‘हिरोसिमा र नागासाकी घटना मानव सभ्यताकै कलङ्क’
सारांश
- जापानको हिरोसिमा र नागासाकीमा भएको परमाणु बम हमलाको ८०औँ वार्षिकीमा मृतकहरूलाई श्रद्धाञ्जली अर्पण गरियो।
- कार्यक्रममा वक्ताहरूले आणविक हतियारको प्रयोग र यसको विश्वव्यापी त्रासका बारेमा चिन्ता व्यक्त गरे, जसलाई मानव सभ्यताको कलंकको रूपमा हेरिएको थियो।
- नेपालले शान्तिपूर्ण कूटनीतिको नेतृत्व गर्दै आणविक हतियारको विरुद्धमा आवाज उठाउनुपर्ने र लुम्बिनीमा यस्ता कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिइयो।
काठमाडौँ । जापानको हिरोसिमा र नागासाकीमा ८० वर्षअघि भएको त्रासदीपूर्ण घटनाको स्मरण गर्दै त्यस घटनामा मृत्यवरण गरेकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल अफ्रो–एशियाली जनएकता सङ्गठनले आज यहाँ आयोजना गरेको ‘आणविक हतियारको विश्वव्यापी त्रासः विश्वशान्तिका लागि चुनौती’ विषय कार्यक्रमका सहभागी वक्ताले त्यस घटनालाई मानव सभ्यताकै कलङ्कका रुपमा हेरिएको धारणा राखे ।
सन् १९४५ मा अगस्ट ६ र ९ गते हिरोसिमा र नागासाकीमा परमाणु बम प्रहारबाट दुई लाखभन्दा बढीले अप्राकृतिक मृत्यवरण गर्नुपरेको थियो । त्यस घटनामा हजारौँ व्यक्ति गम्भीर घाइते भए । विश्वमै मानव इतिहासमा कालोदिनका रुपमा चित्रण गरिएको त्यस घटनाका कैयौँ घाइते अझै पनि पीडादायक जीवन व्यतित गरिरहेका छन् ।
आणविक हतियारको प्रयोगबाट क्षणभरमै त्यति ठूलो मानवीय क्षति भएको इतिहासकै पहिलो घटनाका रुपमा हिरोशिमा र नागासाकी आक्रमणलाई लिने गरिएको छ । त्यस घटनामा महत्वपूर्ण संरचनासहित दुवै सहर ध्वस्त भएका थिए ।
परराष्ट्र मामिलाका जानकार हीरण्यलाल श्रेष्ठले विश्वका शक्तिशाली भनिएका मुलुकले मानवताविरुद्ध कस्तासम्म कार्य गर्न सक्दा रहेछन् भन्ने उदाहरणका रुपमा हिरोसिमा र नागासाकी घटनालाई लिन सकिने बताए ।
भगवान गौतमबुद्धको जन्मदेश हुनुका नाताले नेपालले शान्तिपूर्ण कूटनीतिको नेतृत्व गर्दै लुम्बिनीमा त्यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकतामा जोड दिए । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले हिरोसिमा र नागासाकी घटनालाई शक्तिको उन्मादसँग जोडिएको इतिहास भएको टिप्पणी गरे ।
आयोजक संस्था नेपाल अफ्रो–उसियाली जनएकता सङ्गठनका अध्यक्ष एवं पूर्वमन्त्री कृपासुर शेर्पाले एशियाका तारा गौतमबुद्धको जन्मथलो भएको मुलुक नेपालले विश्वमञ्चमा आणविक हातहतियारका उत्पादन र प्रयोगविरुद्ध तथा जहिले पनि शान्तिका पक्षमा वकालत गर्दै आएको बताए ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकूलपति डा विष्णुविभु घिमिरेले लाखौँ मानिसलाई पलभरमै एकै चिहान बनाएको उक्त घटनाले अध्यात्मप्रति विश्वास राख्नेका लागि पनि ईश्वर छ कि छैन भन्ने प्रश्न उब्जाएको धारणा राखे ।
प्राडा कमलकृष्ण श्रेष्ठले परमाणु युद्धले कहिल्यै कसैले जित्न नसक्ने भएकाले शक्ति राष्ट्रलाई यसमा समय र पैसाको बर्बादी नगर्न सुझाव दिए । संस्थाका महासचिव प्राडा गोपाल पोखरेलले हिरोसिमा र नागासाकी घटनाले आणविक हतियाले क्षणभरमै ठूलो मानवीयविनाको खतरा र तहसनहसको पुष्ट्याइ गरेकाले त्यसबाट विश्वसमुदाय अलग्गिनु बुद्धिमानी हुने धारणा राखे ।
कार्यक्रममा उपप्राध्यापक फूर्वा तेञ्जिङ शेर्पाले हिरोसिमा र नागासाकी घटनालाई शान्तिकामी निर्देशन जनतामाथि बरबरतापूर्ण आक्रमणको सङ्ज्ञा दिए । विश्वका नौ देशमा १२ हजार ४०० को सङ्ख्यामा रहेको आणविक हतियारले शान्तिका पक्षपाती जनतालाई चुतौती खडा गरिरहेकाले सुरक्षा नष्ट गर्नु आजको प्राथमिक कार्यभार भएको उनको भनाइ थियो ।
नेपालले विश्वमा सबैखाले लडाई र झगडा अन्त्य गर्न आह्वान गर्दै विश्वशान्तिका लागि आवाज बुलन्द गर्नुपर्नेमा कार्यक्रममा सहभागी अन्य वक्ताको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण