आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

‘स्टडी इन इन्डिया एक्सपो’ आजबाट

शुक्रबार, २३ साउन २०८२, ०८ : ५९
शुक्रबार, २३ साउन २०८२

सारांश

  • काठमाडौंमा 'स्टडी इन इन्डिया एक्सपो' सुरु भएको छ, जसले भारतमा अध्ययनबारे जानकारी दिनेछ।
  • एक्सपोमा भारतका विश्वविद्यालय र कलेजहरूका प्रतिनिधिहरू प्रत्यक्ष परामर्शका लागि उपलब्ध हुनेछन्।
  • यो एक्सपोले विज्ञान, व्यवस्थापन, र मानविकी लगायतका विषयहरूमा छात्रवृत्ति र स्पट एडमिशनको अवसर दिनेछ।

काठमाडौँ । नेपालका विद्यार्थी र अभिभावकका लागि भारतमा अध्ययनबारे जानकारी दिने लक्ष्यसहित आजबाट ‘स्टडी इन इन्डिया एक्सपो’सुरु भएको छ । 

काठमाडौँको द एभरेस्ट होटेलमा आयोजना भएको एक्सपो आज र भोलि गरी दुई दिन चल्ने आयोजक अफेयर्स नेपाल प्रालिले जनाएको छ।

नेपालमै भारतका प्रमुख विश्वविद्यालय र कलेजहरूलाई एउटै छानामुनि ल्याउने यो एक्सपो नेपालको सबैभन्दा पुरानो र भरपर्दो भारतीय शैक्षिक मेला मानिन्छ। विज्ञान, व्यवस्थापन र मानविकी धारका विद्यार्थीहरूका लागि स्नातकदेखि स्नातकोत्तर, व्यावसायिक तथा प्रविधिमैत्री पाठ्यक्रमहरूसम्म समेटिएको यो एक्सपो विद्यार्थी र अभिभावकका लागि राम्रो अवसर हुने आयोजकको विश्वास रहेको छ । 

अफेयर्स नेपालका संस्थापक तथा प्रबन्ध निर्देशक कुमार थपलियाका अनुसार मेलामा सहभागी शैक्षिक संस्थाहरूका प्रतिनिधिहरू वा तिनका आधिकारिक नेपाली कन्सल्ट्यान्ट मार्फत प्रत्यक्ष परामर्श लिन सकिनेछ। एक्सपोमा इन्जिनियरिङ, नर्सिङ, डेन्टल, पेरामेडिकल, डिजाइन, व्यवस्थापन, होटल म्यानेजमेन्ट, पत्रकारिता, आर्किटेक्चर, सूचना प्रविधि (आइटी), कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ (एमएल) जस्ता विषयमा मेरिट आधारमा स्पट एडमिशन र छात्रवृत्ति पनि उपलब्ध हुने जानकारी दिइएको छ।

“विद्यार्थीहरूले आफ्ना रुचि र क्षमताअनुसार भविष्यमा रोजगारीको सम्भावना हुने क्षेत्रको सही छनोट गर्नुपर्छ। यही सन्देश यो एक्सपोले दिन खोजेको हो,” थपलिया भन्छन्। पाठ्यक्रम छनोट, भर्ना प्रक्रिया, छात्रावास सुविधा, शुल्क संरचना, पूर्वाधार र कलेज जीवनको अनुभव जस्ता महत्त्वपूर्ण पक्षबारे विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष जानकारी आदानप्रदान गर्न पाउने व्यवस्था गरिएको छ।

दुई दिनसम्म चल्ने यस एक्सपोलाई ५ हजारभन्दा बढी विद्यार्थी र अभिभावकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। शैक्षिक जानकारी मात्र नभई मैत्रीपूर्ण वातावरणमा परामर्श लिने सुविधा यस मेलाको विशेषता हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप