एमालेबाट उपमेयरमा निर्वाचित उमाका पतिले रास्वपामा दिए उम्मेदवारीका लागि आवेदन
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि ९ जना उम्मेदवारको सूची सार्वजनिक गरेको छ।
- सूचीमा सिद्धार्थनगरका उपमेयर उमा अधिकारीका श्रीमान् पार्थिवेन्द्र उपाध्याय पनि छन्, जो एमाले पृष्ठभूमिको परिवारबाट आएका हुन्।
- सूचीमा बुटवल, भक्तपुर र भैरहवाका विभिन्न व्यक्तिहरू छन्, जसमा डाक्टर, व्यवसायी र पार्टी कार्यकर्ताहरू समावेश छन्।
बुटवल । रुपन्देही क्षेत्र नम्बर ३ मा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सम्भावित ९ जनाको सूची सार्वजनिक गरेको छ ।
उक्त सूचीको दोस्रो नम्बरमा रहेका व्यक्ति रुपन्देहीको भैरहवाका पार्थिवेन्द्र उपाध्याय हुन् । उनी सिद्धार्थनगर नगरपालिकाका उपमेयर उमा अधिकारीका पति हुन् ।
उमा एमालेबाट उम्मेदवार बनेर उपमेयरमा निर्वाचित भएकी हुन् । उनका श्रीमान् पार्थिवेन्द्रले रुपन्देही क्याम्पस प्रमुखबाट राजीनामा दिएर उम्मेदवार बन्न निवेदन दिएका हुन् ।
एमाले पृष्ठभूमिको परिवारमा हुर्किएका उनी रास्वपाले सार्वजनिक गरेको ९ सदस्यीय सम्भावित उम्मेदवार सूचीको दोस्रो नम्बरमा रहेपछि धेरैले चासो राखेका छन् ।
सिद्धार्थनगर–७ का बासिन्दा उपाध्याय नेकपा एमालेका पूर्वसांसद धनपति उपाध्यायका छोरा हुन । पार्थिवेन्द्रकी आमा पुष्पाञ्जली उपाध्याय पनि एमाले नेतृ हुन् ।
आफ्नो परिवार एमालेमा आबद्ध रहे पनि त्यहाँ रहेर काम गर्ने माहौल नभएकाले सुरुदेखि आफूलाई एमालेप्रति रुचि नभएको पार्थिवेन्द्रले बताए । आफूले सुरुदेखि वैकल्पिक राजनीतिक धारको आवश्यकता महसुस गर्दै आएको र सोही अनुसार २०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेको उनको भनाइ छ ।
बुवा धनपति २०५१ सालको निर्वाचनमा रुपन्देहीबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको तर २०५३ सालमै असामयिक निधन भएका कारण लामो समय काम गर्न नपाएको पार्थिवेन्द्रले प्रस्ट पारे । आफूले यो क्षेत्रका समस्यालाई नजिकबाट चिनेको र त्यसका लागि रास्वपा उपयुक्त पार्टी भएको उनको भनाइ थियो ।
रास्वपाबाट उम्मेदवारीका लागि आवेदन दिनेमा पार्थिवेन्द्रसहित ८ जना रुपन्देहीकै बासिन्दा छन् भने एक जना भक्तपुर निवासी छन् ।

रास्वपाले सार्वजनिक गरेका नामावलीमा एमाले पृष्ठभूमिका धेरै देखिएका छन् । सूची अनुसार १ नम्बरमा बुटवल–१६ निवासी सुलभ खरेल छन् । अमेरिकामा बस्दै आएका खरेल उपचुनावका लागि भनेर नेपाल फर्किएका हुन् । कानुनका विद्यार्थी खरेलले सहकारी ठगीमा मुछिएका रवि लामिछानेलाई कानुनी रूपमा सहयोग पुर्याएको कार्यकर्ता बताउँछन् ।
अर्का आवेदक सिद्धार्थनगर–९ निवासी डा लेखजङ्ग थापा पेसाले चिकित्सक हुन् । उनको भैरहवामा क्लिनिक छ । न्युरो सर्जन रहेका थापा रास्वपाको विभिन्न कार्यक्रम पहिलेदेखि नै सहभागी हुँदै आएका थिए ।
यस्तै अर्का आवेदक सिद्धार्थनगर–८ निवासी ज्ञानु पौड्याल लामो समयसम्म गैरसरकारी संस्था चलाएका व्यक्ति हुन् । एमालेमा यसअघि क्रियाशील उनी पछिल्लो सहकारी अभियन्ताका रूपमा परिचित छन् ।
यसअघिको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका सिद्धार्थनगर–१ निवासी जितबहादुर गुप्ता पनि उम्मेदवारका लागि आवेदन दिनेको सूचीमा छन् । शेखरको नामले चिनिने गुप्तालाई धेरैले पार्टीको इमानदार कार्यकर्ताका रूपमा चिन्ने गरेका छन् ।
मध्यपुर ठिमी, भक्तपुर घर र भैरहवा माइती भएकी कुसुम महर्जन पनि यो सूचीमा छिन् । उनले केही दिन अगाडि समानुपातिक सूचीबाट नाम हटाउन पार्टीमा निवेदन दिएकी थिइन् । यस्तै आवेदक मधु प्रकाश अर्याल पार्टीको क्षेत्रीय सभापति हुन् । उनी शिक्षा क्षेत्रमा लगानी गरेका व्यक्ति हुन् ।
आवेदकको सूचीमा रहेका रचना क्षेत्री र पुनम कुमारी अग्रवाल पनि भैरहवा बासिन्दा हुन् । उनीहरू पार्टीमा जोडिएर काम गर्दै आएका व्यक्ति रहेको कार्यकर्ता बताउँछन् । क्षेत्री रास्वपाको रुपन्देही कोषाध्यक्ष तथा निजी विद्यालय सञ्चालन हुन् भने अग्रवाल महिला उद्यमी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण