनेछन् ।
तीजकै अवसर पारेर अस्ट्रेलियामा ‘दिदीबहिनी तीज’ नामक कार्यक्रम आयोजना गरिएको छ । अस्ट्रेलियाभर ३५ शो हुने कार्यक्रममा सहभागी हुन रामजी खाँण, शान्तारानी परियार, सम्झना भण्डारी, सम्झना लामिछाने मगर, श्याम राना, लक्ष्मी मल्ल, श्रीकृष्ण बम मल्ल, पार्वती जिसी र चोलेन्द्र पौडेल त्यता उड्ने तयारीमा छन् ।
त्यस्तै गायक बद्री पंगेनी तीजको अवसर पारेर अमेरिकाको ‘अब गाउँछ अमेरिका’ कार्यक्रममा जाने तयारीमा छन् । उनीसँगै उक्त कार्यक्रममा प्रताप दास, एलिना चौहान र कला लम्साल पनि सहभागी हुँदैछन् । बद्रीले तीजका लागि एक नयाँ गीत पनि सार्वजनिक गर्दैछन् ।
गायिका एलिनालाई पनि तीजको चटारो छ । एक महिनादेखि नै गीत रेकर्डिङदेखि सांगीतिक कार्यक्रमसम्ममा उनी व्यस्त छिन् । एक महिनाको अवधिमा उनले करिब ३० वटा जति तीज गीत गाएकी छन् । कार्यक्रममा पनि सहभागी भइरहेकी छिन् ।
बिहीबार मात्रै ६ गीतको रेकर्डिङ सकेर साँझ उनी भैरहवा प्रस्थान गरिन् । ‘आउँदो २९ गते अमेरिका जाँदैछु । त्यहाँबाट फर्केपछि क्यानडा जाने कार्यक्रम पनि पक्का भइसकेको छ,’ उनले भनिन् ।
लोकगायिका भूमिका गिरीले तीज गीत सार्वजनिक गरिसकेकी छिन् । उनी भारतको बैंगलुरुमा हुने कार्यक्रममा सहभागी हुँदैछिन् । तीजको अवसर पारेर दुबईमा आयोजित कार्यक्रममा सहभागी भएर केही दिनअघि उनी नेपाल फर्किएकी हुन् ।
गायिका रचना रिमाल तीज कार्यक्रममा लागि युरोप जाँदैछिन् । युरोपका विभिन्न ६ देशमा उनी गुञ्जिँदैछिन् । ‘युरोप करिब २०–२५ दिन बस्छु होला,’ उनले भनिन् ।
लोकगायिका राधिका हमालको पनि व्यस्तता बढ्दो छ । उनी तीज गीत रेकर्डिङ, भिडियोमा अभिनय गरिरहेकी छिन् । तीजको कार्यक्रमका लागि अमेरिका, जर्मनी लगायत केही देश जाने तयारी रहेको उनले बताइन् ।

‘यो पटक स्वदेश र विदेशका धेरै कार्यक्रम छन् । भ्याउने कसरी भन्ने तनाव भएको छ,’ उनले भनिन्, ‘सेड्युल मिलाएर भ्याएसम्म कार्यक्रममा पुग्छु ।’
ज्योति मगर, खुमन अधिकारी, पशुपति शर्मा, लक्ष्मी आचार्य थुप्रै कलाकार तीजका लागि व्यस्त छन् ।
परिवारसँग बसेर दर खाने, रमाइलो गर्ने र चाड मनाउने समयमा अधिकांश कलाकार देश-विदेशका कार्यक्रममा व्यस्त हुन्छन् । आखिर किन कलाकारहरू चाडपर्वको समयमा परिवारबाट टाढा कार्यक्रममा रमाउँछन् ?
लोक तथा दोहोरी गायक बद्री पंगेनी तीज कार्यक्रमको बढ्दो व्यस्तता सांस्कृतिक र व्यावसायिक महत्व भएको बताउँछन् ।
‘केही समयअघिसम्म तीजको सांस्कृतिक महत्व मात्रै थियो । अब अहिले आएर यसको व्यावसायिक महत्व पनि हुन थाल्यो,’ उनले भने, ‘यसमा संस्कृति प्लस व्यवसाय जोडिने भएकाले कलाकार, व्यवसायी, व्यापारी सबैजना अलिकति बढी जोडिन थाल्नुभएको हो ।’

परिवारबाट टाढा रहेका नेपालीहरूलाई चाडपर्वमा एक्लोपन महसुस नहोस् र उनीहरूलाई मनोरञ्जन दिन सकियोस् भन्ने उद्देश्यले पनि कलाकारहरू विदेशका कार्यक्रममा जाने गरेको गायिका एलिना चौहान बताउँछिन् ।
‘हामी कलाकारको काम नै मनोरञ्जन गराउने हो । विशेषगरी परिवारबाट टाढा देश–विदेशमा रहनुभएका दर्शकलाई चाडपर्वमा एक्लो महसुस नहोस् भनेर हामी उहाँहरूलाई खुसी बाँड्न पुग्छौँ,’ उनले भनिन् ।
गायिका रचना विदेशमा हुने कार्यक्रमले नेपाली कला, संस्कृति जोगाउन मद्दत पुग्ने बताउँछिन् । उनी भन्छिन्, ‘विदेशमा रहनुभएकाहरूले आफ्नो संस्कृति जोगाउन, विशेषगरी त्यहीँ हुर्केका बालबालिकालाई आफ्नो परम्पराबारे जानकारी दिन कार्यक्रम गर्नुहुन्छ । त्यो कारणले पनि हामीले कार्यक्रम गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण